ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा १७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
परीक्षा लेखेका १२ मध्ये आधा विद्यालय निलमा (परीक्षा लेखेका कुनै पनि विद्यार्थी पास नभएका) गएका छन्। सिदिङ्वा गाउँपालिकाका शिक्षा शाखा प्रमुख बद्रीप्रसाद सिटौलाका अनुसार कुल १ सय ५४ परीक्षार्थीमध्ये २६ जना मात्र उत्तीर्ण भएका छन्। अनुत्तीर्ण विद्यार्थीले कक्षा ८ को पढाइ दोहोर्याउनुपर्ने भएको छ।
कक्षा ८ सञ्चालित ६ माध्यमिक र ६ आधारभूत तहका विद्यालयमध्ये ६ वटा विद्यालयका कुनै पनि परीक्षार्थी उत्तीर्ण हुन सकेनन्। पालिकाले ग्रेडवृद्धि परीक्षा सञ्चालन नगर्ने भएको छ। आफूले प्राप्त गरेको नतिजामा चित्त नबुझे १ हजार रुपैयाँ शुल्क तिरेर पुनर्योगका लागि आवेदन दिन सकिने पालिकाले जनाएको छ।
यसअघि ताप्लेजुङको मैवाखोला र फक्ताङलुङ गाउँपालिकाले समेत कक्षा ८ को परीक्षामा अनुत्तीर्ण विद्यार्थीले कक्षा ८ को पढाइ दोहोर्याउनुपर्ने निर्णय गरिसकेको छ। तर मैवाखोला र फक्ताङलुङले भने दुई विषय अनुत्तीर्ण विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको मौका दिने निर्णय गरेका छन्।
प्रकाशित: ५ वैशाख २०८२ ०९:०७ शुक्रबार





