२७ श्रावण २०७७ मंगलबार
अन्य

शारदा र मोहनको प्रेमकथा

उपन्यासकार प्रकाश तिवारीका ‘परित्यक्त’ (२०७२) र ‘निलोफर’ (२०७४) उपन्यास प्रकाशित भएका छन्। उनी जातीय विभेदविरुद्ध संघर्षरत नारीको कारुणिक कथामा आधारित ‘निहारिका’ लिएर पाठकमाझ आएका छन्। स्वतन्त्र लेखनमा विश्वास गर्ने तिवारी सामाजिक यथार्थलाई कुशलतापूर्वक उतार्छन्। सामाजिक शोषण र विभेदविरुद्ध बोल्ने, मानवतावादको पक्षधर, समाजसुधार उन्मुख सभ्य समाजको निर्माणमा लागि पर्ने उपन्यासकार पनि हुन्, तिवारी। निहारिकामा भूमिका र सम्मति छैन, अन्त्यमा लेखकको भनाइ छ, जुन  नवीनतम शैली हो। यसलाई लेखन शैलीका दृष्टिले राम्रो लक्षण मान्न सकिन्छ। कृतिको मूल्यांकन सम्मति वा भूमिकाका आधारमा गर्ने प्रवृत्ति राम्रो पनि होइन।

उपन्यासमा पहाडी क्षेत्र, काठमाडौं, मानसरोवरदेखि भारतको गोआलगायत क्षेत्र समेटिएको छ। जनतासँग अलग हुँदै गएको राजनीति र नवीनता खोजीतर्फ संकेत गर्नु उपन्यासको अर्को पक्ष हो। त्यसबाहेक उपन्यासमा ग्रामीण समाजमा व्याप्त सामन्ती प्रवृत्ति, जातीय छुवाछुत र भेदभावलाई सुन्दर शैलीमा प्रस्तुत गरिएको छ। पुरानो पुस्ता, परिवर्तित परिवेश र नवीनतम सोचाइ प्रस्तुत गरिएको छ। उपन्यासको उठान ओखरबोट र चित्रबेसीको ग्रामीण परिवेशबाट भएको छ। स्थानीय भाषिका वा उच्चारणगत विशेषतालाई समेट्दै वर्तमान समयअनुुरूपका पात्रले उपन्यास सुन्दर बनेको छ। मोहन र शारदा उपन्यासका मुख्य चरित्र हुन् भने शिवराम विश्वकर्मा, चन्द्रप्रसाद शर्मा, रमा, रमेश, शर्मिला, रमण, रञ्जना, सुनैना, रञ्जित, रोशन, चेतनाथ लगायत सहायक पात्र हुन्। मोहन र शारदाको सेरोफेरोमै कथानक संरचित छ। धर्म र परम्पराको आडमा गरिने उच–नीचको व्यवहार, जातीय विभेद, शक्तिपूजाको नेपाली परम्परा, अन्तर्जातीय प्रेम सम्बन्ध उपन्यासका मुख्य विषयवस्तु हुन्। यसकारण उपन्यासमा सीमाविहीन वा सम्पूर्ण मानव समुदायको कथा समेटिएको आभास हुन्छ।

उपन्यासमा स्थानीय बोलीचालीको भाषा प्रयोग हुनु यसको अर्को विशेषता हो। अन्तर्जातीय विवाहमार्फत समाज सुधारको सन्देश दिनु उपन्यासको मुख्य उद्देश्य देखिन्छ।

ब्राह्मण पुत्री शारदा र विश्वकर्मा पुत्र मोहनको अन्तर्जातीय विवाहको सन्दर्भमार्फत जातीय विभेद र त्यसविरुद्धको संघर्ष प्रस्तुत गरिको छ। शिवराम विश्वकर्माका पाँच छोरी पछि छोरा जन्मिएको थियो। छोरा जन्मिएको उपलक्ष्यमा आयोजित भोजमा मुखेनीले खाना पकाएको सन्दर्भबाट कथानक अघि बढेको छ। शारदालाई चरित्रहीनको आरोप लगाएर घरबाट निष्कासन गरिन्छ, यसपछि उनले मोहन विश्वकर्मासँग अन्तर्जातीय विवाह गर्छिन्। हिन्दू धर्मावलम्बी कृष्ण र मुस्लिम सलमाको प्रेम प्रसंग, प्रेम विवाहकै रात सलमाको बाबुले कृष्णको हत्या गरेको सन्दर्भमार्फत धार्मिक असहिष्णुताप्रति व्यंग्य गरिएको छ। सुनैना र रञ्जितको प्रेम, यौनिक तुष्ठिको वेगमा प्रवाहित हुँदै सुनैना एकबाट दुई, दुईबाट तीन हुँदै गएको सन्दर्भले उपन्यासमा कौतूहलता सिर्जना गरेको छ। त्यस्तै, स्वच्छन्दतावादी पाश्चात्य जीवनशैली जिउने रहरले निम्त्याएको परिवारिक विखण्डन, रमेश र शर्मिलाको प्रेम प्रसंगलाई मार्मिक ढंगबाट आख्यानीकरण गरिएको छ।

