२९ पुस २०८२ मंगलबार
image/svg+xml
अन्य

कांग्रेसको पक्षमा लबिङ गर्न खुमबहादुर रौतहटमा

रौतहट- भ्रष्टाचार आरोपमा जेल सजाय भोगेर हालैमात्र मुक्त भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खडकाले मंगलबारदेखि रौतहटमा आएर आफ्ना पार्टीका उम्मेदवार जिताउन लबिङ गरिरहेका छन्। दास्रो संविधान सभाको निर्वाचन हुन एक साता बाँकी हुँदा खडकाले रौतहट-५ का उम्मेदवार सुनिल यादव, कांग्रेस सभापति तथा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णप्रसाद यादव र क्षेत्र नम्बर ६ का देविप्रसाद तिमल्सिनालाई जिताउन रौतहट आएका हुन्।नेपाली कांग्रेसको बहुमत सरकारमा गृहमन्त्री भएर रौतहटका कांग्रेसी नेता तथा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गरी पाँच सयभन्दा बढी युवालाई प्रहरीमा जागिर लगाएका खडकाको स्थानीय जनतामा राम्रो पकड बनाएका छन्। त्यही पकडले उनी आफ्ना साथीहरुको पक्षमा लबिङ गर्न रौतहट आएका नेपाली कांग्रेसका जिल्ला सभापति एवं क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णप्रसाद यादवले बताए।
कांग्रेस नेता खडकाले मंगलबार क्षेत्र नम्बर ६ को चन्द्रनिगाहपुर र बिश्रामपुरमा चुनाबी सभामार्फत् नेपाली जनताको जनचाहनाको संविधान निमार्ण गर्न नेपाली कांग्रेसलाई जिताउनुपर्ने बताए। क्रान्तिकारीको नाममा उदाएको एमाओवादी नक्कली क्रान्तिकारी भएको पुष्टि भइसकेकाले यो पार्टीप्रति जनताको विश्वास र आस्था घटेको बताउँदै उनले कांग्रेसको पक्षमा बहुमत आउने बताए।
कांग्रेसले लामो समयदेखिको त्याग र तपस्याको मूल्यांकन गरेर कांग्रेसप्रति जनताको जनलहर बढेर गएकाले कांग्रेस नेतृत्वमा सरकार बन्ने निश्चित रहेको खड्काले बताए। उनले गरिब, निमुखा, शोषित, पीडित जनताको पक्षमा शासन चल्ने बताए।
देश संकटमा परेका बेला नेपाली कांग्रेसकै नेतृत्वले मात्र संकटबाट मुक्ति दिलाउने पुरानो इतिहास रहेको उनको भनाइ थियो। उनले भाषणमा अधिकांश समय आफूले गरेको राम्रा कामको कारण जेल सजाय पाएको कुरा ब्यक्त गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०७० ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App