२३ श्रावण २०७७ शुक्रबार
अन्य

गजबको खानेकुरा

बालकथा

तिलकबहादुर कुमाल

‘खोई, पहाड घर जाने मन थियो । पोहोर जान पाइनँ । यसपालि बुबाआमालाई भनेर जसरी पनि जाने हो ।’ ४ कक्षामा पढ्ने मञ्जिलले सही थप्दै भने, ‘अँ दिदी, यसपालि त म पनि जाने हो ।’ रूपाको घर आइपुगेपछि ल बाइ भन्दै बिदा भए ।

मनिषाले भाइलाई भनिन्, ‘म कहीं जान्छु भन्नै हुन्न । मैले जे गरयो त्यही गर्नुपर्ने ?’

गफिँदै घरमा आइपुगे । घरमा आइपुग्नेबित्तिकै झमझम पानी पर्न थाल्यो । वर्षायामको बेला झरी परिरहेकोले गाउँघर जान नपाइने भयो भन्ठानेर मनिषालाई पीर पर्न थाल्यो । ‘फेरि बाबाआमाले पठाउनुहुन्छ कि हुन्न, खोई के गर्नु ?’ यही कुरा मनमा सोचेर पढ्ने कोठामा टोलाइरहेकी थिइन् ।

अर्को दिन मञ्जिलले ‘दिदी खेल खेल्न जाऊँ’ भने ।मनिषाले जवाफ फर्काइन्, ‘नाइँ म त जान्न । आफूलाई कस्तो पीर परिरहेको छ ।’  

मञ्जिललाई एक्लै खेल्न अप्ठ्यारो लाग्यो । आमाकहाँ गएर भने, ‘आमा, आमा, दिदीलाई पीर परेको छ रे । टोलाएर बस्नुभएको छ ।

– हो र !

आमा भान्साकोठाबाट मनिषाकहाँ गएर सोध्नुभयो, ‘ भन नानी, के भयो तिमीलाई ? सन्चो भएन ?  

‘केही भएको छैन’ मनिषाले भनिन् ।  

‘मलीन अनुहार देखेर बिहान पनि खाना खाएनौ’ भनी सोध्नुभयो ।

मञ्जुलले भने , ‘आमा, दिदीले हिजो गर्मी बिदामा गाउँ जाने भन्नुहुन्थ्यो ।

– हो नानी, ठीक छ । दुवै जना जाने । यत्ति  कुरामा पनि भन्नु पर्दैन ?

आमाको कुरा सुनेपछि मनिषा गाउँ जान पाइने भयो भन्ठानी खुशीले मुस्कुराइन् ।

– तर पानी परिरहेको छ । त्यसैले पीर लाग्यो ।

– ल कस्ती के तिमी त  । वर्षाको मौसम यस्तै हो । मनिषाले पीर मानेकी छे भन्ठानेर पानी पर्न रोकिन्छ र ? फेरि आजभोलिमै सफा मौसम हुन सक्छ पीर लिनु पर्दैैन ।

आमाको कुराले दिदी हाँसेको देखेर मञ्जिल पनि हाँसे । यत्तिकैमा पानी पनि कम हुँदै रोकियो ।

दुवै ‘अब गाउँ जान पाइने भयो’ भन्दै खुशी भएर खेल्न गए । एकछिन खेलेर घरमा फर्किए । हातमुख धोएर पढ्न थाले । साँझपख बाबा कार्यालयबाट घर आइपुग्नुभयो । दुवै जनालाई लेखपढ गर्न सिकाउनुभयो । उता आमाले खाना पनि तयार गरेर खान बोलाउनुभयो । खाना खाएपछि सबैले गफ गर्न थाले । गफैगफमा आमाले छोरीहरूको गाउँ जाने योजना बाबालाई सुनाउनुभयो ।

बाबाले भन्नुभयो , ‘हुन्छ नि, गाउँघरमा गएपछि सफा हरियाली वातावरणमा रमाउँछन् । उमंग छाउँछ । संस्कृति र गाउँघरको माया पनि बुझ्छन् । नयाँ कुरा सिक्छन् । पोहोर बिदामा जान खोजेकी थियौ, पाइनौ । दशैँतिहारमा पनि छिटै फर्किनुपरयो । पानी पर्न रोकिएको छ । भोलि हिँडे भैगो नि ।’

 दुवै हुर्रे भन्दै सुत्न गए । बिहान उठेर आमा तयार हुनुभयो । उनीहरू पनि तयार भए । बाबासँग बिदा भएर बसपार्कबाट गाडी चढे । थानकोटबाट उता लागेपछि हरियो वन, कलकल बग्ने त्रिशूली नदी, ससाना खोला, खेतबारी आदि रमणीय ठाउँ हेर्दै आमासँग कुरा गर्दै यात्रा गरिरहेका थिए । 

त्रिशूलीको निलो पानी देखेर मञ्जिलले सोधे,  ‘आमा त्रिशूलीमा कहाँबाट पानी आउँछ ? पानी बगेर किन नसिद्धिएको ?’  

