२३ असार २०७७ मंगलबार
अन्य

घलेगाउँ

स्मार्ट भिलेज

लमजुङको पर्यटकीय घलेगाउँ । तस्बिर: ज्योतिकेशर सिंह

डाँडाको थाप्लोमा झुरुप्प बस्ती। ढुंगा र माटोबाट बनेका घरहरू। टिनले छाइएका रंगीन छाना। पृष्ठभूमिमा झलमल्ल हिमाल। स्वर्गकै एउटा टुक्रा! मुलुककै पहिलो स्मार्ट भिलेज–घलेगाउँ (२,०७० मिटर)।  

गण्डकी प्रदेश, लमजुङ जिल्ला, क्होंलासोंथर गाउँपालिका–३ को रमणिय बस्ती। गाउँमा गुरुङ, घले र दलितका १२५ घर छन्। गुरुङ संस्कृति, हिमाली दृश्य, आत्मीय व्यवहार र मीठो खानाका लागि प्रख्यात गाउँ। गाउँको स्वच्छ वातावरणमा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ।   

घलेगाउँमा २०५६ साल चैत २० गतेदेखि होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरिएको हो। १२ घरबाट होमस्टे शुभारम्भ गरिएकामा अचेल ४० घरमा होमस्टे गराइन्छ। 

साविकको उत्तरकन्या गाविसमा पर्छ घलेगाउँ। सरकारले बागलुङपानी, मालिङ, उत्तरकन्या, भोजे, सिङ्दी, गिलुङ र भुजुङ गाविस मिलाएर क्होंलासोंथर गाउँपालिका बनाएको छ। गुरुङ समुदायको आदिमभूमि क्होंलासोंथरको नाममा गाउँपालिकाको नामाकरण गरिएको हो।

प्रकृति र संस्कृतिको संगम–घलेगाउँ। गाउँबाट माछापुच्छे«, अन्नपूर्ण दोस्रो, बुद्ध, हिमालचुली, लमजुङ, डा. हर्क गुरुङ पिक र मनास्लु लगायत हिमाल छर्लङ्ङ देखिन्छन्। सूर्योदय र सूर्यास्तको दृश्यले पनि मोहित बनाउँछ। पुस–माघमा गाउँमा हिउँ पनि पर्छ।    

ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक चियाबारी, गुरुङ  संग्रहालय, भ्यूटावर, उत्तरकन्या मन्दिर, कोइवो धिँ लगायत सम्पदा छन्। त्यस्तै छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ।  

गाउँका अगुवा प्रेम घलेको अगुवाइमा २०५६ साल चैत २० गतेदेखि घलेगाउँमा ग्रामीण पर्यटनको अभ्यास हुँदै आएको छ। पर्यटन व्यवस्थापन समितिले बर्सेनि वैशाख २३ देखि २५ गतेसम्म ‘घलेगाउँ महोत्सव’ आयोजना गर्छ। विसं २०५७ बाट मनाउन थालिएको महोत्सवमा व्याडमिन्टन, बास्केटबल र फुटबल प्रतियोगिता गर्नुकासाथै सांस्कृतिक कार्यक्रम पनि देखाइन्छ।  

घलेगाउँलाई २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको छ। गाउँमा सडक, विद्यालय, खानेपानी, बिजुली, टेलिफोन, इन्टरनेट, होटल, होमस्टे लगायत आधारभूत सुविधा छ।  

जीवनशैली  

गाउँलेको मुख्य पेशा पर्यटन, कृषि, पशुपालन र वैदेशिक रोजगार हो। गाउँमा खेतीपाती गरेको, गाईभैंसी दुहेको, बाख्रा र कुखुरा पालन गरेको, राडीपाखी, डोकोनाम्लो र भकारी बुनेका दृश्य देखिन्छन्। यस्तै सामाजिक विकास, नदीनाला, वनजंगल, जंगली जनावर आदिको अध्ययन गर्न सकिन्छ। गाउँका घरआँगन सफा छन्। गाउँलेमा सामूहिक भावना पाइन्छ। उनीहरू मिलेर विकासका काम गर्छन्।

