७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

रूपलाल हात्ती

म रूपलाल हुँ।  मलाई घनघोर राष्ट्रिय निकुञ्जमा सबैले माया गरेर रूपु भन्छन्।  म अब जवान हुन थालेँ।  मैले एक दिन राष्ट्रिय निकुञ्जमा आएका केटाकेटीहरू देखेँ।  तिनीहरू आफ्ना आमाबुबासँग घुम्दै थिए।  रमाएका थिए। यस ठाउँमा अरू बेला पनि विभिन्न ठाउँबाट मानिस घुम्न आएर रमाउँथे।  मलाई पनि आफ्नो आमाबुबासँग बाहिर घुम्न मन लाग्यो।  मैले आमालाई घुम्न लैजान भनेँ।  ‘अहिले बेला भएको छैन’, आमाले भन्नुभयो।  मलाई राम्रो लागेन।

आमाले घुमाउन नलैजाने भएपछि म निकै रोएँ।  एक दिन त खाना पनि खाइनँ।  मैले जिद्दी गरेँ।  यति गर्दा पनि आमाले मान्नुभएन।  मैले बाहिर निस्कने उपाय खोजेँ।  निकुञ्जका हात्तीहरूलाई पीपलको घाँस र केराका थाम ल्याउनका लागि बाहिर लगेका थिए।  त्यही हुलमा मिसिएर लुक्दै  म पनि बाहिर निस्केँ।  गेटबाहिर निस्केपछि म अर्कोतिर भागेँ।
दिउँसो भइसकेको थियो।  मलाई भोक लाग्यो।  नजिकैको चौतारोमा पीपलको रुख रहेछ।  पीपलका पात खान खोज्दा मलाई चौतारोमा बसेका मान्छेहरूले लखेटे।  अलि पर पुगेर बाटोमा उभिएको थिएँ।  केटाकेटीले मलाई लखेटे।  म धेरै दौड्दा खुट्टा अल्झिएर लडेँ।  पछि बल्लतल्ल उठेँ।

अलिकति अगाडि बढेको थिएँ।  ठूलो ट्रकको  टिँ ... टिँट् आवाजले म तर्सें।  त्यसले मलाई झन्डै हानेन।  मलाई निकै भोक र तिर्खा लागेको थियो।  म  लखतरान परिसकेको थिएँ। मैले मेरी आमालाई सम्झेँ।  मलाई रुन मन लाग्यो।  निकुञ्ज फर्कने विचार गरेँ।  मैले बाटै बिर्सें।  अलमल परेका बेलामा म अर्को बाटो पुगेँ।  त्यहाँ त म जस्तै अरू हात्तीहरूको बथान रहेछ।

ती हात्तीहरूले घर भत्काउन थालेका थिए।  मलाई यस्तो देखेर डर लाग्यो।  म त्यहाँबाट पनि भागेँ।  म मेलामा पुगेँ।  गेटमा मान्छेले मलाई सोधे, ‘ए तिमी कता जान लागेको ?’ मैले उनीहरूको कुरा ध्यानै नदिई मजस्तै हात्ती, बाँदर, भालुले सर्कसमा खेल देखाएको ठाउँमा पुगेँ।

त्यहीँ ठाउँमा पनि मलाई कसैले वास्ता गरेन।  अब साँझ कता बस्ने होला भनेर म निकै आत्तिएँ।  मलाई के गरौँ, कसो गरौँ भनेर छटपटी भइरह्यो।  अचानक माउते दाइसँग भेट भयो।  उनले निकै अघिदेखि खोज्दैखोज्दै आएका रहेछन्।
निकुञ्जमा रूपु हात्ती हरायो भनेर हल्ला भएछ।  मेरो खोजी भएछ।  यो कुरा मैले माउते दाइबाट सुनेँ।  माउते दाइले मलाई निकुञ्ज पु¥याए।  मेरी आमासँग भेट भयो।

मैले आमालाई भनेँ,‘आमा अब म राम्ररी बुझ्ने नभई कहिल्यै बाहिर जान्नँ।  जानै परे तपाईंसँग मात्र घुम्न जान्छु है। ’ आमाले मलाई अँगालो हाल्नुभयो।  अर्को दिन मैले निकुञ्जका साथीलाई भेला पारेर मेरो यात्राको कथा सुनाउन थालेँ।

प्रकाशित: १८ श्रावण २०७६ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App