१३ आश्विन २०७७ मंगलबार
अन्य

हाम्रो मस्तिष्क सामान्य छ ?

हावर्ड टिम्बरलेक

यो संसारमा साढे सात अर्बभन्दा बढी मानिस छन् । हरेक मानिसको फिङ्गरप्रिन्ट बेग्लाबेग्लै हुन्छ । आँखा पनि फरक हुन्छ । त्यस्तै बानीबेहोरा पनि अलग्गै हुन्छ । यदि कुनै समानता भयो भने पनि त्यो संयोगवश हुन्छ ।

तर हाम्रो दिमागका बारेमा कस्तो सोच छ भने केही सीमित रोगको शिकार मानिसहरुबाहेक सबैको दिमाग उस्तै र एउटै हुन्छ होला । तर वैज्ञानिकहरु भन्छन्, त्यस्तो हुँदैन ।
एडिएचडी (अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर) या अटिजमको शिकार भएका मानिसको दिमाग कमजोर वा रोगले भरिएको हुँदैन । बरु तिनीहरुमा विशेष किसिमको खुबी हुन्छ ।

अहिलेसम्म चिकित्सक तथा यस किसिमको रोग लागेका बालबालिकालाई मस्तिष्क वा दिमागी अवस्थालाई असामान्य भन्ने गरिन्थ्यो । तीबाहेक अन्य दिमागलाई सामान्य दिमागयुक्त भनिन्थ्यो । तर नयाँ शोध र वैज्ञानिकहरुले जे कुरा पत्ता लगाएका छन्, त्यसले भने एडिएचडी या अटिजम भएको मानिसलाई विशेष किसिमको मस्तिष्क वा दिमाग भएको व्यक्ति मान्न थालिएको छ ।

संसारमा करिब ६ करोड २५ लाख मानिस अटिजम, एस्पर्जर सिन्ड्रोमजस्ता रोगको शिकार छन् । यत्ति नै मानिस एडिएचडीका रोगी छन् । तीमध्ये केही मानिसलाई त एडिएचडी र अटिजम, एस्पर्जर सिन्ड्रोम पनि हुनसक्छ । यसका अतिरिक्त धेरैलाई डिसलेक्सिया, टारे र विलियम्स सिन्ड्रोमजस्ता मानसिक रोग पनि हुनसक्छ ।

फरक किसिमको दिमाग
हिजोआज यस्ता रोग भएका बिरामीहरुलाई ‘न्युरोडाइभर्स’ अर्थात् दिमागी रुपमा बेग्लै किसिमको रोग भएका भनी नामकरण गरिएको छ । अन्यलाई भने ‘न्युरोटाइपिकल’ भनिन्छ ।
न्युरोडाइभर्स शब्दको सबैभन्दा पहिले १९९८ मा अस्ट्रेलियाका समाजशास्त्री जुडी सिंगलले गरेकी थिइन् । उनले आफ्नो रिसर्च थेसिसमा यो शब्द प्रयोग गरेकी थिइन् । यसलाई अमेरिकी पत्रकारले ‘द एटलान्टिक’ पत्रिकामा उद्धृत गरेपछि संसारभर यो शब्द प्रयोग गर्न थालिएको हो ।

जुडी सिंगर भन्छिन्, ‘यो शब्द मैले बेग्लाबेग्लै दिमागमा पाइने विविधता बुझाउनका लागि प्रयोग गरेकी थिएँ । मलाई अचम्म के लागेको थियो भने संसारमा हरेक मानिसको दिमाग बेग्लाबेग्लै तरिकाले काम गर्छ र यस्तो किन हुन्छ ? धेरै मानिसले आफ्नो विशेषतालाई ख्याल नै गरेका हुँदैनन् ।

डाक्टरहरुले पनि तिनलाई खास किसिमको ढाँचामा बाँधिदिन्छन् । यसो गर्नु बिल्कुल उचित होइन ।’
जुडी भन्छिन्, ‘दिमागको बनावटमा यति विविधता छ कि त्यो देख्दा म छक्क पर्छु । हाम्रो शिक्षा प्रणालीले भने त्यो विविधतालाई मन पराउँदैन । तिनलाई एउटै साँचोमा ढालिदिन्छ । जबकि हामीले त विविधताका विविध फाइदा हुन्छन् भनेर अझ गहन अध्ययन गर्नुपर्छ । त्यसैले मैले यही विविधतामाथि व्यापक आन्दोलन आवश्यक छ भनी अभियान चलाइरहेकी छु ।’

न्युरोडाइभर्स शब्दको प्रयोग कुनै खास मस्तिष्कको अवस्थाका लागि गर्न सक्नुहुन्न । वास्तवमा यो विविधताको परिचायक हुनुपर्छ । जसरी जैविक विविधता बुझाउन बायोडाइभर्स प्रयोग गरिन्छ, उसैगरी मस्तिष्कको व्यापकता बुझाउन न्युरोडाइभर्सिटी प्रयोग हुनुपर्छ ।

जुडीको यो विचारले बिस्तारै संसारभर मान्यता पाउन थालेको छ । यसअघि दिमागी अवस्थाको भिन्नता बुझाउनका लागि न्युरोटिपिकल शब्द प्रयोग गरिन्थ्यो । यसले मानिसको मस्तिष्कको विविधतालाई एक खास ढाँचामा बाँध्ने प्रयास गरेको थियो ।

दिमागको बेग्लै खुबी
न्युरोबायोलजिस्ट तथा लेखक मो कोस्टन्डी भन्छन्, ‘न्युरोटिपिकल शब्दको प्रयोग वैज्ञानिकहरुले गरेका थिएनन् । यसको प्रयोग त अटिज्मको शिकार नभएका मानिसहरुले तिनलाई बेग्लै देखाउन प्रयोग गर्न थालेका थिए र अटिजममा शोध गरिरहेकाहरुले सुरुमा प्रयोग गरका थिए ।

