१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

आगो र खरानी

बालकृष्ण कट्टेल

खरानी भै सकेपछि
आगोलाई
थाहा हुन्छ कि हुँदैन होला
खरानी बन्नुअघि
ऊ पनि आगो थियो भनेर !

खरानीले
सोच्छ कि सोच्दैन होला !
जति नै ज्वाला बनेर दन्किए पनि
अन्तिममा
आगो पनि हुने त
खरानी नै हो भनेर !

तपाईं पनि
एकछिन
अँगेनाको डिलमा बसेर
हेर्नुस् न–
बल्दै गरेको आगोबाट
उड्दै गरेको
र, जल्दै गरेको दाउराबाट
झर्दै गरेको खरानी !

जलजला,
तिमीलाई पो था छ कि !
कुन खरानी
आफ्नो लाग्छ
उड्दै गएको
कि झर्दै गरेको ?

रोजेरै खरानी हुन पाए त
मान्छेले
कुनचाहिँ रोज्छ होला ?
आकाशतिर उडिरा’को?
कि, अँगेनामै डढिरा’को?

हजार कोसिस गर्दा पनि
केही हुन सकिनँ भन्नेलाई
मेरो एउटा सन्देश छ–
तपाईं चाहेर त
खरानी पनि हुन सक्नुहुन्न
अरू त अरू
आफै रोजेर त
माया पनि गर्न सक्नुहुन्न।

यहाँ त
आगो हुन पनि
दाउरा बन्नुपर्छ
माया गर्न पनि
इसारा पाउनुपर्छ।

प्रकाशित: २१ भाद्र २०७६ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App