२० श्रावण २०७७ मंगलबार
अन्य

प्रकृतिको मुस्कान

बालकथा

रत्न प्रजापति

रत्न प्रजापति

एकपटक प्रकृतिलाई धेरै रिस उठ्यो । रिस उठ्नुको कारण थियो मान्छे । पृथ्वीमा बस्ने मान्छेले प्रकृतिको अनुचित दोहन गरे । वनजंगल मासे । खोला र नदीबाट ढुंगा, गिट्टी र बालुवा झिके । अनि खोला र नदीमा ढल मिसाए । धेरै धूलोधूवाँ  उडाए । मासुका लागि धेरैथरी पशुपन्छी मारे । अन्न धेरै फलाउन माटामा रासायनिक मल प्रयोग गरे । कीरा मार्न विषादी हाले । अन्न फल्ने खेतमा घर बनाए । सुन्दर पृथ्वी कुरूप देखियो ।

मान्छेको क्रियाकलापले प्रकृतिलाई असह्य भयो । पृथ्वी नै विनाश हुने अवस्था भयो । अनि प्रकृति बेसरी रिसाइन् ।

प्रकृति रिसाएर चिच्याइन्, ‘हे मान्छेहरू, तिमीहरूको नजीकै बगिरहेको खोलाको पानी खोई ? तिमीहरूको वरिपरिको जंगल खोई ? खोलानाला खोई ? चिसो र सङ्लो पानी छङछङ बग्ने धारा र पँधेरा खोई ? कुवा र पोखरी खोई ? हिजो तिमीहरूले धान, गहुँ, मकै, कोदो, आलु, तोरी फलाउने र तरकारी उमार्ने खेतबारी खोई ? संसारमा तिमीहरूसँगसँगै सृष्टि भएका अरू जंगली जनावर र पन्छीहरू खोई ? तिमीहरूकै खेतबारीमा उड्दै हिँड्ने कीराफट्यांग्रा खोई ? वर्षात्को पानी बढेर बग्ने कुलो, खोला, खोल्सा र खहरेहरू खोई ?’  

प्रकृतिको कुरा मान्छेहरूले सुन्दै सुनेनन् ।  

एकदिन सूर्यले रिसाएर भन्यो, ‘अबदेखि म घामै दिन्न ।’

बादलले रिसाएर भन्यो, ‘म पानी नै दिन्न ।’

वायुले पनि रिसाएर भन्यो, ‘म हावा नै दिन्न ।’

घाम नभएपछि संसारै अँध्यारो भयो । पानी नभएपछि मान्छे तिर्खाले छटपटाउन थाले । हावा नभएपछि सास फेर्न नसकेर मान्छे बेहोस हुन थाले ।

घाम, पानी र हावा नभएपछि पृथ्वीमा उकुसमुकुस हुन थाल्यो । सार्स, इबोला, हन्टा, रोटा, कोरोना जस्ता विषाणुहरू सलबलाउन थाले । अनेकथरी रोग बढ्न थाल्यो । जीवजन्तुहरू भकाभक मर्न थाले । मान्छे पनि भकाभक मर्न थाले । मान्छेसँग मान्छे टाढा बस्नुपर्ने स्थिति आयो ।

यस्तो किन भयो ? मान्छेहरूले गम्भीरतापूर्वक सोच्न थाले । आखिरमा मान्छेले प्रकृति रिसाएको थाहा पाए । 

अब के गर्ने त ? मान्छेहरूले उपाय सोच्न थाले । उपाय एउटै मात्रै थियो – प्रकृतिलाई खुसी पार्ने । प्रकृतिलाई खुसी पार्न के गर्ने त ? मान्छेले यसको पनि उपाय सोचे ।

प्रकृतिलाई खुसी पार्न मान्छेले यस्तो निधो गरे – वनजंगल नमास्ने । खोला र नदीबाट ढुंगा, बालुवा र गिट्टी धेरै नझिक्ने । खोला र नदीमा ढल नमिसाउने । धूवाँ र धूलो धेरै नउडाउने । पशुपन्छी नमार्ने । खेतमा धेरै रासायनिक मल नहाल्ने । विषादीको प्रयोग नगर्ने । प्रकृति हिजो जस्तो थियो, त्यस्तै रहन दिने । यसका लागि मान्छेले आफ्नो आनबानी बदले । अनि जे निधो गरेका थिए त्यस्तै व्यवहार गरे अनि मान्छेले सूर्यसँग घाम मागे । बादलसँग पानी मागे । वायुसँग हावा मागे ।

मान्छे बदलिएको देखेर प्रकृति खुसी भइन् । मान्छेतिर हेरेर प्रकृति मुसुक्क मुस्कुराइन् ।  

त्यसपछि सूर्यले पहिलाजस्तै घाम दियो । बादलले पानी दियो । अनि वायुले पनि हावा दियो ।  

अनि पृथ्वी पहिलाजस्तै सुन्दर बन्यो । हराभरा र सुन्दर पृथ्वीमा मान्छेहरू रमाएर बस्न थाले ।

प्रकाशित: ४ श्रावण २०७७ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App