मेरो दुनियाँ चिन्न मन। निस्केँ जगयात्रामा। बिच बाटोमा एकजना छोरीमान्छे भेटिइन्। उनले सोधिन्, ‘तिमी को हौ र कहाँ जाँदै छौ?’
मलाई अचम्म लाग्यो। चिन्नु न जान्नु घचेटी माग्नु, पहिलो भेटमै २/२ ओटा प्रश्न?
मैले भने, जगयात्री म। भ्रमणमा निस्केको।’
आहा कति सजिलै ढाँट्न जानेका। रमाइलो लाग्यो तिम्रो तरीका।
हैन ढाँट्या छैन। म आफ्नै सुरले जगविहारमा निस्केको। मलाई यो संसारमा डुल्नेहरू को कस्ता भेटिन्छन्, जान्नु छ। मेरो हृदयेच्छा हो।
भोभो मलाई भ्रममा नपार। म गुमराहामा छैन। म दुनियाँ देखेकी छोरी हुँ चानचुने नठान!
मलाई तिमीसित बहस गर्नु छैन। म जगमा बसेकाहरू चिन्न चाहन्छु।
यति जानकारीका लागि यसरी भौंतारिनुपर्छु? यो त एकजना साथी अपनाए पुग्ने विषय हो।
हँ, तिमी यो के भन्दै छ्यौ? यत्रो विशाल पृथ्वीमा छरिएका अरबौं मान्छे चिन्न खोजेकोलाई एकजनामा सीमित गरिदिने? अहँ, यस्तो हुन सक्दैन।
तिमीलाई सही र सत्य कुरामा विश्वास लाग्दैन हो? आफ्नै कुरामा ढिपी गर्छौ? मेरो गोरुको बाह्रै टक्का? जिद्दी छाडिदेऊ मेरो सल्लाह मान!
ओहो, यो आफूले मेरै कुरा मान भनेर एकोहोरिएको के नि?
ल, भन मेरो कुरा सुन्ने कि नसुन्ने? बरु सुनेपछि तर्क गर न सुन्दै नसुनी केको ढिपी गर्छौ त?
लल भन न त के हो त्यस्तो जादुको छडी? सुनिहालम्।
यो भयो नि बात! ल, सुनाइहाल्छु।
सुनाउन केको लर्याङबर्याङ त फेरि?
ल, सुनसुन - बिहे भयो तिम्रो?
छैन, यसमा बिहेसँग के सम्बन्ध?
मूल कुरै बिहेको हो। ल, जाऊँ बिहे गर।
गर्दिनँ म बिहेसिहे! घर छाडेर हिँड्या मान्छे!
ल, बिहेमै त दुनियाँ देखिन्छ नि। सृष्टिको तारमा करेन्ट भर्नेदेखि छलछाम, मायाको पोयो, झुक्याउने, रिसाउने, फकाउने, दिलभित्र लुकाउने, बाहिरी दुनियाँलाई देखाउने, तिम्रो जीवनमा राज गर्ने आखिर बिहे त हो।
बिहे नगरी दुनियाँ देखिँदैन, चिनिँदैन र दुनियाँले तिमीलाई पनि चिन्दैन। दुनियाँको सग्लो खेलमैदान भनेकै बिहे हो। बिहेमा बजेको बाजा जीवनभर गुन्जिरहन्छ भन्ने थाहा छैन?
माथिल्लो तहको गफ दिने खतरा छोरी रहेछौ। साँच्चि कसकी छोरी हौ? भो, छाडिदेऊ के गर्छौ मेरा बाको नाम।
अझै पत्यार लागेन हो? ल,जाऊ अनुभवीको सरणमा पर छर्लङ्ग देखिन्छ दुनियाँ!
प्रकाशित: ५ वैशाख २०८२ ०९:०९ शुक्रबार





