डा. शेरबहादुर पुन सरुवा रोग विशेषज्ञ हुन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा सेवारत उनी अध्ययन–अनुसन्धानमा सूक्ष्म रुपमा चिन्तन गर्ने चिकित्सक मानिन्छन् ।
टेकु अस्पतालमा पुगेका बिरामीको सेवा गर्नु तथा अध्ययन–अनुसन्धान गर्नु उनको दैनिकी हो । सामान्य जीवनशैली अपनाउन रुचाउने ४४ वर्षीय डा. पुन भद्र तथा नम्र स्वभावका छन् ।
अस्पतालमा पुगेका बिरामीसँग समस्याको बारेमा जानकारी लिएपछि नम्र स्वभावमा बिरामीको मनै हलुंगो हुनेगरी परामर्श दिन्छन्, उनी । जसले बिरामीलाई आफ्नो समस्या र समाधानको उपायका बारेमा अन्योलता हट्न सहयोग मिल्छ । नेपालमा मात्रै हैन अन्तर्राष्ट्रियस्तरका वैज्ञानिकहरुको मञ्चसमेत अब्बल अनुसन्धाता–चिकित्सकका रुपमा परिचित डा. पुन रोगको बारेमा सूक्ष्म ढंगले अध्ययन–अनुसन्धान गर्ने एक कुशल चिकित्सक हुन् ।
डा. पुन पैसा र पदलाई त्यागेर नेपालमा फर्किएको सुनाउँछन् । उनलाई यो पनि थाहा थियो कि–‘जहाँ चुनौती छ, त्यहाँ अवसर आउँछ ।’ नेपालमा सरुवा रोगका विशेषज्ञको अभावमा कयौं बिरामीले अकालमा ज्यान गुमाउनु परेको थियो । जुन अवस्था डा. पुनले जापानमा अध्ययन गर्न जानु अगाडि नै देखेका थिए । त्यसैले उनले आफू नेपाल फर्किएर सेवा गर्नु नै सर्वोत्तम हित ठाने ।
जन्म बागलुङ, प्राथमिक अध्ययन हङकङ
बागलुङ जिल्लाको पाण्डखानीमा जन्मिएका डा. पुन कलिलैमा हङकङ पुगे । उनलाई हङकङ गएको यादै छैन । बुवा ब्रिटिस आर्मी भएकाले उनले प्राथमिक तहको अध्ययन हङकङमै गरे । त्यसपछि परिवारसँग नेपाल फर्किए । नेपाल फर्किएर उनले काठमाडौँको कीर्तिपुरस्थित लेबोरेटोरी उच्च माध्यमिक विद्यालयमा कक्षा पाँचदेखि उच्च मावि तहसम्म अध्ययन गरे ।
रसियामा एमबीबीएसपछि टेकुमा सेवा
नेपालमा उच्च मावि तहसम्मको अध्ययन पूरा गरिसकेपछि डा. पुन एमबीबीएस अध्ययनका लागि रसिया पुगे । बेलायत सरकारको पूर्ण छात्रवृत्ति सहयोगमा आफूले रसियामा सात वर्षे एमबीबीएस अध्ययन गरेको उनी सुनाउँछन् । सन् १९९९ मा एमबीबीएस तह उत्तीर्ण भएपछि डा. पुन नेपालमा नै सेवा गर्ने उद्देश्यले सन् २००० मा स्वदेश फर्किए ।
नेपाल फर्किएपछि एक वर्ष विभिन्न अस्पतालमा इन्टर्नसिप गरे । डा. पुनलाई एमबीबीएस सक्दा नसक्दै सरुवा रोगको बारेमा अध्ययन–अनुसन्धान गर्ने तीव्र चाहना जागृत भैसकेको थियो । उनले इन्टर्नसिप सकेको समयमा टेकु अस्पतालमा चिकित्सकको आवश्यक थियो ।
संयोग नै मान्नुपछ्र्र, डा. पुनले इन्टर्नसिप गरिसकेपछि उनको पहिलो जागिरे जीवन सन् २००१ मा टेकु अस्पतालबाटै मेडिकल अफिसरको रुपमा सुरु भयो । जहाँ सरुवा रोगका बिरामीको उपचार गरिन्छ । डा. पुनले भने, ‘मैले सुरुआति चरणबाटै टेकु अस्पतालमा सेवा र अध्ययन–अनुसन्धान गर्ने अवसर पाएँ ।’
सन् २००३ तिर मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायतका बिरामी थेगिनसक्नु अवस्थामा टेकु अस्पताल पुग्थे । झाडापखालाका बिरामीहरु प्रत्येक आधाघण्टामा ३५/४० को संख्यामा टेकु अस्पतालमा भर्ना हुँदै त्यति नै संख्यामा डिस्चार्ज हुन्थे । कालाजारका बिरामीहरु त पूरै गाउँका व्यक्ति नै गाडी रिजर्भ गररे उपचार गर्न पुग्थे । बिरामीको चापले अस्पतालमा खुट्टा हाल्ने ठाउँ नै हुँदैनथ्यो । विशेषगरी तराई क्षेत्रमा बसोबास गर्ने व्यक्ति जापानिज इन्सेफ्लाइटिसको उपचारका लागि अस्पतालमा ढिलो पुग्दा मृत्यु हुन्थ्यो । त्यो समयमा उचित उपचार सेवाको अभावमा रोगको जटिलतापछि अस्पताल पुगेका बिरामीको मृत्यु भएको आँखै अगाडि देख्दा उनी निक्कै दुःखी हुन्थे । उनले त्यो समयको घटना सम्झँदै भने, ‘उचित उपचारको अभावमा बिरामीको अवस्था दयनीय हुन्थ्यो । अस्पतालमा बिरामी राख्ने ठाउँ नै थिएन ।’