पर्यटकका लागि ब्रेकफास्ट तयार गरिँदै।  

 संस्कृति  

सांस्कृतिक हिसाबले गुरुङ समुदाय समृद्ध मानिन्छ। गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले घलेगाउँ खुला पाठशाला हो। गाउँलेहरू बोन, बुद्ध र हिन्दू धर्म मान्छन्। उनीहरू हरेक वर्ष पुस १५ मा तमु ल्होछार मनाउँछन्। त्यस्तै बुद्ध पूर्णिमा, साउने संक्रान्ति, माघे संक्रान्ति, दसैं–तिहार आदि पर्व धूमधामसँग मनाउँछन्। चाडपर्वमा नाचगान गर्छन्। अचेल पर्यटकको मागअनुसार गाउँमा कृष्णचरित्र, घाँटु, रोधी, घ्याप्री, सेर्गा र पच्यू नाच देखाउँछन्। पाहुनालाई पनि आफूसँगै नचाउँछन्।    

लोकसंस्कृति । तस्बिर: ज्योतिकेशर सिंह

कोइवो धिं  

गुरुङ समुदाय प्रकृतिपुजक हुन्। उनीहरू खोलानाला, वनजंगल, माटो र हावापानीको पूजा गर्छन्। उनीहरूको आफ्नै संस्कार र संस्कृति छ। पच्यू, बोन्पो लामा र घ्याप्रिहरू उनीहरूका पुरेत हुन्। घलेगाउँको एक छेउमा कोइवो धिँ छ। त्यहाँ बोन धर्मावलम्बीका झाँक्री (पच्यू), बोन गुरु घ्याप्री र राजा क्याल्पोका मूर्ति छन्।  

कोइवो धिं । 

उत्तरकन्या मन्दिर

प्रायः उत्तरतिरबाट पानीको मूल फुट्छ र अन्य दिशामा बग्छ। घलेगाउँको उत्तरकन्या मन्दिरमा भने दक्षिणबाट मूल फुटेर पानी उत्तरतिर बगेको छ। मन्दिरमा कुनै शिला वा आकृति छैन, पानीको मूललाई नै देवीका रूपमा पूजा गरिन्छ।  

पुस महिनाको अन्तिम दिन रातभर जागा बस्ने र माघ १ गते बिहानै त्यही मूलको पानीले नुहाएर धूपधुवाँर गरि घर फर्कने चलन छ। मन्दिरमा बलि चढ्दैन। बरु विश्व शान्तिको कामना गर्दै परेवा उडाइन्छ। मन्दिरमा घण्टी चढाउने चलन छ। सेनामा भर्ती हुनेहरू पनि आफ्नो जीउधन सुरक्षित होस् भनेर घण्टी चढाउँछन्।    

मन्दिर छेउमा सातकन्या कुवा छ। त्यहाँका सात वटा कुवाको पानी मीठो छ। पहिलापहिला गाउँले यहीँको पानी खान्थे। अचेल गाउँमा खानेपानीका धारा छन्।  

उत्तरकन्या मन्दिर। 

क्होंलासोंथर  

तमु समुदायको आदिम थलो क्होंलासोंथर हो। अन्नपूर्ण र लमजुङ हिमालको दक्षिणी काखमा अवस्थित क्होंलासोंथरबाट करीब १२ सय वर्ष अघि गुरुङ समुदाय गण्डकी प्रदेश हुँदै मूलुकका विभिन्न भूभागमा बसाइँ सरेको इतिहास छ।

घलेगाउँबाट दुई दिन पदयात्रामा क्होंलासोंथर पुगिन्छ। त्यहाँ पुरानो बस्तीका भग्नावशेष छन्। क्होंलाको भूगोल ३,३०० देखि ४,२०० मिटर उचाइमा छ। क्होंला क्षेत्र जडीबुटीको भण्डार पनि हो।  

क्होंलामा क्याल्वो राजाले बस्ती बसालेको थिए। तिनताका क्होंला राज्य पश्चिममा मादी नदीको शिर करुदेखि पूर्वमा मिदिम खोलाको शिरसम्म र दक्षिणमा क्रबुच्हो र उत्तरमा दूधपोखरीसम्म फैलेको थियो।  

घलेपार्क  

घलेगाउँमा घले राजाले शासन गरेको इतिहास छ। वंशावलीअनुसार घले जातिका पुर्खा चेडेल्के नम्रुच्युख्याल्साका राजा थिए। कालान्तरमा उनका सन्तानहरू क्हाेंल, ख्होल (क्होंल) र पोंचोंको कोइम्लीनासाका राजा भए। घलेगाउँका पहिलो राजा थोपकुइच्यू हुन् भने अन्तिम राजा क्याल्पोेरुजाक्ले। गुरुङ भाषामा घलेगाउँलाई ‘कोइम्ली’, घलेलाई ‘ल्के’, राजालाई ‘म्रु’ र राज्यलाई ‘ख्याल्सा’ भनिन्छ। घलेगाउँमा तिनै अन्तिम राजा क्याल्पोको प्रतिमासहित घलेपार्क बनाइएको छ।  

