९ असार २०७८ बुधबार
अन्य

रणनीतिक सोचका खम्बाहरु

रणनीतिक सोच भनेको के? यस प्रकारको सोच राखे के हुन्छ? नराखे के हुन सक्छ? कस्तो परिणाम आइपर्न सक्छ? यसको खम्बाहरु के–के हुन्? यी यावत् विषयमा प्रवेश गर्नुअगाडि केही प्रसंगहरुको छोटो वर्णन गरौँ। पहिलो प्रसंग, तीन वटा विश्व चर्चित ब्राण्डहरु जेरक्स, एप्पल र माइक्रोसफ्ट बारेमा। एप्पल र माइक्रोसफ्ट अहिलेको समयमा पर्सनल कम्प्युटर उद्योगको बादशाह हुन्।  उनीहरुको हैसियतमा उभिन सक्ने अरु अन्तर्राष्ट्रिय कम्पनी सायदै होलान्। विश्वमा उनीहरुकै हालिमुहाली चल्छ। कुनैबेला जेरक्स कम्पनीलाई यही स्थानमा आउन सक्ने अवसर थियो। उनीहरु विश्व परिवर्तनका संवाहक बन्न सक्थे तर उनीहरुले त्यो अवसरलाई चिन्न सकेनन्।

सन् १९७३ मा जेरक्स कम्पनीले आफ्नो रिसर्च सेन्टर ‘पालो अल्टो रिसर्च सेन्टर (पार्क)’ मा दैनन्दिनीमा प्रयोग गर्न मिल्ने कम्प्युटर डिजाइन गरेको थियो। सोही कम्प्युटरको नाम थियो ‘जेरक्स अल्टो।’ भविष्यमा पेपरलेस अफिसको अवधारणा सफल बनाउने प्रयासस्वरुप यसलाई रचना गरिएको थियो। यो कम्प्युटरमा माउस, विन्डोजलगायत फाइल म्यानेजर आदि थिए। कपी, पेस्ट र डिलिट गर्ने सुविधा थियो। यतिमात्र होइन, त्यसमा आइकन, मेनु, ग्राफिक्स र सयौँ कम्प्युटरलाई जोड्ने लोकल एरिया नेटवर्क पनि उपलब्ध थियो। यो खालको विशेषताहरू अर्थात् ‘ग्राफिकल युजर इन्टरफेस’ प्रविधिले त्यो कम्प्युटरलाई समयभन्दा अगाडिको उत्पादन बनाएको थियो।

यद्यपि जेरक्स कम्पनीको कार्यकारी प्रमुखले यो क्रान्तिकारी उत्पादनप्रति चासो देखाएनन्। आफूसँग रहेको प्रविधिको शक्ति अनुभूत गर्न सकेनन्। कम्प्युटरमा भविष्य देख्नै सकेनन्। यसर्थ हजारौं सङ्ख्यामा ‘जेरक्स अल्टो’ उत्पादन गरिएको भए पनि बजारमा बिक्री वितरण गरिएन। जेरक्सकै अफिसहरु र केही विश्वविद्यालयमा मात्र प्रयोग गरियो। खासमा यसको लागत बढी नै भएकाले कम्पनी सञ्चालक समिति खर्च कटौती गर्न चाहथ्यो। यसका लागि एप्पल कम्पनीका स्टिभ जब्स सहयोगी साबित हुन सक्थे। सन् १९७९ को अन्त्यतिर उनलाई जेरक्स रिसर्च सेन्टरमा उपस्थित हुन विशेष अनुरोध गरियो। त्यो भेट एउटा सर्तमा सम्भव भएको थियो। जेरक्स कम्पनीले आफ्नो आन्तरिक सूचना स्टिभ र उनको टिमलाई टेक्निकल डेमोमार्फत् बताउने र यसका लागि एप्पल कम्पनीको केही सेयर जेरक्स कम्पनीलाई हस्तान्तरण गर्ने। जेरक्स रिसर्च सेन्टरका वैज्ञानिक ल्यारी टेसलरले एक घण्टाको डेमो दिए। डेमो देखेपछि स्टिभ निकै उत्साहित हुँदै भने, ‘ओहो, तपाईंहरु सुन खानीमा हुनुहुँदोरहेछ। यो प्रविधिको सहायताले किन केही गर्नुहुन्न? तपाईंहरु संसार परिवर्तन गर्न सक्नुहुन्छ।’