बाहुनकी छोरीसँग सम्बन्ध राखेको अभियोगमा ‘जनहित मावि’ बाट मोहनको षड्यन्त्रपूर्वक निष्कासन, त्यसपछि सुरु भएको शैक्षिक जागरण अभियान, हिन्दू वर्ण व्यवस्था, नेपालको शाहवंशीय इतिहास, नकारात्मक प्रवृत्तिको रमन र सकारात्मक सोचको मोहनमा भएको प्रतिस्पर्धा, मोहन जनहित माविबाट हटाइएपछि निःशुल्क शिक्षा अभियान चित्रबेँसीलगायत प्रौढ कक्षाको प्रारम्भ, ‘नयाँ किरण मावि’को प्रगति, उसको त्याग, समर्पण र सङ्घर्ष, मोहन गाउँ छोडी काठमाडौं आएको प्रसङ्ग र पछि गएर मन्त्रीसम्म भएको कुरा सामाजिक सन्देश दिने खालका रहेका छन्। माइती र समाजबाट तिरस्कृत शारदालाई मोहनविश्वकर्मा मन्त्री भएपछि मात्र आमाबाबुले घर बोलाएको, माइती जाने क्रममा बाटोमा भएको बस दुर्घटनामा परी शारदाको दुःखद मृत्यु हुन पुगेको, मोहनले शारदाको स्मृतिमा स्मारक बनाएको, स्मारकको जगमा प्रेम विवाहकै राति विधवा बनाइएकी शारदाकी साथी सलमाले शिलान्यासको इँटा राखेको। ‘शारदा स्मारक’को उद्घाटनपछि सासू ससुरा–चन्द्रप्रसाद र रमाले ज्वाइँ मोहन विश्वकर्माको खुट्टा छोएर माफी मागेको, प्रिय सुनैनाले अर्को बिहा गरेपछिको पीडा सहन नसकी रञ्जितले अत्यधिक रक्सी सेवन गर्न थालेको र रक्सी सेवनकै कारण हृदयाघात भई उसको मृत्यु भएको, मोहनले परम मित्र रञ्जित (ब्राह्मण) को शवमा दागबत्ती दिएको आदि कुराले महाकवि देवकोटाको ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !’ भन्ने उक्ति पुनःस्मरण गराउँछ।

उपसंहार
समग्रमा प्रकाश तिवारीको उपन्यास ‘निहारिका’ सरल शैलीको मार्मिक कृति हो। उपन्यासमा स्थानीय बोलीचालीको भाषा प्रयोग हुनु यसको अर्को विशेषता हो। अन्तर्जातीय विवाहमार्फत समाज सुधारको सन्देश दिनु उपन्यासको मुख्य उद्देश्य देखिन्छ। सामाजिक यथार्थलाई उद्घाटित गर्दै आदर्श समाजको परिकल्पना गर्नु, अन्धविश्वास मुक्त समाजको अपेक्षा राख्नु आदि कुराले उपन्यासले प्रगतिवादी धार पछ्याएको अनुमान गर्न सकिन्छ। स्वतन्त्र विचरण गर्न रुचाउने र फराकिलो विषयवस्तुमा रम्ने तिवारीको तेस्रो उपन्यास निहारिका एउटा सुन्दर कलाकृति हो भन्दा फरक पर्दैन। नेपाली साहित्य आकाशमा उदाएको सुन्दर कृति निहारिका सबै उमेर समूहका पाठकका लागि पठनीय र संग्रहनीय छ।

प्रकाशित: ८ चैत्र २०७६ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App