२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

काठमाडौं प्रशासनमा ‘पास’ प्रणाली: अब नागरिकता र राष्ट्रिय परिचयपत्र ३० मिनेटमै

सेवाग्राहीलाई लाइन बस्नु नपर्ने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक ‘पास’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) प्रविधि कार्यान्वयनमा ल्याएको छ।

यो नयाँ प्रणाली लागू भएसँगै सेवाग्राहीले घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको छ भने नागरिकता तथा राष्ट्रिय परिचयपत्र जस्ता महत्त्वपूर्ण सेवाहरू अब २० देखि ३० मिनेटभित्रै प्राप्त गर्न सकिने भएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज ढकालले प्रशासनबाट प्रवाह हुने सेवालाई आधुनिक र जनमुखी बनाउन यो प्रविधि सञ्चालनमा ल्याइएको जानकारी दिए।

‘पास’ प्रविधि लागू भएपछि नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवाहरू बढीमा आधा घण्टाभित्रै सम्पन्न हुने व्यवस्था मिलाइएको छ।

साथै, राहदानी (पासपोर्ट) सम्बन्धी काम पनि अब प्रक्रिया पूरा भएको ५ देखि ६ दिनभित्र तयार हुने प्रशासनले जनाएको छ।

नयाँ प्रविधिको प्रभावकारिताबारे जानकारी दिँदै प्रजिअले भने, ‘पास प्रविधि निकै प्रभावकारी साबित भएको हामीले पाएका छौं। यस प्रणालीबाट सेवाग्राहीहरूले विगतमा जस्तो दुःख र झन्झट व्यहोर्नुपर्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले कार्यालय परिसरमा हुने बिचौलियाहरूको भूमिकालाई पूर्ण रूपमा निस्तेज पारेको छ।’

जेन-जी आन्दोलनका क्रममा साविकको जिल्ला प्रशासन कार्यालयको भवन जलेर पूर्ण रूपमा नष्ट भएपछि नयाँ कार्यालय भवनबाट यो सेवाको सुरुवात गरिएको हो।

पछिल्लो समय नागरिकहरूबाट अपेक्षा गरिएको सरल, सहज र झन्झटरहित सार्वजनिक सेवाको मागलाई सम्बोधन गर्न आधुनिक सूचना प्रविधिमैत्री र सेवाग्राहीमैत्री मौलिक मोडेलको विकास गरिएको प्रशासनले जनाएको छ।

नयाँ व्यवस्था अनुसार कर्मचारी कोठाभित्र बस्ने र सेवाग्राहीले झ्यालमा उभिएर पालो कुर्नुपर्ने परम्परागत र कष्टकर प्रणालीलाई विस्थापित गरिएको छ।

यसको सट्टा व्यवस्थित ‘टोकन सिस्टम’ लागू गरिएको छ। जसअनुसार कार्यालय पुग्ने प्रत्येक सेवाग्राहीलाई उनीहरूको सेवाको प्रकृतिका आधारमा ‘हेल्प डेस्क’ का कर्मचारीहरूले कागजातको प्रारम्भिक रुजु गरी टोकन उपलब्ध गराउनेछन्।

टोकन लिएपछि सेवाग्राहीले आफ्नो कागजात बुझाई सुविधायुक्त प्रतीक्षा कक्षमा आफ्नो पालो कुर्न सक्नेछन्। सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रतीक्षा कक्षमा तातो तथा चिसो पानीको व्यवस्था गर्नुका साथै निःशुल्क वाइफाइको समेत प्रबन्ध मिलाइएको छ।

प्रतीक्षा कक्षमा रहेका सेवाग्राहीलाई कर्मचारीहरूले ‘पास’ प्रविधिमार्फत सम्बोधन गरी सेवाका लागि बोलाउने व्यवस्था मिलाइएको छ। कार्यालयका सम्पूर्ण सेवा एकाइहरूलाई सूचना प्रविधिको माध्यमबाट एकीकृत गरिएको छ भने कार्यालय परिसरभरि स्पष्ट सुनिने गरी साउन्ड सिस्टम र निगरानीका लागि सिसिटिभी क्यामेराहरू जडान गरिएको छ।

पास प्रणाली सुरु भएयता कार्यालयमा केन्द्रीय र शाखागत नियमन तथा अनुगमनको सिस्टम पनि कडाइका साथ लागू गरिएको छ।

जसअनुसार कार्यालय प्रमुख तथा सम्बन्धित अधिकृत र कर्मचारीहरूले सेवा एकाइहरूबाट सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने प्रणाली स्थापित गरिएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा यो आधुनिक ‘पास’ प्रविधि लागू भएको १४ दिन पूरा भएको र यसले सेवा प्रवाहमा सकारात्मक परिवर्तन ल्याएको प्रशासनको दाबी छ।

प्रकाशित: २४ पुस २०८२ २०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App