८ वैशाख २०८१ शनिबार
अन्य

‘के भअ, नछुनी भइस् ?’

‘के भअ ? नछुनी भइस् ?’ आमाका आँखामा अनौठो दह जमेको थियो । आमाले कसरी थाहा पाउनुहुन्थ्यो कुन्नि मेरो अवस्था ! ‘अँ’ मेरो अनुहार रातो भयो, आवाज अड्किए जस्तो लाग्यो। अनुहार झुक्यो। मानौँ मैले कुनै ठूलो अपराध गरेँ। मैले बिस्तारै टाउको उठाएँ। आमाले काखमा लिएको भाइलाई नजिकै झुन्डिएको पेटीकोटले छोप्नुभयो। ‘लौ, हेर्नहुन्न ! उताको कोठामा बस्दै गर।’

विद्यालयमा त रजस्वलाका बारेमा कुनै शिक्षा दिने चलन थिएन भने अशिक्षित आमालाई समाजले जे सिकायो त्यही गर्नुहुन्थ्यो। म चुपचाप उभिइरहेँ। आमाले बाथरुम नजिकैको पाहुनाकोठा देखाउनुभएको थियो। मनभरि केके मडारिएको जस्तो भयो। हातखुट्टा झन् चिसा भए। लगाएका लुगा आधासरो भिजेका थिए। म कोठामा बन्दी भएँ, त्योभन्दा बढी आफ्नै उत्सुकताको अनौठो उपत्यकामा घेरिएँ। मसँग हजार प्रश्नहरू थिए तर न बोल्ने आँटिलो आवाज थियो न सुन्ने कान थिए। कोठाको झ्यालबाट बाहिर हेरिरहेँ, असारे झरी रोकिन लागेको थियो। जेटिएसको परिसरमा परपर थिए आवासीय घरहरू। म थुनिएको कोठाको झ्यालबाट देखिन्थ्यो कोप्रोन्सिपलको क्वाटर, हाम्रो जस्तै जुम्ल्याहा घर ! त्यहाँ स्विस बस्थे।

११०औँ श्रमिक महिला दिवसका दिन सम्झेँ– आमाको बोल्डनेस, निर्णय क्षमता अनि कर्मशील स्वभाव ! १५ वर्षको उमेरमा बिहे भएपछि उहाँले बुवाको एक्लो जीवन र रित्तो घरलाई सम्हाल्नुभयो। टुहुरो बुवाको सहारा मात्र बन्नुभएन, घरको सम्पूर्ण उत्तरदायित्व आफ्नै काँधमा बोकेर बुबालाई पढ्न पठाउनुभयो। बुबाले गाउँको स्कुलबाट एसएलसी र अमेरिकी विश्वविद्यालयबाट पिएचडी गर्दासम्म मात्र होइन, गाउँको विद्यालयको शिक्षक हुँदै एउटा सफल प्राविधिक शिक्षाविद् हुँदासम्म मेरी आमा पारिवारिक जिम्मेवारीको दरिलो आड बन्नुभयो। पढ्ने चाहना भएर पनि कहिल्यै स्कुलको मुख देख्न नपाएकी मेरी आमाको चाहना थियो, आफूले पढ्न नपाएकै कारण छोरीले धेरै पढोस्। उहाँले पढ्न र केही हिसाब गर्न मसँग  सिक्नुभयो। उहाँको घरायसी श्रम र पारिवारिक जिम्मेवारीको मूल्यांकन मात्र गर्ने हो भने बुबाले गरेको कमाइभन्दा पक्कै कम हुन्न।

आजको परिवर्तिन परिवेशमा पनि समाज र परिवार पितृसत्ताको चर्को वकालत गर्ने संस्था बनिरहेका छन् भने आजभन्दा दुई–तीन दशकअघिको समयले निरक्षर आमाहरूबाट पितृसत्ताको दमनकारी स्वरूप गजबले देखाउँथ्यो। गाउँमा आमाहरूले पनि त्यही सिकेका थिए, त्यही जानेका थिए। इमानदार आमाका व्यवहारमा समाजका नियम सततः पालना गर्न सजिलो थियो पितृसत्तालाई ! आज आमाको ममतासँगै याद आइरहेछन्, समाजका विभेदहरू र आफू फक्रिँदै गर्दाका क्षणहरू !

