१६ चैत्र २०८० शुक्रबार
अन्य

लकडाउन डायरी

आयुषा बास्तोला ,

कक्षा– ५,

लिटल वन्डर्स स्कुल, कपन, काठमाडौं ।

मेरो नाम आयुषा बास्तोला हो । म  १० वर्षकी  भएँ ।  म ५ कक्षामा पढ्छु । मेरो विद्यालयको नाम लिटल वन्डर्स स्कुल हो । यो स्कुल कपन मिलनचोकमा छ र यहाँ शिशुदेखि ५ कक्षासम्म पढाइ हुन्छ । मलाई मेरो विद्यालय असाध्य मनपर्छ ।  

चैत ५ गतेदेखि हाम्रो परीक्षा सकिएर  हाम्रो विद्यालय बन्द भएको थियो । त्यतिबेला म मामाघरमा बसेकी थिएँ । चैत १० गतेदेखि  लकडाउन सुरु  भएको  थियो । लकडाउन  सुरु भएदेखि म आफ्नो मामाघरमा बसिरहेकी छु । लकडाउन भएपछि मेरो दिनचर्या फेरिएको छ । बिहान म ७ बजेतिर उठ्छु । त्यसपछि म ब्रस गर्छु, दूध खान्छु र एकछिन भाइबहिनीसँग खेल्छु । त्यसपछि माम खान्छु । दिउँसो  एकछिन टेलिभिजन हेर्छु र पढ्छु  । बेलुका फेरि म एकछिन भाइबहिनीसँग खेल्छु अनि राति मामा खाएर सुत्छु ।  

 मेरो मामाघरमा हामी दश जना छौं । मेरा भाइ र बहिनी पनि मसँगै बसेका छन् । म, भाइ र बहिनी विभिन्न क्रियाकलाप गरेर समय बिताउँदै छौें । जस्तै विभिन्न खेल खेलेर, पढेर, एकछिन मोबाइल हेरेर, नयाँ चित्र बनाएर आदि । 

मलाई टिकटक बनाउन पनि रुचि लाग्छ । मैले यो समयमा तीनचार वटा टिकटक पनि बनाएकी छु । त्यसबाहेक मैले कोठा सफा गर्न, चाउचाउ पकाउन, लुगा मिलाउन, तरकारी काट्न, कपाल कोर्न आदि सिक्ने अवसर पाएँ । मलाई नाच्न, गीत सुन्न, भाइबहिनीलाई खेलाउन, टेलिभिजन हेर्न, पढ्न र ब्याडमिन्टन खेल्न मनपर्छ । मलाई यी सबै क्रियाकलाप गर्न सिक्दा एकदम रमाइलो लागेको छ ।

मलाई लकडाउनमा फसेका मानिसहरूको समाचार सुन्दा नराम्रो लागेको छ । कोरोना भाइरसले गर्दा सबै कलकारखाना, उद्योग, विद्यालय, कार्यालय बन्द छन् जसको कारणले सबैलाई असर परेको छ । उद्योगहरू बन्द हुनाले मानिसहरूले रोजगारी गुमाएका छन् । विद्यालय बन्द हुनाले विद्यार्थीको पढाइमा असर परेको छ । लकडाउनका कारण गाडीहरू बन्द हुनाले मानिसहरू बाटैमा अलपत्र परेका छन् ।

 मलाई मजस्तै केटाकेटीहरूले खान नपाएको, लाउन नपाएको र बाबाममीसँग बस्न नपाएको समाचार सुन्दा एकदमै चिन्ता लाग्छ । किनभने उनीहरूलाई पनि भोक लागेको हुन्छ तर खाना दिने मान्छे कोही हुँदैन । यो समय मानसिक रूपमा पनि कमजोर हुन्छन् । तर, सहारा दिने कोही हुँदैन । अरूको सहयोगमा जीवनयापन चलाउने बालबालिकाहरूको जीवन निकै कष्टकर भएको देख्दा मलाई निकै माया लाग्छ । अहिले म आफै सानो छु । त्यसकारण धेरै सहयोग गर्न त सक्दिन होला । तर, मसँग भएका पुस्तकहरू, मैले खेलेका खेलौनाहरू र कहिलेकाहीँ  खाजाहरू लिएर सहयोग गर्न सक्छु ।

घरमा बस्दा मैले मेरा साथीहरू जिजेल, पासाङ ल्हामु, प्रिन्सु, जेनी र रियानालाई सम्झिरहेकी छु । उनीहरू मेरा सबैभन्दा मिल्ने साथी हुन् । त्यसैले मलाई ती साथीहरूको धेरै याद आइरहेको छ । लकडाउन खुलेपछि म साथीहरूलाई भेट्न जान्छु ।

लकडाउनको यो समयलाई मैले परिवारसँग बसेर नयाँ काम गर्ने अवसरको रूपमा लिएकी छु । जुन कामहरू हामीले दैनिक जीवनमा गर्नुपर्छ । ती कामहरू आमा, मामा माइजू र दिदीहरूसँग बसेर सिक्न पाउँदा मलाई निकै रमाइलो लागेको छ । मेरा साथीहरूलाई पनि यस्तै नयाँनयाँ कामहरू सिक्न सल्लाह दिन्छु ।

अन्त्यमा यो कोरोना  भाइरसको औषधि छिटै पत्ता लागोस्, कोही  पनि यो रोग लागेर मर्नु नपरोस्  र संसारभरिका मान्छेले खुसी प्राप्त गरुन् भन्ने मेरो चाहना छ ।

प्रकाशित: २१ जेष्ठ २०७७ १०:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App