२८ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

अर्थात् लोग्नेमान्छे

‘भाले समयको सूचक हो या असमयको ?
दिग्भ्रभित छु म,
किन त भाले घडी उल्ट्याउँदै
दिनमा पनि बास्छ, साँझमा पनि
मध्यरातमा पनि बास्छ
बिहान मात्र होइन...’
‘भाले’ अर्थात् पुलिंग ! र, पुलिंग भन्नासाथ मन–मस्तिष्क सिधै आकर्षित हुन्छ– लोग्नेमान्छेतर्फ।

सुरूमै स्पष्ट गरूँ, लोग्नेमान्छेलाई प्रतीक बनाएर काव्यात्मक शैलीमा कवयित्री बाबा बस्नेतले लेखेका ‘भालेहरू’ शीर्षकको कवितामा प्रयुक्त उपर्युक्त पंक्तिहरूप्रति कुनै विमति राखेर यसलाई नारीकुण्ठाको अभिव्यक्ति मान्न खोजिएको होइन। न त कुनै सम्पादकीय दृष्टिकोणले त्यसलाई केलाउने अभिप्राय हो यो, मात्रै उक्त कविताको विषयवस्तु गहन र चाखलाग्दो पनि भएकोले यसलाई यहाँ सामान्य विश्लेषणको आँखाले हेर्न खोजिएको हो।
बाबा अझ अगाडि नै लेख्छिन्–
‘आदिमकालदेखि
सिउर फर्फराउँदै बसिरहेका
भालेहरू
बास्नुमा नै गर्व गर्छन्...।’

स्वभावतः भाले बासेपछि उज्यालो भएको बुझिन्छ। तर, कवयित्री त्यस्तो ‘बास्नु’लाई सिधै नकारात्मक अर्थमा पहिल्याउँछिन्–
‘भ्रममा छन् भालेहरू
आफू बासेर उज्यालो हुन्छ भन्छन्...’

बास्नुको अर्थ यहाँ सम्भवतः पुरुष–आधिपत्यताप्रतिको संकेत हो। सोचाइ कवयित्रीको–सभ्यताको निर्माणदेखि नै, अर्थात् समाजको व्यवस्था भएदेखि नै पुरुषजातिले नै समाजमा आफ्नो ‘बास्ने’ हैकम चलाइरहेको छ र त्यही हैकमले दुनियाँ चलाइरहेको छ। उनको मान्यता छ– चलाई ल्याइएको त्यो हैकम नै उसको पहिचान हो। पहिचान मात्रै होइन, उसको शक्ति पनि हो, जुन शक्तिलाई उसले आफ्नो प्रतिष्ठा सम्झिरहेछ।

यसरी, एकातिर पुरुषजातिले ‘बास्नु’लाई आफ्नो प्रतिष्ठा सम्झिरहेको छ भने अर्कोतिर भालेको स्वरूपमै विरोध बोल्छिन् कवयित्री–
‘भालेको रातो श्रीपेच
अहम्को प्रतीक हो–
निरंकुशताको प्रतिविम्ब...’

साँच्चै, यथार्थ यही नै हो ? कि सम्पूर्ण लोग्नेमान्छेप्रतिको आक्रोश मात्रै हो यो ? त्यसो नभएर कदाचित् यो आक्षेप नै हो भने नारीवादका पक्षधर लोग्नेमान्छेले ‘भालेको रातो श्रीपेच’ अर्थात् ‘पुरुष’ हुनुको परिचयलाई कुन रूपमा स्वीकार्छन् ? कवयित्रीले भनेजस्तै के दुनियाँका सम्पूर्ण पुरुषहरू अहम् बोकेरै बाँचिरहेका छन् त ?

जुनसुकै ढंगबाट बासे पनि भालेको ‘बास्नु’लाई समयको प्रतीक मान्ने परम्पराबाट कोही भाग्न सक्दैन र यस्तो स्थितिमा पुरुषले फेरि पनि लोग्नेमान्छे हुनुको अहम्तामा बाँचिरहने अवसर प्राप्त गरिहन्छ। र, यो अवसरले त्यही समयलाई दिशानिर्देश गर्छ, जुन समयको निर्धारण स्वयम् लोग्नेमान्छेले नै गर्छ।

जब कि गजब छ यहीँनिर जोडिने एउटा बुझ्नै नसकिने प्रावधान ! कहिले हो कहिलेदेखि ‘लोग्नेमान्छे’ मात्रै ‘मान्छे’मा परिभाषित छ दुनियाँमा। यहाँ मान्छे भन्नासाथ केवल ‘लोग्नेमान्छे’ मात्रै बुझिन्छ। त्यो ‘मान्छे’ भनिनु आइमाईमान्छेमा पटक्कै लागू हुँदैन। वास्तवमै लोग्नेमान्छे र आइमाईमान्छेलाई चिनाइने छुट्टाछुट्टै प्रावधान यहाँ खडा छ–
– त्यो ‘मान्छे’, अर्थात् सिधै लोग्नेमान्छे  
– त्यो ‘आइमाई’ (विशेषण थपेर मात्रै) मान्छे।

यो कस्तो विडम्बना !
मान्छे समुदायको यो विभेदपूर्ण प्रावधानमाथि कहिल्यै बहस भएको सुनिएन, देखिएन, पढिएन। खोई कसले प्रश्न उठायो यस्तो विषयमा ? चर्चा/परिचर्चा खोई कहाँ चलाइयो यस्तो रीति–परम्परामाथि ? अन्यथा, यही बुझ्नुप-यो– आँखा चिम्लेर नारीवादको नारा उराल्नेहरूलाई समेत ‘मान्छे’को यो परिभाषा स्वीकार्य छ। हो ? के यही सत्य हो ?

