संविदा वाग्ले
डिसेम्बर २९ मा चीनको वुहानमा कोरोना भाइरस देखा परयो । एकबाट अर्कोमा सजिलै सर्ने भएकाले थोरै समयमा धेरै मान्छे संक्रमित भए । त्यसैगरी मृत्यु पनि बढ्यो । नेपालमा पनि पूर्व सावधानी अपनाउँदै सरकारले जनतालाई आफै क्वारेन्टिनमा बस्न आग्रह गरयो । चैत ६ गतेदेखि विद्यालयहरू बन्द भए । विदेशबाट आएका नेपालीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि देशमा लकडाउन शुरू भयो । शुरूमा देशभित्र कोरोना फैलिएको थिएन । तर अलिअलि गर्दै फैलन थालेपछि लकडाउन बढिरहेको छ । चैत ११ बाट शुरू भएको लकडाउन दुई महिना बितिसक्यो ।
अहिले देशका धेरै भागमा यो रोग फैलिएको छ । यो भाइरसले बालबालिकालाई पनि भयभीत तुल्याएको छ । शुरूमै एक बालिका कोरोना संक्रमित बनिन् । उपचारपछि उनलाई निको भयो । तर, दुई वर्षकी बालिकाको कोरोनाबाट मृत्यु भैसकेको छ । यो सारै दुःखलाग्दो कुरा हो । त्यसैले बालबालिकाले पनि एकदम सतर्क हुनुपर्छ । यसका लागि अपनाउनुपर्ने सुरक्षाबारे सबै बाबाआमालाई थाहा भैसकेको छ तर आफूले थाहा पाएको कुरा पालना गर्ने र आफ्ना छोराछोरीलाई पनि पालना गर्न लगाए मात्र कोरोनाबाट बच्न सकिन्छ ।
शुरूमा लकडाउन सबैलाई अनौठो लागेको थियो । योभन्दा अघि अभिभावकहरूलाई पनि यसबारे थाहा थिएन । अभिभावकसँग घर बस्न पाउँदा प्रायः छोराछोरीलाई त रमाइलो लागिहाल्छ तर काम बन्द भएर घरमा त्यत्तिकै बस्नुपर्दा अभिभावकलाई चिन्ताले खूबै सताएको छ । लकडाउनका कारण धेरै काम पछाडि सारिए । देशको शिक्षा क्षेत्रमा सबैभन्दा धेरै बाधाहरू आइरहेका छन् । एसइई शुरू हुनुभन्दा १२ घण्टा अगाडि रोकियो । स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा बीचमै रोकियो । प्लसटुको परीक्षा कहिले हुने हो, कुनै यकिन छैन । त्यसले विद्यार्थीहरूलाई अन्योल बनाएको छ । परीक्षा हुनेनहुने यकिन नभएकोले विद्यार्थीहरूमा पढाइतिर जागँर गएको छैन ।
मेरो पनि अवस्था त्यस्तै हो । परीक्षा तयारीकै लागि अनलाइन कक्षा भने संचालन भइरहेका छन् । यो कक्षाबाट सक्दो फाइदा लिनुपर्छ । तर, कक्षा संचालनका बेला विभिन्न समस्या आइरहेका हुन्छन् । कहिले विद्यार्थी र कहिले शिक्षकतर्फ इन्टरनेटको समस्या देखिन्छ, कतिपय बेला शिक्षकले भनेको सुनिँदैन, तोकिएको समयमा कक्षा शुरू गर्न समस्या रहन्छ । तैपनि पढेका कुरा दोहो¥याउन तथा शिक्षक र साथीहरू बीच नजिक हुन अनलाइन कक्षाले सघाएको छ ।
आफूमा लुकेको सीप र कलालाई सामाजिक संजालमार्फत बाहिर प्रस्फुटन गर्न अहिले बालबालिका पनि अगाडि बढेका छन् । फिल्म हेर्ने, गीत सुन्ने, युटयुवबाट नयाँ परिकार बनाउने, घरको काममा अभिभावकहरूलाई सघाउने, आफूभित्रको कला बाहिर ल्याउने, देशविदेशका कुरामा चासो राख्ने आदि काम गरेर बालबालिकाले पनि फुर्सदको समय उपयोग गरिहेका छन् । मैले पनि लकडाउनको समय भरपूर उपयोग गरेको छु । निजी वेभसाइटमा ब्लग लेख्न थालेकी छ । यसलाई निरन्तर अगाडि बढाउने सोच छु । पत्रपत्रिका पढ्ने बानी बसेको छ ।
