७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘अन्तर्राष्ट्रिय क्वालिटी प्राेडक्ट अवार्ड पाएका थियाैँ'

काठमाडौं,  ठमेल बजारको एक भवनमा लेखिएको छ, हेम्प हाउस। जहाँ हेम्प फाइबर (नशालु वनस्पतिको रेसा)बाट बनेका ब्याग, टोपी, पछ्यौरा, बेल्ट, पर्स लगायत सामग्री पाइन्छन्। दुई  भवन र एउटा टहरामा यी सामानलाई अन्तिम रूप दिने (ट्यागिङ, फिनिसिङ, चेकिङ) काम गरिन्छ। यस कम्पनीको नाम हो,  ठमेल ह्यान्डी क्राफ्ट।

कम्पनी स्थापना
गत बिहीबार आशा दाहाल कामदारको काम अनुगमन गर्दै थिइन्, जो कम्पनी सञ्चालक तथा लगानीकर्तासमेत हुन्। केही बेरपछि उनले समय निकालिन्। सुरुमा उनले गार्मेन्ट व्यवसाय सुरु गरेकी थिइन्, जुन वि. सं. २०५२ मा स्थापना भएको थियो। एक दिन विदेशी नागरिक हेम्पबाट निर्मित ब्याग बोकेर गार्मेन्ट कम्पनीमा आइपुगेका थिए। आशाले त्यो ब्यागलाई खुबै दृष्टि लगाइन्, उनलाई ब्याग मन पर्‍यो ।  ‘ब्याग कसरी बन्यो भनेर खोजी गर्न थाल्यौं,’  आशा भन्छिन्, ‘गाँजाको रेसाबाट बन्ने कुरा पत्ता लाग्यो। हामीले पनि त्यहीअनुसार बनाउन थाल्यौं ।’ पछि ठमेल ह्यान्डी क्राफ्ट वि.सं.  २०६२ मा स्थापना भएको हो। आशाका  श्रीमान् (प्रेम दाहाल)को आफ्नै कम्पनी छ, जसको नाम न्यु दाहाल ट्रेर्डस् कम्पनी हो। यी दुवै कम्पनीबाट हेम्पका सामान उत्पादन गरिन्छ, जुन नेपालदेखि विदेशसम्म निर्यात गरिन्छ। नेपालमा हेम्पका सामग्री उत्पादन गरेर बजारीकरण गर्ने पहिलो व्यक्तिमा पर्छन्, दाहाल दम्पती।

उत्पादन
दाहाल दम्पतीले हेम्पका सामग्री उत्पादन गर्न थाले। पहिलो उत्पादन थियो, ब्याग। प्रेम भन्छन्,  ‘ब्यागले बजारमा राम्रो प्रभाव छाड्दै गयो। यसपछि क्याप, टोपी, बेल्ट, पर्स लगायत बनाउन थाल्यौं।’ अल्लो, सिस्नु, गाँजा, केराको लोक्ता (रेशा) लगायत कच्चा पदार्थबाट  निर्मित सामग्रीबाट बन्ने सामग्री विदेशीले औधी रुचाउँछन्।  दाहाल दम्पतीले  ती कच्चापदार्थबाट सामग्रीहरू बनाउन थाले। उनीहरूले केही वर्ष अघिसम्म घिरौलाको जालोबाट टोपी  पनि बनाएका थिए। ‘उत्पादनका लागि चाहिने कच्चापदार्थ नेपालका बाजुरा, बझाङ र दार्चुलाबाट ल्याइन्छ,’ प्रेम भन्छन्, ‘नेपालमा नपाइने सिल्क भारत र धागो चीनबाट ल्याउँछौं ।’ त्यस्तै, दाहाल दम्पतीले स्थानीयले बनाएका सामग्रीको पनि बजारीकरण  गर्दै आएका छन्। आशा बजारमा झोलाको  माग बढ्दो क्रममा रहेको सुनाउँछिन्। उनी भन्छिन्, ‘पाँच सय प्रकारका झोला उत्पादन गर्दै आएका छौं।’ दाहाल दम्पती  चामलको बोरा, थोत्रा सारी, पोते जस्ता सामानमा मोहोर देख्छन्। ‘चामलको बोराबाट टोपी, झोला, पर्स लगायत सामान बन्छन्,’ आशा भन्छिन्, ‘काम नलाग्ने भनिएको सारीबाट झोला, सरसजावटका सामग्री र गरगहना (हस्तकलाका) पनि बनाउँछौं।’

