रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुदाँ लुकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको छ।
लोकमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट छुटेका बसहरू फसेपछि इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए।
फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।
रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ। हिमपातका कारण मानिसहरूको जनजीवन प्रभावित भएपनि लामो समयको अन्तरालमा वर्षा र हिमपात भएपछि किसानहरू खुसी भएका छन्।
आकाशेपानीको भरमा खेती गर्दा गहुँ बाली सुकिसकेको थियो। लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका-५ का विमल बिसीले बताए।
प्रकाशित: १० माघ २०८२ १०:३० शनिबार





