१० माघ २०८२ शनिबार
image/svg+xml
अन्य

धरानमा सुनिए फुलमान

धरान- पेशाले उनी पत्रकार हुन्। तर, उनको कलम समाचार लेखनमा मात्रै सीमित छैन। राजधानीमा रहेर पत्रकारितामा जमेका फूलमान बलको परिचय कवि तथा साहित्यकारका रुपमा पनि स्थापित छ। उनै पत्रकार कवि बल शनिबार आफ्ना सिर्जनाहरुका साथ धरानमा गुन्जिए। फ्यान क्लब अफ रमेश क्षितिज र कलरव धरानले गरेको एकल कविता वाचन कार्यक्रममा उनले झन्डै दुई दर्जन कविता सुनाए।

कवि बलले आफ्ना सिर्जनाहरु वाचन गर्नुअघि नै प्रमुख अतिथि साहित्यकार जसराज किरातीले उनको ‘प्रेमिका' शीर्षकको कविता वाचन गरिदिए। त्यसपछि, आफ्नो चिनारी बोकेको कविता भन्दै उनले ‘दोस्रो जुनी' कविताबाट एकल वाचन सुरु गरे। 
वाचनका क्रममा उनले क्रमशः ‘भ्यालेन्टाइन्स डे को जुन', ‘मैले बुद्ध भेट्टाएँ ', ‘गाउँ छोडेको दिन', ‘हिउँ परेको साँझ', ‘रुम नम्बर १०३', ‘चिट्ठी, ‘शीततलहर', ‘सरकार र सोनाम योञ्जन', ‘शान्तिको रंग' शीर्षकका कविताहरु सुनाएका थिए।
वाचन कार्यक्रमको अन्त्यतिर न्युज शीर्षकको कविता सुनाउँदै उनले पत्रकारिता क्षेत्रमा मौलाउदै गएको विकृतिलाई उदांगो पारिदिए। र, उनले चर्चित कविता ‘महाभारतकी मैच्याङ' वाचन गर्दै बिट मारेका थिए। यो कविताले २०६९ मा गरिमा सम्मान प्राप्त गर्न सफल भएको थियो। 
‘बैरागी काइँला, कृष्णभूषण बल, कुन्ता शर्मा, बम देवानजस्ता साहित्यका हस्तीहरु जन्मेहुर्केका क्षेत्र(पूर्व)मा आएर कविता सुनाउन पाएँ, यही क्षेत्रबाट नेपाली साहित्यमा विभिन्न वाद र प्रयोग भएको छ, त्यस्तो क्षेत्रमा आउन पाउँदा ज्यादै खुसी छु,' उनले भने।
सय रुपैयाँको टिकट काटेर स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालयको हलमा प्रत्यक्ष कविता सुन्न आएका साहित्यनुरागीहरुले बलका कवितामा मौलिकता भएको टिप्पणी गरे।

प्रकाशित: १० फाल्गुन २०७० २२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App