राम्रो काम गरे  पुरस्कार  पाइन्छ, तर पुरस्कार पाइयो भनेर फुर्किनुहुँदैन। आफ्नो कामलाई अझ राम्रो बनाउनुपर्छ ।

 

ठमेलमा चेकिङ र फिनिसिङको काम हुन्छ भने बालाजूमा सामग्री उत्पादन  गरिन्छ।  आशाले दुवै ठाउँको  हेरचाह, व्यवस्थापन र अनुगमन गर्दै आएकी छन्।  यसकारण उनी घर(बानेश्वर) मा विरलै भेटिन्छिन्। उनले तीन दशक उद्यममै बिताइन्। ‘आफूले उत्पादन गरेको सामान हेर्दा पनि मन नै आनन्दित हुन्छ,’ उनी भन्छिन्।  बैंकिङ क्षेत्रको कारोबारको जिम्मेवारी पनि उनकै काँधमा छ। दाहाल दम्पतीको व्यवसाय अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय  छ। आशाका अनुसार यस्ता  सामग्रीमा विदेशीहरूले नै बढी चासो राख्छन्। उनी भन्छिन्, ‘विदेशीले अर्गानिक सामग्रीको महत्व  अलि बढी बुझेका हुन्छन्। युरोपका देश तथा जापान, चीन लगायत देशमा सामान निर्यात गर्छौं ।’ नेपालमै पनि खुद्रामा बिक्री हुने सामान ‘सोरुम’मा राखिएको आशाले बताइन्।  

दुई हजारलाई रोजगारी
दाहाल दम्पतीको उद्देश्य बजारमा नयाँ उत्पादन ल्याएर त्यसलाई विश्वमा पुर्‍याउनु रहेको छ। उनीहरूले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा करिब दुई हजारलाई रोजगारी दिएका छन्। त्यस्तै, उनीहरूले कारागारका कैदीलाई हस्तकलासम्बन्धी सीप सिकाउँदै आएका छन्। कैदीले बनाएका हस्तकलाका सामग्रीको बजारीकरण पनि गरिदिन्छन्, उनीहरू ।

अन्तर्राष्ट्रिय अवार्ड
उनीहरूले सन् २००३ मा ‘अन्तर्राष्ट्रिय क्वालिटी प्रडक्ट अवार्ड’ प्राप्त गरे।  आशा भन्छिन्, ‘१ सय १६ देशमध्ये नेपालबाट हामीले अन्तर्राष्ट्रिय क्वालिटी प्रडक्ट अवार्ड पायौं ।’ उनीहरू स्विट्जरल्यान्डको जेनेभामा आयोजित सो अवार्ड कार्यक्रममा सहभागी हुन सकेनन्। तैपनि, अवार्डबाट नयाँ काम गर्ने हौसला मिलेको आशाले सुनाइन् । ‘काम गरेपछि थुप्रै अवार्ड पाइन्छ। हामीले हिजो राम्रो काम गरेका थियौं र त आज त्यसको प्रतिफल राम्रो भएको छ,’ आशा भन्छिन्, ‘यो अर्वाड हाम्रा लागि ठूलो उपलब्धि हो ।’ त्यस्तै, केही वर्षअघि  उनले ‘उत्कृष्ट महिला उद्यमी’को पुरस्कार हात पारेकी थिइन्। उनी भन्छिन्, ‘राम्रो काम गरे  पुरस्कार पाइन्छ, तर पुरस्कार पाइयो भनेर फुर्किनुहुँदैन। आफ्नो कामलाई अझ राम्रो बनाउनुपर्छ ।’

दाहाल दम्पतीको काम प्रशंसित हुन थालेको छ। ‘शिक्षित व्यक्तिले सानातिना काम गर्नुहुन्न भन्ने सोचले पनि घरेलु उद्योगमा युवाको आकर्षण नभएको  हो,’ उनी भन्छिन्, ‘सीप सिकेमा अस्ट्रेलिया, अमेरिका जानुपर्दैन।’ विदेशमा गरिने दुःख  नेपालमा गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ। स्वदेशी उत्पदानमा लगानी गरेर लाखौं आम्दानी गर्न सकिने आशाको भनाइ छ।  ‘महिलाका लागि धेरै अवसर छन्। सीप र ज्ञान छ भनेर घरमै नबसौं। आफ्नो सीप देखाउनुहोस्,’ उनी भन्छिन्।

प्रकाशित: २४ फाल्गुन २०७६ ०६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App