७ वैशाख २०८१ शुक्रबार
अन्य

बाबुराम पोखरेलका दश मुक्तक

मुक्तक

बाबुराम पोखरेल

१.

हरायो सत्यता अरे ! सत्कर्म र सत्पात्रमा दान छैन  

ओइलायो ब्याख्या ता मुलुकको गरिसाध्ये बयान छैन  

आसन मुनी किचिएको साङ्लाको लासमाथि बसेका

पुराण वाचक पण्डितले खै के के भन्छन् ठेगान छैन।  

२.

पच्चिस बर्षे मन तिम्रो कुरा पचाससाठी

ढाडमाथि नबज्रियोस् समीक्षाको लाठी

चंख भन्नु चंख तिमी सुट्ट मन चोर्ने

कागजस्तो रुखो बोली कोइली जस्ती बाठी।

३.

मन–मिलनको परिणाम स्वभावैले दानी हुन्छ

मुखमा राता मिठाइको पग्लिहाल्ने वानी हुन्छ  

तिम्रो मेरो सामिप्यमा मैले यत्ति कुरो पाएँ

प्रेमिल हातको स्पर्शले असिनापानी–पानी हुन्छ।

४.

मिहिनेती जीवनभोगाइ न अलाप न कुनै विलाप हो  

जीवनमा जे प्राप्त छ त्यसैमा रम्नु ठूलै फलिफाप हो  

उठ्दा झिसमिसेमै गालामा देखिएको सुकुलको डाम  

देशप्रेमीको प्रमाणपत्रमा लागेको यो सहीछाप हो।  

५.

सोच्यौ, माया त एउटा फोहोरी माखा हो  

तिमीले चटक्कै छाडेर भागेको यै पाखा हो  

पश्चातापले फर्की आउँदा बाटामा तिमीले  

जँघार तरेको खोलाको मुहान यै आँखा हो।

६.

दुइटै मीठो भन्ने लाग्थ्यो अलि पैले पैले  

एकअर्कामा घम्साघम्सी भित्रभित्रै जैले  

झट्ट हेर्दा उस्तै लाग्ने, गुण भिन्न रै’छ  

कोदो तोरी मिसिएर हैरान भा’छ ऐले।  

७.

थाक्रोमा मकै छैन त त्यहाँ घुन छैन  

सेलाए उत्साह, नसामा उम्दा खुन छैन  

भोकभोकै विचल्नीमा छन् परेवाहरू  

हिजोआज आँगनीमा कुनै विस्कुन छैन।  

८.

इसारामा नबुझिए फेरि कुरा कोडमा  

एकैछिनमा पुगिहाल्छ कुरा निचोडमा  

आनीबानी स्वभाव जम्मै मन परेर होला

हजारमा बोली बिक्दा हाँसो करोडमा ।

९.

दुष्टले यहाँ मल हालेर जान्छ

चोटको विउ खसालेर जान्छ

मन सफा गर्न खातिर आँसुले

अलिकती पीर पखालेर जान्छ ।

१०.

चतुष्पदी सिङ्गो भाव बताउँन सक्छु  

चमत्कारी बिम्बसँगै मिलाउँन सक्छु  

चोटिलो र उच्चप्रहार दिँदै अन्त्यमा

बिन्दुभित्र सिंगै सिन्धु अटाउँन सक्छु।

प्रकाशित: १ भाद्र २०७७ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App