२८ असार २०७७ आइतबार
अन्य

मन छुने कथाहरू

रञ्जना निरौला

मान्छेको साँझ बिहान, दिउँसो, मान्छेको व्यवहार, मान्छेका हेराइ, भोगाइ र सोचाइको जिउँदोजाग्दो नमुना लिएर आएका छन्– कथाकार किशोर पहाडी। उनको नयाँ कृति ‘रोजा कथाहरू’ समाजको दर्पण बनेको छ।  

३१ वटा कथा संग्रहित कृतिका कथा पढ्दा आफ्नै कथा पढे जस्तो लाग्छ। सम्पत्तिको अहंमले आफैँलाई पिरोलेको निर्मलाको बाबुको व्यवहार र त्यही व्यवहारमा लोभिएर आउने मान्छेको स्वार्थी नमस्कारको एउटा कथा छ संग्रहमा। बालकको अबोध मनस्थितिमा अभिभावकले गरेको लापरवाहीको नराम्रो चित्र कोरिएको छ ‘अबोध’ कथामा। द्वन्द्वकालमा युद्धका बाछिटाले निर्दोषलाई दिएको सजाय, युद्धातङ्क मनस्थितिले बेहोरेको मानसिक व्यथा हो ‘आतंकको आँसु’। गरिबी र अभावमा सुख खोज्न सहर पसेका दम्पतीको दुःखदायी साँझबिहानमा बेहोरेको सहरको सुखलोभको प्रतिफल हो–‘खिसी’।  

त्यस्तै जीवनमा भोगिएका अनेकौ घटनाले विक्षप्त बेरोजगार युवाको अभावयुक्त जीवन र मरणको कथानक छ ‘जाँड र जाँडको किरा’मा। पैसावाल साहु र परिवारले ट्वाइलेटमा बेहार्नु परेको दरिद्र दैनिकीमा एउटा डोरीले दिएको भरोसा र कन्जुस्याइँको हदमा पाठकलाई खित्का छाडेर हाँस्न बाध्य पार्ने कथा छ ‘डोरी’मा। जिन्दगीलाई आदर्शले बचाउन नसकेपछि छरपष्ट भएका शमशेरको जिन्दगीले धर्मलाई समेत बेच्दै बढेको कथानकले पढुन्जेल ठेस लगाइरहन्छ पाठकलाई र लागिरहन्छ नाथे जिन्दगीले गर्ने दुःख कति हुन् कति ! 

किशोर पहाडीको ‘रोजा कथाहरू’ले पाठकलाई तानिरहन्छ। पढ्नेहरूलाई आफ्नै कथा पढिरहेको छु भन्ने अनुभूति गराउन सक्नु उनको सफलता हो।  

हत्या, हिंसा र ठगीमा लागेर आतंक मच्चाइरहेका युवाको आश्चर्यलाग्दो कथानक छ ‘धेरै जनकराज’ र ‘यौटा झोला’ कथामा। जीवन आफ्नै गतिमा बग्छ र कसैलाई पर्खन्न भन्ने सन्देश दिन्छ ‘निकटता’ कथाले। 

जनता, जनप्रतिनिधि र राजनैतिज्ञको स्तर निर्धारण र निकम्मापनको सटीक वर्णन छ ‘प्रतिनिधि र प्रतिनिधिहरू’मा। जे गर्न मन हुँदैन त्यही गर्नुपर्ने मानव नियति र जीन्दगीको रित र बाध्यतासँग हार्नुपर्ने यथार्थ छ ‘पराजित’ कथामा।

त्यसै गरी पुरुषप्रधान समाजले भोग्याको रुपमा हेर्ने नारीको यान्त्रिक जीवनको जीवन्त चित्रण पाइन्छ ‘यन्त्र’ कथामा। स्वार्थी मान्छेको निर्लज्जपनको कथा छ ‘वाल्मीकि’ मा। 

पहाडीका कथामा समाजको चित्रण छ। कथामा कतै पुरुष पात्रको विचलन त कतै  नारी पात्रको विचलन, कहिले युवा त कहिले शिक्षित वर्गको विचलन पाइन्छ। कथाहरू प्रथम पुरुष र तृतीय पुरुष शैलीमा लेखिएका छन्। मान्छे, मान्छेले गर्ने कुकर्म, मान्छेभित्रको निकृष्ट मनोवृत्ति, पाशविक र जंगली प्रवृत्तिको चित्रण उनले चित्रण गरेका छन्। सबै पात्र हामीले दिनदिनै भेटिरहने साथी, छिमेकी र आफन्तझैँ लाग्छन्। पढ्नेहरूले आफ्नै कथा पढिरहेको छु भन्ने अनुभूति गराउन सक्नु पहाडीको विशेषता हो। 

सामाजिक विषयवस्तुमा लेखिएका कथामा भावुकता नभई यथार्थलाई नै आधार बनाइएको छ। कतैकतै स्वैरकल्पनाको सहारा लिइएको छ। पहाडीले आफ्नै जस्ता लाग्ने कथाहरू दिएर हामीलाई झक्झकाएका छन्। पढ्दै जाँदा कथाको पात्र म आफैं हुँ कि भन्ने भ्रम पार्न सक्नु पहाडीको विशेषता हो।

सामान्य विषयलाई गहन कथानक रूप दिएर सन्देश दिनु परिपक्व कथाकारका विशेषता हुन्। यसमा भाषा सरल छ। कथाले तानिरहन्छन्। प्रत्येक कथा मन मस्तिष्कमा बसेरै छाडछन्। तर आजको समयमा पढ्दै गर्दा देश, काल परिस्थिति कति कथामा पुराना लाग्छन्। यस्तो हुनु स्वभाविक हो किनकि संग्रहमा तीसको दशकदेखिका कथा संग्रहित छन्।  

सामाजिक प्राणी मान्छेका स्वार्थ, पाखण्ड, व्यभिचार र समस्याका कथावस्तुले नेपाली गाउँ, सहर, समाजको परिवेससँगै युगीन चेतना बोकेका छन्। विषयवस्तु अनुसार सबै मानव र मानवेत्तर पात्र आ–आफ्ना चरित्रमा सफल देखिन्छन्। कथानकमा रोचकता छ, पाठक कतै अलमलिँदैनन।

रोजा कथासंग्रह पढदा लाग्छ पहाडी उत्कृष्ट आख्यानकार हुन्। यस पुस्तकको प्रकाशन शिखा बुक्सले गरेको हो।

प्रकाशित: २८ असार २०७६ ०९:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App