६ आश्विन २०७७ मंगलबार
अन्य

स्वस्थानी उपत्यकाको मौलिक कथा

गत पुस २५ (शुक्ल पूर्णिमा) देखि स्वस्थानी व्रत प्रारम्भ भयो। माघ शुल्क पूर्णिमा (एक महिना) सम्म हुने यस व्रतमा हरेक दिन स्वस्थानीको कथा सुन्ने/सुनाउने चलन छ। अहिले साँखुको शालीनदी र भक्तपुरको हनुमानघाटमा धेरै व्रतालु स्वस्थानीको व्रत बसिरहेका छन्। योसँगै देशका हिन्दू धर्मावलम्बीले घर–घरमा हरेक दिन बिहान वा बेलुका स्वस्थानी कथा वाचन गरी व्रत बस्ने चलन पनि छ। पछिल्लो समय देशभित्र मात्र नभएर, भारतदेखि अमेरिका, अस्ट्रेलियामा बस्ने नेपालीले समेत विधि अनुसार स्वस्थानीको व्रत लिने गर्छन्।


स्वस्थानी कथामा विशेषतः पृथ्वी र देवको उत्पत्ति, महादेव–सतीदेवीको विवाह, सतीदेवीको अंगपतन, देवासुर संग्राम, तारकाशुरको वध, पार्वतीको जन्म र विवाह, जालन्धर, नल दमयन्तीको कथा, शिवरात्रिदेखि हरिशचन्द्र, सति अनुसुयाको कथासम्म रहेको पाइन्छ। स्वस्थानीका पुस्तकअनुसार कुनै पुस्तकमा रहेको कथा अर्को पुस्तकमा नरहेको पनि छ। सबै पुस्तकमा सबै कथा रहेको पाइँदैन। तर, सबै ग्रन्थमा नछुट्ट्याइकन रहने एउटा कथा भने गोमा ब्राह्मणी (गोमय्जु) नवराजको कथा हो। बालकैमा दरिद्र शिव शर्मा ब्राह्मणसँग विवाह गरेर आएका गोमा ब्राह्मणीले धेरै दुःखकष्टपछि श्री ३ स्वस्थानीको व्रत बसेर सबै दुःखकष्टबाट मुक्त भई सुखी जीवन बिताएको कथा अहिलेसम्म पाइएका स्वस्थानीका सबै पुस्तकमा पाइन्छ। अध्ययताका अनुसार स्वस्थानी व्रतकथाको मूलकथा र मौलिककथा यही गोमा ब्राह्मणी–नवराजको कथा हो।

इतिहासविद्, संस्कृतिविद् काशिनाथ टमोत स्वस्थानीको मूलकथा गोमा ब्राह्मणीको कथा नै रहेको र यसको उद्भव काठमाडौं उपत्यकाबाटै भएको मान्छन्। यसको कारण बारे उनी भन्छन्, ‘अहिलेसम्म पाइएको सबभन्दा पुरानो स्वस्थानीको हस्तलिखित ग्रन्थमा गोमा ब्राह्मणी कथा मात्र छ। अन्य कथा केही छैन। पछि गएर मात्र स्वस्थानी कथामा अन्य कथा थपिँदै आएको हो।’ अहिलेसम्म पाइएको स्वस्थानी व्रतकथाको सबभन्दा पुरानो हस्तलिखित ग्रन्थ ने.सं. ६९३ (सन् १५७३) को हो। संस्कृतमा लेखिएको यसमा नेपाल लिपिको प्रयोग गरिएको छ भने धेरै ठाउँमा नेपालभाषाको पनि प्रयोग भएको छ।

यो ग्रन्थ अहिले राष्ट्रिय संग्रहालयमा सुरक्षित छ। यसपछिको अर्को सबैभन्दा पुरानो स्वस्थानी व्रतकथा ने.सं. ७२३ (सन् १६०३) को हो। यो नेवार (नेपालभाषा) भाषामा लेखिएको छ। ताडपत्रमा लेखिएको यी दुवै ग्रन्थ गोमा–नवराजको कथा र स्वस्थानी व्रतको विधिबाहेक अन्य कथा छैन। नेपालभाषामा लेखिएको कथामा स्वस्थानी व्रत विधि संस्कृतमा लेखिएको छ भने कथा नेपालभाषामा लेखिएको छ।‘प्राचीन स्वस्थानी ग्रन्थमा गोमा ब्राह्मणीको कथाबाहेक अन्य कथा नभएकाले यो नै स्वस्थानीको मूल कथा हो भन्न सकिन्छ,’ इतिहासविद् तमोट भन्छन्, ‘साथै यो उपत्यकाको मौलिक कथा पनि हो।’

