१२ आश्विन २०७७ सोमबार
अन्य

सैन्य सेवा र बौद्ध धर्म

सामाजिक सञ्जाल फेसबुकमा हालै एक व्यक्तिले सैनिक सेवामा आबद्ध कुनै पनि व्यक्ति बौद्ध हुन नसक्ने मन्तव्य पोस्ट गरे। यस भनाइमा दुईवटा तात्पर्य बुझ्न सकिन्छ। पहिलो, सैनिक सेवामा रहेका व्यक्ति हिंसा कार्यमा सरिक हुनुपर्ने हुँदा स्वभावतः उनीहरू बौद्ध हुन योग्य छैनन्। दोस्रो, बौद्ध धर्मले अहिंसा, शील, सदाचार तथा मैत्री करुणाका कुरा गर्ने भएकाले यसबाट सैन्य शक्तिमा ह्रास आउने हुन्छ। तर, यही दुई कारणले सैनिक सेवामा आबद्ध कुनै पनि व्यक्ति बौद्ध हुन सक्दैन भन्नु एउटा ठूलो भ्रम पालेर बस्नु हो। यो भ्रम हेर्दा सामान्यजस्तो देखिए पनि बौद्ध धर्मको अपव्याख्या गर्नमा पर्याप्त छ। यस भ्रमलाई पुष्टि गर्ने प्रयासमा सामान्यदेखि पाठ्यपुस्तकमै पनि सामग्रीहरू तयार पारिएको पाइन्छ। यस बारेमा बौद्ध, गैरबौद्ध तथा जिज्ञासुहरू सजग हुनु नितान्त आवश्यक छ।

गृहस्थ जीवनमा गौतम बुद्ध तत्कालीन शाक्य गणराज्यको एक नागरिक थिए। कुलीन परिवारमा आबद्ध उनी राजनीतिक निकायसँग पनि सम्बन्धित थिए। राजाको छोरा, राजकुमार, भविष्यका राजा तथा ऐयाशी जीवनमा भुलाइएका भन्ने प्रसंग पहिल्लो समय विकास गरिएको साहित्य मात्र हो। गणराज्यमा राजतन्त्रमा जस्तो राजा तथा राजाको छोरा राजा नै हुने व्यवस्था हुँदैन। गौतम बुद्धका बाबु शुद्धोदन निश्चित समयका लागि गणपरिषद्बाट लोकतान्त्रिक पद्धतिअनुसार चुनिएका गणप्रमुख थिए। परिषद्का सदस्यहरू ‘राजा’ तथा गणप्रमुखलाई ‘महाराजा’ शब्दबाट सम्बोधन गर्ने चलन रहेको कुरा बज्जि राज्यका लिच्छविहरूको प्रसंगबाट खुल्छ। गौतम बुद्धको अस्तु लिन ‘कपिलवस्तुका राजाहरू’ पनि आए भन्ने प्रसंगले पनि त्यहाँका गणपरिषद्का सदस्यहरू राजा कहलाइन्थे भन्ने कुरा बुझ्न सकिन्छ। गौतम बुद्धको जन्म हुँदा उनका बाबु सत्तामा रही ‘महाराजा’को पद्वी धारण गरिरहेको भए पनि ३५ वर्षको उमेरमा छोरा बुद्धत्व प्राप्त गरी कपिलवस्तु फर्कंदा उनी सत्ताबाट बाहिरिइसकेको र महाराज पद्वी अन्य व्यक्तिले लिएको देखिन्छ। गौतम बुद्ध गृहस्थ जीवनमा छँदा सैनिक सेवामा प्रयोग हुने गरी शस्त्रअस्त्रको विद्यामा पनि पारंगत भएको थाहा पाइन्छ। समग्रमा भन्ने हो भने उनी राजनीतिशास्त्र पनि जान्दथे र गर्दथे पनि। उनलाई लोकतान्त्रिक एवं गणतान्त्रिक व्यवस्था मन पथ्र्यो र प्रशंसा पनि गर्थे। यही भएर हुनसक्छ, बौद्ध संघको सांगठनिक संरचना तथा सञ्चालनमा त्यही मोडललाई अपनाएका हुन्।

