६ वैशाख २०८१ बिहीबार
अन्य

नेपालमै सुन्दर बन्ने सर्जरी

डा. जसवन शाक्य
कस्मेटिक सर्जन
स्वस्ति लेजर एण्ड स्किन केयर

सुन्दर देखिने चाहना सबैमा हुन्छ । तर, सबैको त्यो चाहना पूरा नहुन सक्छ । आजकाल भने सुन्दर हुन चाहनेका लागि नेपालमै विभिन्न प्रविधि भित्रिएका छन् ।

सुन्दर हुने विभिन्न उपायमध्ये एक हो ,‘कस्मेटिक सर्जरी’ । कस्मेटिक सर्जरी चिकित्सकीय विधि अपनाएर आफ्नो शरीरको भागै परिवर्तन गरेर  सुन्दर बन्न सकिन्छ । नेपालमै ‘कस्मेटिक सर्जरी’ विधिबाट आँखा चिम्सो तथा नमिलेको अवस्थामा अप्रेसन गरी ठूलो र खुलेको तथा मिलेको बनाउन सकिन्छ ।

कस्मेटिकका दुई विधि
‘कस्मेटिक सर्जरी’गरी अप्रेसन गरेर वा मेसिनले पेटको अनावश्यक बोसो निकाल्न सकिन्छ । मेसिनबाट बोसो निकाल्ने विधिमा एक किसिमको रडले पेटमा सानो प्वाल बनाएर बोसो निकाल्ने विधिलाई ‘लाइपोसक्सन’ विधि भनिन्छ । पेट ठूलो तथा अनावश्यक रुपमा धेरै बोसो भएको अवस्थामा अप्रेसन गरी बोसो निकालिन्छ भने थोरै बोसो भएर पेट नमिलेको देखिएको अवस्थामा पेट मिलेको सेपमा ल्याउन मेसिन प्रयोग गरी बोसो निकालिन्छ ।
अप्रेसन गरेर बोसो निकाल्ने विधिको तुलनामा मेसिनले तानेर बोसो निकालिने विधि सामान्य किसिमको अप्रेसन विधि हो । यो कम खर्चिलो हुन्छ । यो विधिमा घाउ पाक्नेजस्तो जोखिम कम हुन्छ ।

किन स्तन सर्जरी ?
कस्मेटिक सर्जरी गरी सानो स्तनलाई ठूलो बनाउन, झोलिएको स्तनलाई टाइट बनाउन, ठूलो आकारको भद्दा स्तन मिलेको साइजमा सानो बनाउन सकिन्छ । सानो स्तनलाई ठूलो आकारको बनाउन भने सिलिकनको प्रयोग गरिन्छ ।
विशेषगरी सुन्दरताका लागि स्तनको सर्जरी गरिन्छ । स्तन ठूलो हुँदा कपडै लगाउन असहज हुने, ढाड दुख्नेलगायतको समस्या भएको अवस्थामा स्तनको सर्जरी गरेर स्तनको साइज मिलाउन सकिन्छ ।

बढ्दो संख्या
मेरो १२ वर्षको अनुभवमा सुरुवाती दिनमा नेपालमा कस्मेटिक सर्जरी गर्नेको संख्या अत्यन्तै कम हुन्थ्यो । एक त व्यक्तिलाई सर्जरी गर्न मिल्छ वा मिल्दैन भन्ने जानकारी कम थियो । अर्कोतर्फ सर्जरी गरिसकेपछि त्यसको जटिलता हुन्छ कि भन्ने विषयमा सशंकित हुन्थे । सर्जरी गर्न कुन ठाउँमा जाने, को चिकित्सकलाई देखाउने भन्नेजस्ता विषयको जानकारी कम थियो । पछिल्लो समयमा भने व्यक्तिमा यस्तो द्विविधाको समस्या हट्दै गएको देखिन्छ ।

आजकाल भने नेपालमा सुन्दर बन्न कस्मेटिक सर्जनकहाँ पुग्ने व्यक्तिको संख्या बढिरहेको छ । नेपालमा बसोबास गर्ने व्यक्ति त नेपालमै सर्जरी गर्छन् नै । पछिल्लो समय विदेशमा बसोबास गर्ने नेपालीसमेत नेपालमा आएर सर्जरी गर्नेको संख्या बढ्दो छ ।

नेपालमै कम शुल्कमा गुणस्तरीय सेवा पाउने भएपछि विदेशमा बसोबास गर्ने नेपाली नेपालमा आएर सर्जरी गर्नेको संख्या बढ्दो छ । पारिवारिक सहयोग पाउने भएकाले पनि नेपालमा आएर सर्जरी गरेको देखिन्छ ।

