सन् १९६२ मा डरबन नगरमा गिरफ्तार गरिएका उनले २७ वर्ष लामो जेल जीवन बिताएका थिए। पछि १९९० को फरबरी ११ मा जेलमुक्त भएपछि उनको लोकप्रियता बढेको थियो। तत्कालीन अफ्रिकामा अल्पसंख्यक गोराहरूले कालो वर्णका मानिसलाई खुब हेप्थे। उनीहरूमाथि थिचोमिचो गर्थे, अन्याय गर्थे र चरम यातना पनि दिन्थे। विभिन्न परिस्थितिका कारण सानैदेखि विद्रोही मन्डेलालाई संसारका प्रत्येकजसो ठूला नेताहरूले पनि आफ्नो प्रेरणा स्रोत मान्छन्।
अझ अफ्रिकी काला भनिएका मानिसहरू त उनलाई भगवान नै मान्छन्। जीवनका प्रत्येक मोडमा संघर्ष गर्दै संसारभरका मानिसका मन, मुटु र मस्तिष्कमा छाएका उनी सबैका लागि प्रेरणा स्रोत हुन्। १९९४ अप्रिल २७ मा अफ्रिकामा भएको बहुजातीय निर्वाचनमा उनी विजयी भएर राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका थिए। उनी जननिर्वाचित प्रथम अश्वेत राष्ट्रपति हुन्। राष्ट्रपति पदमा बसे पनि उनले गोरा र काला मानिसबीच फाटो ल्याउन दिएनन्। सबैलाई समान व्यवहार गरे। उनको एउटैमात्र चाहना थियो, राष्ट्रमा शान्ति, समृद्धि र समान व्यवहार होस् भन्ने।
मन्डेलाले नोबेल शान्ति पुरस्कार, नेहरु शास्त्री पुरस्कार र भारतरत्नजस्ता चर्चित पुरस्कार पाएका छन्। आफूलाई स्वच्छ छविको नेताका रूपमा राखिराख्नसक्नु उनको अर्को खुबी थियो। मन्डेला पेसाले शिक्षक र वकिल थिए। अघिल्लो बिहीबार ९५ वर्षको उमेरमा मन्डेलाले संसारलाई रुवाएर सदाका लागि बिदा भए। आऊ, यसपालिको जूनकीरीमा मन्डेलाका केही बाल्यकालीन सम्झना पढौं है त :
नेल्सन मन्डेलाको जन्म सन् १९१८ जुलाई १८ मा दक्षिण अफ्रिकाको सानो गाउँ मेभेज्जोको तार्नस्की भन्ने ठाउँमा भएको थियो। गड्ला हेनरी मन्डेला उनका बुबाको नाम हो भने आमाको नाम नोजकेनी फानी थियो। उनी सामान्य गरिब परिवारमा जन्मिए। उनको दैनिकी पनि सामान्य तरिकाले बित्ने गर्थ्यो। मन्डेलाका पिता हेनरी थेम्बु समुदायका राजा जोन्गिन्तबा डालिनडाइबुका पार्सद थिए। जोन्गिन्तबालाई राजा बनाउनुमा मन्डेलाका बुबाको ठूलो योगदान थियो।
मन्डेला परिवारमा स्कुल पढ्ने पहिलो बालक नेल्सन नै थिए। उनी स्कुल पढ्नुअघि परिवारका कोही पनि स्कुल जाँदैनथे। तत्कालीन समयमा अफ्रिकी मुलुकमा कालो वर्णका मानिसमाथि थिचोमिचो गरिन्थ्यो। अल्पसंख्यक गोराहरूले काला जातिलाई धेरै हेप्थे। यहाँसम्मकी काला मान्छेलाई पशुसरह व्यवहार गरिन्थ्यो। गोराले काला मानिसलाई शिक्षाबाट वञ्चितजस्तो नै गरेका थिए।
