९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

श्री स्वस्थानी व्रतकथाको विहङ्गावलोचन

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन र श्रवण गरिने श्री स्वस्थानी व्रतकथा मौलिक धार्मिक साहित्य हो। नेवार समुदायमा पनि यो कथा निकै लोकप्रिय छ। कुमारजी र अगस्त्य मुनिबीच भएको संवाद समेटिएको अन्तर्कथामा श्री स्वस्थानीको व्रत बसेर पार्वतीले महादेवलाई पतिका रूपमा पाएको उल्लेख छ। गोमा ब्रह्माणीकोे दुःख नास, चन्द्रावतीले कष्टबाट उन्मुक्ति, पुनर्जीवन, बालविवाह, निर्वाचनमार्फत राजा चयन, शल्यक्रियाका प्रविधि, यज्ञमा बलि दिने प्रचलनलगायत विषयको वर्णन पाइने स्वस्थानी व्रतकथामा हठ त्यागेर दुःखसुखमा धीर हुन सक्दा जीवन सुरम्य बनाउन सकिने नीतिशास्त्र पाइन्छ।

परिवारका सबै सदस्य वाचकको वरिपरि बसेर श्री स्वस्थानी व्रतकथा श्रवण गर्थे। कृषिमा निर्भर समाजमा संयुक्त परिवार थियो, तर जागिरमा अडिएको वर्तमान समाजमा संयुक्त परिवार इतिहास बन्दै गएको छ। जागिर र अवसरको खोजीमा समाज ‘एकल परिवार’मा रूपान्तरित हुँदै गएको छ। पछिल्लो समयमा समाजमा ‘न्युल्कियर फेमिली’का धेरै उदाहरण देखिन थालेका छन्। यस्तो अवस्थामा परिवारका सबै सदस्य एकै ठाउँमा बसेर व्रतकथा सुन्ने प्रसंग कथा बन्दै गएको छ। टेलिभिजनमा पहुँचका कारण व्यक्तिलाई ‘होम एरेस्ट’ गरिएको छ, ग्याजेटको खुमारले बच्चा–बूढापाकासम्मलाई गाँजेको छ। एक–दुईजना बूढापाकाबाट कथा वाचन र सुन्ने काम भइरहेको छ।

मिर्गौला र कलेजो प्रत्यारोपण सफल पारेको विज्ञानले साहेद व्रतकथामा उल्लिखित बाख्रा र हात्तीको शिर जोड्ने प्रविधिको खोजी आगामी दिनमा गर्ला कि ?

नेपाल खाल्डो (काठमाडौं उपत्यका)मा शैव मत विकास भएसँगै श्री स्वस्थानी व्रतकथा वाचन–श्रवण सुरु भएको इतिहास पाइन्छ। बौद्धधर्मावलम्बीको नेपाल खाल्डोमा बढ्दो प्रभावसँगै पुराना शैव मठ–मन्दिरहरू अतिक्रमण गरी शंख–घन्ट बजाउन निषेध भएपछि विक्रमको चौधो शताब्दीका मल्लराजाले शैव मत प्रचार अभियान नै चलाएका थिए। पन्ध्रौं शताब्दीको प्रारम्भमै राजा यक्ष मल्ल (ने.सं. ५५९–६०२) ले शैव मतको प्रभावमा परी तचपाल प्रांगणमा दत्तात्रयको मन्दिर निर्माण गरेर शैव मतका महान् प्रचारक गुरु दत्तात्रयको मूर्ति स्थापना गरेका थिए। यही सिलसिलामा महादेवको महिमालाई चारैचौरास पैmलाउन श्री स्वस्थानी व्रतकथाको सारवस्तु लिंगपुराणबाट उद्धृत गरी मूलकथामा विभिन्न शास्त्र तथा जीवनोपयोगी शिक्षा थपेर नेपाल भाषामा ‘श्री स्वस्थानी व्रतकथा’को लेखन कार्य भएको थियो।

त्यसबेला दुःखमुक्त भई सफल जीवन प्राप्ति हुने विश्वासमा नेपाल खाल्डोका नेवार समुदायमा स्वस्थानी देवीको माहात्म्यलाई महिमित गरिएको पाइएको छ। राष्ट्रिय अभिलेखालयमा संगृहीत स्वस्थानी ग्रन्थमा नेपाल संवत् ६९३ फाल्गुन शुक्ल ५ वृहस्पतिबारका दिन श्री जयन्तदेव भन्नेले लिंगपुराणान्तर्गत स्वस्थानी परमेश्वरीको व्रतकथा लेखी सिध्याएका थिए भन्ने उल्लेख छ (प्रदीय : अभिनव संस्कृति विश्वकोष)। यस कालक्रमलाई जोडेर हेर्दा महेन्द्र मल्लको पालामा श्री स्वस्थानी व्रतकथा लेखिएको देखिन्छ, यस व्रतकथा लेखिएको करिब १०१ वर्षपछि राजा प्रतापमल्लद्वारा हनुमानढोकास्थित तलेजु मन्दिरपछाडि प्रतिष्ठापित गरिएको स्वस्थानी मूर्तिको पाठपीठ नेपाल भाषामा यस्तो छ :