कोस्टन्डी भन्छन्, ‘कतिपय अवस्थामा सिर्जना गरिएका शब्दको उपयोगिता समयसँगै सकिन्छ । त्यसपछि नयाँ शब्दलाई प्रचलित गर्नुपर्छ । न्युरोटिपिकल शब्द पनि त्यस्तै एउटा शब्द हो । यसको साटो हामीले न्युरोडाइभर्स शब्द प्रयोग गर्नु उचित हुन्छ । कसैको दिमागमा बेग्लै खुबी हुन्छ, अन्य सामान्यजनजस्तो कुनै व्यक्ति छैन भने उसलाई रोगी भन्नु उचित हुँदैन ।’

त्यसो त केही जानकारहरु शब्दमाथि यति नकारात्मक सोच पाल्नु पनि उचित नहुने बताउँछन् । अमेरिकन इन्स्टिच्युट अफ लर्निङका थोमस आर्मस्ट्रङ भन्छन्, ‘न्युरोटिपिकलजस्ता शब्दका प्रति यति वक्र हुनुपर्ने कुनै आवश्यकता छैन । यसलाई हामीले सामान्य मस्तिष्क बुझाउन प्रयोग गर्न सक्छौँ ।’

अटिजमजस्ता रोगको शिकार भएकालाई न्युरोडाइभर्स शब्द प्रयोग गर्दा आफूलाई कुनै आपत्ति नहुने बताउँछन् । असामान्य दिमाग भन्नुभन्दा विविधतायुक्त दिमाग बताउने यो शब्द नै उचित हुन्छ भन्ने तिनको धारणा छ ।

थोमस आर्मस्ट्रङ भन्छन्, ‘हामीले कतिपय चलिआएका सोचलाई चुनौती दिनुपर्छ । हामीले सोच्नुपर्छ कि वास्तवमा मानिसको दिमागमा बेग्लाबेग्लै किसिमको खुबी हुन्छ । यो रोग होइन र यो असमान्य हुनु पनि होइन ।’

‘कुनै पनि समाजमा अनुशासनका लागि नियम कानुन बनाइएका हुन्छन्,’ उनको भनाइ छ, ‘मानिसहरु ती नियम पालना गरुन् भन्ने अपेक्षा गर्छन् । नत्र त अराजक स्थिति सिर्जना हुन्छ । तर यसको अर्थ के होइन भने ती नियमबाट थोरबहुत फरक देखिनु ‘अनौठै’ हुनु चाहिँ पक्कै होइन ।’

एडिएचडी रोग
यस किसिमको बहसका कारण अटिजम के हो भन्नेबारेमा मानिसको चासो बढेर गएको छ । मानिसहरुले क्रमशः बेग्लै किसिमको दिमागी अवस्थाको सकारात्मक पक्षलाई महसुस गर्न थालेका छन् । कम्पनीका लागि त कतिपय अवस्थामा यस्ता ‘रोगी’ बरदान नै साबित पनि भएका छन् ।
अक्सफोर्ड विश्वविद्यालयकी क्याथरिन हार्मर भन्छिन्, ‘यो संसारमा भएका हामी सबैजना विशेष छौँ । हाम्रो दिमाग हाम्रो औंठाछापजस्तै फरक फरक हुन्छ । संसारमा दिमागको बनावट ज्यादै विविधतायुक्त छ ।’

क्याथरिनको सल्लाह छ, ‘हामीले यस किसिमको विविधतालाई रोग ठानेर कुनै ठप्पा लगाउनुभन्दा यसको कारण र यसबाट उत्पन्न हुने विशेष किसिमका खुबीमा जोड दिनुपर्छ ।’

कतिपय मानिस यस्ता हुन्छन् कि चिकित्सकीय पद्धतिमा एडिएचडीजस्तो रोग ठ्याक्कै फिट हुँदैन तर । त्यसैले यस्ता अनेकन रोगमाथि अझ बढी शोध भएको खण्डमा मानिसको कमजोरी र खुबी दुवै पत्ता लगाउन सकिने क्याथरिनको धारणा छ ।

एडिएचडी के हो ?
अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर एक किसिमको मानसिक अवस्था हो । यसले हाम्रो व्यवहारमा असर पार्छ । हाम्रो दिमागको अधिकांश भागले सामान्य ढंगले काम गर्छ । तर कतिपय अवस्थामा कुनै चिजलाई हामीले राम्रोसँग ध्यान दिन सक्दैनौँ । सहज किसिमले अन्य व्यक्तिजस्तै आराम गर्न अप्ठेरो पर्न सक्छ । दैनिकीमा स्मरणशक्ति नियन्त्रित गर्न गाह्रो हुन्छ । यसले चिन्ता, डिप्रेसन, डिसलेक्सियाजस्ता अप्ठेरा आइपर्छ ।

यस किसिमको रोग पत्ता लगाउनु पनि उत्तिनै चुनौतीपूर्ण छ । यसको लामो प्रक्रिया छ । बालापनमा एडिएचडीको शिकार भएकाहरु उमेरको तेस्रो पारीमा मात्र आफ्नो दिमाग अन्यको भन्दा फरक रहेको बुझ्छन् ।

तर यो रोगको शिकार भएकाहरु बढी नै क्रिएटिभ हुन्छन् । तिनमा संवेदना हुन्छ । अरुको भन्दा ऊर्जामा कुनै कम हुँदैन । उसो भए त यो मानसिक अवस्था कुनै रोग होइन रहेछ ! सायद यही न्युरोडाइभर्सिटीको उदाहरण हो !

 

प्रकाशित: २७ पुस २०७६ १३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App