फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा मधेस प्रदेशको सप्तरी जिल्ला चर्चामा छ। यहाँको दुई निर्वाचन क्षेत्रबाट चार दलका चार केन्द्रीय अध्यक्षको साख दाउमा छ।
चार दलका चार प्रमुख उम्मेदवार बनेको यी दुई क्षेत्र चुनावी ‘हटस्पट’ बनेको छन्। ‘हेभिवेट’ प्रतिस्पर्धी रहेको यी निर्वाचन क्षेत्रमा कसको जित–हार होला भन्ने विषयले सबैको ध्यान तानेको छ।
सप्तरी क्षेत्र नम्बर २ मा यस पटक जित–हार प्रतिष्ठाको विषय बनेको छ। यहाँ जनमतका अध्यक्ष डा. चन्द्रकान्त राउत(सीके) , पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री एवं स्वाभिमान पार्टीका अध्यक्ष सतीशकुमार सिंह, जनअधिकार पार्टीका अध्यक्ष शरद सिंह यादव प्रतिस्पर्धामा छन्। उमेश यादव जसपा नेपालबाट उम्मेदवार छन्। यस क्षेत्रमा ३१ उम्मेदवार छन्। राउत दोहोरिएका उम्मेदवार हुन्। राउतले २०७९ मा ३५ हजार ४२ मत पाएर जितेका थिए। उनीसँग प्रतिस्पर्धामा रहेका जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याएका थिए।
पूर्वमुख्यमन्त्री सिंह ०७९ मा जनमतबाट सप्तरी–२(१) बाट निर्वाचित भएका थिए। उनले १६ हजार ७ सय ३४ मत पाएका थिए। उनका प्रतिस्पर्धी जसपा नेपालका शैलेन्द्र प्रसाद साहले ८२९२ मत प्राप्त गरेका थिए।
पूर्वसिँचाइमन्त्री यादव ०७० सालको संविधानसभा चुनावमा सप्तरी–३ बाट निर्वाचित भएका थिए। उनले ८ हजार ७४६ मत ल्याएका थिए। उनका प्रतिस्पर्धी मधेसी जनअधिकार फोरमका शैलेन्द्र प्रसाद साहले ६ हजार ४ सय ८७ मत प्राप्त गरेका थिए।
उनी ०७४ मा यस क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। उनले २१ हजार ६२० मत ल्याएका थिए। उनका प्रतिस्पर्धी माओवादीका केन्द्रका उमेश कुमार यादवले ११ हजार ५८० मत प्राप्त गरेका थिए।
यसपालि पूर्वसांसद सूर्यनाथ यादव नेकपाबाट चुनावी मैदानमा छन्। कांग्रेसबाट रामकुमार यादव उम्मेदवार छन्। रास्वपाबाट रामजी यादवले उम्मेदवारी दर्ता गराएका छन्।
यो क्षेत्रमा उमेश, सिके र सतीशबिचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने चुनावी अंकगणीत प्रारम्भिक रुझानबाट देखिन्छ।
सप्तरी–३ : त्रिपक्षीय प्रतिस्पर्धा
सप्तरी क्षेत्र नम्बर २ छोडेर ३ मा उम्मेदवार बनेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कांग्रेसका पूर्वसांसद दिनेशकुमार यादव र एमालेका ताराकान्त चौधरीले कडा टक्कर दिँदै छन्।
०७९ मा सप्तरी–३ बाट कांग्रेस नेता दिनेशले २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी ताराकान्तले २२ हजार ३ सय मत पाएका थिए। यो चुनावमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले उम्मेदवार उठाएका थिएनन्। भनिन्छ सप्तरी २ मा कांग्रेसले उपेन्द्रलाई सघाउने सर्तमा उनले ३ मा उम्मेदवारी खाली राखेका थिए। जसको लाभ लिएर दिनेश निर्वाचित भएका थिए।
सप्तरी २ को इतिहास
यता, सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी इतिहास रोचक छ। यहाँ नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्र नारायण सिंहबाहेक कोही पनि दोहरिएका छैनन्। सिंह तीन पटक चुनाव लडेको यो क्षेत्रमा दुई पटक निर्वाचित भएका थिए भने एक पटक पराजित भएका थिए।
सिंह २०४८ र २०५१ सालको आम निर्वाचनमा निर्वाचित भएका थिए। ०५६ को आम निर्वाचनमा उनी पराजित भएका थिए। २०४८ सालको निर्वाचनमा उनले ९ हजार ४७१ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका ईन्द्रदेव सिंहले ७ हजार १६९ मत प्राप्त गरेका थिए।
२०५१ को आम निर्वाचनमा सिंहले १० हजार ४२४ मत ल्याएर जितेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुकान्त सिंहले ९ हजार ३०८ मत प्राप्त गरेका थिए।
२०५६ सालको आम निर्वाचनमा गजेन्द्र नारायण सिंहलाई नेपाली कांग्रेसका रामकुमार चौधरीले पराजित गरेको थियो। चौधरीले १२ हजार ९७० मत ल्याएर निर्वाचित हुँदा सिंहले १२ हजार ९५३ मत प्राप्त गरेका थिए।
यो चुनावमा सिके राउतले जित हात पार्न सके उनको साख मात्र जोगिँदैन गजेन्द्र नारायण सिंहको बराबरी गरेर इतिहास रच्नेछ।
प्रकाशित: १० माघ २०८२ १०:३० शनिबार





