८ वैशाख २०८१ शनिबार
अन्य

कोरोनासँग नडराऔँ

तेजश्वी श्रेष्ठ
कक्षा: ८, बूढानिलकण्ठ स्कुल, काठमाडौं।

अहिलेसम्म विश्वभर हजारौँ रोग फैलेका छन्। केही रोगले महामारीको रुप लिए भने केहीले लिएनन्। केही रोगको उपचार पत्ता लगाउन निकै समय लाग्यो भने केहीको उपचार छोटो समयमै पत्ता लगाइयो। यस्तै हजारौ रोगमध्ये एक रोग हो–कोभिड–१९।  

खासमा कोरोना भाइरस भनेको एक प्रकारको भाइरसको परिवार हो। यो भाइरसको परिवारभित्र धेरै प्रकारका कोरोना भाइरस पर्छन्। यी भाइरस मध्ये एक हो नोभेल कोरोना भाइरस जुन हामी माझ कोरोना भाइरसका नामले प्रचलित छ।  

मेरो विचारमा कोरोना भाइरस खासै डराउनु पर्ने रोग होइन। जसरी केही वर्ष अघि इबोला भाइरस फैलेर विश्वमा यस्तै नकरात्मक असर पारेको थियो, त्यसरी नै अहिले कोरोना फैलिरहेको छ। जबसम्म इबोला भाइरसको भ्याक्सिन र औषधी उपचार बनेको थिएन, तबसम्म विश्वले इबोला भाइरसबाट मुक्ति पाउन सकेको थिएन। त्यसरी नै जबसम्म यो भाइरसको भ्याक्सिन अथवा औषधी भेट्टाइँदैन तबसम्म यो भाइरसले मानवजातिको सम्पूर्ण ध्यान पाइरहनेछ र यसले विश्वभर त्रास फैलाइरहनेछ।

खासमा यो भाइरसबाट डराउनु पर्ने त्यति कारण नै के छ र ? यो भाइरस त केबल एउटा नयाँ भाइरस हो जसको औषधी उपचार हामीले अहिलेसम्म पत्ता लगाएका छैनौँ। नत्र त यो भाइरसभन्दा डरलाग्दा रोग पनि त छन्। जस्तै कि क्यान्सर लगायतका दीर्घरोग। विशेष कुरा त यो हो कि यी रोगको उपचार त छ तैपनि वर्षेनि कयौँ मानिस यी रोगका कारण मर्छन्। अर्को उदाहरणका  रुपमा हामी झाडापखालालाई लिन सक्छौँ। केही दिन अघि मात्र नेपालमा एक मानिसको मृत्यु झाडापखालाको कारण भएको थियो। झाडापखालाको औषधीउपचार त छदैँ छ नि। तर पनि झाडापखालाको कारण नेपालको दुर्गम क्षेत्रमा वर्षेनि धेरै मानिसको मृत्यु हुन्छ।

आतंकित बन्नुको सट्टा कोरोनाको फैलावट रोक्न सकेजति गरौँ। सबै एकजुट भइ कोरोनालाई हराऔ।

यो भाइरसले रोग प्रतिरोध प्रणाली कमजोर भएका मानिसलाई अलि बढी असर गर्छ। रोग प्रतिरोध प्रणाली कमजोर भए यो भाइरसले मात्र त के अरु रोगले पनि ती मानिसलाई छिट्टै असर पार्न सक्छ। अर्को कुरा भनेको यो भाइरसका कारण हामी अहिले लकडाउनमा छौँ। लकडाउन नभएको भए विश्वभर दैनिक रुपमा सयौँ मानिस सडक दुर्घटनाका कारण मर्थे। एन्युवल रोड क्र¥यास स्टाटिस्टिक्सका अनुसार सडक दुर्घटनाका कारण विश्वमा वर्षेनि १० लाख मानिस मर्छन्। लकडाउनका कारण अहिले सडक दुर्घटना भइरहेका छैन भन्दा पनि हुन्छ। कोरोनाको कारण ३ लाख मानिस मात्र मरेका छन्। तुलनात्मक रुपमा हेर्दा १० लाखभन्दा ३ लाख निकै सानो सङ्ख्या हो। एक तरिकाले त यो कोरोनाको कारण हामीले पाएको फाइदा पनि त हो नि, हैन र ?  

यो रोग त प्रकृतिलाई एक हिसाबले वरदानजस्तै भएको छ। प्रदुषणको मात्रा कति कम भएको छ त्यो त काठमाडौँको अहिलेको वातावरण हेरेर नै भन्न सकिन्छ। पहिले धुवाँधुलोले भरिपूर्ण हुने चक्रपथमा अहिले धुवाँधुलोको मात्रा अत्याधिक कम छ। त्यति मात्रै नभइ सहरतिर लगाइएका फूलका बोट जुन धुवाँधुलोले छपक्कै छोपिएका हुन्थे, अहिले आफ्नो सौन्दर्य प्राप्त गरी प्रकृतिका साथै मुस्कुराइरहेका छन्। यसरी नै त हामी कोरोनाको गुण र बैगुण दुबै छ भन्न सक्छौँ नि।

त्यसैले हामी कोरोनासँग नडराऔँ। आतंकित बन्नुको सट्टा कोरोनाको फैलावट रोक्न आफ्नो तर्फबाट सकेजति गरौँ। सबै एकजुट भइ कोरोना विरुद्धको लडाइँ लडौँ र कोरोनालाई हराऔ। एक न एक दिन यसको औषधी र भ्याक्सिन त अवश्य पत्ता लगाइहाल्ने छौँ नि, है र ?

प्रकाशित: ११ जेष्ठ २०७७ ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App