३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

वन्यजन्तु संरक्षण विभागको राजश्व संकलन घट्यो

गत वर्षको तुलनामा पौने २२ करोड कम राजस्व संकलन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा पौने २२ करोड रुपैयाँ कम राजस्व संकलन भएको छ । विभागले गत आर्थिक वर्ष २०८१/८२ को साउनदेखि पुस मसान्तसम्मको तुलनामा चालु आवको साउनदेखि पुस मसान्तसम्ममा उक्त रकम बराबरको राजस्व कम संकलन भएको हो ।  

विभागले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रबाट राजस्व संकलन गर्दै आइरहेको जनाएको छ ।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं प्रवक्ता वेदकुमार ढकालका अनुसार गत आवको तुलनामा चालु आवमा २२ करोड ७३ लाख रुपैयाँ कम राजस्व संकलन भएको छ ।  

चालु आवको छ महिनामा २७ करोड ७६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएकोमा गत आवमा सोही महिनामा ५० करोड ३५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता ढकाल बताउँछन् ।  

विभाग अन्तर्गतका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रबाट राजस्व संकलन गर्दै आइरहेको छ । यसमा १७ वटा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षबाट विभागले राजस्व संकलन गर्दै आइरहेको छ ।

राष्ट्रिय निकुञ्ज १३ वटा र वन्यजन्तु आरक्ष चार वटाबाट विभागले राजस्व संकलन गर्दै आइरहेकोमा तीन वटा संरक्षण क्षेत्रको राजस्व भने विभागले संकलन गर्ने पाउने छैन ।  

विभागले राष्ट्रिय निकुञ्ज अन्तर्गत सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र छाँयानाथ राष्ट्रिय निकुञ्जबाट राजस्व संकलन भएको हो ।  

यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्ष, कोसीटप्पु वन्यजन्तु आरक्ष, पर्सा वन्यजन्तु आरक्ष र ढोरपाटन शिकार आरक्षबाट राजस्व संकलन गर्दै आइरहेको छ ।  

यस्तै विभागले अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र गौरीशंकर संरक्षण क्षेत्रका पर्यटकको तथ्यांक राख्ने गरेको भए पनि राजस्व संकलन भने गर्न पाउने छैन । यसको राजस्व राष्ट्रिय प्रकृति संरक्षण कोषमा जम्मा हुने गरेको विभागले जनाएको छ ।  

विभागले वन पैदावर बिक्री, काठ/दाउरा बिक्री, गैरकाष्ठ वन पैदावर बिक्री, पर्यापर्याटन र दण्ड सजायबाट प्राप्त राजस्व लगायत र अन्य शीर्षकबाटसमेत राजस्व संकलन गर्दै आइरहेको छ ।  

विभागले वन पैदवार बिक्रीबापत चालु आवमा दुई करोड ६८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा गत आवमा चार करोड ८१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने काठ/दाउरा बिक्री बापत चालु आवमा ११ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा गत आवमा आठ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।  

यसैगरी गैरकाष्ठ वन पैदावर बिक्रीबापत चालु आवमा दुई करोड ५६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा गत आवमा चार करोड ७२ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । पर्यापर्याटनबाट प्राप्त राजस्व चालु आवमा २३ करोड २० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा गत आवमा २६ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ ।  

यस्तै दण्ड सजायबाट प्राप्त राजस्व चालु आवमा ३५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेकोमा गत आवमा एक करोड २७ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै अन्य शीर्षकबाट प्राप्त राजस्व चालु आवमा एक करोड ५१ लाख ५० हजार रुपैयाँ संकलन गरेकोमा गत आवमा एक करोड ७५ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।  

विभागको तथ्यांकमा राजस्व संकलनमा कमी आएको देखिए पनि संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकहरूको संख्या भने वृद्धि भएको पाइएको छ । गत आवको तुलनामा चालु आवमा संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्यामा भने वृद्धि भएको हो ।

