२८ असार २०७७ आइतबार
अन्य

प्रिय माछिमी !

रुकुम (पश्चिम)को स्यार्पुताल । तस्बिर : अमृत भादगाउँले

अभिनव केसी  

कक्षा: ६, बृहस्पति विधा सदन

नक्साल, काठमाडौं  

मलाई आफ्नै प्यारो गाउँ माछिमी मन पर्छ जुन रुकुम (पश्चिम) जिल्लामा पर्दछ ।  प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो गाउँ काठमाडौंदेखि धेरै टाढा छ । गाडीमा चढेर त्यहाँ पुग्न चितवन, बुटवल, दाङ, सल्यान हुँदै दुई दिन लाग्छ । हवाईजहाजमा यात्रा गर्ने हो भने सल्ले र चौरजहारीमा विमानस्थल पनि छन् । त्यहाँ हप्तामा एक चोटि उडान हुन्छ ।  

मलाई आफ्नो गाउँ औधि मन पर्छ । हरिया डाँडापाखा, रमणिय वातावरण, बाउन्न पोखरी र त्रिपन्न तालहरूको जिल्ला भनेर चिनिने रुकुमलाई पछिल्लो समय दुई भागमा बाँडिएको छ । पूर्वतिरको भागलाई रुकुम (पूर्व) र पश्चिमी भागलाई रुकुम (पश्चिम) भनिन्छ ।  

अभिनव केसी  

हाम्रो गाउँको शिरमा सिस्ने हिमाल हाँस्छ । तलतिर विभिन्न खोलानाला सँगै मिसिएर सानी भेरी सुसाउँछिन् । अचेल नदीको पानी अलि घटेको हुन्छ र मान्छेहरू पौडी खेलिरहेका हुन्छन् । नदी माथिको झोलुङे पुलमा बसेर तलतिर बग्ने नीलो पानी र माझीले जाल हानेर माछा समातेको दृश्यले आनन्द अनुभव हुन्छ ।  

रुकुम (पश्चिम)को मेरो गाउँ स्वर्ग समान छ । गाउँमा दसैंताका झुल्ने सुनौलो धान खेत र हिउँदमा मुलाको फूलले सेताम्मे फाँटले लोभ्याउँछ । 

हाम्रो गाउँ माथि अग्लो भुगोलमा छ जिल्ला सदरमुकाम मुसिकोट बजार । त्यो भन्दा माथि डाँडाको टुप्पामा डिग्रे साईकुमारीको मन्दिर छ । यहाँ तिहार पछिको एकादशीदेखि पूर्णिमासम्म मेला लाग्छ । मेला भर्न छिमेकी जिल्लासहित टाढाटाढाबाट भक्तजन आउँछन् ।  

यस ठाउँमा जाडो याममा हिउँ खेल्नेहरूको भिड लाग्छ । फागुन चैतमा लालीगुराँस फुलेर वनै रमाइलो हुन्छ ।  

भौगोलिक हिसाबले पहाडी क्षेत्र भए पनि मेरो गाउँ अलि समथर भागमा छ । जिल्लाकै खेतियोग्य जमिनका रुपमा यस ठाउँलाई चिनिन्छ । यहाँका मानिस अति मेहेनती छन् । आफुलाई चाहिने अन्न तथा तरकारी लगायत दूध, दही आफैं उत्पादन गर्छन् ।  

गाउँमा स्वच्छ पानीका मुहान पर्याप्त छन् । सहरमा जस्तो पानी किन्नु पर्दैन । अध्ययन र रोजगारीका लागि लामो समय सहरमा गुम्सिएर बसेका हामीलाई गाउँको खुल्ला वातावरण रमाइलो लाग्छ । मलाई आफ्नो गाउँको स्वच्छ हावापानी र हरेक चिजले लोभ्याउँछ । दसैँ ताका लामो छुट्टि हुन्छ हामी गाउँ जान्छौं । त्यतिबेला खेतमा धान झुलेको हुन्छ । 

जाडो बिदामा पनि मलाई गाउँ जाउँजाउँ लाग्छ । हिउँदे खेतीका रुपमा मुला उत्पादन गरिएको हुन्छ । मुलाको फूलले फाँटै सेताम्मे भएको दृश्यले लोभ्याउँछ । हिउँदमा वरिपरिका डाँडा हिउँले सेताम्मे बन्छन् ।  

हाम्रो गाउँको बीचमा दुईटा स्याना पोखरी छन् । उहिले ब्रम्हा भगवानलाई राक्षसले लखेटेका बेला उहाँले बिश्राम लिएको ठाउँमा लामो पोखरी र हुक्का राखेको ठाउँमा गोलाकार पोखरी बनेका छन् ।  

यसरी तालैतालको जिल्ला रुकुमका धेरै ताल मध्ये स्यार्पूतालमा बोटिंग सुविधा पनि छ । बाहिरी जिल्लाका घुमन्तेहरू पनि स्र्यापु ताल पुग्छन् । त्यहाँ डुंगा चढ्छन् र ताजा माछा खान्छन् ।  

पहिलापहिला हाम्रो गाउँ सडक सञ्जालसँग जोडिएको थिएन । मेरा ममि र बाबाले काठमाडौं आउने गाडी चढ्न एक दिन हिँड्नु पथ्र्यो रे ! अचेल गाउँघरतिर पनि धेरै कुरामा सुविधा भएको छ । अब शिक्षा क्षेत्रमा पनि सुधार आवश्यक देखिन्छ ।  

अन्त्यमा, सडक सुविधा पुगिसकेकाले हाम्रो सुन्दर जिल्लामा घुम्न सबैलाई आग्रह गर्दछु । अहिले त हामी कोरोनाको संक्रमणबाट बच्न लकडाउनमा छौं । लकडाउन खुलेर वातावरण सामान्य भएपछि तपाइँ पनि हाम्रो गाउँतिर घुम्ने योजना बनाउनुस् है !    

प्रकाशित: ८ जेष्ठ २०७७ ०७:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App