जिरी प्राविधिक शिक्षालयको प्रिन्सिपल क्वाटर, दुईतले चिटिक्क परेको भवन ! जो ०७२ सालको भूकम्पले तहसनहस भयो रे, तर मनको चित्र उस्तै छ। हाटडाँडा, लाँकुरीडाँडा, चेर्दुङको डाँडो, लिंकन बजार, जेटिएसको परिसर, कृषि फार्म अनि विमान मार्गतिरको बाटो– मनमा उही ३४ वर्षअघिको अग्र्यानिक फोटो छ ! बुबा जेटिएसको फाउन्डर प्रिन्सिपल, मेरो बसाइ ०४० को हिउँदमा दुई वर्षलाई जिरीमा पुग्यो परिवारसहित। स्याङ्जाको पहारिलो गाउँबाट चिसो र स्याँठिलो जिरीमा पुगेपछिका किशोरी अनुभवहरू बग्रेल्ती छन्। जिरी पुगेपछि हाम्रो परिवार पाँचबाट एकैचोटि सात पुगेको थियो। त्यहाँ गएको वर्ष दिनमा जुम्ल्याहा बहिनी र भाइ जन्मेका थिए।

जिरी हाइ स्कुलमा कक्षा ८ पढ्दै थिएँ, ममुनिका दुई भाइहरू काठमाडौंमा हिमालय विद्या मन्दिर र बूढानीलकण्ठ स्कुलमा पढ्थे। म जेठी छोरी, आमाको दाहिने हात, जुम्ल्याहा भाइबहिनीको धरालो। अहिले जस्तो गाउँगाउँमा बोर्डिङ स्कुल भएको भए घरको काम सकेर हस्याङफस्याङ गर्दै सरकारी स्कुलमा पठाइनन्थेँ कि ? जेहोस् आमासँगै बस्न पाउनु छोरी हुनुको सुविधा थियो होला ! बुवा मेरो पढाइमा चिन्तित हुनुहुन्थ्यो, पढ्न सधैँ प्रेरित गर्नुहुन्थ्यो। सँगै हुँदा आफैँ पढाउनुहुन्थ्यो। मेरो गाउँका मध्यमवर्गीय परिवारका अधिकांश छोरीहरू (कतिपय छोराहरू पनि) घरको कामका बलियो सहयोगी भएर सरकारी स्कुल नै पढे।

भाइबहिनीको थाङ्ना धुने, स्याहारसुसार र रेखदेख गर्ने काम गरिरहँदा सबैले भन्थे, ‘यसले सबै तालिम पाउने भई, पछि आमा हुन सजिलो हुन्छ !’ मानौँ, छोरीहरू घरको काम गर्ने र बच्चा पाउने साधन मात्र हुन्। घरमा गर्ने आमाका सबै काम मेरा पनि काम हुन्थे। म कि काम गर्थें कि पढ्थेँ। खेल्ने, घुम्ने, साथीहरूसँग रमाउने काम भाइहरूको थियो। एक दिन एउटी साथीले मलाई कृषि फार्म घुम्न जाऊँ भनिन्। म आमालाई नसोधी सुटुक्क हिँडिदिएँ। जेटिएसको परिसरबाट त्यहाँ पुग्न १० मिनेट जति लाग्थ्यो। म उनीसँग घुम्न पाएकोमा दङदास थिएँ। फार्मनेर पुगेका मात्रै थियौँ। मेरो पछिल्तिर बुबाका अफिसका कार्यालय सहयोगी दाइ पो देखेँ। उनले भने, ‘घर हिँडिहाल, बुबाले बोलाउनुभएको छ।’