बौद्ध धर्मलाई तत्कालीन राज्यसत्ताहरूको संरक्षण प्राप्त थियो। धर्म प्रचार–प्रसारका क्रममा उनले राज्य व्यवस्थामा हस्तक्षेप गरेको पाइँदैन। उनलाई दासप्रथा मन पर्दैनथ्यो, तर तत्कालीन समाजमा दास प्रथाको विरोध गर्ने वा त्यसविरुद्ध अभियान चलाउने अवस्था थिएन। आफ्नो कर्तव्यबाट च्युत भएर भागेका दासदासी तथा सैनिकहरूलाई भिक्षुत्व ग्रहणमा प्रतिबन्ध थियो। यदि भागेर आएका दासदासी तथा सैनिकलाई संघमा प्रवेश दिएको भए धेरै संख्यामा भागेर आउँथे, तथा तत्कालीन समाज बुद्ध र बौद्ध धर्मविरुद्ध खडा हुन्थे। बुद्ध यस कुरामा सजग नहुने कुरै भएन। र, संघ भगुवाहरूको आश्रयस्थल होइन। हर कुरामा मध्यममार्ग अपनाउने बुद्ध र बौद्ध धर्मले तत्कालीन व्यवस्थासँग पनि सम्बन्ध बनाउँदा व्यावहारिक तथा मध्यममार्गी दृष्टिकोण नै अपनाएको पाइन्छ।

कतिपयलाई लाग्दो रहेछ, बुद्धको समयमा बुद्धका उपदेश सुन्ने राजाहरू युद्ध गर्दैनथे, शान्तिपूर्वक बस्दथे। अझ कतिपयको गलत बुझाइ के पनि पाइन्छ भने, बुद्धको शिक्षा भनेको जस्तोसुकै अन्याय भए पनि सहेर बस्ने तथा झैझगडा नगर्ने हो। वास्तविकता त के हो भने, बुद्धको उपासकत्व ग्रहण गरिसकेका राजा–महाराजा तथा सैनिकहरू पनि युद्धमा सरिक हुन्थे। युद्धमा जित अथवा हार हुनु त स्वाभाविक हो।

एक दिन सिंह नामका एक सेनापतिलाई बुद्ध र बौद्ध धर्मका सम्बन्धमा धेरै नै कुतूहलता बढ्यो। उनले बुद्धलाई भेटेर सोध्छन्, ‘म एक सिपाही हुँ, कानुन रक्षा र युद्धका लागि मलाई राजाले नियुक्त गरेका हुन्। तपाईं मैत्री, करुणाको पाठ सिकाउनु हुन्छ। के तपाईं अपराधीलाई दण्ड दिन स्वीकृति दिनुहुन्छ ? आफ्नो घर, आफ्नो जहान बालबच्चा र धन–सम्पत्तिको रक्षाका लागि गरिने युद्धलाई तपाईं गलत भन्नुहुन्छ ? तपाईंले पूर्ण आत्मसमर्पणको शिक्षा दिनुभएको छ ? के दुष्ट व्यक्तिको खुसीका लागि मैले दुःख पाउँँ ? के मेरो सम्पत्ति लुट्न आउनेलाई म नम्रताको व्यवहार गरुँ ? सच्चाइका लागि गरिने युद्धलगायत सबै प्रकारमा झगडालाई माफ गर्नु भन्ने तपाईंको धारणा हो ?’

सेनापति सिंह अन्य धर्ममा विश्वास राख्थे। उनलाई बुद्धले यसरी जवाफ दिए, ‘जो दण्डयोग्य छ, ऊ दण्डित हुनैपर्छ। जो पुरस्कारयोग्य छ, ऊ पुरस्कृत हुनैपर्छ। कसैको पनि हानि नगर्नु तर न्याय र मैत्री भाव राख्नुपर्छ।’ सेनापति सिंह पछि बुद्धबाट प्रभावित भएर आजीवन बौद्ध उपासकका रूपमा रहे।

सेनापति हुन् वा राजसेवक, एउटा निर्दिष्ट कर्तव्य पालना गराउन नियुक्त गरिएका कर्मचारी हुन्। तिनले कसैलाई दण्ड दिनु व्यक्तिगत कर्म नभएर कर्तव्य पालना भनी बुझ्नुपर्छ। कुनै व्यक्तिले अपराध गरेको छ र उसलाई दण्ड–सजाय दिइन्छ भने त्यसको कारक ती कर्मचारी नभएर स्वयं सम्बन्धित व्यक्ति हुन्छन्। त्यसलाई कर्म भोग गरेको अर्थमा लिनुपर्छ। यसर्थ, कर्तव्यनिष्ठ कर्मचारी दोषभागी हुँदैनन्। बरु समाजमा सुव्यवस्था कायम गर्नमा उनको ठूलो भूमिका हुन्छ। कर्तव्यनिष्ठ कर्मचारी वा सेना मर्न र मार्न पनि तयार हुनुपर्छ, किनभने यही कामका लागि आन्तरिक रूपमा तयार भएर घरबाट हिँडेका हुन्छन् भने यही कामका लागि ती सम्बन्धित निकायबाट नियुक्ति पाएका पनि हुन्छन्। तिनीहरू जब कर्तव्यबाट च्युत हुन्छन्, अव्यवस्था सुरु हुन्छन्।