यसरी नेपालीको अकालमा ज्यान गएको देखेपछि उनले सरुवा रोगको विषयमा अध्ययन गरेर नेपालमै सेवा गर्ने निधो गरे । डा. पुनको मिहिनेत तथा लगाव देखेर अस्पतालका निर्देशक प्रभावित भैसकेका थिए । त्यसैले निर्देशकले अस्पतालमै रहेर सेवा गर्न अनुरोध गरे । तर, उनलाई थप अध्ययनको भोक जागिरहेकै थियो । डा. पुनले आफूले अस्पतालमा स्थान ओगटिरहन उचित नहुने ठानेर टेकु अस्पतालबाट राजीनामा दिएछन् । उनले भने, ‘पद अकुपाइ गरिरहन मन लागेन त्यसैले राजीनामा दिएर अध्ययन गर्ने निर्णय लिएँ ।’ जुन कुरा उनलाई भर्खरैजस्तो लाग्छ ।
जापानको अवसर छोडेर नेपालमा सेवा
अस्पतालबाट बिदा भएर डा. पुन सरुवा रोग अध्ययनका लागि सन् २००४ मा जापान पुगे । जापान सरकारको पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएका उनले जापानको नागासाकी विश्वविद्यालयमा सरुवा रोगको विषयमा अध्ययन गर्न थाले ।
जापानमा पाँच वर्षसम्म अध्ययनका क्रममा जापानिजले गरेको मिहिनेतबाट उनी निक्कै प्रभावित भए । त्यसो त जापानमा रहँदा उनी रातदिन अध्ययन अनुसन्धानमा नै व्यस्त हुन्थे रे । २÷३ घण्टा सुत्थे । रातदिन अध्ययनमा व्यस्त हुँदा आफूले कयौँ दिन त खाना खान नै बिर्सिएको बताउँछन्, उनी । डा. पुनले त्यो समयमा अध्ययन गर्दाको क्षण सम्झँदै भने, ‘एक प्रकारको पागलपना जस्तै हुन्थ्यो, बेलुका फ्रि भएर खाना खाएँ कि खाइन भनेर सम्झँदा त खानै खाइएको हुँदैनथ्योे ।
त्यसो त जापानमा पिएचडी गर्दा उनी सर्वोत्कृष्ट भएका रहेछन् । डा. पुनको लगनशीलता तथा सृजनशीलताको मूल्यांकनकै कारण विदेशबाट त्यो विश्वविद्यालयमा अध्ययनका लागि पुगेका विद्यार्थीमध्ये जापानको ट्रोपिकल मेडिसिन संस्थाका डिनले जापानमै बसेर अध्ययन–अनुसन्धानलाई अगाडि बढाउन बारम्बार अनुरोध गरेका थिए । आफ्नै प्रोफेसरले पनि त्यस्तो अनुरोध नगरेका हैनन् । डा. पुनले आफ्नै प्रोफेसरहरुले जापानमै बसेर सेवा गर्न गरेको अनुरोधलाई सम्झँदै भने, ‘जापानमा मलाई पढाउने प्रोफेसरहरुले जागिरका लागि धेरै अनुरोध गरेका थिए ।’
तर, उनको उद्देश्य आफ्नै देशमा सेवा गर्नु थियो । त्यसैले आफूले पैसा र पदलाई त्यागेर नेपालमा फर्किएको डा. पुन सुनाउँछन् । उनलाई यो पनि थाहा थियो कि–‘जहाँ चुनौती छ, त्यहाँ अवसर आउँछ ।’ नेपालमा सरुवा रोगका विशेषज्ञको अभावमा कयौं बिरामीले अकालमा ज्यान गुमाउनु परेको थियो । जुन अवस्था डा. पुनले जापानमा अध्ययन गर्न जानु अगाडिनै देखेका थिए । त्यसैले उनले आफू नेपाल फर्किएर सेवा गर्नु नै सर्वोत्तम हित ठाने ।
विद्यावारिधि गरिसकेपछि उनी नेपाल फर्किएर टेकु अस्पतालमा नै पुनः सेवा थाले । त्यसपछि उनको वास्तविक अध्ययन–अनुसन्धात तथा सेवा सुरु भयो । जापानबाट सरुवा रोगमा विशेषज्ञता हासिल गरेर नेपाल फर्किएका पुनको अध्ययन–अनुसन्धान थप तिखारिन थाल्यो ।
चर्चित फेलोसिप अस्वीकार गर्दा प्रोफेसर चर्चित
सन् २०११ मा जापानमा आफैँ अध्ययन गरेको विश्वविद्यालयबाट डा. पुनलाई फेलोसिप दिने निर्णय नै भैसकेको रहेछ । तर उनले त्यो फेलोसिपलाई त्यागे । जापानले विश्वकै अब्बल मानिने (जेएसपिएस) फेलोसिप दिएको अवस्थामा समेत अस्वीकार गरेर नेपालमै सेवा गर्ने अठोट गरेकोे प्रसंग सुनाउँदै डा. पुनले भने, ‘जापानको विश्वविद्यालयले दिएको चर्चित पोस्ट डक्टरेट फेलोसिपमा छनोट भएर पनि छोडेँ । जुन जापान सरकारले दिने प्रसिद्ध फेलोसिप हो ।’ त्यो फेलोसिप पाउनका लागि अमेरिकन तथा युरोपियनहरुसमेत तँछाडमछाड गर्ने उनी बताउँछन् ।