राजा क्याल्पोको प्रतिमा। 

संग्रहालय  

गाउँमा सार्क भिलेज नमूना संग्रहालय छ जहाँ गुरुङ समुदायको जन्मदेखि मृत्यु संस्कारसम्म झल्काउने सामाग्री, तस्वीर र चित्र सजाइएको छ। उनीहरूले खेतीपातीमा प्रयोग गर्ने कुटा, कोदाला, जंगलमा प्रयोग गर्ने हतियार, शरीरमा लगाउने पोशाक र गहना राखिएको छ। त्यस्तै भान्छामा प्रयोग गर्ने सामान लगायत चीजबिज अवलोकन गर्न पाइन्छ। 

सार्क भिलेज नमूना संग्रहालय। 

चिया बगान

गाउँ नजिकै दुई सय रोपनीमा चिया बगान छ। चियाको हरियालीमा आनन्दित हुन सकिन्छ। बगानको पृष्ठभूमिमा हिमाल हाँस्छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहयोगमा विसं २०५७ सालदेखि चिया रोप्न थालिएको हो। यसको संरक्षणमा जिल्ला भूसंरक्षण कार्यालय लमजुङले सहयोग गरेको थियो। बगानमा घुम्न र फोटो खिच्न पाइन्छ। 

चिया बगानमा काठमाडौंका विद्यार्थी । 

भेडीगोठ  

गाउँलेले भेडा पालेका छन्। दसैं–तिहारका बेला भेडाहरू एक महिना गाउँमै राखिन्छन्। मंसिर पहिलो साता खेत मलिलो बनाउन तिनलाई बेंसीमा झारिन्छ। फागुन अन्तिम सातादेखि तिनलाई फेरि गाउँको छेउछाउ पु¥याइन्छ। गर्मी बढ्दै जाँदा भेडी गोठलाई हिमालतिर सारिन्छ। जेठदेखि भदौसम्म लमजुङ हिमालको फेदीसम्म पु¥याइन्छ। अनि हिउँ पर्न थालेपछि बिस्तारैबिस्तारै बेंसीतिर झारिन्छ।  

भेडीगोठ ।  तस्बिर: ज्योतिकेशर सिंह 

हनी हन्टिङ  

भीर मौरीको मह ओखती मानिन्छ। घलेगाउँ नजिकैको भीरमा माहुरी बस्छन्। त्यहाँ वर्षका दुईपटक कात्तिक÷मंसिर र चैत÷वैशाखमा मह शिकार गरिन्छ। शिकार गर्ने परम्परागत शैली छ। शिकार गर्नुअघि देवताको पूजा गरिन्छ। भीरमा शिकार गर्नु सजिलो हुँदैन। शिकारीहरू डोरी र बाँसको सहाराले झुन्डिएर मौरीलाई चाकाबाट धुँवाले भगाउँछन्। अनि मह काढ्छन्।

भीर मौरी। तस्बिर: ज्योतिकेशर सिंह

गुरुङ पहिरन  

गाउँको संयुक्त आमा समूहले पाहुनालाई गुरुङ पहिरन लगाएर फोटो खिच्ने सुविधा दिलाएको छ। निश्चित रकम तिरेपछि महिला तथा पुरुषले परम्परागत पहिरनमा सजिएर फोटो खिच्न पाउँछन्। यसरी खिचेको फोटो घलेगाउँको मीठो सम्झना बनिरहन्छ। 

गुरुङ पहिरनमा आन्तरिक पर्यटक। 

पदमार्ग  

घलेगाउँ, घनपोखरा, ठूल्लेक हुँदै सिक्लेस भएर पोखरा निस्कने क्याम्पिङ टे«कका लागि एक हप्ता समय लाग्छ। त्यस्तै घलेगाउँबाट थुर्जुलेक हुँदै नामुन भञ्ज्याङ पार गरेर मनाङको तिमाङ पुग्न पनि एक हप्ता क्याम्पिङ टे«क गर्नुपर्छ। घलेगाउँबाट घनपोखरा, भुजुङ, पसगाउँ, पाख्रिकोट हुँदै बेगनास तालसम्म तीन दिने पदयात्रा गर्न पनि सकिन्छ।