१. स्वस्ति।। श्री ३ शिवसहितन श्री ३ स्वस्थानी परमेश्वरी शस्त्रशास्त्र संगीतादि सकलविद्या पारंग महाराजाधिराज धर्मराज
२. नेपालेश्वर विदग्ध चूडामणि सकल राज चक्राधीश्वर श्रीश्रीराजराजेन्द्र कवीन्द्र जयप्रतापमल्ल भट्टारकदेवन स्था
३. पन याङ विज्याङा।। संवत् ७९४ माधमासे शुक्लपक्षे श्रीपञ्चम्यां तिथौ अश्विनि नक्षत्र शुभयोग आदित्यबार कुन्हु।।

ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्राणी, चामुण्डा र महालक्ष्मी देवीहरूलाई श्री स्वस्थानी देवीका आठ स्वरूप मानिएको छ। ती आठ स्वरूपको बीच भागमा कमलासनमा चतुर्भुज स्वस्थानी देवीको दायाँ माथिल्लो हस्तले त्रिशूल, दायाँ तल्लो हस्तले वरद मुद्रामा, बायाँ माथिल्लो हस्तले खड्ग र बायाँ तल्लो हस्तले कमलफुल धारण गरेको वर्णन छ (श्री स्वस्थानी व्रत–कथा, दीपक प्रेस, नदेसर, वाराणसी कैन्ट)। कुमारजीले अगस्त्य मुनिलाई श्री स्वस्थानी देवीको माहात्म्यलाई यसरी वर्णन गरेका छन्, ‘हे अगस्त्य मुनि, जुन मनुष्यले एकचित्त भै श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला अथवा उनका माहात्म्य लेखि (हस्त लिखित पुस्तक) घरमा राख्ला, तेस्का घरमा दरिद्र कैले हुँदैन आदित्यादि नवग्रह सबै प्रसन्न हुनन् अकाल मृत्यु हुँदैन फेरि भूतपे्रत पिचास डाकिनी त्रिदोस आदि रोगको भय हुँदैन।

चोर शत्रु आदि वन जन्तुको भय हुँदैन ब्रह्महत्यादि सम्पूर्ण पाप नष्ट भै यसलोकमा सुख सम्पति पाई परलोकमा कैलास बास होला भनि वर्णन गरिएको छ’ (श्री स्वस्थानी परमेश्वरी कथाव्रत, रामकृष्ण बर्मा, गोर्खा भारतजीवन पे्रस वनारस सिटी)। लिंगपुराण र अन्य शास्त्रहरूमा श्री स्वस्थानी व्रतकथा समेटिएको छ भनी श्री स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा ‘इति श्री स्कन्दपुराणे केदारखण्डे माघ माहात्म्य कुमार अगस्त्य सम्वादे लिंगपुराणादि नानाशास्त्र संग्रहे श्रीस्वस्थानी परमेश्वरी कथायां द्वाविशोध्याय’ उल्लेख छ। यस श्लोकबाट श्री स्वस्थानी व्रतकथाको मूल स्रोत लिंगपुराण रहेको प्रस्ट हुन्छ।

व्रतकथाको छपाइ इतिहास
छपाइ हुनुअघि नेपाल भाषामै श्री स्वस्थानी व्रतकथा लेखिन्थ्यो। प्रताप मल्लद्वारा स्थापित तलेजु मन्दिरपछाडि रहेको श्री स्वस्थानी मूर्तिको पाठपीठमा ‘श्री ३ स्वस्थानी परमेश्वरी ’ उत्कीर्ण गरिए जस्तै नेपाल भाषामा लेखिएको श्री स्वस्थानी व्रतकथा पुस्तकमा ‘श्री ३ स्वस्थानी परमेश्वरी’ भनी सम्बोधन गरिएको छ। वि.सं. १९०८ मा भिएन्डजे फिज्जिक्स मेकर्सद्वारा निर्मित छापाखाना नेपालमा भित्रिएपछि नेपालमा छापाखाना युगको प्रारम्भ भएको हो। यस छापाखानाले हुलाकपत्र, टिकट, सरकारी इस्तिहार आदि मात्र छाप्थ्यो। मनोरञ्जन छापाखानाद्वारा वि.सं. १९१९ मा ‘मोक्षसिद्धि’ र वि.सं. १९५५ मा ‘सुधासागर’ छापियो। यही समयमा श्री स्वस्थानी व्रतकथा छापिएको थियो, त्यो उपलब्ध छैन। पछि गोर्खा भारत जीवन प्रेस, बनारसमा श्री स्वस्थानी व्रतकथा नेपालीमा छपाइ हुन थाल्यो।