म डराउँदै फर्किएँ लुरुलुरु। घरमा नसोधी हिँडेको र ती साथीसँग गएकोमा बुबाआमालाई ठूलै आपत्ति थियो। स्कुल जाँदा पनि तीसँग नहिँड्नू भन्ने आदेश थियो। पछि थाहा पाएँ उनलाई त्यो समाजले ‘चरित्रहीनता’को ट्याग लगाएको रहेछ । ‘बढेकी छोरी यसरी जताततै हिँड्न हुन्न।’ आमाबुबाको स्वर समाजको असुरक्षित अवस्थाप्रति पनि लक्षित थियो ! १३ वर्षकी थिएँ, पहिलो महिनावारी भएँ। आफू ठूली भएको संकेत शरीरतिर देखिँदै थियो। आफ्नै अनुहार ऐनामा पटक पटक हेर्ने बानी लागेको थियो। कपालका चुल्ठा कसरी बाँध्दा राम्रो देखिन्छ भन्ने खुलदुली पनि हुन्थ्यो। निधारमाथिका केही रौँ काटौँ लाग्थ्यो। कन्चटको कपाल गालातिर झरेर टोलाएको पनि राम्रो लाग्थ्यो।

असारको शनिबार दिन, झरीले आफ्नो रूप देखाएको थियो। पाँच महिनाका जुम्ल्याहा भाइबहिनीका थाङ्ना सुकेका थिएनन्। भर्‍याङभरि, कोठाभरि डोरीमा झुलिरहेका थिए, रंगीचंगी थाङ्नाहरू ! आमा भाइबहिनीलाई लिएर सुतिरहनुभएको थियो, माथि तलामा। म लुगा धुँदै थिएँ, भुइँतलाको बाथरुममा। अघिल्लो दिनदेखि अनौठो दुखाइ थियो, तल्लो पेटमा। मनमा कताकता त्रास पलाएको थियो। केही दिनदेखि आमाले भनिरहनुभएको थियो, ‘तँ नछुनी होलिस् जस्तो छ, छोरी, होस गर् है।’ मैले आमालाई सोधिरहन्थेँ, ‘के हुन्छ आमा नछुनी हुँदा ?’ आमाले आफ्ना अनुभव सुनाउनुहुन्थ्यो, ‘होस गर् नि, ...तातोतातो हुन्च, केही बगेजस्तो ! बार्नपर्च। लुकेर बस्नपर्च। भाइ र बुवालाई हेर्न हुन्न, घाम पनि हेर्न हुन्न !’

म पाटन हस्पिटलमा भर्ना भएँ। पल्लो बेडकी एउटी महिला पीडाले असह्य भएर सबै लुगा फालेर नांगै कुदेकी थिइन्। सासू र पतिलाई अनेकथरी गाली गरिरहेकी थिइन्। पीडामा उनले मनका अनेक असन्तुष्टि पोखिरहेकी थिइन्, तर नर्सहरू उनलाई निकै हप्काइरहेका थिए। मेरो मन ती सबै घटनाले झन् आत्तिएको थियो।

