६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

विमानस्थल कर्मचारीले देखेनन् सेतो हेरोइन

काठमाडौं - पाकिस्तानी नागरिक अता मोहम्मद साह कतार एयरवेजबाट दुबई हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिए। भदौ १८ गते आएका उनी सुटकेस र लगेजसहित अध्यागमन र भन्सार जाँचबाट बाहिरिएर सिधै ठमेलको पिलग्रिम्स होटल पुगे। पिलिग्रिम्सको कोठा नम्बर ३०१ मा लागुऔषध नियन्त्रण ब्युरोले मंगलबार छापा मार्दा पो खुल्यो, मोहम्मदले विमानस्थलका सबै सुरक्षा घेरालाई छक्याउँदै ५ किलो ६६ ग्राम सेतो हेरोइन काठमाडौं भिœयाएका रहेछन्।नेपाललाई 'ट्रान्जिट' बनाएर नक्कली भारतीय रुपैयाँ, लागुऔषधसँगै आतंकवादी गतिविधिमा सक्रियहरूको चलखेल बढेपछि अन्तर्राष्ट्रिय उडानबाट काठमाडौं भित्रिनेहरूलाई विभिन्न सुरक्षा संगठनले निगरानीमा राख्दै आएको छ। यसको निम्ति विमानस्थलमा प्रहरीको आतंकवाद हेर्ने विशेष ब्युरो, लागुऔषध नियन्त्रणमा खटिने ब्युरोको विशेष टोली, विमानस्थल सुरक्षा गार्डका प्रहरी, भन्सार कर्मचारी, सशस्त्र प्रहरी बलका सादा पोसाकका प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली परिचालित छन्।

तर, यी कुनै घेराले मोहम्मदलाई बाहिरिनबाट रोक्न सकेनन्। उनी एक्लैले सबै सुरक्षा घेरा कटाउँदै सहजै हेरोइन पास गराए।

'सुराकीको आधारमा अनुगमन गर्दा उनी सहयोगीसहित ठमेल क्षेत्रमा पक्राउ परे,' ब्युरोका प्रमुख प्रतापसिंह थापाले नागरिकसँग भने, 'उनी हेरोइनसहित सहजै विमानस्थलबाट बाहिरिएको देखियो, सुरक्षातर्फ त्रुटी भएको देखिन्छ।'

विमानस्थलमा खटिएका सुरक्षाकर्मी झुक्किनुमा मोहम्मद त्रिभुवन विमानस्थलबारे जानकार र परिचित व्यक्ति भएको प्रहरीको तर्क थियो। डिआइजी थापाका अनुसार मोहम्मद यसअघि पाकिस्तानी एयरलाइन्सको प्रतिनिधिका रूपमा त्रिभुवन विमानस्थलमा 'ग्राउन्ड ह्यान्डलिङ'मा खटिँदै आएका थिए। आफ्नो पुरानो चिनजान उपयोग गरेर हेरोइन बाहिर ल्याएको हुनसक्ने थापाको अड्कल थियो।

विमानस्थल सुरक्षाबारे जानकार एक अधिकारीका अनुसार विमानस्थलमा राखिएको एक्सरे मेसिनले लागुऔषध फेला पार्न सक्दैन। विमानस्थलबाट तेस्रो देश जान बाहिरिनेको सामान जाँचमा प्रयोग गरिने एक्सरे मेसिनले विष्फोटक पदार्थ, फलामसम्बन्धी सामग्री र खानामात्रै छुट्टयाउन सक्छ। 

अन्तर्राष्ट्रिय कारोबारी
प्रहरीले मोहम्मदसँगै उनका दुई सहयोगीसमेत पक्राउ गरिसकेको छ। पक्राउ परेका तीनैजना पाकिस्तानीसँगको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले 'अफगानी हेरोइन' जापान पुर्‍याउन नेपाललाई ट्रान्जिट बनाएको अनुसन्धान अधिकारीको निष्कर्ष छ। प्रहरीले उनीहरूको कल रेकर्डबाट अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको निष्कर्षसमेत निकालेको छ।