करिब तीन वर्षसम्म जापानमै बसेर अध्ययन–अनुसन्धान गर्नुपर्ने सो फेलोसिप गरेबापत मासिक करिब ७/८ लाख धन राशि पनि पाइने उनी बताउँछन् । त्यो फेलोसिप आफूले लिएको भए विभिन्न विदेशी विश्वविद्यालयमा काम गरी लाखौँ आर्थिक लाभ लिन सक्ने उनी बताउँछन् । सो फेलोसिप जापान सरकारले दिन स्वीकृत गरिसकेको अवस्थामा समेत आफू टेकु अस्पतालमा बिरामीको सेवामा जुटिरहेको प्रसंग उनले सुनाए ।
उनकै प्रोफेसरले जापानमा फेलोसिप पाएकाले त्यहाँ जानका लागि अनुरोध गरेका थिए । डा. पुनले आफ्नै प्रोफेसरले गरेको त्यस्तो अनुरोधको अस्वीकार गर्ने चिठी लेख्न तीन दिन लागेको प्रसंग कोट्याउँदै भने, ‘आफ्नो प्रोफेसरको अनुरोध अस्वीकार गर्न मलाई निक्कै अप्ठेरो लाग्यो, तीन दिन लगाएर म आउँदिन भन्दै प्रोफेसरलाई सानो चिठी लेखेँ ।’ त्यस्तो प्रतिष्ठित फेलोसिप अस्वीकार गरेको प्रति प्रोफेसर चकित भएको डा. पुनले सुनाए ।
अस्वीकारपछि ती प्रोफेसरले डा. पुनलाई इमेल पठाएछन्, ‘यस्तो प्रतिष्ठित फेलोसिप पनि अस्वीकार गरेको देखेर फेलोसिप नै लाजमर्दो भएको महसुस भयो, मैले सपनामा पनि सोचेको थिइनँ तिमीले यस्तो फेलोसिप अस्वीकार गर्छौ भनेर । तर, पनि तिम्रो निर्णयको कदर गर्छु । भविष्यमा आवश्यक परेको समयमा म तिमीलाई सहयोग गर्नेछु, मलाई सम्झनु ।’
त्यसो त उनी आफैँ पनि त्यस्तो प्रतिष्ठित फेलोसिप छोडेको प्रति छक्क परेछन् । उनले जसलाई यो प्रसंग सुनाए उनीहरुले डा. पुनलाई मुर्खको संज्ञा दिन समेत छुटाएनन् । उनी अहिले पनि कहिलेकाहीँ सम्झँदै आफैँ अचम्मित हुन्छन्, ‘मैले त्यो बेला कतै मुख्र्याइँ त गरेको हैन !’
हाइटीको अनुसन्धानले विश्वचर्चा
उनी जापानबाट विद्यावारिधि गरेर टेकु अस्पतालमा सेवा गरिरहेको समयमा हाइटीमा हैजा (कलेरा) फैलियो । सन् २०१० मा हाइटीमा नेपाली सेनाले हैजा फैलाएको भन्ने आरोपलाई पनि आफूले कडा रुपमा प्रतिवाद गरेको अनुभव सुनाउँछन्, डा. पुन । त्यो समयमा हाइटीमा खटिने नेपाली शान्ति सेनालाई लागेको आरोपको सेनाले सामना गर्नु परेको थियो ।
आफूले अनुसन्धानात्मक लेखमार्फत नेपाली सेनाले हाइटीमा हैजा नफैलाएको प्रमाणित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यम र जर्नलमा सम्प्रेषण गरेको डा. पुन बताउँछन् । हाइटीमा नेपाली सेनालाई लागेको आरोपको खण्डनसहितको अनुसन्धानात्मक आफ्नो लेख अमेरिकाको ‘इमर्जिङ इन्फेक्सियुस् डिजिजेज (सिडिसी )’ र ‘अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी’को सबैभन्दा प्रतिष्ठित जर्नलमा प्रकाशित भएको उनी सुनाउँछन् । नेपाली सेनाले हाइटीमा हैजा फैलाएको हैन भन्ने ठोस तर्कसहितको आफ्नो अनुसन्धानात्मक लेखको खण्डन कसैले पनि गर्न नसकेको प्रसंग उनले सुनाए ।
हाइटीमा सन् २०१० जनवरीमा भूकम्प गएको थियो । अक्टोबरको मध्यतिर हैजा फैलिएको थियो । त्यो समयमा नेपाली सेनाको ब्यारेक नजिकै भएकाले सेनाको दिसा नजिकै रहेको नदीमा गएर मिसिएकाले सो नदीको पानी प्रयोग गर्दा हाइटीमा हैजा फैलिएको भन्ने आरोप लागेको थियो ।
तर, डा. पुनले हाइटीको भुकम्प जानुअघि नै नेपालको नेपालगञ्जलगायत विभिन्न ठाउँमा हैजा (कलेरा) देखिसकेकाले यदि नेपाली सेनाले नै हैजा फैलाएको हो भने हाइटीमा भुकम्प गएको समयमा किन कलेरा देखिएन ? भन्ने तर्क राखेका थिए । भूकम्पको समयमा पनि नेपाली सेना हाइटीमा सेवारत थिए । अर्कोतर्फ भूकम्पको समयमा हाइटीमा विभिन्न ठाउँबाट मानवीय सहायता लिएर व्यक्ति पुगेका हुनाले त्यस्ता व्यक्तिको स्वास्थ्य परीक्षणसमेत नहुँदा त्यस्ता व्यक्तिले हैजा फैलाएनन् भन्ने के आधार छन् ? भन्ने तर्क राखेको उनी बताउँछन् ।
