१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बादलले एआई मत भनेपछि मनिष झाले मागे मतदातासँग माफी

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपाले निर्वाचनमा पाएको अभूतपूव मतलाई एआई र अल्गोरिदमको नतिजा भनेपछि रास्वपाका प्रवक्ता मनिष झाले आपत्ति जनाएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नागरिकको मतलाई विदेशी शक्ति र एआईसँग जोडेर अपमान गरिएको भन्दै आपत्ति जनाएका हुन्।

प्रवक्ता झाले निर्वाचनमार्फत् जनताले दिएको मतलाई यन्त्र र विदेशी शक्तिको प्रभाव भन्नु लोकतन्त्र र संवैधानिक प्रक्रियाकै उपहास भएको बताए।

चुनावमा पराजित भएपछि हारको आवेगमा यस्ता अभिव्यक्ति आउनु मानवीय स्वभाव भए पनि सार्वभौम संसदबाटै मतदाताको अपमान गर्न नहुने उनको जिकिर छ।

जनताले आफ्नो स्वविवेकले खसालेको मतलाई एआईको उपज भनेर परम्परागत दलका नेताहरूले हार स्वीकार्न नसकेको उनको बुझाइ छ।

नेता बादलको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै प्रवक्ता झाले मतदाताहरूसँग क्षमायाचना समेत गरे। परम्परागत दलका नेताहरूले मतदातासँग कहिल्यै माफी माग्न नजानेको भन्दै उनले दलका तर्फबाट आफूले माफी मागेको बताए।

सञ्चारकर्मीहरूसँग उनले भनेका छन्, ‘विदेशी शक्ति, अल्गोरिदम र एआई भन्दै गर्दा म ती मतदाताहरूसँग माफी माग्न चाहन्छु। यो सदनबाट एकजना नेकपा एमालेको संसदीय दलको नेताले ती मतहरूको अपमान गर्नुभयो। उहाँहरूले त कहिल्यै माफी माग्न जान्नुभएको छैन, हामी माफी माग्न चाहन्छौं।’

जेनजी आन्दोलनमा ७६ जनाको ज्यान जाँदा र नरसंहार हुँदा समेत गल्ती महसुस गरेर माफी नमाग्ने नेताहरूले अहिले नयाँ शक्तिको उदयलाई पचाउन नसकेको उनले औंल्याए।

आफूहरूले जे गरे पनि नयाँ शक्तिले सहेर बस्नुपर्छ भन्ने मानसिकता पुराना दलहरूले पालेको उनले बताए।

प्रकाशित: १९ चैत्र २०८२ १८:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App