सुर्खेत कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले पछिल्लो समयमा कर्णालीका छोरीहरू हरेक क्षेत्रमा सक्षम र प्रतिभावान बन्दै गएको बताएका छन् ।
ज्योति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली छोरी सम्मेलन–२०८३’ दोस्रो संस्करण कार्यक्रममा उनले राजनीतिक तथा प्रशासनिक क्षेत्रको नेतृत्व तहमा समेत कर्णालीका छोरीहरू पुगेको बताए ।
कर्णालीका ३३ प्रतिशत महिला अझै पनि निरक्षर रहेको जनाउँदै उनले तिनलाई साक्षर बनाउन तीनै तहका सरकारलाई विशेष ध्यान दिनु आग्रह गरे । कर्णालीलाई पिछडिएको क्षेत्रको रूपमा मात्र हेर्न नहुने भन्दै उनले भने, “कर्णालीका महिलाहरू हरेक क्षेत्रमा क्रियाशील छन्, यद्यपि साक्षर हुन बाँकी रहेका ती महिलाहरूलाई सबल बनाउनुपर्छ ।”
प्रदेश प्रमुख जोशीले कला, संस्कृति र सभ्यताको साथै नेपालका आधाभन्दा बढी जातिको उद्गम थलो कर्णालीलाई सबै नेपालीले सम्मान गर्नुपर्ने बताए ।
राजनीतिक र प्रशासनिक पहुँचका विषयमा चर्चा गर्दै उनले अब महिलाहरू समानुपातिक कोटा छोडेर प्रत्यक्ष निर्वाचनतर्फ मुखरित हुन र संविधान संशोधनको बहस चलिरहेका बेला ३३ प्रतिशतबाट ५० प्रतिशत हिस्सा माग गर्न र दबाब दिनसमेत आग्रह गरे।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले समाजमा महिलाहरूको उपस्थिति र भूमिकामा ठूलो परिवर्तन आए पनि राज्यको नीतिगत तहमा पुग्न कर्णालीका छोरीहरूको सशक्तीकरणमा थप मेहनत गर्नुपर्नेमा जोड दिए ।
कर्मचारी प्रशासन, प्रहरीदेखि राज्यका उच्च निकायमा महिलाहरूको नेतृत्व स्थापित हुनुले ठूलो अर्थ राख्ने भन्दै उनले हिजो स्कुल पढ्न नपाउने अवस्थाका कर्णालीका छोरीहरू आज विद्यालय जाने सङ्ख्यामा उल्लेख्य प्रगति भएको बताए ।
प्रदेश सरकारले छोरीको सुरक्षा र सशक्तीकरणका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ जस्ता महत्त्वपूर्ण कार्यक्रम ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुनु दुःखद् भएको बताए ।
प्रकाशित: १६ जेष्ठ २०८३ २०:५१ शनिबार