त्यसैगरी संयुक्त राष्ट्रसंघ (यूएन) ले हाइटीमा पुग्ने नेपाली सेनाको दिसाको परीक्षण गर्दा नेपाली सेनामा हैजाको संक्रमण देखिएको रहेनछ । यी तीन तर्कले हाइटीमा नेपाली सेनाले हैजा फैलाएको हैन भनी आफूले आधारसहित सिडिसीजस्ता विश्वप्रसिद्ध जर्नल तथा अन्तर्राष्ट्रिय माध्यममा अनुसन्धानात्मक लेख प्रकाशित गरेपछि नेपाली सेनालाई लागेको आरोप गलत सावित भएको उनी बताउँछन् ।
‘अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी’ को जर्नलमा प्रकाशित तर्कमा हाइटीमा देखिएको हैजाको जीन र नेपालमा देखिएको हैजाको जीन एकै किसिमको छ, भन्ने आरोप लागेको थियो । जसको प्रतिवादस्वरूप डा. पुनले नेपालमा मत्रै हैन भारत, बंगलादेशलगायतका देशसँग तुलना गरेको भए पनि एकै किसिमको जीन देखिने भएकाले किन नेपाली सेनालाई मात्रै आरोप लगाएको भनेर आफूले तर्क राखेको सुनाउँछन्, उनी । डा. पुनको यो तर्कको वैज्ञानिकहरुले खण्डन गर्न सकेनन् । डा. पुनले भने, ‘त्यो समयमा अमेरिकन सोसाइटी फर माइक्रोवायोलोजीमा प्रकाशित लेखको प्रतिउत्तरमा सो लेखका अनुसन्धाताहरु एक पाइला पछाडि सरे । नेपाललाई आरोप लगाउन खोजेको त हैन तर हाइटीमा भूकम्पको कारणले ढलको संरचना अस्तव्यस्त भएकाले त्यहाँ कलेरा फैलिएको हो भन्नुपर्ने अवस्था सिर्जित भएको उनीहरुको तर्क थियो ।’ यस्ता प्रतिष्ठित जर्नलमा प्रकाशित लेखहरुले नेपाली सेनाले नै हाइटीमा हैजा फैलाएको हो भन्ने प्रमाण देखाउन नसकेको उनी बताउँछन् । उनका यस्ता तार्किक अनुसन्धानात्मक लेख प्रकाशित भएका थिए ।
त्यसैगरी हैजाकै विषयमा करिब ३० वर्ष काम गरेका प्रसिद्ध अमेरिकन राष्ट्रिय पुरस्कार सम्मानित एक वैज्ञानिकले समेत हाइटीमा नेपाली सेनाले कलेरा फैलाएका हैनन् भन्ने डा. पुनको लेखमा सहमति जनाउँदै जर्नलमा लेख प्रकाशित गरेछन् ।
एकातर्फ नेपाली सेनालाई लगाएको आरोप निराधार हो भन्ने आधार तयार गरेकोमा त उनी हर्षित भए नै । अर्कातर्फ प्रसिद्ध वैज्ञानिकले समेत आफ्नो तर्कमा सहमति जनाउँदै आफ्नो लेख उद्धृत गर्दै लेख प्रकाशित गर्दा आफूले गौरवान्वित महसुस गरेको उनी सुनाउँछन् । डा. पुनले भने, ‘हाइटीमा भएको अनुसन्धान विश्वमै चर्चित भएको थियो ।’ आफूले गरेको सो अनुसन्धानले नेपालीको शिर उच्च राख्न मद्दत मिलेको उनको अनुभूति छ । सो अनुसन्धान विश्वका चर्चित पुस्तकमा समेत उल्लेख भएको उनी बताउँछन् ।
डा. पुनले सम्झिए, ‘केही टेक्स बुकमा पनि डाक्टर शेरबहादुरले हाइटीमा नेपाली सेनालाई लागेको आरोपको खण्डन गरेको छ, भन्ने पढेँ ।’ जापानमा पैसा र पदसमेत छोडेर आएर पनि त्यो अनुसन्धानले आफू सफल भएको महसुस गर्छन्, उनी ।
उनले त्यो अनुसन्धान भने सहजै गरेका हैनन् । डा. पुनले त्यो समयमा हैजाको विषयको अध्ययन–अनुसन्धान गरिरहँदाको क्षण सम्झँदै भने, ‘म रातभरि अध्ययन गर्थे, अध्ययन गर्दागर्दै कयौं रात त बिहान छर्लंगै हुन्थ्यो । खानपानको वास्तै हुँदैन थियो ।’ वैज्ञानिक तर्कका लागि उनी मन्थन गरिरहन्थे ।
उनले जापानमा अध्ययन गर्दा नै जापानिजहरुबाट सृजनात्मक मिहिनेत गर्नुपर्छ, एक मिनेट पनि समय खेर फाल्न हुन्न भन्ने सिकिसकेका थिए । उनलाई जापानको अध्ययनले नै मिहिनेत गर्ने प्रेरणा तथा ऊर्जा मिलेको थियो । आखिर डा. पुन सफल मात्रै भएनन्, हाइटीमा नेपाली सेनालाई लागेको आरोपको त्यो तार्किक लेखले विश्वबजारमा उनको चर्चा भयो । हैजाको त्यो अनुसन्धान आफ्नो चिकित्सकीय जीवनको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता भएको महसुस गर्छन्, उनी । तर, विडम्बना अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा डा. पुनको चर्चा भैरहँदा नेपालमा भने उनको त्यो अनुसन्धानात्मक लेखको कुनै चर्चा भएनछ । हुन त उनको नेपालमा चर्चा होस् भन्ने आशा पनि थिएन ।
