केही समय अघिसम्म आफ्ना बालबच्चाले दुःख दिएमा पुलिस आउँछ, भूत आउँछ भनेर आमाबाबुले डर देखाउने गर्थे । तर अहिले केही दिन यता भने आमाबुबाले बालबच्चालाई कोरोनाको त्रास देखाइरहेका छन् । बालबालिकाले केही गल्ती गरेमा, अभिभावकले भनेको नमानेमा, दुःख दिएमा ‘कोरोना आउँछलाग्छ’ भनेर डर देखाउने गरेको पाइन्छ ।
यसरी आमाबाबुले बालबच्चालाई कोरोनाको डर देखाउँदा उनीहरुको कलिलो मस्तिष्कमा कत्तिको असर परिरहेको छ ? बालबालिकाले यसलाई कसरी लिएका छन् भन्नेमा धेरै अभिभावकको ध्यान जान नसकेको बाल मनोविद् गोपाल ढकाल बताउँछन् ।
अहिले सबै ठाउँमा कोरोनाको चर्चा बढेसँगै यसको प्रभाव बालमस्तिष्कमा पर्न सक्छ । बालबालिको स्वाभाव नै चन्चले चकचके हुन्छ । यति मात्र होइन, उनीहरु धेरै जिज्ञासु पनि हुन्छन् । धेरै बालबालिकालाई कोरोनाबारे धेरै जिज्ञासु हुन सक्छ । आफ्नो जिज्ञासा केहीले अभिभावकबाट त केहीले सञ्चार माध्यम ( सोसियल मिडियाबाट) मेटाउँछन् । हामीले उनीहरुको जिज्ञासा सही ढंगले मेटाएका छौं ? यो विषयमा पनि अभिभावकले सोच्नुपर्ने मनोविद् ढकालले बताए ।
धेरै दिनसम्म साथीभाइसँग भेट्न नपाउँदा उनीहरुले एक्लो महसुस गर्न सक्छन्, यो कुरामा पनि अभिभावकले उनीहरुको फिलिङस बुझ्न र एक्लोपन महसुस नगराउन ढकाल सुझाउँछन् । यो समयमा बालबालिका अभिभावकसँगै हुन्छन् । ‘आफ्ना बालबच्चासँग राम्रो व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुसँग रिसाउने, झकर्ने, गाली गर्नेभन्दा पनि उनीहरुलाई सिर्जनात्मक काम सिकाउनुपर्छ । धेरै समयसम्म सोसियल मिडियामा अभिभावक आफै पनि रहनु हुंदैन । किनभने बालबालिकाले धेरै कुरा अभिभावकबाटै सिक्छन् । उनीहरुको सोसियल मिडियामा लत लाग्यो भने पछि छुटाउन गाह्रो पर्छ ।’
विशेषत : अहिले देशदेखि विदेशसम्म कोरोनाको प्रभाव कहाँ कस्तो भइरहेको छ भनेर हामी परिवार नै समाचार हेर्न गर्छौ । आफूसँगै समाचार हरिरहेको बालबालिकामा त्यो समाचारले उनीहरुको बालमस्तिष्कमा कस्तो प्रभाव पर्छ भनेर धेरैले सोचेको हुँदैन ।
मनोविद् गोपाल ढकालका अनुसार उनीहरुलाई सूचनाबाटै टाढा राख्ने भन्ने होइन । अभिभावकले सत्यतथ्य र भरपर्दो समाचार मात्र उनीहरुलाई सुनाउने र देखाउने गर्नुपर्छ । ‘बालबालिकालाई बरु कोरोनाको बारेमा अभिभावकले नै जानकारी गराउनुपर्छ,’ उनले भने, ‘उनीहरुले कोरोनालाई कसरी लिइरहेका छन ? यो परिस्थतिलाई उनीहरुले कसरी बुझेका छन् ? उनीहरुको बुझाइ गलत पो छ कि ? भन्ने कुरामा अभिभावकले ख्याल गर्नुपर्छ ।’ उनीहरुलाई सुरक्षित महसुस गराउने मुख्य भूमिका अभिभावकको रहेको उनी बताउँछन् ।
प्राकृतिक प्रकोप, विपद र महामारीको समयमा बालबालिका सबैभन्दा बढी प्रभावित हुन्छन् । बालबालिकाको मस्तिष्क कलिलो हुने भएकाले उनीहरुको निर्णय लिने क्षमता कमजोर हुने बताउँदै, मनोविद् ढकालले भने, ‘यो समयमा उनीहरुले आफ्नो सुरक्षा आफै गर्न सक्दैनन् । परिवारको सहयोग पर्छ ।
विपदको समयमा अभिभावक आफै डराउनु हुँदैन । परिवार डराएको देखेर बालबालिका आफै पनि डराउँछन् । उनीहरुको कलिलो मस्तिष्कमा असर पर्न सक्छ ।’ त्यसकारण पनि सबैभन्दा पहिले अभिभावकले आफ्नो आत्मबल बलियो बनाउन र आफ्ना बालबालिकालाई सजक बनाउन उनी सुझाउँछन् ।
बाल मनोविद् गोपाल ढकालका अनुसार :
त्रासले बालमस्तिष्कमा कस्तो असर पर्छ ?
मानसिक रुपमा प्रभाव पर्नुको साथै मस्तिष्कघात समेत हुन सक्ने, कन्र्भजेन्ट डिसअर्डरको समस्या देखिने, पछिसम्म पनि उनीहरुको व्यक्तित्वमा प्रभाव पर्ने र कुलतमा पनि लाग्न सक्ने,
त्रासबाट बालबालिकालाई कसरी जोगाउने ?
घरपरिवारमा सकारात्मक मात्र कुरा गर्ने, भयको अवस्था नदेखाउने, सुरक्षित महसुस गराउने, सत्यतथ्य समाचार मात्र देखाउने, र सिर्जनात्मक कार्य संलग्न गराउने ।
उनीहरुको रुचिको अनुसारकै क्रियाकलाप गराउने जस्तै : कथा पढ्ने, चित्र कोर्ने, गीत गाउने, डान्स गर्ने, लेख लेख्ने आदि ।
घरायसी काम जस्तै : भान्सामा खाना बनाउन, सरसफाइ गर्न, बगैँचाको हेरचाह, कपडामा आइरन गर्न र कपडा धुन अभिभावकले सिकाउन सक्नेछन् । यो समयमा उनीहरुको लागि छुट्टै कार्यतालिका बनाइदिने र विशेष ख्याल गर्ने ।
प्रकाशित: १० जेष्ठ २०७७ ०९:०३ शनिबार