७ वैशाख २०८१ शुक्रबार
अन्य

घर सजावटमा ‘वाल डेकोरेसन’

तस्बिर सौजन्य: इराश्री पराजुली

चिटिक्क परेको घरमा बस्ने रहर सबैमा हुन्छ, तर व्यस्त जीवनशैलीका कारण धेरैले घरको सरसफाइ र रंगरोगनका  लागि समय छुट्याउन नसक्दा घरको चमक बिस्तारै हराउँदै जान्छ र घर फिक्का देखिन्छ, जुन कसैलाई मन पर्दैन। घरको रंगरोगनका लागि दुई–तीन वर्षमै लाखौँ खर्च गर्नुपर्ने अवस्था पनि छ। यस्तो अवस्थामा दीर्घकालीन रूपमा घरको सजावटका लागि वाल डेकोरेसन निकै उपयोगी साबित भएको छ।  यसले कम समयमै बिनाझन्झट घरको  रूपाकृति नै फेरिदिएर नयाँ जस्तै बनाइदिन्छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रविधिले धेरै फड्को मारेको छ। यसैको प्रभावमा घरको  रंगरोगन र सजावटका नौला तौरतरिका भित्रिएका छन्। घर रंगरोगन र सजावटका लागि ‘थ्रिडी वाल पेन्टिङ’ र ‘वाल पेपर’ प्रयोग गर्ने चलन बढ्दै गएको छ।

‘वाल डेकोरेसन अभिव्यक्ति प्रस्तुत गर्ने माध्यम बनेको छ,’ इन्टेरियर डिजाइनर एन्ड डेकोरेटर इराश्री पराजुली भन्छिन्, ‘सुन्दर डिजाइनमार्फत सिर्जित सुन्दर वातावरणले मान्छेमा जाँगर पैदा गर्छ। डिजाइन भनेको सीप हो, यसमा खर्चसमेत कम हुन्छ।’ पछिल्लो समय वाल डेकोरेसनको लोकप्रियता बढ्दै गएको उनी बताउँछिन्। व्यापारिक मल, अफिस तथा सुविधासम्पन्न होटलबाटै वाल पेन्टिङ र वाल डेकोरेसनको सुरुवात भएको उनले जानकारी दिइन्।

यस्ता सामग्रीको प्रयोग बढ्नुमा अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका चलचित्रको प्रभाव रहेको उनको भनाइ छ। उनी मानिसले वाल डेकोरेसनको फाइदा र महत्व मानिसहरूले खासै नबुझेको सुनाउँछिन्। उनका अनुसार वाल डेकोरेस कम खर्च र समयमा गर्न सकिन्छ।  

‘मानिसको बुझाइमा वाल डेकोरेसन निकै नै जटिल र महँगो पर्छ भन्ने छ,’ इन्टेरियर डिजाइन एन्ड डेकोरेसन कम्पनी नेपालका प्रबन्ध निर्देशक चन्द्रप्रसाद हुमागाईं  भन्छन्, ‘तर, वास्तवमा मानिसले सोचेजस्तो जटिल र महँगो छैन। थोरै लगानीमै घरलाई सुन्दर र आकर्षक बनाउन सकिन्छ।’

उनी बाहिरबाट हेर्दा मात्र घर आकर्षक भएर नहुने बताउँछन्। घरको साजसज्जा निकै व्यवस्थित र दीर्घकालीन रूपमा हुनुपर्ने उनको भनाइ छ। घरको सजावट गर्नुअघि इन्टेरियर डिजाइनरसँग सल्लाह लिन हुमागाईं सुझाउँछन्। उनका अनुसार डिजाइनरले सबैभन्दा पहिले घरको आकार हेर्छ, त्यसपछि कोठाको लाइटअनुसार नै कोठाका लागि मिल्ने रङ छनोट गर्छ। रङको संयोजन गर्दा निकै ध्यान दिनुपर्ने हुमागाईं बताउँछन्।

रङ छनोट गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने वास्तुकलाविद् बताउँछन्। उनीहरूका अनुसार कुनै कुनै रङले मानिसलाई आक्रोश र उत्तेजित बनाउन सहयोगी भूमिका खेल्छन्। त्यस्तै कुनै रङले आँखा र स्वास्थ्यका लागि हानिकार हुन्छ। यस विषयमा सचेत हुँदै रङ प्रयोग गर्नुअघि विशेष ध्यान दिन विज्ञहरूको सुझाव छ।