आमाका आवाजका डन्डाले झनै त्रसित भएकी थिएँ म। स्कुल पो कसरी जानु भन्ने चिन्ता अर्कोतिर। आफूले पाउने स्वतन्त्रता भनेको त्यही स्कुल जानु त थियो। लुगा धोएर सकिएपछि पिसाब फेर्दा देखेँ रगत ! म अचानक चिच्याएँ बाथरुमबाटै। बाहिर निस्केर पनि आमालाई बोलाएँ। मेरा पाइला जम्न लागेका थिए, मलाई भर्‍याङ चढ्ने आँट आएन। आवाज सुनेर आमा माथिबाट ओर्लिनुभयो र भर्‍याङमै रोकिएर सोध्नुभयो। त्यसपछि लुगाको टालो दिएर लगाउन भन्नुभयो। त्यतिबेला हामीलाई सेनिटरी प्याड हुन्छ भन्ने थाहै थिएन। म कोठामै बसेँ, बेलुका आमाले खाना ल्यानुभयो, तर खान पटक्कै मन थिएन। आमाले ओछ्यानका लागि केही कपडा दिनुभयो, भुइँमा मिलाएर सुतेँ। दुई–तीन दिन बितेपछि बुबा कराएको सुनेकी थिएँ, तर आमाको अड्डी, के निकाल्नुहुन्थ्यो ! भाइबहिनीलाई छुन पनि पाइनँ। मेरा दिनहरु उनीहरूसँगै बित्दै आएका थिए, कोठामा बस्दाको एक्लोपनले निकै सतायो।

आमा कलममा आफैँ मसी भरेर दिनुहुन्थ्यो। कापी किताब पनि नदिउँला जस्तो गर्नुहुन्थ्यो। तर म जिद्दी गर्थें। बाथरुम जान छुट थियो, बुबाले प्रयोग गरेपछि मात्र ! टालाटुली धोएर कोठामै सुकाउनुपर्ने ! सम्झँदा लाग्छ, आमालाई सिकाउन नसक्नु हाम्रै दोष थियो। अझ मेरी आमाले आफ्नो बेला कति सास्ती बेहोर्नुभयो होला ? भोलिपल्ट जस्तो लाग्छ, बुबाले जेटिएसकै एक नर्स (स्टाफ) जानकी आन्टीलाई अनुरोध गरेर मेरो कोठामा पठाउनुभयो। उहाँले मलाई कसरी सफा लुगालाई पट्याएर सजिलो प्याड बनाउने भन्ने सिकाउनुभयो। त्यसको सरसफाइको तरिका पनि भन्नुभयो। अनि किशोरी उमेरका अरू कुरा पनि बुझाउनुभयो। सबै कुरा सम्झिन्नँ, तर उहाँले सिकाएका कुरा निकै उपयोगी थिए। बुबाले थुनिने कुरालाई जति विरोध गरे पनि आमाको जिद्धीका अगाडि उहाँको केही चलेन जस्तो लाग्छ। आमाभन्दा बलियो थियो गाउँको नियम। सात दिनमा निस्किँदा म पहेँली दखिएँछु। बल्ल स्कुल जान पाएँ। अनि, १३ दिनमा घरको सबैतिर छुन पाउने भएँ।

अर्को वर्ष स्याङ्जा फर्केपछि निकै गाह्रो भयो। समाजको अन्धविश्वासको बिर्कोलाई खोल्न मेरो आवाज कहिल्यै पर्याप्त चर्किन सकेन, सायद ममा उति चेतना पनि भरिएको थिएन। समाजको अगाडि अनुशासनका नियममा खरो उत्रिने आमा मलाई पनि पढाउनुहुन्थ्यो, ९–१० कक्षाका भन्दा जटिल पाठ ! तोकिएका लुगा मात्र लगाउनु, गोठमा वा छुट्टै कोठीमा सुत्नु, सुतेका थाङ्ना धुनु, सुतेको ठाउँमा लिपपोत गर्नु र अछुत नियममा दिव्य चार दिन बिताउनु, हरेक महिनाका कर्म थिए मेरा। आमा नछुने हुँदाको आफ्नो सास्ती झन् चर्को थियो। आमाका कडा नियम काठमाडौं आइपुग्दा पनि मलिन भएनन्। समय अनुसार केही सुधार त भए, तर बन्देजका अनेक नियम बढ्दै थिए। काठमाडौं चेतना बोल्दैनथ्यो, अन्धविश्वासको ‘सुगरकोटेड’ रूप देखाउँथ्यो। कार्पेट र भर्‍याङ पनि छोइने, उफ् ! हरेक महिना अनेक नियम बनिरहन्थ्यो, जसले मलाई सधैँ तनावमा मात्रै पाथ्र्यो।