मनिषाले भनिन्,   ‘आमा म भन्छु उत्तर– समुन्द्र र पृथ्वीको पानी सूर्यको प्रकाशले तातेर बाफ बन्छ । उडेर माथिमाथि पुगेपछि चिसो बनेर गह्रौ हुन्छ र बादलमा बदलिन्छ । अनि बादल हावासँगै डुल्छ, अग्ला पहाडमा ठोक्किन पुग्छ र गह्रौं भएकोले पानी बनी वर्षा हुन्छ । वर्षाको पानी जमीनमा सोसिन्छ । त्यो सोसिएको पानी मुहान बनेर निस्कन्छ । मुहानको पानी जम्मा भएर खोलाहरू बग्छन् । खोलाहरू मिलेर नदी बनी बग्छ र समुन्द्रमै पुग्छ । यो चक्र चलिरहन्छ।’   आमाले थप्नुभयो–

     उत्तरमा हिमाल छ, सधैं हिउँ पर्छ,

     हिउँ पग्ली पानी भई नदी बनी बग्छ ।

त्रिशूली नदीको मुहान तिब्बत भोटमा छ ।’ यस्तै गफ गर्दागर्दै गाउँ आइपुग्यो । गाडीबाट ओर्लेर केहीबेर हिँडेपछि घर आइपुग्यो । घरमा हजुरबुवा आँगनमा घाम ताप्दै हुनुहुन्थ्यो भने हजुरआमा आँगनमा गुन्द्री बुन्दै हुनुहुन्थ्यो । ठूलीआमा जाँतोमा मकै पिस्दै हुनुहुन्थ्यो । ठुलाबाबा वस्तुभाउ चराउन वन जानुभएको रहेछ । आमाले  सबैलाई ढोग्नुभयो  ।  मनिषा र मञ्जिलले साइनोअनुसार ढोगे । गुन्द्रीमा तीनै जना बसे । चीसो पानी पिए । 

दुवैले गुन्द्री बुनेको चाख मानेर हेरिरहे । साँझ पर्न आँट्यो । ठूलाबाले वस्तुभाउ ल्याउनुभयो । दुवैले नमस्ते गरे । अनि भलाकुसारी गरे र खाना खाएर सुते । अर्को दिन, बिहान उठेर ठूलीआमा र आमा बाँस र फलामको चिम्टा लिएर वनमा जान लाग्नुभयो । यो देखेर मनिषा र मञ्जिल पछिपछि लागे ।

वनमा पुगेपछि चिम्टाले पोल्ने सागको मुना टिप्न थाल्नुभयो । यो देखेर उनीहरू छक्क परे । के रहेछ भनी मनिषाले पोल्ने सागको बिरूवालाई छोएकी मात्र के थिइन् आत्थाआत्था पोल्यो भन्दै हात जोडले हल्लाउँदै रुन थालिन् ।

‘छुनु हुन्न । पोल्यो ? टाढा बस है’ आमाले भन्नुभयो ।

मञ्जिलले सोधे, ‘आमा यो बिरुवामा आगो छ र पोल्छ ।’

– होइन बाबू यो सिस्नो हो । यसमा ‘मिथ्नोइक एसिड’ नामको तत्व हुन्छ । त्यही कारणले पोल्छ,’ भन्नुभयो ।

तीनचार छाक पुग्ने सिस्नो भएपछि घर फर्किए । मनिषाले आमासँग भनिन्, ‘नाइँ म खान्नँ । छुँदा त पोल्छ । खायो भने मेरो मुख, घाँटी र पेट सबै पोल्छ ।’  

सबै गलल हाँसे । हजुरआमाले पानी उमालेर पीठोमा भिजाएको मासमा घोटेर नुन, टिमुर, लसुन, बेसार र खुर्सानी राखेर पकाउनुभयो । पोल्ने घाँसचाहिँ नखाने दुवैले भने । आमाले सम्झाउन थाल्नुभयो, ‘नानी, सिस्नोमा भिटामिन ए, वि, सि, डि, के, मिनरल र क्याल्सियम आदि पौष्टिक तत्व पाइन्छ । शरीरको फोहोर पदार्थ फालेर औषधिको काम गर्छ ।’

दुवैले एकै स्वरमा ‘ए हो त्यसो भए हामी पनि खान्छौं । पोल्छ भनेर डराएका थियौं ।

– ल म पनि खान्छु ।

दुवैले मीठो मानीमानी खाए र दिनभर खेले । साँझ दुवैले हामीलाई अचम्मको साग सिस्नो पकाइदिनुस् है भने । दुवैले रमाईरमाई खाएर सुते ।

प्रकाशित: २९ असार २०७७ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App