काला मान्छे जान्ने/सुन्ने भए भने हाम्रै खेदो खन्नेछन् भनेर गोराहरू एकापसमा कुटिल तर्क गर्थे। रंगभेद र ब्रिटिस राज रहेको त्यस समयमा काला जातिका मान्छेले पढ्न पाउनु भनेको पहाड चढ्नुजत्तिकै गाह्रो काम हुन्थ्यो।
मन्डेलाले प्राथमिक तहको शिक्षा मेभेज्जोको स्थानीय मिसन स्कुलबाट प्राप्त गरे। उनले वेस्लिन मिसन स्कुल र क्लार्कबुरी बोर्डिङ इन्स्टिच्युटमा आफ्नो विद्यार्थीकालीन समय बिताए।
मन्डेला स्कुल पढ्दाताकाको रोचक कुरा छ। मन्डेलाको बाल्यकालको नाम रोल्हिलाला हो। स्कुल गएको पहिलो दिन कक्षा शिक्षिकाले उनको नाम मन्डेला राखिदिएकी थिइन्। र, पछिसम्मै उनको त्यो नाम संसारभर परिचित पनि भयो। स्कुलमा शिक्षिकाले नेल्सन भेनेर बोलाउँदा उनी लजाएका थिए रे।
भनिन्छ, बाल्यकालमा मन्डेला निकै जिद्दी बच्चा थिए। उनी आफूलाई जे मन लाग्यो त्यही गर्थे। उनी गुलेली लिएर चरा मार्न हिँड्थे। बल्छी बोकेर माछा मार्न खोलाका छेउछाउ पनि पुग्थे। पौडी खेल्थे। बस्तुभाउ चराउन गोठालो पनि जान्थे। गोरु भैंसीमाथि चढ्नु उनको दैनिकीजस्तै थियो। मन्डेला एकदिन हुँदाहुँदा गधामाथि चढे। गधाको ढाडमाथि बस्दा सन्तुलन मिलेन। उनी भुइँमा बङ्लंग लडे। जिउभरि काँडा बि‰यो। घाउ पनि लाग्यो।
मन्डेला नौ वर्ष हुँदा उनका बुबा हेनरीको क्षयरोगका कारण निधन भएको थियो। बाबुको निधनपछि जोङइनतबाबाट धर्म सन्तानका रूपमा हुर्काइएका उनले थेम्बु रोयल्टीमा रहेर वेस्लियन स्कुलमा पढे। बाल्यकालमै बुबाका एक साथीको सुझावमा स्थानीय चर्चमा मन्डेलालाई क्रिस्चियन बनाइएको थियो। स्कुल पढ्दै गर्दा उनलाई साथीहरूले हेप्नुसम्म हेप्थे। उनलाई साथीहरूले गाउँले केटो भनेर गिज्याउँथे। तर मन्डेला छिट्टै नै घुलमिल हुने स्वाभावका थिए। र, चाँडै नै शत्रुलाई साथी बनाइहाल्थे। मन्डेलाले आफ्नो बाल्यकाल सानो विकट गाउँ कुनूमा बिताएका थिए। हरियाली घाँसे उपत्यका कुनूमा त्यसताका सडक पनि साँघुरा थिए, गाउँ उसै विकट थियो।
काला मानिसहरूमाथि भएको थिचोमिचो, अन्याय र अत्याचार मन्डेलालाई मन पर्दैनथ्यो। स्कुले जीवनमै आफू र आफूजस्ता काला साथीमाथि गरिएको हेपाहा प्रवृत्ति उनलाई पटक्कै रुच्दैनथ्यो। जसका कारण मन्डेलामा बाल्यकालदेखि नै विद्रोही भाव जाग्न थाल्यो। पछि उनले आफ्नो विद्रोही भावनालाई संयमतापूर्वक प्रयोग गरे। उनी सफल पनि भए।
एजेन्सीको सहयोगमा
प्रकाशित: २९ मंसिर २०७० ०१:४६ शनिबार