डेमोमा अनुसन्धानको एक प्रतिशत हिस्सा मात्र प्रस्तुत गरिएको थियो। यही सीमित जानकारी नै स्टिभलाई भविष्यमा कम्प्युटर कस्तो हुने भन्ने बुझ्न पर्याप्त रह्यो जुन कुरा जेरक्स कम्पनीको माथिल्लो तहमा रहेका व्यवस्थापकले वर्षौँसम्म पनि बुझ्न सकेका थिएनन्। डेमोपश्चात् दुई कम्पनीबीच सम्झौता भने हुन सकेन। तथापि एप्पल कम्पनीका लागि यो डेमो फलप्रद रह्यो। डेमोमा देखाइएको प्रविधिलाई थप परिस्कृत गरेर लिसा र म्याकिन्टोस कम्प्युटरमा प्रयोग गरियो। जसको प्रभाव माइक्रोसफ्ट कम्पनीले उत्पादन गरेको ‘ग्राफिकल युजर इन्टरफेस’ सहितको कमडेक्स कम्प्युटर उत्पादनमा पनि देखियो। स्टिभ जब्स र बिल गेट्स दुवैले जेरक्सको आइडिया प्रयोग गरेरै कम्प्युटरको साम्राज्य खडा गर्न सफल भए। अफसोच जेरक्सले यसको क्रेडिट कहीँ कतै पाएन। स्टिभ जब्सले एउटा टेलिभिजन अन्तरवार्तामा भनेका छन्, ‘जेरक्सले आफ्ना वैज्ञानिकहरुले आविष्कार गरेको प्रविधि बुझ्न सकेको भए सम्पूर्ण कम्प्युटर उद्योग उनीहरुको हुन सक्थ्यो।’

दोस्रो प्रसंग, टेनिस खेलाडी रोजर फेडररका बारेमा। एउटा व्यावसायिक टेनिस खेलाडीले प्रत्येक सिजनमा ६० देखि १०० वटा खेल खेल्छन्। यस्तोमा मस्तिष्क र शरीरलाई अधिकतम आराम चाहिने कुरामा फेडेरर विश्वास राख्छन्। यही सिद्धान्त अनुसरण गर्दै उनले सन् २०१६ को दोस्रो आधा (६ महिना लामो) विश्राम लिएका थिए। यसको प्रतिफल उनले सन् २०१७ मा अस्ट्रेलियन ओपन र बिम्बल्डन प्रतियोगिता जितेर समग्रमा १९ वटा ग्रान्ड स्लाम जित्ने एकल टेनिस खेलाडी बन्न सफल भए।

यी दुई प्रसंगमा व्यवसाय र प्रोफेसनल खेलमा रणनीतिक सोचको कति ठूलो भूमिका रहन्छ भन्ने प्रस्ट हुन्छ। जेरक्ससँग रणनीतिक सोच थिएन, त्यसैले विश्वलाई नेतृत्व दिने अवसरबाट विमुख हुनुप¥यो। एप्पल र माइक्रोसफ्टसँग रणनीतिक सोच थियो, त्यसैले विश्वको प्रतिष्ठित ब्रान्ड बन्न पुगे। रोजर फेडररले पनि सही समयमा सही रणनीतिक सोच राखेर कदम चाले। त्यसैले उनी महान् टेनिस खेलाडी बन्न सफल भए। व्यवसाय र खेल मात्र होइन, सेना र कुनै पनि व्यक्तिको जीवनमा पनि रणनीतिक सोचको अधिक महŒव रहन्छ। जुन सेना प्रमुखसँग रणनीति हुँदैन, उसले युद्ध हार्ने निश्चित छ। उदाहरण, प्राचीन चीनको सेना वा हजार दुई हजार वर्ष अगाडिको रोमन सभ्यताको सेना नै लिऊँ। तिनले युद्धमा सबैभन्दा पहिले दुश्मनको सेना प्रमुखलाई मार्ने रणनीति बुनेका हुन्थे।  कारण स्पष्ट छ।

