सिन्धुली बाउनत्रिपुन– ८ लयगाउँबाट भारी बोक्नै भनेर राजधानी पसे ४६ वर्षे खड्गबहादुर अछामी। ५५ सालमा काठमाडौं छिर्दा उनीसँग बागबजारमा ठिकठिकैको डेरा थियो। एक दिनको कमाइ अहिले तीन–चार सय जति हुन्छ। कहिले सुक्खा लाग्छ। उनी भन्छन्, 'साथीभाइकहाँ सर्दै बस्न थालेको छु, कोठाभाडा तिरिसाध्य छैन, सधैं काम पाइन्छ भन्ने ग्यारेन्टी छैन।'
२० रुपैयाँमा भात खाएको अनुभव छ, खड्गबहादुरसँग। 'मुस्किलले दुइ–तीन सय आम्दानी हुन्छ, त्यसमाथि अहिले सय रुपैयाँजति त एकछाक खानामै जान्छ,' उनी भन्छन्, 'कमाइधमाइ छैन, बन्दको दिन त त्यो पनि हराउँछ।' सहरमा अहिले कमाएर बचत गर्ने अवस्था नभएकाले मनै मरेको उनी दुःखेसो पोख्छन्।
आमा, पत्नी बालबच्चालाई गाउँमै छाडेर आएका खड्गबहादुर अब पहिलेजस्तो ढुक्कै काठमाडौंमा बस्ने मुडमा छैनन्। 'कमाउन भनेर आएको, बच्दै बच्दैन, बिरामी परियो भने उल्टै रिन लाग्छ,' उनी आक्रोश पोख्छन्, 'यस्तो ठाउँमा किन बस्नु? त्यही भएर दसैंका लागि अलिअलि कमाउन आएको, अब फर्कन्छु।' गाउँमा पनि काम पाउन गाह्रो भएकाले अप्ठ्यारोमा परेको उनको भनाइ छ।
सिन्धुली तसरुङ खोला– ५ कालिमाटीका ५० वर्षे नीरबहादुर थापा मगरको अवस्था अरूभन्दा भिन्न हुने कुरै भएन। उनका केही साथीभाइ कमाउन भनेर विदेश गए। उनी आफू भने आर्थिक स्रोत जुटाउन नसकेकाले जान नसकेको बताउँछन्। २०५९ सालदेखि काठमाडौंमा भारी बोक्दै आएका उनीसहित रामेछाप, सिन्धुलीतिरबाट आएका भरिया प्रायः सँगै भेटिन्छन्। 'दैनिक चार–पाँच सय कमाइ हुँदै थियो, भदौ लागेपछि दुई सय पनि कमाउन गाह्रो परेको छ,' उनी दुःख बिसाउँछन्, 'यस्तै हो भने बालबच्चा कसरी पाल्ने? दसैं आयो, कुन मुखले गाउँ जाने?'
तसरुङ खोलाबाटै आएका ३१ वर्षे राजकुमार थापा सहरमा बढ्दो खर्चको अनुपातमा आम्दानी नबढेकोमा चिन्तित छन्। 'मिस्त्रीले दिनभर काम गरे १२–१५ सय पाक्छ, तर त्यति नै काम गरे पनि हाम्रो किन थोरै?' राजकुमार आक्रोश पोख्छन्, 'लेबरको पक्षमा बोल्दिने कसले?'
२०५६ सालमा काठमाडौं आएका उनी यहाँ पहिलेझैं नियमित बस्दैनन्। एउटै कारण छ, पहिलेजस्तो पैसा बचाउन अहिले सजिलो छैन। सबथोकको भाउ बढेको छ। कमाइ भने आशलाग्दो छैन। त्यही भएर उनी यहाँ आउनेजाने गरिरहन्छन्। कोठाभाडा मासिक २५ सय छ। उनका लागि त्यो तिरिसक्नु छैन। 'एउटै कोठामा पाँचजना कोचिएका छौं,' उनी भन्छन्, 'महिना मरेपछि जनगन्ती लगाउँदै तिर्छौं।'
भारी बोकेर आएको कमाइले घरखर्च धान्न गाह्रो परेपछि एकचोटि विदेश जाने सुर नचलेको पनि होइन राजकुमारलाई। तर १४ वर्षयता बोकेको भारीबाट बचत नभएकाले उनी अप्ठ्यारोमा छन्। 'यो हाम्रो काम त उही आशाखेतीजस्तो भयो, कहिले आउने कहिले सुक्खा,' उनी भन्छन्, 'त्यसमाथि रासनको खर्च चर्को छ, फेरि बन्द हुन थालेको छ, अलिअलि हुने आम्दानी पनि बन्दको दिन सुक्खा लागेर बिजोग हुन्छ।'
बिहान आठ–नौ बजेतिर भारी बोक्न जम्मा हुने यी सबै भरिया बेलुकी छ बजे फर्कन्छन्। डेरा फर्कंदा लाग्छ– श्रीमती र बच्चा यतै ल्याउन पाए हुन्थ्यो। तर तुरुन्तै हच्किन्छन्– यहाँ ल्याएर कहाँ राख्ने, के ख्वाउने? 'यो काठमाडौं अब फाप्लाजस्तो छैन,' खड्गबहादुर भन्छन्, '२५ किलो चामल १४ सय घटीमा आउँदैन, लुगा त किनिसक्नु छैन। घरमै राखूँ भने खर्च पठाउन गाह्रो छ।'
'कुनै नेता, संघले हामीलाई हेरेको छैन,' नीरबहादुर भन्छन्। 'पत्रकार पनि यसरी नै आउँछन्, टिपेर लान्छन्, कहिल्यै केही भएको थाहा छैन,' राजकुमार सही थाप्छन्।
सिन्धुपाल्चोकको साँचोभन्ज्याङ जल्केनीबाट ३४ वर्षअघि आएर नाङ्लोमा पसल थापिरहेकी उमादेवी थापा ५४ वर्ष पुगिसकिन्। पति रामबहादुर गाडी चलाउँछन्। बिहान सात बजेदेखि राति आठ बजेसम्म नाङ्लो राख्दै ग्राहक कुर्नु उनको ३६ वर्षयताको दिनचर्या हो। कहिलेकाहीँ पुलिस आएर लखेट्छ। नाङ्लो मुस्किलले लतार्दै भाग्नु उनको बाध्यता हुन्छ।
पानी परेका बेला नाङ्लोका सामग्री जोगाउन हम्मे पर्छ। तैपनि दिनभरि बेचेको सामग्रीबाट उल्लेख्य उठ्ती छैन। 'धन्न यहाँनेर बसेको पैसाचाहिँ उठाउन आएका छैनन्,' बिरामी उमा खोक्दै भन्छिन्, 'खानेपानी, बिजुली, ग्यास, चामल सबको भाउ बढेको छ, डाक्टर र ओखतीदबाइको पनि भाउ चर्को छ।'
प्रकाशित: २८ भाद्र २०७० २१:०३ शुक्रबार





