१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

बालेनका लागि महोत्तरी ३ कति सुरक्षित ?

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला उनी आफ्नो पैतृक गाउँ एकडारा गाउँपालिका रहेको महोत्तरी क्षेत्र नम्बर ३ बाट पनि चुनाव लड्न सक्ने अडकलबाजी हुन थालेको छ। त्यसो हुनुको कारण आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा रास्वपाले आयोजना गरेको परिवर्तन उद्घोष सभा हो।

यो सभा समान्य चुनावी सभाभन्दा पनि जनकपुरधामबाट मधेसलाई आफ्नो पक्षमा पार्ने सभा भनेर धेरैले अड्कल काढ्न थालिएको छ। यही सभाबाट बालेन पहिलो पटक सार्वजनिक सभामा भाषण गर्दै छन्। मधेसीपन र मधेसीमन प्रस्तुत गरेर मधेसको मन र मत जित्ने यो सभाबाट बालेनले आफ्नो उम्मेदवारी मधेसबाटै गर्ने हुन् कि होइनन् त्यो हेर्न बाँकी नै छ। तर, यदी उनी महोत्तरीबाट उम्मेदवार बने भने चाहीँ के हुन्छ? उनको पैतृक गाउँ रहेको क्षेत्र उनका लागि सुरक्षित छ वा छैन?

पहिला महोत्तरीको क्षेत्र नम्बर ३ को समीकरण बुझौं। यो क्षेत्रमा मटिहानी नगरपालिका, पिपरा गाउँपालिका, जलेश्वर नगरपालिका र मनरासिसवा नगरपालिका पर्छ। मनरासिसवाको ८,९ र १० नम्ब वडा र पिपरा गाउँपालिकाको ६ नम्बर वडा यो क्षेत्रमा पर्दैन।

अब बुझौं यी पालिकाहरूको मुखिया (प्रमुख) कुन-कुन पार्टीका छन्। मटिहानीको प्रमुख (लोसपा) पार्टी एकीकरणपछि जसपा, पिपरा गाउँपालिका (जसपा), जलेश्वार नगरपालिका (जसपा) र मनरासिसवा गाउँपालिका (नेपाली कांग्रेस) छन्।

अब जानौं यस क्षेत्रको जातीय समीकरण। यो क्षेत्रमा एकल जनसंख्याको हिसाब गर्दा भूमिहारको जनसख्या बढी छ। मैथिल ब्राम्हणको जनसंख्या पनि उल्लेख्य छ। यादव जातिको पनि बलियो उपस्थिति छ। वैश्य जुन जातीय समुदायबाट बालेन प्रतिनिधित्व गर्छन् यो जातीय समुदायको पनि बलियै उपस्थिति छ। मुस्लिम, दलितलगायतको मिश्रित बसोबास रहेको यो क्षेत्रमा बालेन सुरक्षित छ त? स्थानीय बुद्धिजिवी चन्दन दुबे भन्छन्, ‘यो क्षेत्र रास्वपा करिब करिब शून्य रहेको क्षेत्र हो। यो पार्टीको संगठन छैन।’

मुख्य विषय जसले बालेनलाई यो क्षेत्रमा असुरक्षित बनाउँछ त्यो हो संगठनको नेतासँग भिडको चेहरा भिड्दा आउने प्रतिफल। दुबेले नागरिकसँग भने, ‘जसले दिनरात, दुःख सुख, मरनहरन, सबैमा सधैं साथसाथ रह्यो उसलाई छोडेर बेरानोसँग साइनो गाँस्न पुग्नु सजिलो छैन।’ यो क्षेत्रको अर्को खुवसुरुरी पनि छ त्यो हो एकल जातीय जनसंख्याको हिसाबले बलियो भूमिहार समुदाय बौद्धिक र जागरुक छन्। उनले भिड वा चर्चाको भरमा आफ्नो मतले बाकस भर्दैनन्।  

बालेको बलियो पक्ष हो ‘फेस भ्यालु’। तर, उनी सहभागी रहेको पार्टीको न संगठन छ न फेस भ्यालु दुबेले विश्लेषण गर्छन्, ‘यो क्षेत्रबाट बालेन चुनाव लडे भोट त पाउँछन् तर जित मुस्किल छ।’ दुबै अगाडि भन्छन्, ‘राजनीतिक र सामाजिक चेत, जातीय समीकरण, बलियो संगठन र सामाजिक गठजोर बालेनका मुख्य चुनौती हुन्। चुनाव फेस भ्यालु मात्रले जित्न सकिँदैन।'

यो क्षेत्रबाट महन्थ ठाकुर निर्वाचित हुँदै आएको छ। असपाली जसपाले हरिनारायण यादवलाई चुनावी मैदानमा उतार्छन् कि महन्थ ठाकुरकी छोरीलाई त्यो तय भइसकेको छैन।

महोत्तरीको चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ बाट एमालेका लक्ष्मी महतो, क्षेत्र नम्बर २ बाट जसपाका सरतसिंह भण्डारी, क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित भएका थिए।  

बालेन क्षेत्र नम्बर ३ छाडेर महोत्तरीको अर्को निर्वाचन क्षेत्रबाट चुनाव लडे आफ्नो पैतृक गाउँ रहेको क्षेत्रबाट किन नलडेको? भन्ने प्रश्न तेर्सिन सक्छ। त्यही भएर उनी यदी मधेसबाट चुनाव लडे महोत्तरीको क्षेत्र नम्बर ३ बाटै लड्नुपर्ने व्यावहारिक र प्राविधिक बाध्यता छ।

प्रकाशित: ५ माघ २०८२ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App