मोहम्मद काठमाडौं भित्रिनु अघिल्लो दिन नै उनका दुई पाकिस्तानी सहयोगी सइद मजहर हुसेन काज्मी र सहिद परविन ठमेल आइपुगिसकेका थिए। उनीहरू भदौ १७ गते पाकिस्तानको कराँची, दुबई हुँदै काठमाडौं भित्रिएर ठमेलको इन्काउन्टर होटलमा बसेका थिए। योजनाअनुसार दोस्रो दिन मोहम्मद आफगानी हेरोइनसहित काठमाडौं आए। ठमेलका सुराकीले केही पाकिस्तानी शंकास्पद देखिएको ब्युरोमा सूचना पठाएपछि निगरानीमा खटिएको टोलीले सोमबार कालो रङको लेडिज ब्याग लिएर बाहिरिएकी परविनलाई बैशाली होटलअगाडि नियन्त्रणमा लियो। उनैबाट उक्त समूह तेस्रो देश पठाउन ५ किलो सेतो हेरोइन लिएर काठमाडौं आएको प्रहरी निष्कर्ष छ। 

डिआइजी थापाका अनुसार शंकाको भरमा परविनलाई नियन्त्रणमा लिएर ब्याग जाँच्दा १ किलो सेतो हेरोइन फेला परेको थियो। अनुसन्धान क्रममा उनीसँगै अर्का पाकिस्तानी नागरिकसमेत भएको खुलेपछि प्रहरीले हुसैन काज्मीलाई पक्राउ गरेको थियो। काज्मीबाट थप हेरोइन भने फेला परेन। यी दुवैका तेस्रा सहयोगी भएको शंकामा पिलिग्रिम्स होटलमा मोहम्मद रहेको खुलेपछि प्रहरीले छापा मार्दा कोठामा रहेको खैरो सुटकेसमा ४ किलो ६४ ग्राम थप सेतो हेरोइन फेला परेको हो। बरामद सामग्री ९ करोड ३३ लाख रुपैयाँ बराबर भएको प्रहरीको दाबी छ।

एकैपटक यति ठूलो परिमाणको लागुऔषध पहिलोपटक फेला परेको डिआइजी थापाले बताए। २०६६ मा सबैभन्दा धेरै ५ किलो ६ सय ग्राम फेला परे पनि त्यतिबेला छुट्टाछुट्टै अपरेसनमा बरामद भएको थियो।

अनुसन्धान अधिकारीका अनुसार सहिदा परविन उक्त समूहका मुख्य कारोबारी हुन्। हुसैन उनको प्रमुख सहयोगी रहेको र यी दुवै अफगानीस्तानमा बनेको उच्चकोटीको हेरोइन तेस्रो देश पुर्‍याउन नेपाललाई ट्रान्जिट बनाउन सक्रिय रहेको प्रहरी ठम्याइ छ।

ब्युरो अधिकारीका अनुसार परविन यसअघि चारपटक नेपाल आइसकेको उनको पासपोर्टको रेकर्डबाट खुलेको छ। उनले प्रहरी बयानमा आफू मसला कारोबारी रहेकाले त्यही सिलसिलामा नेपाल आउने गरेको बताएकी छन्।

डिआइजी थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले बारम्बार पाकिस्तान, जापान र स्विडेनमा टेलिफोन गर्ने गरेका थिए। प्रहरीका अनुसार पाकिस्तानको कराँचीबाट परविनलाई उमर नाम गरेका व्यक्तिले निर्देशन दिने गरेको खुलेको छ। प्रहरीका अधिकारीका अनुसार सेतो हेरोइन कारोबारमा पाकिस्तानी नागरिक उमरको नाम पोलिएको यो तेस्रो घटना हो। यसअघि सेतो हेरोइनसहित पक्राउ परेका राधिका विक र श्रीराम विकको सम्पर्क उमरसँग रहेको खुलेको थियो। 

परविन उमर समूहकै सक्रिय सदस्य रहेको निष्कर्षमा अनुसन्धान अधिकारी पुगे पनि राधिका र श्रीराम समूह र परविन समूहबीचको सम्बन्ध भने पहिल्याइसकेको छैन। 'उनीहरूको सम्पर्क जापान र स्विडेनसम्म देखिएको छ,' डिआइजी थापाले भने, 'निरन्तर सम्पर्कका कारण उनीहरूको लक्ष्य उतै देखिएपछि अनुसन्धान त्यतै केन्द्रित गरेका छौं, थप विवरण खुल्न बाँकी छ।'

प्रकाशित: २७ भाद्र २०७० २०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App