१८ असार २०७७ बिहीबार
अन्य

प्यारो माङ्तेवा

मकालु हिमाल । तस्बिर : अमृत भादगाउँले

पृथ्वीराज चौहान  

कक्षा : ८, अक्षरा स्कूल

काँडाघारी, काठमाडौं  

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भने झैं मलाई संखुवासभाको माङ्तेवा गाउँ स्वर्ग झैं सुन्दर लाग्छ । प्राकृतिक सौन्दर्यले सजिएको पूर्वी नेपालको गाउँ । यस क्षेत्रमा राई जातिको  बाहुल्यता छ । त्यस्तै लिम्बु, गुरुङ, तामाङ, नेवार, क्षेत्री र ब्राम्हण समुदायको बसोबास छ । गाउँलेको मुख्य पेशा कृषि हो । आर्थिक स्रोत भनेको घरेलु तथा साना उद्योग (ढाका र खादी) हस्तकलाका सामाग्री र जडीबुटी व्यापार हो । अलैंची, चिराइतो र रुद्राक्ष पनि आम्दानीका मुख्य श्रोत हुन् ।  

माङ्तेवामा खेतीयोग्य जमिन कम छ । आलु, कोदो र मकै मुख्य बालीका रुपमा उत्पादन गरिन्छ । गाउँलेहरू दसैं, तिहार, वैशाखे पूर्णिमा, उधौली, उभौली, माघे संक्रान्ती लगायत चाडपर्व धुमधामसँग मनाउँछन् ।  

पृथ्वीराज चौहान  

गाउँघरमा हाट बजारको चलन कायमै छ । गाउँघरतिर भरियाद्वारा ढाकरमा खाद्यान्न ढुवानी गरिन्छ । माङ्तेवा पुग्न खाँदबारीबाट गाडीमा १ घन्टा यात्रा गरेर चन्दनपुर पुग्नु पर्छ । चन्दनपुरबाट करिब ८ घन्टा पदयात्रामा गाउँमा पुगिन्छ । 

मलाई संखुवासभाको माङ्तेवा गाउँ स्वर्ग झैं सुन्दर लाग्छ । प्राकृतिक सौन्दर्यले सजिएको पूर्वी नेपालको गाउँ । 

पैदल यात्राबाट थाकेर केही समय सुस्केरा हाल्दै आराम गर्न ठाउँठाउँमा बटुवाका लागि ठूल–ठूला वरपिपलका चौतारा छन् ।

हाम्रो गाउँ मकालु वरुण राष्ट्रिय निकुञ्जको नजिक पर्ने हुनाले यस ठाउँका मानिसलाई भालुले दुःख दिने गरेको छ । उनीहरूले लगाएका बालीनाली नष्ट गर्ने र कहिलेकाहीँ स्थानीयलाई घाइते समेत बनाइदिन्छ । उनीहरू त्यसको क्षतिपूर्ति समेत पाउँदैनन् ।  

निकुञ्जमा विभिन्न प्रकारका बोटविरुवा र जीवजन्तु अवलोकन गर्न सकिन्छ । यस्तै विश्वकै होचो अरुण उपत्यका पनि छ जहाँ ३३३ भन्दा बढी प्रजातिका चरा छन् । गाउँबाटै देखिन्छ मकालु हिमालको सौन्दर्य ।  

यो ठाउँ सगरमाथा आरोहणको इतिहाससँग जोडिएको छ । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी यतैबाट गएर सगरमाथामा पाइला टेकेका थिए । साथै गाउँघरमा महालंगुर हिमालबाट आएको घामको स्पर्श पाइन्छ । 

माङ्तेवा यात्रा रोचक बन्छ । बाटोमा ऐतिहासिक सम्पदा र प्राकृतिक छटा अवलोकन गर्दै यात्रा गर्न पाइन्छ । इतिहास, प्रकृति र संस्कृतिको संगममा पुग्दा मन रमाउँछ । ऐतिहासिक ठाउँ, ऋषिमुनिका कथा सुन्दै सभापोखरीमा पुगिन्छ । सभापोखरी ऋषि वेदव्यासको कथासँग जोडिएको छ भने पहराभित्र यात्रा गर्दै जाँदा गुप्तेश्वर मन्दिरमा पुगिन्छ । यसको पौराणिक कथा भगवान शिवसँग जोडिएको छ ।  

मकालुको फेदमा अवस्थित सिद्धपोखरीमा पदयात्रीहरू अँजुलीमा जल उठाएर पिउँछन् । अनि मनमा साहस, अठोट र आत्मबल बोकेर अघि बढ्छन् । पदयात्रामा हिमाल, हरियाली पहाडी थुम्का, खोला र लुकामारी खेल्दै गरेका झरनासँग मितेरी गाँस्न पाइन्छ ।  

ठूल–ठूला चौंरी र भेडाका खर्कमा चिसो बतासको बेगसँगै हिँड्न सकिन्छ । यस क्षेत्रका तीनजुरे, मिल्के र जलजलेमा धेरैथरि गुराँस फुल्छन् । त्यसैले यस ठाउँलाई गुराँसको राजधानी भनिन्छ । अझै अघि बढ्दै जाँदा छ्याङकुटीडाँडा पुगिन्छ जहाँबाट मकालु हिमालको मनमोहक दृश्य देखिन्छ ।  

अर्को कुरा, खुम्जुङ गुम्बा भएको ठाउँ आकर्षक मात्र नभएर धार्मिकस्थलका रुपमा समेत परिचित छ । अझ अघि बढदै जाँदा ख्याम्पालुङ हिमाल देखिन्छ जहाँ मानिस तीर्थ यात्राका लागि हिउँसँग खेल्छन् । डाँफे र मुनालसँग रमाउँछन् ।  

संखुवासभाको सीमा नाका किमाथाङ्का चीनसँग जोडिएको छ । त्यहाँबाट सगरमाथा छर्लङ्ग देखिन्छ । 

समग्रमा भन्नु पर्दा माङ्तेवा स्वर्गकै टुक्रा हो ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App