यो सानो रणनीतिक कदम थिएन। यसले युद्ध हार्ने वा जित्ने निर्धारण गथ्र्यो। त्यतिबेलाको सैन्य इतिहासले त्यही कुराको सङ्केत गर्छ। जुन पल्टनको सेनापति सबैभन्दा पहिले मारिन्थे, उनीहरुले नै युद्ध हार्नु पथ्र्यो। त्यसैगरी जो व्यक्ति रणनीतिक सोच राख्न माहिर छ, उसैले जीवनमा ठूलो सफलता प्राप्त गर्छ। जो व्यक्तिसँग जीवन जिउने कुनै रणनीति छैन, उसलाई असफल हुनबाट बचाउन कसैले सक्दैन।

रणनीतिक सोचको परिभाषा
व्यवस्थापन विषयका प्रोफेसर एवं लेखक स्ट्यानली रिड्जलीले रणनीतिक सोचका बारेमा निम्नानुसार व्याख्या गर्ने गरेका छन्ः

‘रणनीतिक सोच भन्नाले तर्कसंगत र गम्भीर रुपमा भविष्य बारेमा मन्थन गर्नु हो। यसको अर्थ, तपाईं अबको पाँच वर्ष, पाँच महिना वा पाँच दिनमा कहाँ पुग्न वा कुन हैसियतमा रहन चाहनुहुन्छ भन्ने हो। र, त्यो हैसियत निर्माण गर्न तपाईं अहिले के गर्दै हुनुहुन्छ त्यसमा भर पर्छ।’

‘रणनीतिक सोच भन्नाले आन्तरिक र बाह्य वातावरणको सूक्ष्म विश्लेषण गर्दै निर्धारित लक्ष्य प्राप्तिका लागि प्रभावकारी योजना बुन्नु हो।’

‘रणनीतिक सोच भन्नाले परिवर्तनशील परिस्थितिसँग जुझ्ने तरिका पनि हो। परिस्थिति जस्तो होस्, अनुकूल होस् या प्रतिकूल– त्यही परिस्थितिअनुसार अपेक्षित परिणाम प्राप्तिका लागि अगाडि बढ्नु नै रणनीतिक सोच राख्नु हो।’

सामान्य रणनीतिक त्रुटि
अधिकांश मानिस रणनीतिक सोचअनुसार चल्न सक्दैनन्। जसकारण उनीहरुले सधैँ समस्याग्रस्त जीवन गुजारा गरिरहेका हुन्छन्। उनीहरुमा संवाद कौशल हुँदैन। सहकर्मीसँग राम्रो सम्बन्ध राख्न सक्दैनन्। एउटै कुरामा झगडा गरिरहेका हुन्छन्। एउटै प्रवृत्तिको जटिलता उनीहरुको प्रेम सम्बन्धमा देख्न सकिन्छ। आफ्नो कमजोरी हटाउन सकेका हुँदैनन्। एउटै तौरतरिकाअनुसार काम गरिरहेका हुन्छन्। उनीहरुको जीवनमा आपतकालीन अवस्था सिर्जना भइनैरहन्छ। के सही र के गलत, केही छुट्याउन सक्ने अवस्थामा हुँदैनन्। अन्ततः अनगिन्ती रणनीतिक त्रुटिहरू दोहो¥याउन पुग्छन्।