स्वस्थानी कथामा भएका अन्य कथा विभिन्न पुराणबाट ल्याइएको हो। विशेषतः स्कन्धपुराणका कथा स्वस्थानीमा पाइन्छ। तर, स्कन्धपुराणबाहेक लिंगपुराण, पद्मपुराण, शिवपुराण कथा र प्रसंग पनि स्वस्थानीका पुस्तकमा समावेश गरिएका छन्। धेरैजसो स्वस्थानी पुस्तकको एक अध्यायपछि पुछारमा ‘श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारागस्त्य संवादे श्रीस्वस्थानी परमेश्वरर्या व्रतकथा’ भनी लेखिएको हुन्छ। यसले स्वस्थानीको कथा नै स्कन्ध पुराणअन्तर्गतको कथा हो भन्ने जस्तो लाग्छ, तर यो सत्य होइन।

तमोटका अनुसार, स्वस्थानीमा विशेषतः चार शृंखलामा कथा रहेको पाइन्छ। सृष्टि क्रमको कथा शृंखला, महादेव सतीदेवीको कथा शृंखला, शिव–पार्वतीको कथा शृंखला र गोमा–नवराजको कथा शृंखला। यीमध्ये सृष्टिसम्बन्धी कथा लिंग पुराणको सृष्टि वर्णन खण्डबाट प्रेरित भई लिएको हो। त्यस्तै, महादेव–सतीदेवीको विविध प्रसंग लिंग पुराण र स्कन्ध पुराणमा पाइन्छ। शिव–पार्वती शृंखला अन्तर्गतको गणेश उत्पत्तिको कथा लिंग पुराणमा, तारकासुरको प्रसंग स्कन्ध पुराणमा, जालन्धर–वृन्दाको प्रसंग लिंग पुराण, स्कन्द र पुराण, पद्मपुराण, शिव पुराण सबैमा छ। तर, स्वस्थानीको अन्तिम शृंखला गोमा–नवराजको प्रसंग भने मौलिक हो, यो कथा कुनै पनि पुराणमा देखिँदैन। अहिलेसम्म पाइएको सबभन्दा प्राचीन संस्कृत र नेपालभाषामा लेखिएको स्वस्थानी ग्रन्थमा पनि यही कथा मात्र उल्लेख छ। त्यसैले यसलाई उपत्यकाकै एउटा मौलिक कथा हो भन्न सकिन्छ।

स्वस्थानीलाई लिएर विभिन्न व्यक्तिले पिएचडी पनि गरेका छन्। त्यसमध्ये एक हुन्, अमेरिकी शोधकर्ता जेसिका भेन्तिन बिर्केहोल्ज। उनले आफ्नो अनुसन्धानपछि प्रकाशित गरेको पुस्तक ‘रिसाइटिङ द गडेस ः न्यारेटिभ्स् अफ प्लेस एन्ड द मेकिङ अफ द हिन्दूजम् इन नेपाल’मा पनि स्वस्थानी नेपालको मौलिक परम्परा रहेको उल्लेख छ।