प्रविधिको विकासले कुन सेवा, कस्तो सेवा, कहाँ पाइन्छ भन्ने विषयमा थाहा पाउन सकिन्छ । सामाजिक इन्टरनेट, सामाजिक सञ्जाल, युट्युबजस्ता माध्यमबाट नेपाली चिकित्सक र विदेशी चिकित्सकले गरेको सर्जरीको नतिजा व्यक्तिले तुलाना गरेको पाइन्छ । यसरी तुलना गर्दा विदेशमै जस्तो गुणस्तरीय सेवा नेपालमै कम शुल्कमा पाइने भएपछि विदेशमा बसोबास गर्ने नेपालीसमेत नेपालमा फर्किएर सर्जरीको सेवा लिने क्रम बढ्दो छ ।

विशेषगरी बेलायत, हङकङ, इजरायल, अमेरिका तथा युरोपियन मुलुकमा बसोबास गर्ने नेपालीले नेपालमा आएर कस्मेटिक सर्जरीको सेवा लिने क्रम बढ्दो छ । नेपालको तुलनामा यस्ता मुलुकमा करिब दस गुणा कस्मेटिक सर्जरीको शुल्क बढी छ । त्यसैले विदेशमा बसोबास गर्ने नेपालीले समेत नेपालमा यो सेवा लिने क्रम बढ्दो छ ।

पुरुषभन्दा महिला बढी
पुरुषको तुलनामा महिलाले बढी यो सेवा लिएको देखिन्छ । विशेषगरी महिलाले स्तन, आँखा, पेट तथा कान सुन्दर बनाउनका लागि सर्जरी गर्छन् । पुरुष भने नमिलेको आँखा मिलाउने, ठूलो स्तन घटाउनका लागि यो सर्जरीको सेवा लिने गरेको देखिन्छ ।

पुरुषको स्तन सामान्य अवस्थाभन्दा ठूलो हुनुलाई चिकित्सकीय भाषामा ‘गाइनेकोमास्टिया’ भनिन्छ । यस्तो स्तनको आकार घटाउन खाडी मुलुकमा काम गर्न पुगेका नेपाली पुरुष आउनेको संख्या कम छैन । पुरुषको हकमा विशेषगरी मेसिनले स्तनमा रहेको अनावश्यक बोसो तानिन्छ ।

सर्जरी गर्नेमध्ये ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष हुने गरेको देखिन्छ । विशेषगरी २५ देखि ५० वर्ष उमेर समूहका पुरुष–महिलाले कस्मेटिक सर्जरी गरेको देखिन्छ । एक त यो उमेर समूह सुन्दर देखिन लालायित हुने समूह हो । अर्कोतर्फ यो काम गर्ने उमेर समूह भएकाले पैसा पनि जोहो हुन्छ ।

दक्ष सर्जन
कस्मेटिक सर्जरीका लागि सर्जनमा दक्ष प्राविधिकको ज्ञान हुन आवश्यक छ । कस्मेटिक सर्जरी सुन्दरताका लागि गरिने भएकाले यो सर्जरी गराउने व्यक्तिको सेप बिग्रिएको अवस्थामा नकारात्मक असर पुग्न जान्छ । त्यसैले यो सर्जरी गर्ने सर्जन संवेदनशील हुन आवश्यक छ ।

जुनसुकै अप्रेसनमा पनि १०/१५ प्रतिशत जटिलता आउने सम्भावना हुन्छ । तर अनुभवी चिकित्सकले भने त्यस्ता जटिलता कम गर्ने उपाय अपनाउन सकिन्छ । मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने सर्जरी गरेकामध्ये करिब पाँच प्रतिशत व्यक्तिमा सामान्य जटिलता आएपछि पुनः अप्रेसन गर्नु परेको छ । दक्ष सर्जनले सर्जरी गर्दा एक त जटिलता आउने सम्भावना अत्यन्तै न्यून हुन्छ । आइहाले पनि समास्या समाधान गर्न सकिन्छ ।

त्यसैले व्यक्तिले कस्मेटिक सर्जरी गर्नुपूर्व जथाभावी सस्तो सेवाको लहैलहैमा नलागी दक्ष तथा अनुभवी सर्जनकहाँ पुग्नु पर्छ । सर्जरीसम्बन्धी राम्रो ज्ञान भएको चिकित्सक छनोट गर्नुपर्छ ।

दक्ष चिकित्सक हो वा हैन भनेर निक्र्योल गर्न सम्बन्धित चिकित्सकको अनुभव, उसले गरेको सर्जरीको अवस्था तथा सफलताजस्ता विषयमा जानकारी लिन सकिन्छ ।
 

 

प्रकाशित: ८ कार्तिक २०७६ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App