मौर्य सम्राट अशोक सुरुमा निकै हिंस्रक स्वभावका क्रुर लडाकु थिए र अन्य राज्यसँग युद्ध गरेर आफ्नो साम्राज्यको विस्तार गरेको पढ्न पाइन्छ। तर, मौर्य साम्राज्यको स्थापना तथा उक्त साम्राज्यलाई विस्तृत भू–भागमा विस्तार गर्ने काम उनीबाट भएको थिएन। बुद्धको समयअघि मगध साम्राज्य ठूलो थियो। एकपछि अर्को राज्यलाई आफ्नोमा विलय गर्नमा अन्य वंशका शासक तल्लीन हुन्थे। आचार्य चाणक्यको सहयोगमा चन्द्रगुप्त मौर्यले मगधको शासन सत्ता हातमा लिन सफल भएका थिए र मौर्य वंशको सत्ता स्थापना गरे। त्यसपछि अन्य राज्यहरूमाथि पनि विजय प्राप्त गरेका थिए। उनका छोरा बिन्दूसार तथा नाति अशोकको बेलामा थोरै मात्र राज्य विस्तारको कार्य भएको पाइन्छ। भनिन्छ, सम्राट अशोक बौद्ध धर्मप्रति आकृष्ट भएर उपासकत्व ग्रहण गरेपछि उनको सैन्यशक्तिमा ह्रास आएको थियो र अन्ततः मौर्य साम्राज्य नै पतन भयो। वास्तविकता यस्तो नभएर सम्राट अशोकले सैन्य विजयको अभियान छाडेर धर्मविजयको अभियान थालेका थिए। राज्यको सञ्चालन भूविस्तारले मात्रै हुँदैन, समाजमा शान्ति सुव्यवस्था कायम गर्नु तथा जनताको दैनिक र आध्यात्मिक जीवनमा पनि सुधार ल्याउनु हो। सम्राट अशोकले त्यही काम गरे। निहत्थाहरूको हत्या गर्न छाडेर उनी प्राणी मात्रको हितमा लाग्ने क्रममा पशुपक्षीको उपचारका लागि अस्पताल बनाउने तथा त्यसको सुव्यवस्थामा पनि ध्यान दिएका थिए। पशुपक्षीका लागि चिकित्सालय खोल्नुको अर्थ हो, त्यस्तो आधारभूत आवश्यकता जनताका लागि पु-याउन उनी सफल भइसकेका थिए। मैत्री तथा करुणालाई प्रश्रय दिइएको त्यस वातावरणमा सैन्यशक्तिमाथि दृष्टि दिने हो भने खासै ह्रास आएको पाइँदैन। उनको राज्यकालमा अन्य राज्यले हमला गरेको तथा भू–भाग गुमाउनुपरेको घटना पनि पाइँदैन। त्यसरी नै उनको समयमा मौर्य साम्राज्यको पतन भएको पनि होइन। मौर्य वंशमा जम्मा दशजना राजाले राज्य गरेको पाइन्छ, अर्थात् सम्राट अशोकपछि पनि छोरा नाति गर्दै अन्य सात जनाले राज्य गरेका थिए। दशौँ राजा बृहद्रथको हत्या अन्य राज्यबाट नभएर आफ्नै सेनापति पुष्यमित्रले धोेखापूर्वक गरेका थिए।

ईसाको चौथौ–पाँचौँ शताब्दीतिर मध्य एसियाका बौद्ध भिक्षु यशोवर्मा श्रीलंका हुँदै सुमात्रातर्फ लागेका थिए। सुमात्रामा उनले बौद्ध धर्मको प्रचार–प्रसार गर्ने क्रममा राजारानीलाई पनि बौद्ध उपासक उपासिका बनाउन सफल भएका थिए। त्यो बेला भ्रम के फैलियो भने, राजारानी नै बौद्ध बनेपछि सेनालाई युद्ध गर्ने आदेश दिइँदैन। त्यही बेला अन्य देशबाट आक्रमण सुरु भयो र पूरै राज्य अनिर्णित अवस्थामा पुग्यो। प्रत्याक्रमणका लागि राजाज्ञा दिन राजा असमञ्जसमा परिरहेका थिए। यो कुरा थाहा पाएर भिक्षु यशोवर्माले शत्रु राज्यबाट आक्रमण भयो भने त्यसको प्रत्याक्रमण गर्नु राज्यको धर्म नै भएको र सो प्रत्याक्रमणलाई बौद्ध धर्मबाट विमुख भएको अर्थमा लिन नहुने उपदेश गरेका थिए। उक्त उपदेशपछि त्यस देशका सेना आफ्नो राज्यलाई शत्रुराज्यको आक्रमणबाट बचाउन सफल पनि भए।