गोमय्जु (गोमा) र नवराजको कथासार
पूरापूर्वकालमा ब्रह्मपुरी नगरमा शिवभक्त ब्राह्मण र उनकी स्त्री गंगातिर बस्दथे। सन्तान नभएकाले उनीहरूले सन्तान प्राप्तिका लागि गणेशको आराधना गरे। गणेशको आशीर्वादले उनीहरूले गाईको गोबरबाट पुत्री प्राप्त गरे। पुत्रीको नाम गोमय्जु (गोमा) राखे। गोमय्जुको शील–स्वभाव र ब्राह्मण दम्पतीको दान दक्षिणाले इन्द्रको सिंहासन नै हल्लायो। त्यसपछि इन्द्रले महादेवलाई आफ्नो सिंहासनको रक्षा गर्न अनुरोध गरेपछि महादेव कापालिक भेष गरी ब्राह्मणकहाँ भिक्षा माग्न गए। भेषधारी महादेव पुगेको बेला गोमय्जु एक्लै घरमा भएकाले महादेवलाई भिक्षा दिन सकेनन्। त्यसैले महादेवले उनलाई सात वर्षको उमेरमा ७० वर्षको वृद्धसँग बिहे हुने श्राप दिए। महादेवको श्रापले गर्दा गोमय्जुको विवाहको ७० वर्षको दरिद्र ब्राह्मण शिवशर्मासँग भयो। विवाहपछि गोमय्जु शिव शर्माको पहाडमा रहेको झुपडी पुगे। दरिद्र ब्राह्मणको झुपडीमा बस्दा माग्दै खानुपर्ने भयो।

त्यसैले गोमय्जु गर्भवती भएको अवस्थामा उनलाई एक्लै छाडेर शिव शर्मा कमाउन भनी परदेश लागे। परदेश लागेका शिव शर्माको त्यहीँ मृत्यु भयो। झुपडीमा बसेका गोमय्जुले पुत्र प्राप्त गरे। पुत्रको नाम नवराज राखे। नवराज ठूलो भएपछि नगरवासीको सहयोगमा चन्द्रावती नामका सुन्दर युवतीसँग विवाह गरिदिए। एक दिन नवराज आफ्नो पिताको खोजीमा घर छाडेर परदेश लागे। परदेशमा उनले आफ्नो बुबाको मृत्यु भइसकेको थाहा पाएपछि गंगामा तर्पण गरे।

नवराज घर छाडेर हिँडेपछि उनकी पत्नी चन्द्रावती पनि माइत हिँडिन्। गोमय्जु फेरि एक्लै भइन्। त्यही समयमा पार्वतीले स्वस्थानी व्रतबारे प्रचार गर्न पठाएका सप्तऋषि गोमय्जु रहेको नगरमा पुगे र उनलाई स्वस्थानीको व्रत विधि बताई व्रत बसाउन लगाए। स्वस्थानीको व्रतको प्रताप गोमय्जुका छोरा नवराज लावण्य देशका राजा हुन पुगे। स्वस्थानी व्रतकै प्रभावले गोमय्जुको राजा नवराज र बुहारीसँग फेरि मिलाप भए र आनन्दपूर्वक जीवन यापन गरे।

यो अहिले प्रचलित स्वस्थानी कथामा उल्लेख भएको गोमय्जु (गोमा) र नवराजको कथा शृंखलाको सार हो। तमोटका अनुसार, प्राचीन स्वस्थानी पुस्तकमा पाइएको गोमय्जु–नवराजको कथा र अहिलेको कथामा भने धेरै थप भइसकेको छ। जस्तोः पहिलेका कथामा नवराज बसेको देशको नाम थिएन, अहिले लावण्य देश भएको छ, अहिलेको कथामा नवराजलाई बहुविवाह गराइएको छ, पहिले त्यस्तो थिएन।

स्वस्थानी व्रतकथाको गोमय्जु (गोमा) र नवराजको कथा कसले लेखेको भन्ने अज्ञात छ। तर, यसको प्रादुर्भाव मल्लकालमा उपत्यकाबाट भएको हो। यस सम्बन्धमा जगदीशचन्द्र रेग्मीको पुस्तक ‘श्री स्वस्थानी उपकार’मा उल्लेख छ, ‘नेवारी भाषामा स्वस्थानी व्रतकथा ई. १५७३ देखि पाइएको देख्दा यो कथाको परम्परा काठमाडौं उपत्यका मल्ल संस्कृतिको देन हो भन्न बुझ्न सकिन्छ।’ रेग्मीले उल्लेख गरेजस्तै ई १५७३ को स्वस्थानी नेवारी भाषाको होइन, संस्कृत भाषाको हो। तर, नेपाल लिपिमा लेखिएको कथामा नेपालभाषाको पनि प्रयोग गरिएको छ। यसको ३० वर्षपछि नेपालभाषामा स्वतन्त्र अनुवाद गरिएको दुईवटा ग्रन्थ भेटाइएको हो। ने.सं. ७२३ को नेपालभाषामा अनुवाद गरिएको यो दुइटै ग्रन्थमा लिपिकार ‘भानसकार राम सुवार’ लेखिएको छ। १४३ श्लोकको यस ग्रन्थको सुरुको स्वस्थानी व्रतविधि बताउने खण्डको २८ श्लोक र पछिको उपसंहारको पाँच श्लोक संस्कृतमा छ भने गोमय्जु–नवराजको कथा नेपालभाषामा छ।