पार्वतीले महादेव पाउँदा रसातल–पातालका नागिनीहरूको पतिसँग मिलन भएको थियो। गोमा ब्राह्मणीको दुःख हरण भएको र उनका छोरा नवराज राजा भएको घटना समेटिएको व्रतकथामा चन्द्रावती लावन्य देशमा नवराजलाई भेट्न गएकी छन्। अप्सराहरूले श्री स्वस्थानी देवीको व्रत बसी पूजा गरेको स्थानमा डोलेहरू डोला बिसाएर हेर्न गएको र पूजास्थलबाट आउन ढिला हुँदा नवराज राजा भएको खबरले हौसिएकी चन्द्रावतीले श्री स्वस्थानी व्रतको प्रसादीलाई ‘थुँ थुँ’ गरी मिल्काइदिएकी थिइन्। उनी शालीनदी तर्दा झंझावादमा परी डोलेहरूसहित नदीमा खसी मुढा बनेर धेरै समयसम्म रहेकी थिइन्। पछि, श्री स्वस्थानीको व्रत प्रभावले चन्द्रावतीले पति नवराजलाई भेट्न पाएर सुखपूर्वक जीवन निर्वाह गरेको अन्तर्कथा यस व्रतकथामा समेटिएको छ।

बालहठ, नारीहठ र राजहठले भयंकर परिणाम निम्त्याउने हुँदा यिनलाई निषेध गरिएको छ, तर मानवले हठ गर्न नछोड्ने तीतो यथार्थसमेत प्रस्तुत गरिएको छ। चन्द्रावतीमार्फत दुःखमा नआत्तिन र सुखमा नमातिन प्रेरित गरिएको छ। जुनसुकै बेला धैर्यता, धीरता र संयमता मानव जीवनमा आवश्यक हुने गोमा ब्राह्मणीको अन्तर्कथाले सिकाएको छ। गोमा ब्राह्मणीको बालविवाहमार्फत त्यसबखत प्रचलित बालविवाहलाई इंगित गरिएको छ। धर्मशास्त्रअनुसार रजस्वला नहुँदै कन्याको विवाह गरिदिनुपर्ने मान्यतालाई उल्लंघन गरियो भने महापाप लाग्ने विश्वास गरिन्थ्यो। यही विश्वासअनुरूप सामाजिक गतिविधि चलेको हुन्थ्यो। अहिले मौज्दात कानुनले बालविवाहलाई निषेध गरेको छ, तर बालविवाहका समाचार सञ्चार माध्यममा आइरहन्छन्।

तत्कालीन समयमा निवार्चनमार्फत राजा बनाउने प्रचलन थियो। श्री स्वस्थानी व्रतकथाको अन्तर्कथामा नवराजलाई हात्तीले माला पहि-याएर राजा बनाएको प्रसंग छ। गोर्खाको लिगलिगेकोटमा दौडमा प्रथम हुनेलाई राजा बनाइन्थ्यो। सिद्धार्थ गौतम बुद्धका पिता शुद्धोधन पनि पटक–पटक छानिएर (निर्वाचित भएर) राजा भएका थिए। राजा छान्ने प्रचलनलाई रुचिकर बनाई वर्णन गरिएको छ। स्वस्थानीमा विज्ञान त्यस्तै, दक्षप्रजापतिको शिर छेदन गरिएपछि यज्ञमा बलि दिएको बाख्राको टाउको उनको शरीरमा जोडिएको, महादेवबाट पार्वती पुत्रको शिर छेदन गरिएपछि पार्वतीको आग्रहमा हात्तीको शिर जोडिएको जस्ता घटना त्यसबेलाको वैज्ञानिक कार्य हुन्।

केही दशक अगाडिसम्म मिर्गौला र कलेजो प्रत्यारोपण तथा आँखाको नानी प्रत्यारोपण हुनेछ भनेर कसले अनुमान गरेको थियो र ? तर, अहिले मानव अंग प्रत्यारोपणमा चमत्कार भएको छ। विज्ञानले अंग प्रत्यारोपणमा थप खोजी गर्दै आएको छ, तर विज्ञानले अझै सिंगो टाउको प्रत्यारोपण गर्न सकेको छैन। विज्ञानले साहेद व्रतकथामा उल्लिखित बाख्रा र हात्तीको शिर जोड्ने प्रविधिको खोजी आउँदा दिनमा गर्ला कि ?

प्रकाशित: २५ माघ २०७६ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App