कसैले डोनेसन दिएर अनुसन्धान गर्न पनि लगाएका थिएनन् । आफूले राष्ट्रलाई लागेको आरोपको खण्डन गर्नुपर्छ भनेर स्वतस्फुर्तरुपमा आफूले अध्ययन गरेको उनी सुनाउँछन् । नेपाली सेनाका एकजना अधिकृतले भने हाइटीमा आफूहरुलाई ‘कलेरा’ भनेर ढुंगा हान्ने गरेको समस्या सुनाउँदै के गर्ने भन्ने उनीसँग जिज्ञासा लिएका रहेछन् ।
फ्रन्ट लाइनमा सेवा
त्यसैगरी नेपालमा सन् २०११ तिर कालाजारको जोखिम पहाडतिर सर्दैछ भन्ने अध्ययन–अनुसन्धान गरी पहिलोपटक आफूले विभिन्न लेख प्रकाशित गरेको उनी बताउँछन् ।
नेपालमा पहिलोपटक आफूले लाइम डिजिज, कालाजार, चिकन गुनियाजस्ता रोगको पहिचान गरी पहाडतिर सर्दैछ भन्ने औँल्याएको सम्झन्छ्न, उनी । त्यसो त उनी विभिन्न किसिमका सरुवा रोगको जोखिमको समयमा फ्रन्ट लाइनमै रहेर सेवा गर्ने चिकित्सक हुन् । जुन चिकित्सकीय धर्म हो ।
नेपालमा आफूले सन् २०१३ तिर पहिलोपटक ‘चिकनगुनिया’ भाइरस भएको पत्ता लगाएको बताउँछन्, उनी । नेपालमा सरुवा रोगको जोखिम औंल्याउने मामलामा उनी अग्रणि भूमिकामा हुन्छन् । हाल कोरोना भाइर (कोभिड–१९) को महामारीको समयमा पनि डा. पुनको सक्रिय भूमिका देखिन्छ ।
अचम्ममा परे अमेरिकन वैज्ञानिक
अनुसन्धानमा सक्रिय डा. पुनले नेपालमा अनुसन्धान गरेर लेखेका लेख अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिकले निक्कै रुचाउँदा रहेछन् । अन्तर्राष्ट्रिय माध्यममा सम्प्रेषण भएका आफ्ना अनुसन्धानात्मक लेख पढेको आधारमा कयौं विदेशी वैज्ञानिक तथा चिकित्सक आफ्नो सम्पर्क पत्ता लगाएर ६ महिनाअघि भेट्ने समय मागेर भेट्न आउँदा आफू अचम्मितसमेत हुने गरेको उनी सुनाउँछन् ।
केही समय अघि डा. पुनलाई भेट्न अमेरिकाको सिडिसीका दुईजना वैज्ञानिक आएछन् । ती वैज्ञानिकले डा. पुनलाई सोधेछन्, ‘तिमी यहाँ के गर्छौ ? कसरी समय बिताउँछौ ?’ डा. पुनको सिधा उत्तर थियो, ‘दिनभरि अस्पतालमा काम गर्छु, घर फर्किएपछि अध्ययन–अनुसन्धानमा व्यस्त हुन्छु ।’ डा. पुनको उत्तर सुनिसकेपछि अचम्मित मुद्रामा ती वैज्ञानिकले एक–अर्काप्रति मुखामुख गर्दै भनेछन्, ‘यो मान्छे यहाँ के गरेर बसिरहेको छ, यो मान्छे त सिडिसीमा पो हुनु पर्ने हो त ।’
सामान्य जीवनशैली अपनाउने डा. पुनलाई आफूप्रति ती वैज्ञानिकहरु प्रभावित भएको देखेर अचम्म लाग्यो । किन आफूलाई यसरी उच्च सम्मान गरेर बोलेका होलान् भन्ने मनमनै प्रश्न उब्जियोे । त्यसपछि फेरि ती वैज्ञानिकले जिज्ञासु शैलीमा डा. पुनलाई सोधे, ‘के तिमी सन्तुष्ट छौ ?’ डा. पुनले मुस्कुराउँदै उत्तर दिए, ‘हो, सन्तुष्ट छु । म देशमा केही योगदान गरिरहेको छु ।’ डा. पुनको कुरा सुनेपछि उनीहरु फेरि ट्वाल्ल परेर एक–अर्कालाई हेरिरहे । अघोषित रुपमा ती वैज्ञानिकले सिडिसीका लागि प्रस्तावको संकेत गरे पनि आफुले इन्टे«ष्ट नदेखाउँदा ती वैज्ञानिक छक्क परेको उनी सुनाउँछन् ।
जबकि अमेरिकाको सिडिसी उत्कृष्ट वैज्ञानिकहरुले काम गर्ने थलो मानिन्छ । त्यो थलोमा पुग्न संसारका कयौं अनुसन्धाताको सपना हुन्छ ।
अनुसन्धानका लागि वरदान हो, नेपाल
नेपालमा हिमाल, पहाड र तराई तीन किसिमको भौगोलिक अवस्था तथा हावापानी भएकाले उनी नेपाललाई अनुसन्धानको भर्जिन र उपयुक्त भूमिकाका रुपमा लिन्छन् । नेपालजस्तो विभिन्न हावापानी भएको ठाउँमा विभिन्न किसिमका सरुवा रोगको उतारचढाव भैरहने भएकाले नेपालमा प्रायः सबै किसिमको रोगको अध्ययन गर्न सकिने उनी बताउँछन् । डा. पुनले भने, ‘जाडो हुने मुलुकका अनुसन्धाता गर्मी ठाउँमा हुने रोगको बारेमा अध्ययन गर्न गर्मी हुने मुलुकमा जानुपर्ने हुन्छ, भने गर्मी हुने मुलुकका अनुसन्धाता जाडोमा हुने रोगको अनुसन्धान गर्न जाडो हुने मुलुकमा जानुपर्ने हुन्छ ।’