यसरी नै बौद्ध धर्मको ग्रहणपछि कर्णालीको खस साम्राज्य कमजोर भएको भन्ने भनाइ पनि बिल्कुलै गलत व्याख्या हो। इश्वीको बा¥हौं शताब्दीको सुरुतिर हाल जुम्ला जिल्लाको सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना भएको राज्यशक्ति नै खश साम्राज्यको नामबाट जानिन्छ। यस भूक्षेत्रमा यो साम्राज्य स्थापना हुनुअघि नै बौद्ध धर्मको बर्चश्व रहेको पाइन्छ। तत्कालीन तिब्बतको बौद्ध राज्य ङारी प्रदेशका राजा नागराज राज्य विस्तारका क्रममा हिमालय नाघेर दक्षिणतर्फ झरेका थिए र नयाँ राजधानी सिंजामा स्थापना गरे। यी राजाले गढवालस्थित बाराहाट (उत्तरकाशी) मा अभिलेखसहित बुद्धमूर्ति स्थापना गरेको पाइन्छ। यसरी नै उनका सबै उत्तराधिकारीहरू बौद्ध धर्मका संरक्षक नै थिए। जम्मा १५ जना राजाले राज्य गरेको पाइन्छ। तत्कालीन सैन्यदलको नाम ‘सर्वगामिनीबाहिनी’ थियो र यो सेना भूविस्तारमा मात्रै लाग्ने नभएर बौद्ध धर्मको रक्षामा पनि लाग्दथ्यो। भारतको बोधगयालगायतका क्षेत्रमा मुसलमानहरूको जितेको र बौद्ध धर्ममाथि दमन गरेको अवस्थामा राजा अशोकचल्लको समयमा यही ‘सर्वगामिनीबाहिनी’ गएर तुर्कहरूलाई धपाउन सफल भएको थियो। काठमाडौंमा यी राजाहरूले लुटपाट गर्न आउने गरेको भनेपनि बास्तवमा द्वैधशासन पद्दति रहेको तत्कालिन नेपालमण्डलमा आफ्नो पक्षीय शासकहरूलाई सघाउन आएको बुझ्न सकिन्छ। अन्य आन्तरिक तथा वाह्य कारणले कमजोर हुन पुगेको यो साम्राज्य पतन हुनाको कारण बौद्ध धर्मको ग्रहण भन्नु इतिहाससम्मत कुरा होइन। किनभने स्थापनादेखि नै यो साम्राज्य बौद्ध धर्मको पक्षपाती थियो।

मंगोल साम्राज्यका सम्राट चंगेज खाँको प्रसङ्ग पनि रोचक मान्नु पर्दछ। उनी बौद्ध भिक्षुहरूको सम्पर्कमा पुगेको विवरण पाइए पनि बौद्ध धर्म अपनाएको वा नअपनाएको भन्ने सम्बन्धमा एक मत छैन। तर उनका उत्तराधिकारी शासकहरू बौद्ध धर्मको संरक्षकका रुपमा रहेको देखिन्छ र उनीहरूको सैन्य शक्तिमा कुनै कमजोरी थिएन।

समग्रमा भन्नु पर्दा बौद्ध हुँदैमा सैन्य शक्ति कमजोर हुने वा बौद्धहरू पूर्ण आत्मसमर्पणवादी हुन्छन् भन्ने मान्यता राख्नु हुँदैन। नेपालकै सन्दर्भमा भन्नु पर्दा लिच्छवि राजा शिवदेव (प्रथम) यत्तिकै बौद्ध भिक्षु बनेका थिएनन्, त्यसअघि तयारी स्वरुप सामन्त अंशुवर्मालाई शक्तिमा ल्याई पूर्ण प्रशिक्षण दिएर द्वैध शासकसम्म बनाएका थिए। कर्णालीको खश साम्राज्यमा एक राजकुमार आदित्य मल्ल तिब्बतमा बौद्ध भिक्षुको जीवन बिताइरहेका थिए तर राज्यको काममा सघाउन दाजु राजा अक्षय मल्लबाट बोलावट आउँदा उनी फर्केर आए र दाजुको शेषपछि राजगद्दी सम्हाले। यी राजाले पनि तत्कालिन नेपालमण्डलमाथि आक्रमण गरेको पाइन्छ। उनको सैन्य अभियान सफल नै देखिन्छ भने त्यसको लामो समयसम्म पनि खश साम्राज्य सशक्त नै थियो। तसर्थ, बौद्ध हुँदैमा सैन्य शक्तिमा ¥हास आउँछ भन्ने कुरा कपोलकल्पित र अवास्तविक भनेर बुझ्नु पर्दछ।

प्रकाशित: २८ मंसिर २०७६ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App