राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं-४ का उम्मेदवार पुकार बमले आफ्नो पार्टीले अबको निर्वाचनमा १५० सिटसहितको एकल बहुमतको सरकार बनाउने दाबी गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै बमले गठबन्धनको राजनीतिले देश नबन्ने निष्कर्षसहित रास्वपाले ‘कम्फर्टेबल’ बहुमत ल्याउने रणनीति बनाएको बताएका हुन्।
बमले डा. स्वर्णिम वाग्लेको भिजन अनुसार पार्टीले १५१ सिटको लक्ष्य राखेको बताए। ‘गठबन्धन गरेर सरकार बनाउँदा काम गर्न सकिँदैन भन्ने पुष्टि भइसक्यो। त्यसैले हाम्रो ‘बेस्ट टार्गेट’ भनेको दुई तिहाइ हो, नभए पनि १३८ कट्ने गरी १५० हाराहारी सिट ल्याएर पाँच वर्ष स्थिर सरकार चलाउने हो,’ बमले भने।
उनले प्रत्यक्षतर्फ ८० देखि ८५ सिट र समानुपातिकतर्फ ७० सिट कटाउने गरी पार्टीले देशभर मिसन चलाइरहेको दाबी गरे।
बमले पुराना दलका शीर्ष नेताहरूसँग एउटै मञ्चमा बसेर सुशासन र भ्रष्टाचारविरुद्ध बहस गर्न आफूलाई नैतिकताले नदिने बताए।
‘जसले ७० वर्षदेखि देश बिगारे, जसले आफ्नै नागरिकमाथि गोली चलाए, उनीहरूसँग एउटै मञ्चमा बसेर सुशासनको गफ सुन्नु भनेको हाम्रो स्तर खस्किनु हो,’ उनले भने, ‘जेन-जीले उनीहरूबाट माफी चाहेको छ, सुशासनको पाठ होइन।’
प्रकाशित: १४ माघ २०८२ २०:१३ बुधबार





