८ वैशाख २०८१ शनिबार
अन्य

लकडाउन र नातिनी

हरिप्रसाद भण्डारी

प्यारा प्यारा भाइबहिनीहरू !

आज म तपाईहरूलाई मेरी सानी नातिनी आर्याको कथा सुनाउँछु ।

हाम्रो घरमा ४ वर्षकी नातिनी छिन् । उनको नाम आर्या हो । उनी निकै चकचके छिन् । साना नानीहरू चकचके त हुन्छन् नै । तपाईहरूलाई पनि चकचक गर्न मन लाग्छ होला नि ? पक्कै लाग्छ । चकचक गर्नु, खेल्नु, उफ्रनु साना भाइबहिनीहरूको स्वभावै हो । त्यसो गर्दा शारीरिक व्यायाम हुन्छ र साना भाइबहिनीहरू बलिया अनि निरोगी हुन्छन् ।  

लकडाउन नहुँदै आर्या निकै  खुशी थिइन् । छिमेकी घरमा गएर आफ्ना साथीहरूसँग खेल्थिन् । उनका थुप्रै साथीहरू छन् । दिनभरि खेलेर पनि थाक्दिनथिन् । तर जब कोरोनाको हल्ला चल्न थाल्यो । संसारभरि लकडाउन भयो, तब हामी पनि सतर्क हुन थाल्यौं । आर्यालाई बाहिर जान दिएनौं । मूलढोकामा ताल्चा लगायौँ ।  

त्यसपछि आर्याले रोएर, झगडा गरेर हैरान पारिन् । बाहिर जान्छु कि जान्छु भनेर जिद्दी गर्न थालिन् । उनलाई सम्झाउन कठिन भयो । गेटबाहिर उनका साथीहरू थिए, भित्र उनी । अनि कसरी मान्नु !

कोरोना डरलाग्दो भाइरस हो । यसबाट बच्न सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने कुरा आर्यालाई थाहा थिएन । सानी आर्यालाई यस्ता कुरा सम्झाउनु पनि कसरी ? हामीलाई निकै कठिन भयो ।  

त्यसपछि मैले उनलाई बालकथा सुनाउन थालें । गीत सुनाउन थालें । मोवाइल दिएर कार्टुन हेर्न लगाएँ । घरको बरण्डामा पिङ हालेर चचहुई गर्न सिकाएँ । कहिले मोवाइलमा गीत लगाएर नाँच्न सिकाएँ । तपाईँहरूलाई आश्चर्य लाग्ला म बूढो मान्छे पनि उनीसँगै नाँचे ।  

म नाचेको देखेर आर्या हाँस्न थालिन् । उनी हाँसेको देखेर म खुशी भएँ र झन् कम्मर मर्काईमकाई नाचें । त्यसो गर्दा मलाई अरू खाले व्यायाम गर्नु पनि परेन । कस्तो मजा है ! म नाचेको देखेर आर्या पनि मसँगै नाच्न थालिन् ।  

त्यसपछि बिस्तारै हामीले उनलाई बाहिर जानु हुँदैन । नयाँ रोग आएको छ । त्यसले समात्यो भने जरो आउँछ, खोकी लाग्छ, जीउ दुख्छ भनेर सम्झायौं । बिस्तारै उनले सहमतिमा टाउको हल्लाउन थालिन् ।  

कहिलेकाहीँ हामी दूध, तरकारी वा अन्य खाद्यान्न लिन बाहिर जानुपर्थ्याे । त्यो बेला पनि उनी बाहिर जान्छु भनेर हैरान पार्थिन् । बल्लतल्ल सम्झाउँथ्यौं । पछि कोही बाहिर गएर आएपछि सावुनपानीले हातखुट्टा नधोएसम्म छुनु हुँदैन भनेर पनि सम्झायौं ।

अहिले आर्या धेरै ज्ञानी भएकी छिन् । बाहिर जान्छु भनेर जिद्दी गर्दिनन् । भित्रै खेल्छिन् । कहिले कापीकलम लिएर लेख्छिन् । चित्र बनाउँछिन् । आफंै गीत गाएर रमाउँछिन् ।  

उनका लागि सानो माक्स किनिदिएका छौं । कहिलेकाहीं कोही नभएको मौका पारेर उनलाई लिएर बाहिर जान्छौँ । बाहिर जाँदा कसैलाई छुनु हुँदैन । कसैको नजिक जानु हुँदैन भन्ने कुरा आर्याले बुझिसकेकी छिन् । बाहिर जाने भनेपछि आफैं माक्स लगाउँछिन् । कोही मान्छे देखिन् भने वरैबाट तर्केर हिँड्छिन् ।  

हिजोआज हाम्री आर्या धेरै ज्ञानी भएकी छिन् ।  

आशा छ तपाईहरूले पनि धेरै कुरा सिक्नुभयो होला । आर्याजस्तै ज्ञानी हुनुभयो होला । एकान्तमा बस्न सक्नु पनि एउटा कला हो नि, होइन र ?

भूकम्पको बेला घरबाहिर बस्न र कोरोनाको बेला घरभित्र बस्न सिकेका हामी धेरै अनुभवी भएका छौँ । यसलाई हामीले समस्याको रूपमा मात्रै नलिई अवसरको रूपमा लिनुपर्छ । यसबारे आफ्नो मनमा लागेका कुराहरू लेख्नुपर्छ ।  

त्यसै गरौं है आजदेखि ! 

प्रकाशित: १४ जेष्ठ २०७७ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App