कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको सम्झौता यहीँ वैशाखमा सकिँदै छ। वैशाखमा सकिने उक्त सम्झौताको नवीकरण नगर्ने पक्षमा त्रिभुवन विश्वविद्यालय रहेको छ। क्रिकेट मैदानको भाडा सम्झौता नमिलेको र विश्वविद्यालयको हितविपरीत भएको भन्दै त्यसको पुनरावलोकन गर्न त्रिभुवन विश्वविघालय क्रिकेट संघको माग छ। सो नवीकरण नभएमा नेपाली क्रिकेट अर्का खतरमा पुग्ने संकेत देखिएको छ।
संघले ध्यानार्कष्ण पत्र बुझाउँदै ७ बुँदे माग अघि सारेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट संघका पूर्वअध्यक्ष तथा बागमती क्रिकेट संघका निर्देशक अनिल अधिकारी प्रक्रियागत ढंगले यो सम्झौता हुन पर्ने बताउँछन्। "हामीले खेल र खेलाडीलाई मर्कामा पार्न खोजेको होइनौँ, तर यो सम्झौता प्रक्रियागत ढंगले अघि बढोस् भने हाम्रो माग हो,"उनले भने।
विश्वविद्यालयले कीर्तिपुर मैदानमा खेल हुँदा पढाइमा बाधा पुगेको भन्दै आपत्ति समेत जनाएको हो। नेपाल सरकारले करोडौको लगानी गरेर १० हजार सिट क्षमता, फ्लडलाईट र अर्बौको गुरु योजना बनाउँदा जग्गाधनी रहेको विश्वविद्यालयलाई बेवास्ता गर्दै मैदानबाट आउने आम्दानी तथा रोयल्टी नजरअन्दान गरी वर्षौदेखि भष्ट्राचारलाई प्रश्रय दिइरहेको आरोप छ।
२०५९ सालको वैशाख १ गतेदेखि २०८३ चैत मसान्तसम्मको २५ वर्षका लागि सम्झौता भएको थियो। तर, सम्झौता सकिन केही दिनमात्र बाँकी रहँदा पनि नेपाल क्रिकेट संघबाट कुनै प्रतिक्रिया नआएको विश्वविद्यालय क्रिकेट संघको भनाई छ।
क्यानले भने सम्झौता अनुसार खेल विश्वविद्यालयलाई भाडा बुझाउँदै आइरहेको छ। जसका पहिलो चरणको भाडादेखि दोस्रो चरणका लागि समेत क्यानले जग्गा लिए बापत रकम बुझाएको हो।
सम्झौता भएको केही वर्षसम्म क्यानले विश्वविद्याललाई हरेक वर्ष ३ लाख रुपैयाँ तिर्दै आएको थियो, त्यसपछि भने दोस्रो चरणमा क्यानले हरेक वर्ष सम्झौता भए अनुसार ९ लाख रुपैयाँ तिरेको थियो। "हामीले यस विषयमा प्रस्तावहरु राखेका छौँ। नवीकरण गर्न पक्षमा नै छ क्यान। हामी यसविषयमा छलफलमै छौँ" क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक भन्छन् "हामी विश्वविद्यालयसँग बसेर यो विषयमा छलफल गर्नछौँ।"
जसअन्तर्गत विश्वविद्यालयलाई क्यानले जग्गा प्रयोग गरेबापत ३ लाख, त्रिविको विद्यार्थीको छात्रवृत्तिका लागि २ लाख र विश्वविद्यालयमा सन्चालन हुने खेलकुदका लागि १ लाख रुपैयाँ बुझाउँदै आएको हो। "हाम्रो लक्ष्य भनेको शिक्षा र खेललाई सँगै मिलाएर अघि लग्नु हो, तर क्यानका अधिकारीहरुले यस विषयमा केही चासो नदेखाउनुले हामीले ध्यानाकर्षण पत्र बुझाएका हौँ" बागमती क्रिकेट संघका निदर्शक अधिकारीले भने।
विश्वविदयालयले क्यानको कुनै पनि प्रतियोगिता आयोजन हुँदा त्रिविको विद्यार्थी, प्रध्यापक तथा कर्मचारीहरुलाई ३० प्रतिशत सिटको व्यवस्थापन गरेर पास प्याराफिट तथा टिकटको व्यवस्थान गर्न समेत माग गरेका छन्।
यति मात्र नभई विश्वविद्यालय संघले निवर्तमान प्रभानमन्त्री सुशीला कार्कीलाई यस विषयमा ध्यानआर्कष गराउँदै आइरहेको थियो। नेपालमा त्रिवि क्रिकेट मैदान जस्तो सुविधा सम्पन्न मैदान अर्को छैन। हालैमात्र फ्लडलाइट जोडिएपछि दिन र रातमा पनि खेल गराउन सक्ने भएको यो मैदान नै विवादमा परे नेपाली क्रिकेट जगतमा अन्योल आउनेछ।
तर, विश्वविद्यालय नवीकरणमा जाने पक्षमा अहिले विल्कुलै छैन। नेपाल क्रिकेट संघको बोर्ड बैठकबाट अझै यस विषयमा प्रस्ट हुने पाठकको भनाई छ। "क्यानको बोर्ड बैठक केही दिनमै बस्नेछ। बैठकमा यो नवीकरण बारे अझै प्रस्ट हुन्छ। हामी प्रक्रियागत ढंगमै अघि बढ्ने पक्षमा छौा यस विषयमा खेलकुद मन्त्रालय, राखेप लगायता सरोकारवालासँग पनि छलफल गर्नछौँ," उनले भने।