समयले परिस्थिति अनुकूल हुन मलाई सिकाउँदै थियो, यता पितृसत्ताका कडा नियम अत्याचारी लाग्न थालेको थियो। मनभरि लाग्थ्यो, ‘यो घर छोडेको दिनबाट यी कुनै नियम लागु हुने छैनन् ममा !’ त्यस्तै भयो पनि। विवाह गरेपछि मैले ती सबै बन्धन तोडिदिएँ। परिवर्तन आफैँबाट हुनुपर्छ। स्याङ्जाको त्यो घर आज छैन, ०५२ को पहिरोले गाउँ नै विस्थापित भयो। तर स्मृतिमा छ– घरको आँगन, पिँढी, मझेरी अनि घरका कोठाकोठी, घाँस काटेका बारी र खरबारी, खेतका गराहरू, गाईभैँसी र भकारो, मल बोकेका र पर्म लगाएका दिनहरू, सबै–सबै स्मृतिकोशका धन हुन् अब ! बुबा घरमा आउँदा आमाले पिँढीमा बसेर खासखुस गरेको सुन्थेँ, ‘राम्रो केटो पाए दिनपर्च !’ मैले एसएलसी पास गर्नु आमाबुबाका लागि गौरव थियो भने मेरो जीवनको ‘टर्निङ पोइन्ट’ ! बुवाले काठमाडौंमा पढाउने निर्णय लिनुभयो। पद्मकन्याबाट मेरो उच्च शिक्षाका सपना सजिए। छोरीको बिहे गर्न ढिलो भयो भन्ने आवाज चर्किरहेको थियो। बिएको परीक्षा दिएपछि मंसिरमा बिहे भयो।

सोचेकी थिएँ, म छिटै आमा बन्दिनँ, भैदियो ठीक विपरीत ! समीर इलाममा काम गर्नुहुन्थ्यो। म पनि सँगै गएँ, बिहे भएको दोस्रो सातामै। नयाँ ठाउँमा नयाँ मान्छेसँग म अझ नौलो अनुभवमा थिएँ। केही खान मन नलाग्ने, रिँगटा लाग्ने, वाक्वाक् लागिरहने। दार्जिलिङ घुम्न जाँदा आफू निकै कमजोर भएको थाहा पाएँ। हिँड्दै गर्दा रिँगटा लागेर झन्डै नालीमा नपरेकी ! समीरले जोगाउनुभएको थियो। इलामबाट झापा झरी ‘प्रेगिनेन्सी टेस्ट’ गरायौँ, पोजेटिभ आयो। म साह्रै दुःखी भएँ। बच्चा पाउन नचाहेको कुरा पनि गरेँ, तर समीरले भन्नुभयो, ‘जे हुनु भइहाल्यो, छोडिदेऊ !’ तर मन बुझाउन गाह्रो भएको थियो। भाइबहिनी स्याहार्दा स्याहार्दै थाकेकी थिएँ सायद। वैवाहिक जीवनका केही वर्षका सपना फरक थिए।

