बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद राजेन्द्र कुमार राईले बोल्ने क्रममा माइक्रोफोन काटिएको भन्दै आक्रोश व्यक्त गरे।
निर्धारित समयभन्दा बढी बोलेको भन्दै सभामुखले लाइन काटेपछि सांसद राईले संसद्मै आपत्ति जनाएका थिए। आफूलाई समय नदिएको भन्दै उनले रोस्ट्रम नछोड्ने चेतावनी दिए।
‘तपाईंले यो काट्न पाउनुहुँदैन, म यहाँबाट जान्न,’ उनले आक्रोशित हुँदै भने, ‘तपाईं काट्ने ? तपाईं हेप्ने ? जनताले भारी मत दिएर जिताएको प्रतिनिधिलाई यसरी हेप्न मिल्दैन।’
धनकुटाका जनताको प्रतिनिधित्व गर्दै आफू संसद्मा आएको बताउँदै उनले जनप्रतिनिधिको आवाज थुन्न नपाइने जिकिर गरे।
सरकारको कामकारबाहीप्रति लक्षित गर्दै सांसद राईले संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सत्तापक्षको निरीहतामाथि प्रश्न उठाए।
नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा छलफल भइरहँदा सरकारका प्रमुख नै उपस्थित नहुनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत भएको उनको भनाइ थियो।
‘सबैभन्दा शक्तिशाली पार्टीले एउटा प्रधानमन्त्रीलाई पनि सदनमा उपस्थित गराउन नसक्नु तपाईंहरूको निरीहता हो कि होइन ?,’ उनले प्रश्न गरे।
साथै, उनले संसद्मा अर्थमन्त्रीको उपस्थिति र जवाफको समेत माग गरे। प्रस्तुत नीति तथा कार्यक्रमप्रति व्यंग्य गर्दै उनले यो दस्तावेज कसले लेखेको हो भन्दै प्रश्न गरे।
मुख्य सचिव लगायतका कर्मचारीले उक्त कार्यक्रम लेखेको आरोप लगाउँदै राईले यसलाई पोहोरको हुबहु नक्कल भएको बताए।
उनले भने, ‘यो नीति तथा कार्यक्रम केपी शर्मा ओलीको पालामा लेखिएकै कुराहरूको लगातार नक्कल मात्र हो। हरेक कुरामा नयाँ भन्दै ब्रुकब्रुक उफ्रिनेहरूले पुरानै कुरालाई कपी गरेका छन्।’
संसद्मा नयाँ दलका सांसदहरूले पुराना दललाई नियम र संविधान सिकाउन खोजेको भन्दै उनले असन्तुष्टि पोखे। नयाँ दलका सदस्यहरूले संसद्मा पुराना दललाई संविधान र नियमावली पढ्न निर्देशन दिएको भन्दै राईले प्रतिवाद गरे।
‘हामीलाई तिमीहरू नियमावली र संविधान पढ भन्दै निर्देशन दिँदै हुनुहुन्छ। हामीले हिजो पनि निरन्तर जनताको सेवा गरेर आएका हौं, कुनै एनजिओमा जागिर खाएर आएका होइनौं,’ राईले भने।
आफूहरूले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रका लागि सडकमा संघर्ष गरेको स्मरण गराउँदै उनले नयाँ दलका नेताहरूलाई इतिहास नभुल्न र आफूहरूलाई नहेप्न चेतावनी दिए।
प्रकाशित: ३१ वैशाख २०८३ १६:५९ बिहीबार