सरुवा रोग विशेषज्ञ डा. पुन नेपलमै विभिन्न किसिमका सरुवा रोगको अध्ययन गर्न सकिने भएकाले यो भूमिलाई प्रकृतिको वरदानका रुपमा लिन्छन् । विदेशीहरु अध्ययनका लागि विभिन्न मुलुकमा पुगेको देखेका डा. पुनले नेपल नै अध्ययनको उपयुक्त थलो भएकाले पनि आफू यहाँ नै सेवा गर्न थालेको बताउँछन् । उनी नेपाल बस्नुमा राष्ट्रमोह तथा प्रेम त हुने नै भयो । आफूले यो क्षेत्रमा धेरै योगदान गर्न नसके पनि नयाँ आउने पुस्ताले केही गर्नसक्ने बताउँछन्, उनी ।
मृत्युको क्षणमा आफैँ भक्कानिन्छन्
रेबिज लागेर मृत्युको मुखमा पुगेका बिरामी देख्दा उनलाई निक्कै पीडा हुन्छ । रेबिज लाग्नुपूर्व रेबिज लाग्न नदिन एन्टि रेबिजको औषधि भए पनि रेबिज नै लागिसकेपछि उपचार सम्भव छैन ।
डा. पुन रेबिजका कारण बिरामीको मृत्यु हुँदाको क्षण सम्झिएर दुःखी हुँदै भन्छन्, ‘खोप लगाएर सत प्रतिशत बचाउन सकिने भए पनि रेबिज लागेका बिरामीको मृत्यु देख्दा मेरो पनि आँसु अडिँदैन ।’ युवा तथा पढे–लेखेका देखिने व्यक्तिले समेत रेबिजको भ्याक्सिन छ भनेर थाहा पाउँदापाउँदै पनि भ्याक्सिन नलगाउनाले मृत्यु हुने गरेको देख्दा आफू अति नै दुःखी हुने गरेको सुनाउँछन्, डा. पुन ।
केही महिनाअघि पूर्वतिरका करिब ६० वर्षका व्यक्तिलाई रेबिज लागेर टेकु अस्पताल लगिएको थियो । ती व्यक्तिले आफू मृत्यु हुने थाहा पाएपछि आफन्तलाई अस्पतालको बेडमा छटपटाउँदै आत्मग्लानि गरेर रुँदै अह्राएका थिए, ‘म त अब मर्ने नै भएँ, २÷४ दिन पनि बाँच्छुजस्तो छैन, मैले लगाएको बाली उठाएर खानु ।’ उनी कति दिन बाँच्न सक्छन् भन्ने प्रस्ट थाहा पाएका ती पाका व्यक्तिको मृत्यु हुनुअघि खसेका आँसुले डा.पुनको पनि मन कटक्क भयो । तर, ती ६० वर्षीय व्यक्तिले मृत्युवरण गरेको हेर्नु शिवाय बचाउन सकिने कुनै चिकित्सकीय विधि थिएन, डा. पुनसँग । उनी घरमा पुगेर निकैबेर घोरिए । डा. पुनले आफूले आफैँलाई एकजना मृत्युको मुखमा पुगेका व्यक्तिलाई पनि बचाउन सकिनँ भनेर आत्मग्लानि गर्दै बर्रर्र आँसु खसाए । महिनामा १÷२ जना कुकुरले टोकेर रेबिज लागेर मृत्युको मुखमा पुगेका बिरामी टेकु अस्पताल पुग्छन् ।
अमूल्य आशीर्वाद
उनलाई पैसाभन्दा बिरामीले दिने आशीर्वाद नै कराडौंमा किन्न नसकिने अमूल्य लाग्छ रे । बिरामी ठिक भएर घर फर्किँदा बिरामीको आशीर्वादले आफू गदगद हुने सुनाउँछन्, उनी । बिरामी अस्पतालबाट डिस्चार्ज भएर घर फर्कँदा उनको मन आनन्द हुन्छ, जुन प्रत्येक चिकित्सकको चाहना हो । डा. पुनले भने, ‘उपचारपछि बिरामी निको हुँदा शरीर मन हलुंगो भएको महसुस हुन्छ ।’
उनी आफू बिरामीको पीडा देखेर आफूलाई पनि पीडा हुने गरेको बताउँछन् । त्यसैले उनी बिरामीको उपचार गर्ने क्रममा बिरामीको मनोविज्ञानको समेत अध्ययन गरी बिरामीको पीडा कम होस् भन्नेप्रति विभिन्न किसिमका चिकित्सकीय विधि अपनाउँछन् । बिरामीलाई राम्रोसँग परामर्श दिन्छन् । जसले बिरामीको पीडा कम महसुस हुने बताउँछन्, उनी । डा. पुन बिरामीको सहजताका लागि बिरामीलाई सम्पर्क नम्बर पनि दिन्छन् । उनले लाखौँ व्यक्तिको उपचार गरिसकेका छन् । उनी पैसा कम कमाएको प्रति कहिल्यै दुःखी हुँदैनन् रे । डा. पुन आफूमा लक्ष्मीभन्दा सरस्वतीले बढी बास गरेको महसुस गर्छन् ।
बुवा–आमा भगवान्