२१ वर्षको उमेरमा योजनाविना आमा बन्दै थिएँ। मनमा अनेक खुलदुली पनि थिए। आमा जुम्ल्याहा भाइबहिनी जन्माउँदा मृत्युको मुखबाट भाग्यले बाँच्नुभएको थियो। आमा आमा बन्दाको सास्ती नजिकबाट बुझेकी थिएँ। दुई महिना इलाम बसेपछि म एक्लै काठमाडौं आएँ। बिहे गरेकी छोरी, कसरी बसी, कति खुसी छ भन्ने पीर हुनेरहेछ बुबाआमालाई। मलाई भने गर्भवती भएको कुरा बुबाआमालाई कसरी बताउने भन्ने चिन्ता थियो। बुबालाई एयरपोर्टमा देख्दा झम्टिएर रोऊँ जस्तो भएको थियो। संयमित भएँ, टिलपिलाएका आँखाहरू क्षितिजतिर एकोहोरिएका थिए। अर्को दिन स्याङ्जाबाट आमा आइपुग्नुभयो। मेरो दुब्लो शरीर र सोहोरिएको अनुहार हेर्दै सोध्नुभयो, ‘नछुनी रोकिएको हो कि के हो ?’ आमाले कसरी थाहा पाउनुहुन्छ मेरो अवस्था ! सायद आमा हुनु भनेको छोराछोरीका संवेदना बुझ्नु पनि हो।

आमाको अनुहारमा हेर्ने आँट आएन। कुनै अपराधीजस्तो टाउको झुकाएँ। मैले आमाबाट के चाहन्थेँ ? सान्त्वना वा बधाई ! उफ्, उहाँले जति माया जताए पनि मन खुसी हुनेवाला थिएन। आमा त एकैचोटि पड्किनुभयो, ‘अहिल्यै !’ उहाँको बोलीमा आशंकाका झिल्का थिए। ‘मान्छेले पनि के भन्ने हुन्, छ्या !’ मेरो मन हजार टुक्रामा छरियो। ए पितृसत्ता कसरी बोलाउँछस् तँ यति निर्मम आवाज ! तिरस्कारको तीखो भावले भित्रैसम्म घोँच्यो। केही बोलिनँ। आमा मेरो मायामा तुरुन्तै पग्लिनुभयो। फेरि भन्नुभयो, ‘दुब्ली भइछस्, खान मन लाग्दैन हो ?’ आमाको स्याहारले रमाइलो लागेको थियो, आड मिलेको थियो, जीवनको अर्को अध्याय सुरु गर्न बाटो खुलेको थियो, तर टियुमा पढेर अर्थशास्त्रमा एमए गर्ने सपना नराम्रोसँग टुक्रिएको थियो।

वसन्त लाग्यो। ममा पनि टुसाइरहेका थिए, नयाँ पालुवा। वसन्तवती मेरो मन डर र उत्सुकताको धारैधार कुदिरहन्थ्यो। आमाले अचानक भन्नुभयो, ‘लौ न नि बर्बाद भयो। भुसुक्कै बिर्सेकी मैले ! हेर् त आज चैते सक्राती, तँ यहाँ बस्नै हुन्न ! बिहे गरेकी छोरीले पहिलो वर्षको चैताँ माइत बस्न हुन्न बा ! जाऊ बा, तुरुन्त चावेल (चावहिल) जाऊ !’ आमाको आदेश आवाजको आरोह–अवरोहमा चैतको असिना जसरी बर्सिए। म चावहिल गएँ, तर जेठाजू–जेठानी आफ्नो घर भाडामा लगाएर डेरा सर्न ठिक्क पर्नुभएको रहेछ। भोलिपल्ट सामान सारियो, मेरो सामान पनि सँगै सारियो। एकै दिनमा डेरामा सामान मिलाउन सकिएन, भान्साकोठा लथालिंगै थियो। जेठानीले भन्नुभो, ‘ल तिमी मैतिदेवी जाऊ, म पनि माइती जान्छु।’ मलाई प¥यो फसाद, आमाको आदेश कम्तीमा एक हप्ता नभई नआउनू भन्ने थियो । अब कहाँ जानु !  आमाबुबाको घर हुँदाहुँदै। म माइतीको दैलोमा पुगेँ। मेरो अनपेक्षित उपस्थिति आमालाई मनपरेन। ‘क्यार्न आइकी होस् आजै ? माइती पिर्छ नानी, कति भनेको नमानेकी होस् ?’ आमाले टाउको समाउँदै कराउँदा मैले आफ्नो कुरो पनि बताएँ। ‘के हुन्थ्यो र उहीँ बस्न ? अलिकति दुःख पनि गर्नपर्च। लौ तेसो भा मैतिदेवी अंकलकोमा गएर बस्, म फोन गरेर भन्दिन्चु !’