‘डार्क कलर’भन्दा लाइट र सफ्ट कलर प्रयोग गर्दा आँखासँगै स्वास्थ्यका लागि राम्रो हुन्छ।  घर तथा कोठामा रंग लगाउन  वाल पेपर र वाल स्टिकर  प्रयोग गर्ने चलन बढ्दै गएको छ, यस्ता  सामग्री बजारमा पाइन्छन्। साना बालबालिका स्टिकर तथा कार्टुन मन पराउँछन्। उनीहरूका लागि भित्ते स्टिकर प्रयोग गरी कोठा सजाउन सकिन्छ।

पराजुलीका अनुसार  वाल डेकोरेसनमा वाल पेन्टिङ, वाल पेपर, फोटोग्राफ, पोस्टर, सेल्भस् (तखताः सामान राख्ने ठाउँ), उड फेब्रिक प्यानेलिङ स्टिकर, टेपेस्टिङ रंग एन्ड फेब्रिक, वाल प्लान्टर, वाल मुरलस्, सिएनसी प्यार्टनस् नै ट्रेन्डिङमा छन्।

त्यस्तै, पछिल्लो समय थ्रिडी वाल पेन्टिङले पनि लोकप्रियता पाएको छ। धेरैले थ्रिडी वाल पेन्टिङ प्रयोग गर्न थालेका छन्। यसबाट कृत्रिम वस्तुलाई पनि जीवन्त बनाउन सकिन्छ। थ्रिडी पेन्टिङमार्फत मानिसको सिर्जनाशीलता व्यक्त हुने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको आर्किटेक्चर  बताउँछन्। विशेष गरेर ठुल्ठूला होटल र रेस्टुरेन्टहरूमा थ्रिडी पेन्टिङ प्रयोग गर्ने गरिएको छ।

कहीँकतै पाहुना लाग्दा होस् वा कतै होटल र रेस्टुरेन्टमा जाँदा, हाम्रो पहिलो नजर रंग र त्यहाँको साजसज्जातर्फ जान्छ। घरका भ-याङसँगैका भित्ता फोटो, वाल पेन्टिङ र वाल डेकोरेसनले सजाइएको देखिन्छ, यस्तो चलन बढ्दै गएको छ।

त्यस्तै, घरका खाली ठाउँमा वाल आर्ट गर्ने, फोटो फ्रेम राख्ने र वाल पेन्ट गर्न पनि सकिन्छ। ह्यान्डी क्राफ्ट, सो केस र अरू घरायसी उपकरणले खाली ठाउँलाई सजाउन सकिने निर्देशक हुमागाईं बताउँछन्। पारिवारिक तस्बिर, कलात्मक चित्र र हस्तकलाले लिभिङ रुमको भित्तालाई सजाउन सकिन्छ।

त्यस्तै, बेड रुम भने मायाका सन्देश झल्किने पोस्टर तथा स्टिकर वा फोटोले सजाउन सकिन्छ। सेल्भसमा मनपर्ने किताबहरू संकलन गरेर राख्दा भित्ताको सजावट राम्रो देखिने इन्टेरियर डेकोरेटर एन्ड डिजाइनर पराजुली बताउँछिन्।

घरको संरचनाअनुसार सजावट गर्नुपर्ने बताउँदै प्रबन्ध निर्देशक हुमागार्इं भन्छन्, ‘स्पेस, कलर म्याच र लाइटलाई विशेष ध्यान दिनुपर्छ। घरको आन्तरिक सजावटमा लगानी गर्ने ट्रेन्ड बढ्दै छ। न्यूनतम बजेटमै घर सजाउन सकिन्छ।’

शरीर आकर्षक भएपछि थप आकर्षक देखिन कपडा, गहना आदिमा ध्यान दिएजस्तै घरको डेकोरेसनमा पनि ध्यान दिन थालिएको हुमागाईंको भनाइ छ। घरलाई महँगो पेन्ट्सले केही समय आकर्षक देखाउन सकिए पनि कम खर्चमै दीर्घकालीन रूपमा राम्रो देखिने इन्टेरियर डिजाइनको  खोजी गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App