त्यसो त उनका बुवा ब्रिटिस आर्मी भएकैले पारिवारिकरुपमा आर्थिक अभावको समस्या भने बेहोर्नु परेन डा. पुनले । कतिपय अवस्थामा उनलाई आफ्नो तलबले आर्थिक व्यवस्थापन गर्न मुस्किल पर्दा परिवारबाट सहयोग मिल्छ । उनी आफू धनी परिवारको व्यक्ति नभए पनि बुवा–आमाले खान–लगाउन पैसाको अभाव हुन नदिएको बताउँछन् । आफ्ना बुवा–आमाले आफूलाई आर्थिक अभावमा पर्न नदिएर अध्ययनका लागि भरपुर सहयोग गरेकोमा उनी बुबा–आमालाई भगवान्का रुपमा हेर्छन् । पैसा थपनथापनतिर पनि आफू नलागेको उनको तर्क छ ।
बौद्धिक कमाइ
त्यसो त उनी अध्ययन–अनुसन्धान समय धेरै र कमै पैसामा पनि गर्न सकिने बताउँछन् । उनले भने, ‘सबै अनुसन्धानमा करोडौँको फन्डिङ चाहिन्छ भन्ने छैन ।’ काम नगरी फन्डिङको आश गरेर बस्दा अनुसन्धान नै मर्ने भएकाले आफू फन्डिङको आशामा नबस्ने बताउँछन् । तर, विभिन्न विदेशी संघ–संस्था तथा अनुसन्धाताले सहकार्य (कोलाबोरेसन) गरेर अध्ययन–अनुसन्धानका लागि प्रस्ताव आउने उनी बताउँछन् । फन्डिङका त्यस्ता अध्ययनबाट आउने बौद्धिक कमाइले पनि आफूलाई आर्थिक व्यवस्थापनका लागि सहज हुने उनी बताउँछन् ।
कम पैसा, जोखिम बढी
सरुवा रोगको विषयमा आर्थिक सुरक्षा बलियो नभए पनि आत्मसन्तुष्टि भने मिल्ने भएकाले यो विषय नै आफूले रोजेको डा. पुन दोहोर्याउँछन् । सरुवा रोग विषयको अध्ययन तथा सेवा गर्ने चिकित्सक अन्य चिकित्सकीय विषयको तुलनामा आर्थिकरुपमा मजबुत नहुने भएकाले नै नेपालमा सरुवा रोग विशेषज्ञ अत्यन्तै कम भएको उनी बताउँछन् ।
नेपालमा मात्रै हैन संसारभरमै सरुवा रोगको विषयमा अध्ययन गर्ने चिकित्सकको आकर्षण कम रहेको प्रति उनी चिन्तित छन् । डा. पुनले भने, ‘सरुवा रोग विश्वमै चासो र वास्ता नगरिएको रोग हो ।’ संसारभरमा अहिले महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सरुवा रोग विशेषज्ञको आवश्यकताको महसुस भएको उनको तर्क छ ।
त्यसो त बिरामीको सेवा गर्ने पहिलो लाइनमा स्वास्थ्यकर्मी तथा चिकित्सक नै हुने भएकाले सरुवा रोगका बिरामीको सेवा गर्ने क्रममा स्वास्थ्यकर्मीलाई रोग सर्ने जोखिम त्यतिकै हुन्छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को मारमा स्वास्थ्यकर्मी परेको तीतो यथार्थ छ ।
विशेषगरी यस्तो रोगको उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि भरपर्दो पिपिइ (व्यक्तिगत सुरक्षाका सामग्री) को आवश्यक हुन्छ । पिपिएको उचित व्यवस्था नहुँदा स्वास्थ्यकर्मीकै ज्यान जोखिममा हुन्छ । तर, यसअघि अस्पतालमा पिपिएको राम्रो व्यवस्था नभए पनि अहिले भने भएको डा. पुन बताउँछन् । समय–समयमा सरुवा रोग अस्पतालमा सेवा गर्ने स्वास्थ्यकर्मीका लागि तालिमको समेत व्यवस्था हुनुपर्ने उनको तर्क छ । विदेशमा सरुवा रोगको क्षेत्रमा सेवा गर्ने स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने भए पनि नेपालमा भने त्यस्तो व्यवस्था नभएको उनी बताउँछन् ।
उनी अहिलेसम्म आफैँ बिरामी भएर अस्पताल भने भर्ना हुनु नपरेको अनुभव सुनाउँछन् । कहिलेकाहीँ सामान्य रुघाखोकी लाग्नुलाई उनी स्वाभाविकरुपमा लिन्छन् । बिरामीको स्वास्थ्य जाँच गर्दा चिकित्सक र बिरामीबीचको दूरीको ख्याल गर्ने तथा माक्स, पञ्जा लगाउनेलगायत सुरक्षाका उपाय अपनाउने भएकाले अहिलेसम्म उनलाई बिरामीको रोग सरेको छैन । तर, बिरामीको सेवा गर्दा आफूले व्यक्तिगत सुरक्षा तथा व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ) मा ध्यान भने दिने गरेको उनी सुनाउँछन् ।
टेकुको अवस्था र नयाँ रोगको चुनौती
आफू टेकु अस्पतालमा सेवाका लागि प्रवेश गर्दा स्रोत साधनको अभावका बाबजुद जसोतसो सेवा गरिएको भए पनि वर्तमान अवस्थामा चुनौती भएकाले टेकु अस्पताललाई एउटा आधुनिक सुविधायुक्त अस्पतालको रुपमा स्तरीकरण गर्न आवश्यक रहेको डा. पुन बताउँछन् । डा. पुनले भने, ‘हावाबाट सर्ने रोगलाई अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउन ढिला भैसकेको छ ।’ अस्पतालमा सेवा गर्ने जनशक्तिलाई उत्प्रेरणा दिन आवश्यक रहेको उनको तर्क छ ।