ओहो, कति बेघर हुँ म ? स्वास्थ्य पनि त ठीक थिएन मेरो। मैले बुबाको आवाज खोजेँ, घर शून्य थियो। उहाँ घरमा हुनुहुन्थेन। बुवासँगै दुःख गरेकी थिएँ मैले पनि त्यो घर बनाउँदा। काठमाडौंको डेरामा बस्दा परिवारका अरू कोही थिएनन्, बुवा र मेरो मात्रै श्रम परेको थियो त्यो घरमा।  मैले सधैँ सुखदुःखमा साथ दिएको घर आज मेरो लागि किन मौन छ ? कसरी पिर्छ मेरो उपस्थितिले मेरा प्रिय भाइहरूलाई ? प्रश्नका उरुङले आन्दोलित थियो मन, चुपचाप अंकलको घरतिर लागेँ। मैतिदेवी मन्दिर नजिकै पुग्दा आफ्नो साह्रै माया लाग्यो। पेटभित्र हुर्किंदै गरेको नयाँ जीवनको बारेमा पहिलोपल्ट चिन्तित भएँ म।

फेरि इलाम गएँ। कन्यामका चियाका बोटजस्तै थुम्क्याइलो हुन लागेको थियो मेरो पेट। कोखामा केही चलेको पहिलो प्रिय अनुभूति इलाममै गरेँ। इलामको भुइँकुहिरोको गति जस्तै थियो, त्यो चलाइ, जसले मेरो धर्तीलाई भित्रभित्रै स्निग्ध पारिरहेथ्यो ! स्वास्थ्यमा सुधार हुँदै थियो, तर समीरको काम सकिएर फेरि काठमाडौं फर्किनुपर्‍यो। चन्द्रगढी र विराटनगर दुवै ठाउँबाट एक सातासम्मका लागि प्लेन टिकट थिएन। हामी इलामबाट झापा झर्‍यौँ र रात्रि बसको टिकटको खोजीमा लाग्यौँ। भोलिपल्टका लागि काँकरभिट्टाबाट टिकट पाइने आशाले उतै गयौँ। पाँच महिनाको गर्भवती बेलाको त्यो लामो यात्राले हामी दुवै आत्तिएका थियौँ। मेरो पेटमा पनि बारम्बार विरोधमा स–साना खुट्टा चलिरहेका थिए। २३ घन्टाको बस यात्रापछि हामी काठमाडौं उत्रियौँ।  

चावहिलको डेराको बसाइमा सन्तानका लागि रंगीन सपनाहरू बुन्न थालेकी थिएँ। तयारी कसरी गर्नु खासै थाहा थिएन, आमाले बेलाबेला भन्नुहुन्थ्यो, ‘बच्चा नजन्मिँदै लुगा थाङ्ना नबनाउनू, राम्रो हुन्न !’ मलाई आफ्नो तयारी केही न केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो। आमाका कुराले चाहिँ तर्साइदिन्थ्यो। जेठानी दिदी सोध्नुहुन्थ्यो, ‘देव्रेतिर चल्छ हो धेरै ? तिम्रो पनि छोरी नै हुन्छ !’ मेरो मन पनि छोरीको सपनामा अनेक कल्पना गरिरहन्थ्यो। जेठानीदिदीका छोरीहरूको चुलबुल रमाइलो लाग्थ्यो। आठौँ महिनामा डाक्टरको सल्लाहले भिडियो एक्सरे गर्न गयौँ। फ्याट्ट भनिदियो, ‘पहिलो बच्चा हो ? तपाईंको छोरा छ है !’ हामीले नसोधी ती डाक्टरले किन भने कुन्नि ? छोरो छ भन्दा खुसी हुन्छन् भनेर होला। हामीलाई जे भए पनि केही थिएन। उता आमाको फूर्ति भने अर्कै थियो, नाति हुने भयो भनेर ! मैले ६–७ महिनापहिले नै सिलाइकटाइ सिक्दा एउटा चिटिक्कको फ्रक सिलाएर जतनले बाकसमा राखेकी थिएँ, छोरीको कल्पना गरेर।