यही समयमा एउटा अनलाइन सभा समेत सम्पन्न भयो । संयुक्त राष्ट्रको महासभा कसरी संचालन हुन्छ ? देशका प्रतिनिधिहरूले आआफ्ना देशका विषय कसरी त्यहाँ उठाउँछन्, ती विषयमा कसरी छलफल हुन्छ आदि विषयमा अभ्यास गराउन ‘एमयुएन’ नाम दिइएको उक्त सभा ९ मेमा संचालन गरिएको थियो । मेरो कमिटीको विषय लैंगिक हिंसाविरुद्ध विभिन्न देशहरूमा संचालन भइरहेका ‘मिटु अभियान’ तोकिएको थियो । त्यसमा मैले संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने भूमिका पाएको थिएँ । त्यहीअनुसार अमेरिकामा चलेको ‘मि टु’ अभियानलाई मैले सभामा प्रवेश गराएको थिएँ । त्यसमाथि अरू देशका प्रतिनिधिबीच छलफल चलाइएको थियो ।
अन्य देशका प्रतिनिधिहरूले पनि आफ्नो देशको जल्दोबल्दो समस्या प्रस्तुत गरेका थिए । ती सबैैमा हामीले छलफल गरेका थियौं । सभा बिहानदेखि बेलुकासम्म चलेको थियो । अन्तमा छलफलको निष्कर्षसहित रिजोलुसन पेपर समेत तयार गरेर सभा सम्पन्न गरिएको थियो । त्यसमा आफ्नो कमिटीको तर्फबाट ‘वेस्ट डेलिगेट’को उपाधि पाउन सफल भएँ । त्यसको डिजिटल प्रमाणपत्र पनि पाइसकेको छु । सरकार प्रमुखको भूमिकासहित सभामा भाग लिँदा गौरवानुभूति हुने रहेछ । सबै सहभागीहरूलाई संयुक्त राष्ट्रसंघ सम्बन्धी जानकारी र प्रक्रिया बुझ्न उक्त सभाले धेरै सहयोग पुरयायो ।
अहिले नेपालमा पहिलाभन्दा धेरै कोरोना फैलिसकेको छ । यसबाट सबै चिन्तित बनेका छन् । लकडाउन शुरू भएको दुई महिनाभन्दा बढी भैसकेको छ । जेठ महिनाभरि त लकडाउन घोषणा भैसकेको छ । अझै कति हुने ठेगान छैन । मैले धेरै त्यस्ता भिडियोहरू हेरेको छु, जसमा खाना नभएर धेरै परिवार विचल्लीमा परेका छन् । साना बालबालिकाहरूले भोकाएको बेलामा खान नपाएको देखेर सारै दुःख लाग्यो । विरामीले उपचार नपाएको दृश्यले पनि त्यस्तै दुःखी बनायो । अभिभावकले काम गर्न नपाएकोले नै त्यो अवस्था आएको हो । त्यसैले लकडाउनमा त्यस्ता परिवारलाई सरकारले सहयोग गर्नुपर्छ । सक्ने मान्छेहरूले पनि यसमा सहयोग पुरयाउनुपर्छ ।
अहिले कोरोनाको चिन्तासँगै भारत र नेपाल बीच सीमा विवाद चर्किएको छ । दुवै देशलाई कोरोनाले दुःख दिइरहेको यस्तो बेला दुवै देश मिलेर अगाडि बढ्नुपर्ने हो । हाम्रो देश भारतभन्दा सानो छ तर पहिला भारत लगायत धेरै देशहरूलाई उपनिवेश बनाएको बेलायतले नेपाललाई भने बनाउन सकेन । अहिलेसम्म हाम्रो देशमा कसैले पनि अधीन जमाउन नसकेको हामीले पाठ्यपुस्तकमै पढेका छौं । त्यसैले हामी नेपालीका लागि हाम्रो देश गौरवपूर्ण छ । यसबारे धेरै कुरा पत्रपत्रिकाबाट समेत थाहा पाएको छु । आफ्नो जमीन फिर्ता लिएरै छोड्न हाम्रो सरकारले अहिले राम्रो कदम चालिरहेको छ । नेपालको नक्शा समेत बदलिएको छ । यसमा सबै पार्टी र जनताले पनि सरकारलाई सहयोग गरिरहेका छन् । त्यसैले कोरोनाको डर र हाम्रो सीमा समस्या छिट्टै समाधान हुन्छ भन्ने विश्वास गरेकी छु ।
प्रकाशित: २० जेष्ठ २०७७ ०९:३२ मंगलबार