उनी सेवामा प्रवेश गर्दादेखि नै टेकु अस्पताललाई नमुना अस्पताल बनाउनुपर्छ भन्ने सोच थियो । त्यसैले आफूले आर्थिक लाभ तथा फेलोसिपको मोहलाई त्यागेको उनी बताउँछन् । टेकु अस्पतालमा सोचेअनुरुप प्रगति नभए पनि केही सुधारोन्मुख काम भने भएको बताउँछन्, उनी । डा. पुन भन्छन्, ‘टेकु अस्पताल दक्षिण एसियाकै प्राज्ञिक थलो बन्नुपर्छ ।’ टेकु अस्पताल साँच्चै दक्षिण एसियाकै प्राज्ञिक थलो बन्ने भए पनि नेतृत्वको बेवास्ताका कारण आज पनि यो अस्पताल क्षेत्रको बाटो हिँड्दा अझै नाक छोपेर हिँड्नु पर्ने तीतो यथार्थ छ ।
रोगको जीन तथा रुप परिवर्तन भइरहेकाले एक वर्षअघि काम गरेका औषधिले अर्को वर्ष काम नगर्दा सरुवा रोग चुनौती भएको उनी बताउँछन् । त्यसैले रोगको बारेमा गहिरो अध्ययन–अनुसन्धान गर्न आवश्यक रहेको उनको सुझाव छ ।
२१ औँ सताब्दीमा नयाँ–नयाँ रोगको चुनौती देखिएका छन् । जसबाट नेपाल पनि अछुतो छैन । त्यसैले नयाँ–नयाँ सरुवा रोगको खोज तथा अनुसन्धानका लागि नेपालमा एउटा प्रभावकारी काम गर्ने छुट्टै अस्पताल तथा रिसर्च सेन्टरको आवश्यकता रहेको डा. पुन औँल्याउँछन् । पूर्व तयारी अवस्थामा रहँदा सरुवा रोगको चुनौतीबाट बच्न सकिने उनको सुझाव छ ।
नेपालमा प्रत्येक मौसममा विभिन्न किसिमका मौसमी फ्लु, हैजा, आउँ, डेंगु, स्क्रबटाइफस, जन्डिस, टाइफाइडलगायतका सरुवा रोग देखिने चुनौती छन् । विश्वमा कहिल्यै नदेखिएका नयाँ–नयाँ संक्रामक किटाणु पनि देखिने जोखिमका कारण नेपालमा रोगको बेलैमा पहिचान गर्नुपर्ने मामला चुनौती देखिएकाले यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको उनी बताउँछन् ।
व्यस्त दैनिकी, स्वस्थ जीवनशैली
चार वर्ष अघि एक स्वास्थ्यकर्मीसँग लगनगाँठो कसेका डा. पुनको पारिवारिक जीवन सुखद् र सुन्दर रहेकोमा उनी दंग छन् ।
डा. पुन सामान्यतः बिहान पाँच बजे नै उठ्छन् । उठिसकेपछि तातोपानी पिएर आफ्नै घरवरिपरि हल्का व्यायाम गरेपछि चिया पिउँछन् । खाजा खान्छन् । त्यसपछि उनी अध्ययनमा जुट्छन् । केही समय अन्तर्राष्ट्रिय जर्नल (लेख) को रिभ्यु गर्छन् । उनलाई रिभ्युका लागि जर्नल आइरहन्छन् । बिहान करिब साढे आठ बजे खाना खाएपछि ललितपुरको जावलाखेलस्थित रहेको घरबाट टेकु अस्पतालतिर लाग्छन् । अस्पतालमा दिनभरि बिरामीको सेवा गरिसकेपछि बेलुका चार बजे घर फर्कन्छन् । घर फर्किएर खाजा खाएपछि दिनभरि आफूले जाँचेको बिरामीको बारेमा विश्लेषण गर्छन् । कुनै नयाँ केस भेटे भने टिप्न छुटाउँदैनन् । त्यसैका आधारमा अध्ययन गर्न थाल्छन् ।
बेलुका सात बजेतिर खाना खाइसकेपछि डा. पुन टेलिभिजनमा समाचार हेर्न थाल्छन् । बेलुकाको नौ बजेबाट पुनः अध्ययन थाल्छन् । अध्ययन गर्दागर्दै कहिले त रातको दुई पनि बज्ने उनले सुनाए । त्यसो त उनी घर बाहिर खानपान गर्न नरुचाउने चिकित्सक हुन् । खानपानमा उनी निक्कै सचेत हुन्छन् ।
नेपालको करिब २५ प्रतिशत भू–भागमा पुगेका उनी विदेशका २० भन्दा बढी मुलुकमा पुगेका छन् । डा. पुनले भने, ‘अफ्रिका र अमेरिका महादेश बाहेकका महादेशमा पुगेको छु ।’ कामको सिलसिलामा घुम्न गएको बेला होस् वा मनोरञ्जनका लागि घुम्न गएका बेला नै किन नहोस् आफू पुगेको ठाउँका बारेमा अध्ययन गर्न छुटाउँदैनन्, उनी । आफू पुगेको ठाउँको भौगोलिक अवस्था, हावापानी, रहनसहन तथा रोगलगायतका बारेमा अध्ययन गरिहाल्छन् ।
प्रकाशित: १९ वैशाख २०७७ १३:४० शुक्रबार