व्यथा लाग्यो, प्रसूतिको संकेत थियो। लगनखेलको बाटोमा कृष्णाष्टमीका व्रतालुको भीड थियो। म पाटन हस्पिटलमा भर्ना भएँ। पल्लो बेडकी एउटी महिला पीडाले असह्य भएर सबै लुगा फालेर नांगै कुदेकी थिइन्। सासू र पतिलाई अनेकथरी गाली गरिरहेकी थिइन्। पीडामा उनले मनका अनेक असन्तुष्टि पोखिरहेकी थिइन्, तर नर्सहरू उनलाई निकै हप्काइरहेका थिए। मेरो मन ती सबै घटनाले झन् आत्तिएको थियो। साथमा आमा हुनुहुन्थ्यो। बेलाबेला तातो पानी र खानेकुरा खुवाउनुहुन्थ्यो। दिउँसो साढे १२ बजेपछि बल्ल मेरो ‘लेवर पेन’ सुरु भयो, तर अति बिस्तारै। सुरुवाती दुखाइमै मेरो अनुहार नीलो भएछ। ‘लौ अहिल्यै आत्तिन्चे यो त, अझ कति दुखाइ सहन पर्च !’ आमा मलाई आँटिलो बनाउन हाँसिरहनुभएको थियो। अरू चर्कोचर्को स्वरमा कराउँथे, म आवाजविहीन थिएँ। पीडाले बेलाबेला अनुहार नीलोनीलो हुनेरहेछ। समीर बाहिर कुरेर बस्नुभएको थियो र बेलाबेला सोध्नुहुन्थ्यो।

साँझ पर्‍यो, रातसँगै दुखाइ गहिरो हुँदै थियो। डेलिभरी रुमको बेडमा पुग्यो शरीर। असह्य वेदनासँगै कानमा गुञ्जियो ‘च्याँच्याँ’को आवाज ! नर्सले अलि कर्कस स्वरमा बोलिन्, ‘के हो ! यो कृष्णअष्टमीको दिन साढे १२ मा नै पो जन्मेको छ त !’ एकैछिनपछि त्यो चर्को रुवाइसहितको मांसपिण्डलाई मेरो छातीमा टाँसिदिइन् नर्सले ! उफ् ! कस्तो चरमता यो विपरीत अनुभूतिको ! आफ्नै अंशको अर्को जीवन बनाउनुको गर्व एकातिर ! चर्को दुखाइका बीच लागिरहेको थियो, सन्तान त जन्मियो, आफूचाहिँ बाँचिन्न होला। बाँचे पनि उठेर हिँडिन्न होला ! तर आमाको अगाडि आमा बन्नुको प्रियता थियो, जीवनको ठूलो परीक्षा पास भएको अनुभूतिसहित ! आफ्नो शरीर जोखिममा थियो, तर आमाको शरीर कति शक्तिशाली भूमि रहेछ बच्चाको लागि !

छोरालाई काखमा लिएर मेरोअगाडि आमा मुस्कुराइरहनुभएको थियो। त्यो मुस्कानमा मैले पनि थपिदिएँ, आफ्नो मातृ मुस्कान। कमजोर र शिथिल शरीरलाई कसैगरी उठाउने साहस गरकै थिइनँ मैले ! तर छोरो दूधका लागि रोइरहेको थियो। मेरो धर्ती फक्रेको थियो !

प्रकाशित: १ चैत्र २०७६ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App