निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका संशोधन नहुने स्पष्ट पारेको छ। आयोगको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले माघ ६ गते मनोनयन दर्ता हुने र कार्यतालिका तोकिएको अनुसारै रहने बताए।
भण्डारीले कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरिसकेकाले अब माघ ६ गते मनोनयन पत्र दर्ता गर्ने समय आएको उल्लेख गरे। उनले मनोनयन दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी पनि दिए।
निर्वाचन आचारसंहिता लागू भएको र चार महिना अगाडि प्रकाशित कार्यतालिकाअनुसार नै कार्यक्रमहरू सञ्चालन भइरहेको बताउँदै भण्डारीले अब कुनै पनि विषयवस्तुमा संशोधन, थप, घटाउने काम नहुने बताए।
उनले तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन हुने धारणा राखे। आयोगले निर्धारण गरेको समयभित्रै मनोनयन पत्र दर्ता गर्नुपर्ने र दर्ता भइसकेपछि जाँचबुझ तथा अन्य कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए।
प्रकाशित: ५ माघ २०८२ १८:०९ सोमबार