पदमार्ग

खाना

घलेगाउँका होमस्टे तथा होटलमा दाल, भात, तरकारी, कोदोको ढिँडो, अचार, रोटी, कोदोको प्यानकेक, लोकल कुखुराको मासु, सुकटी, नारी–पा (कोदोको रक्सी) आदि पाइन्छ। त्यस्तै खाजामा कोदोको सेल रोटी–तरकारी, मकै–भटमास र गुन्द्रुक, झिलिङ्गा आदि हुन्छ। सिजनअनुसारका लोकल तरकारी पाक्छ। होटल तथा रेष्टुराँमा विकासे मदिरा, मम र चाउमिन लगायत परिकार पनि पाइन्छ।

होमस्टे  

घलेगाउँमा २०५६ साल चैत २० गतेदेखि होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरिएको हो। १२ घरबाट होमस्टे शुभारम्भ गरिएकामा अचेल ४० घरमा होमस्टे गराइन्छ। तीमध्ये दुई घर दलितका हुन् भने बाँकी गुरुङका। सामुदायिक होमस्टे र होटल ‘घलेज् होम’मा एकै पटक २५० जना बास बस्न सक्छन्। त्यहाँ पारिवारिक वातावरण पाइन्छ। गाउँलेहरू पाहुनालाई फूलमाला र टीकाले स्वागत तथा बिदाइ गर्छन्।  

कोसेली

कुनै पनि ठाउँमा घुम्न जाँदा त्यहाँको कोसेली लिएर फर्कनुपर्छ। घलेगाउँबाट कोसेलीका रूपमा लोकल चिया, मह, कोदोको पिठो, भटमास, गुन्द्रुक, राडीपाखी, डोकोनाम्लो, बर्खे आलु र सिजनअनुसारका तरकारी ल्याउन सकिन्छ।

कसरी पुग्ने ?

वर्षैभरि घलेगाउँ जान सकिन्छ। काठमाडौं–बेंसीशहर १७२ किमि, बसमा ५ घन्टा। अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखरा–वेशिसहर ११० किमि। बेंसीसहर–घलेगाउँ २४ किमि। पदयात्रा गर्दा बेंसीसहरबाट बागलुङपानी हुँदै घलेगाउँ पुग्न ६ घन्टा। त्यस्तै खुदीबाट ६ घन्टा उकालो चढेर पनि घलेगाउँ पुगिन्छ।  

ट्राभल टिप्स  

१. होमस्टेमा बास बस्ने गरी जाँदा पहिल्यै खबर गर्नुपर्छ। त्यसो भएमा गाउँलेहरूले आवश्यक स्वागत, सत्कार र खानपिनको तयारी गर्ने समय पाउँछन्। अर्को कुरा, घाम नडुब्दै गाउँमा पुगिसक्नुपर्छ।

२. पर्यटकलाई पर्यटन व्यवस्थापन समितिले घरघरमा बाँडेर राख्छ। उसले आलोपालो प्रणालीमा होमस्टेमा राख्छ। जुन घरमा बसेर खानपिन गरे पनि प्याकेजको मूल्य एउटै हुन्छ।

३. होमस्टे तथा होटलमा मर्यादित भएर बस्नुपर्छ। मेनुमा नभएका कुरा डिमाण्ड गर्नु हुँदैन। राती १० बजे भन्दा पछाडि किचनमा बस्न मिल्दैन। होहल्ला गर्न पनि पाइँदैन।

४. स्थानीय संस्कृति, बोलिचाली, धर्म, भेषभुषा आदिको सम्मान गर्नुपर्छ। गाउँलेसँग राजनीति, धर्म र जातका विषयमा वादविवाद गर्नु हुँदैन।

५. होमस्टेमा जाँदा होस्ट परिवारका लागि उपहार लिएर गएमा आत्मीय गाढा बन्छ। साथै परिवारलाई तरकारी केलाउन, सरसफाइ गर्न, करेसाबारी गोड्न आदि काममा सघाउनु बेस हुन्छ।

परम्परागत शैलीको घर।

म्यान अफ एक्सन  

पर्यटनको उज्यालोमा मुस्कुराइरहेको घलेगाउँ संसारभर प्रख्यात छ। ग्रामीण पर्यटनबाटै गाउँलेहरू समृद्धिका पाइला चाल्दैछन्। मुलुकभित्रका अन्य गाउँहरूका लागि समेत घलेगाउँ ग्रामीण पर्यटनको नमुना पाठशाला बनिसक्यो। घलेगाउँलाई पर्यटनधाम बनाउने अगुवा हुन्–प्रेम घले