प्रसंग कविताबाट अलिक पर स-यो कि ! कवयित्री बाबाले आफ्नो कवितामा पूरै पुरुषजातिमाथि तीक्तता पोखेकी छिन्। रुष्ट छिन् उनी असाध्यै, जस्तो कि उनको एउटा आरोप–
– पुरुष एउटै स्वास्नीमान्छेमा समर्पित भएर रहन सक्दैन, ठाउँ–कुठाउँ जतासुकै ऊ नयाँ शिकार खोजिरहन्छ।
र, यहीँनिर नारीको कमजोरीलाई पनि जाहेर गर्छिन्–

– पुरुषले फैलाएको प्रेमको जालोमा अल्झिन्छिन् नारी। फलतः आत्मबल खस्किन गई उनले आफ्नै अस्तित्व गुमाउँछिन्। यसो भनेर सम्भवतः शारीरिक रूपले पुरुषभन्दा कमजोर नारीको विवशतालाई जाहेर गरेकी हुनुपर्छ बाबाले। तर... पे्रमको जालो ? ‘प्रेम’ शब्दमाथि यति साह्रो कडा शब्दप्रहार किन उनको ? प्रेम त भावनाको विषय हो, संवेदनाको विषय हो। त्यसैले प्रश्न उठाउन सकिन्छ– के प्रेम भनेको कुनै जाल हो र ? र, सँगसँगै जवाफ पनि सजिलो छ– प्रेम त स्वीकारोक्ति हो। प्रेम यदि कपटविहीन स्वच्छ छ भने त्यसले कुनै जाल रच्न सक्दैन। कदापि सक्दैन। प्रेम सहजताको विषय हो। जीवन बाँच्न कठिन बनाउने विषय प्रेम हुनै सक्दैन। यसरी हेर्दा, कवयित्रीको आक्रोशले अलिक सही ठाउँ नपहिल्याएको हो कि झैँ लाग्छ। यस अर्थमा यसलाई फेरि पुरुषकलमको पूर्वाग्रह ठान्न सकिने सम्भावना पनि छँदै छ। केवल फेरि पनि यत्ति भन्न सकिन्छ– कवितामाथिको यो एउटा सामान्य विश्लेषण मात्रै हो।
कविताको अन्तमा एउटा अत्यन्तै प्रखर प्रश्न देखिन्छ–
‘बेला न कुबेला
घरका आँगनबाट धुरी–धुरी चहारी
समयको विरुद्ध
बेसोमत बास्ने यी अराजक भालेहरूलाई
अब,
समयको प्रतीक मान्ने कि नमान्ने ?...’

सामान्यतः हेर्दा कविताका दृष्टिकोणलाई बुझ्न अलिक अप्ठेरो पर्छ। के भाले बासेकैप्रति गुनासो हो बाबाको ? कवितामा गरिएको प्रश्नप्रति प्रतिप्रश्न खडा हुन सक्छ कवयित्रीको सामुन्ने– ‘भालेले बास्नै हुँदैन भन्ने आग्रह हो ? अथवा बास्नचाहिँ पाउने हो। तर, जथाभावी जतिसुकै बेला बास्न नपाउने भन्न खोजिएको हो ?’

यद्यपि कविताले दिन खोजेको सन्देश प्रष्ट छ– आज देश अराजकता र विसंगतिको भूमरीमा रुमल्लिरहेको छ। निर्मला पन्तहरू दिनदहाडै लुटिएका छन् र मारिएका पनि छन्। यसका पछाडि पुरुषहात छ भन्ने तथ्य घामजत्तिकै छर्लङ्ग छ। मूलतः नारीअस्मितामाथि बोलिएको धावाको हुबहु तस्बिर हो यो कविता। तर यो एउटा कविताको कुरो भयो। हुँदाहुदै पनि यथार्थ कविताजस्तै नै छ। तैपनि यो कटुयथार्थलाई त्यतिबेलासम्म मानी राख्नै पर्छ, जबसम्म हाम्रोजस्तो पुरुषप्रधान समाजमा नारी जातिलाई माइनस गरेर समाज चलिरहन्छ। यथार्थ यही हो– यथास्थितिको सामाजिक संरचनामा जतिबेला र जुनसुकै ढंगबाट बासे पनि भालेको ‘बास्नु’लाई समयको प्रतीक मान्ने परम्पराबाट कोही भाग्न सक्दैन र यस्तो स्थितिमा पुरुषले फेरि पनि लोग्नेमान्छे हुनुको अहम्तामा बाँचिरहने अवसर प्राप्त गरिहन्छ। र, यो अवसरले त्यही समयलाई दिशानिर्देश गर्छ, जुन समयको निर्धारण स्वयम् लोग्नेमान्छेले नै गर्छ। त्यो बेलामा चाहे विज्ञानले जस्तोसुकै स्वचालित घडीको आविष्कार गरोस् !
अब पाठकवृन्द कवयित्री बाबा बस्नेतको प्रश्नको उत्तर तपाईं नै दिनोस्–
‘भाले बासेर उन्यालो भएको हो कि
उज्यालो भएर भाले बासेको हो ?’

प्रकाशित: २८ असार २०७६ ०३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App