संस्कृतिविद् शरद कसाःका अनुसार नरदेवीका भानसकार राम सुवारले नेपालभाषामा अनुवाद गरेपछि नै स्वस्थानी व्रतकथा जनमानसमा लोकप्रिय भएको हो। कसाः भन्छन्, ‘पहिला राजा–महाराजाले नेपालभाषा बोलीचालीको भाषा भए पनि आफ्नो दक्षता वा आफूलाई देखाउन लेखनमा संस्कृत भाषाको प्रयोग गर्थे। त्यसैले संस्कृतमा भएको ग्रन्थमा पण्डित र राजा–महाराजाको मात्र पहुँच हुन्थ्यो। पछि स्वस्थानीलाई नेपालभाषामा अनुवाद गरिसकेपछि यो जनमानसमा लोकप्रिय हुँदै गएको मान्न सकिन्छ।’

स्वस्थानीको यो कथा बिस्तारै लोकप्रिय भएपछि यसमा अन्य कथा पनि थपिँदै आएको हो। हिन्दू धर्मको प्रभाव बढेसँगै पुराणका कथा थपिँदै गएको संस्कृतिविद् तथा त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपालभाषा विभागका पूर्व प्रमुख तुलसीलाल सिंह बताउँछन्। उनी भन्छन्, ‘अहिले पनि नेपाल माहात्म्यदेखि लिएर पुराणका विभिन्न कथा थपिँदै गइरहेको छ। अहिले त १२ सय पृष्ठको स्वस्थानी पुस्तक पनि आइसकेको छ।’ शोधकर्ता जेसिकाका अनुसार, पाँच सय वर्षको अवधिमा स्वस्थानी कथामा धेरै थप घटभएको छ। उनले आफ्नो अनुसन्धानमा ८ पत्रको स्वस्थानीदेखि लिएर ४५८ पृष्ठसम्मको स्वस्थानी पुस्तक भेटाएका छन्।

उपत्यकामा नेपालभाषाबाट लोकप्रिय भएपछि नेपाली, मैथिली र हिन्दीमा पनि अनुवाद हुँदै गयो। हिन्दी र मैथिलीमा अनुवाद भए पनि स्वस्थानीको व्रत कथाको चलन हिन्दी र मैथिलीमा भने नभएको इतिहासविद् तमोट बताउँछन्। नेपालीमा अनुवाद भएको सबभन्दा पुरानो स्वस्थानीको पुस्तक वि.सं. १८६७ को हो। जम्मा ५५ पत्र भएको देवनागरी लिपिमा नेपाली कागजमा लेखिएको यो ग्रन्थ पनि अहिले राष्ट्रिय संग्रहालयमा सुरक्षित राखिएको छ। यो पाल्पा श्रीनगरका केशरसिंह बस्नेतले नेपालीमा अनुवाद गरेको ग्रन्थ हो।

दुई सय वर्षअगाडि नेपालीमा अनुवाद भएको स्वस्थानी कथाको चलन अहिले दशभर व्यापक भइसकेको छ। काठमाडौं उपत्यकाबाट सुरु भएको स्वस्थानीको कथा अहिले देशभर मात्र नभई विश्वका विभिन्न ठाउँमा पुगेको छ। नेपालबाट गएका नेपालीले अहिले स्वस्थानी व्रतकथालाई विश्वका ठाउँ–ठाउँमा लगेका छन् र स्वस्थानी व्रत हुने समयमै त्यहाँ पुगेका पण्डितले स्वस्थानी सुनाउने गर्दै आइरहेका छन्।

प्रकाशित: ११ माघ २०७६ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App