प्रेम घले।

उनकै सपना र नेतृत्वमा घलेगाउँले काँचुली फेरेको हो। गाउँका १२ घरमा होमस्टे सुविधासहित २०५६ साल चैत २० गते ग्रामीण पर्यटनको अभ्यास गरिएको थियो। अचेल ४० घरमा होमस्टे सुविधा छ। पर्यटनको आम्दानी गाउँलेमा बाँडिएको छ। हिजो वैदेशिक रोजगार आम्दानीको प्रमुख माध्यम बनेको थियो भने आज पर्यटनबाटै गाउँ सबल बन्दैछ।

घलेगाउँकै लाहुरे संस्कृतिमा हुर्केबढेका प्रेम पनि १९ वर्षको उमेरमा भारतीय सेनामा भर्ती हुन सिमला पुगेका थिए। त्यहाँ भर्ती हुन उनको तौल पुगेन। केही महिना सिमलामा बस्दा उनले लाहुरेका दुःख बुझे। उनलाई लाग्यो, ‘यस्तो दुःख गाउँमै गर्न सके मातृभूमिको गुन तिरिन्छ।’

प्रकृति, संस्कृति र इतिहासको त्रिबेणीधाम घलेगाउँमा पर्यटनको फूल फुलाउने सपना देखे उनले। सपना मात्र देखेनन्, आवश्यक जनचेतना वृद्धि, पूर्वाधार विकास र मार्केटिङका कामको पनि अगुवाइ गरे। गरिरहेका छन्। उनको होस्टेमा हैंसे  गर्दैछन् गाउँले।   

अनि लाहुरे बन्ने सपना त्यागेर स्वदेश फर्केपछि उनले घलेगाउँमा घलेउत्तरकन्या प्रावि खोलेर १० वर्षसम्म शिक्षा दान गरे। राजनीतिमा पनि उनको लगाव थियो, त्यसैले २०४८ सालमा उत्तरकन्या गाविसको अध्यक्षमा निर्वाचित भए। दोस्रोपटक २०५४ सालमा भने अध्यक्षमा निर्विरोध निर्वाचित भए। अहिले उनी क्होंलासोंथर गाउँपालिकाको अध्यक्षका रूपमा क्रियाशील छन्।  

प्रकृति, संस्कृति र इतिहासको त्रिबेणीधाम घलेगाउँमा पर्यटनको फूल फुलाउने सपना देखे उनले। सपना मात्र देखेनन्, आवश्यक जनचेतना वृद्धि, पूर्वाधार विकास र मार्केटिङका कामको पनि अगुवाइ गरे। गरिरहेका छन्। उनको होस्टेमा हैंसे  गर्दैछन् गाउँले।   घलेगाउँ सुरक्षित गन्तव्य बनेको छ। गाउँलेरू फरासिला, इमानदार, आत्मीय र मायालु छन् ।

बिस्तारै उनको सपना पूरा हुँदैछ। लमजुङको सदरमुकाम बेंसीशहरदेखि घलेगाउँसम्म चाँडै सडक कालोपत्रे बन्दैछ। सडक पिच भएपछि गाउँमा खर्चालु पर्यटक बढ्नेमा उनी आशावादी छन्। पर्यटकहरू दुई–चार दिन घलेगाउँमा बसेर हयाङ्आउट हुनेछन्।

उनी घलेगाउँमा मात्र सिमित छैनन, अध्यक्ष बनेपछि सिंगो क्होंलासोंथर गाउँपालिकालाई पर्यटकीय केन्द्र बनाउने अभियानमा होमिएका छन्। त्यसका लागि पसगाउँ, भुजुङ, घाम्राङ, गिलुङ र बागलुङपानीमा काम शुभारम्भ गरिसकेका छन्।

६१ वर्षको उमेरमा समेत तन्नेरी जोश बोकेर हिँडिरहेका ग्रामीण पर्यटनका नायक प्रेम घले जीवनभर पर्यटनकर्ममै समर्पित हुन चाहन्छन्। उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना!

सम्पर्क

प्रेम घले–९८५६०४५०१२

आसविर गुरुङ–९८४६५६०८९४

दीर्घ घले–९८४६१९३०६७

भ्यू टावर।

प्रकाशित: १३ असार २०७७ १५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App