चालु आवको छ महिनामा पाँच लाख ५३ हजार पाँच सय ६१ जना पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेका छन् भने गत आवमा सोही छ महिनामा चार लाख ८८ हजार नौ सय ८४ जना पर्यटकले संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।  

संरक्षण क्षेत्रमा सबैभन्दा बढी नेपाली नागरिकले भ्रमण गरेका थिए भने सबै भन्दा कम सार्क मुलुकका नागरिकले भ्रमण गरेको विभागको तथ्यांकमा उल्लेख छ ।  

चालु आवमा संरक्षण क्षेत्रको भ्रमण गर्ने नेपाली नागरिकको संख्या तीन लाख १४ हजार दुई सय २५ जना रहेकोमा गत आवमा दुई लाख ६४ हजार एक सय ७४ जना नेपाली नागरिकले भ्रमण गरेका थिए ।  

यसैगरी संरक्षण क्षेत्र भ्रमण गर्ने सार्कमुलुकका नागरिकको संख्या चालु आवमा ८९ हजार नौ सय ५८ जना छन् भने गत आवमा ६६ हजार नौ सय ३७ जनाले भ्रमण गरेको विभागको तथ्यांकमा उल्लेख छ ।  

यस्तै अन्य विदेशी पर्यटकको संख्या चालु आवमा एक लाख ४९ हजार तीन सय ७८ छ भने गत आवमा एक लाख ५७ हजार आठ सय ७३ जनाले संरक्षण क्षेत्रको भ्रमण गरेको विभागले जनाएको छ ।  

विभागका उप–महानिर्देशक एवं प्रवक्ता ढकालले जेनजी आन्दोलनले गर्दा विदेशी पर्यटकको आगमनमा कमी आएसँगै राजस्व संकलनमा कमी आएको बताउँछन् ।  

निकुञ्जमा नेपाली नागरिकभन्दा विदेशी पर्यटकको आगमनमा कमी भएकाले गर्दा पनि यसको असर राजस्व संकलनमा देखिएको प्रवक्ता ढकालको भनाइ छ ।  

विभागको मुख्य आम्दानीको स्रोत पर्यटक नै रहेकोमा अन्य स्रोतहरूबाट भने धेरै कम मात्रामा राजस्व संकलन हुने गरेको छ । विस्तारै विदेशी पर्यटकको आगमन बढ्दै जान थालेकाले अब राजस्व संकलनमा पनि वृद्धि हुँदै जाने प्रवक्ता ढकालले बताए ।  

प्रवक्ता ढकालका अनुसार विभागले निकुञ्जभित्रका पूर्वाधारहरूको व्यवस्थापन लगायत पदमार्गको व्यवस्थापन गरेर अगाडि बढिरहेको भए पनि बजेट अभावका कारण ठूला खालका व्यवस्थापन गर्न नसकिएको जनाएको छ ।  

विभागले संकलन गरेको राजस्व अर्थ मन्त्रालयलको सर्वसञ्चित कोषमा जम्मा हुने गरेको छ ।  

राष्ट्रिय निकुञ्जभित्र विदेशी पर्यटकका लागि पूर्वाधारहरू निर्माण गर्न सके पर्यटकको आगमनमा वृद्धि हुनुका साथै राजस्व संकलनमा समेत वृद्धि हुने प्रवक्ता ढकाल बताउँछन् ।  

निकुञ्ज लगायत आरक्ष क्षेत्रमा विदेशी पर्यटकको बसाइ लब्याउन पूर्वाधार बढाएर लैजानुपर्ने प्रवक्ता ढकालको भनाइ छ ।  

निकुञ्जलगायत आरक्ष क्षेत्रहरूमा न्यूनतम पूर्वाधार सुधारसँगै फोहोर व्यवस्थापनको काम पर्यटन मन्त्रालयले गरिदिए त्यसमा विभागले सहजीकरण गर्नसमेत तयार रहेको प्रवक्ता ढकालको भनाइ छ ।

प्रकाशित: ४ माघ २०८२ २१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App