उनीहरु ७ बुँदे मागसहित क्यानसँग सम्झौता गर्ने पक्षमा छन्। नेपालका ठूला-ठूला प्रतियोगिता यही मैदानमा हुँदै आइरहेको छ। विश्वविद्यालयपछि नहटे नेपालले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका खेलहरु यो मैदानबाट गुम्ने देखिन्छ। विश्वविद्यालयले राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रामचरित्र मेहतालाई समेत ध्यानआर्कष पत्र बुझाएको छ।
सदस्य सचिव मेहता त्रिवि क्रिकेट मैदानको नवीकरणका लागि राखेप सकारात्मक रहेको बताए। "हामीलाई त्रिवि विश्वविद्यालय क्रिकेट संघले यस विषयमा ध्यानार्कषण पत्र बुझाउनु भएको छ, राखेप यस विषयमा सकारत्मक रहेको छ" सदस्य सचिव मेहताले नागरिक दैनिकसँग भने "हामी उहाँहरु दुवै पक्षसँग बसेर यो विषयमा छिटै निश्कर्ष निकाल्छौँ। "
नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही मैदानमा विश्वकप लिग २ खेल्ने तालिका छ। हालसम्म उक्त तालिका सार्वजनिक भएको छैन, जसले गर्दा मैदानको नवीकरण नभए यो खेल त्रिवि मैदानबाट गुम्ने छ। जुन नेपाली क्रिकेटका लागि घाटा हुनेछ। यही खेलका लागि भनेर अहिले त्रिवि मैदानमा काम भइरहेको छ।
यति, मात्र नभई विश्विद्यालय र क्यानबीच सम्झौता नभए त्रिवि मैदानमा अन्य खेल पनि हुनेछैनन्। यस मैदानको नवीकरणको विषयमा नतिजा सकारात्मक आउने पाठकले बताए। "त्रिवि क्रिकेट मैदान राष्ट्रको एउटा गौरव हो, यो मैदान विश्वभर नै चर्चामा छ। हामी सकारात्मक छौँ । विश्वविद्यालयबाट नेपाली क्रिकेट जगतलाई केही क्षति पुग्दैन, उहाँहरुसँग छलफल गरेर मिलेर हामी अघि बढ्ने छौं," पाठकले भने।
यस्तो छ विश्वविद्यालयका ७ बुँदे मागहरू:
१.त्रिभुवन विश्वविद्यालय र नेपाल क्रिकेट संघबीच भएको मैदान भाडाको सम्झौतालाई पुनरावलोकन गरी साेको मैदानबाट हुने आम्दानी तथा रोयल्टीमा त्रिभुवन विश्वविद्यालयलाई पनि भागीदार बनाई त्रि.वि.को खेलकुद विज्ञान विभाग तथा खेलकुद विकासका लागि प्रयोग गरियाेस्।
२. त्रि.वि. क्रिकेट मैदानमा नेपालको ऐनकानुनको खिल्ली उडाउँदै विभिन्न सट्टेबाजी, जुवा तथा अनधिकृत गतिविधिको ज्ञानविन गर्दै नेपाल टी-२० तथा एनपीएल छानबिनको फाईल खोल्दै न्यायिक छानबिन आयोग गठन गरियोस्।
३.कुनै पनि प्रतियोगिता आयोजना गर्दा त्रि.वि.को विद्यार्थी, प्रध्यापक तथा कर्मचारीहरुलाई ३० प्रतिशत सिटको व्यवस्थापन गरी आवश्यक पास प्याराफिट तथा टिकटको व्यवस्था गरियाेस् ।
४. त्रि.वि.लाई जिल्ला सरह मान्यता दिएको क्रिकेट टिमको विकासका लागि नेपाल संघबाट आउने अनुदान क्रिकेट सामग्री तथा प्रशिक्षकको प्रात्याभुत गरी आधुनिक र खेलमैत्री विश्वविद्यालय निमार्णका लागी पहल गरियोस् ।
५. त्रिवि खेलकुद विज्ञानका लागि खेलकुद प्रयोगशाला अनुसन्धान तथा अध्यनको लागी त्रिवि क्रिकेट मैदानबाट हुने आयआर्जनबाट प्रत्यक्षरुपमा व्यवस्था गरियोस् ।
६.देशको वर्तमान परिस्थितिमा दशौ हजार युवा, महिला तथा बालबालिकाहरुको भिड हुने एनपीएल प्रतियोगिताको सुरक्षा तथा व्यवस्थापनको सुनिश्चिता तथा विश्लेषण गरी सरोकारवाल निकायहरु सबैसँग छलफल गरी स्वीकृत गरियोस् ।
७.त्रि.वि.को शैक्षिक वातावरण खलबल नगरी क्रिकेट मैदानबाट हुने हो-हल्ला र मिट व्यवस्थापनलाई वैज्ञानीक रुपमा संयुक्त समिति गठन गरी समाधान गरियोस् ।
प्रकाशित: १९ चैत्र २०८२ १८:४८ बिहीबार