प्रायः मानिसले गर्ने रणनीतिक त्रुटिहरू यस प्रकारका हुन्छन्ः

  • सूक्ष्म र समग्रमा सोच्न नसक्नु
  • तत्कालको फाइदाका लागि लालायित हुनु
  • व्यक्तित्व विकाससम्बन्धी सून्य ज्ञान हुनु
  • स–साना उपलब्धिका लागि मरिहत्ते गर्नु
  • जीवन व्यवस्थापन, स्रोत जुटाउने कार्यमा समय र ऊर्जा लगानी नगर्नु
  • समस्याको जरोसम्म पुग्ने कोसिस नगर्नु
  • अनावश्यक प्रतिक्रिया दिनु
  • गतिरोध, जालझेलबारे अनभिज्ञ रहनु
  • उमेर नपुग्दै बिहे गर्नु, बच्चा जन्माउनु
  • सफलता, पैसा र सम्मानको भोको हुनु
  • कुनै पनि क्षेत्रमा विज्ञता हासिल नगर्नु
  • विषाक्त सम्बन्धलाई निरन्तरता दिनु
  • पुस्तक, अनलाइन कोर्स र सेमिनारमा लगानी गर्न कञ्जुस्याइँ गर्नु
  • प्रेम र सेक्सलाई सर्वश्व ठान्नु
  • धर्मलाई बढी नै महत्त्व दिनु
  • जागिरको भर पर्नु, उद्यमी बन्न हिम्मत नगर्नु आदि।
  • रणनीतिक खम्बाहरु

हजारौं वर्ष पुरानो सैन्य अभियान, दुई–तीन सय वर्ष पुरानो व्यवसायको इतिहास र सय वर्ष पुरानो खेल इतिहास अध्ययनबाट केही महत्त्वपूर्ण सिद्धान्त तथा रणनीतिक खम्बाहरु उद्धरण गर्न सकिन्छ। त्यही सिद्धान्त र रणनीतिक खम्बाहरु व्यक्तिगत जीवनमा पनि अनुसरण गर्न सकिन्छ। तीनै सिद्धान्त र रणनीतिक खम्बाहरुका बारेमा संक्षेपमा चर्चा गरौँ।

रणनीतिक उद्देश्य
एउटा सम्मोहक उद्देश्यबिना कुनै गतिविधि गर्ने जाँगर चल्दैन। उत्साहित हुन सकिँदैन। आफूले लिएको उद्देश्यमा प्रस्ट हुन सक्नुपर्छ। प्रायः मानिसले रणनीतिक उद्देश्य राखेकै हुँदैनन्। अबको १० वर्ष, २० वर्ष अथवा ३० वर्षभित्र के बन्ने? कहाँ पुग्ने? कस्तो योगदान गर्ने भन्ने कुनै अत्तोपत्तो हुँदैन। उद्देश्य कस्तो हुनुपर्छ, त्यो एक रणनीतिक सेना प्रमुखबाट सिकौँ। सेना प्रमुख हचुवाको भरमा लडाईंका लागि तयार हुँदैन। यो लडाईंले मुख्य युद्धमा जीत दर्ता गर्न सहयोग गर्छ वा गर्दैन भन्नेमा मस्तिष्क खियाउँछ। सहयोग गर्ने भए लडाईंमा भाग लिन्छ, नत्र लिँदैन। तपाईं पनि सेना प्रमुख जसरी नै स्वचालित हुनोस्। तपाईंको प्रमुख उद्देश्य के हो? के चाहनुहुन्छ? त्यसमा स्पष्ट भएपछि कार्य गर्न सजिलो हुन्छ। हरेक कार्य यस्तो होस् ताकि तपाईंलाई उद्देश्य नजिक लैजाओस्।

रणनीतिक विश्लेषण
रणनीतिक विश्लेषण बिना कार्यमा संलग्न हुनु भनेको बालुवामा पानी हाले सरह हो। त्यसबाट अपेक्षित परिणामको आशा नराख्नुहोस्। कुनै पनि कार्यमा प्रतिबद्धता जनाउनु पहिले विश्लेषण गर्नोस्। मेरा शक्ति के–के हुन्? यसलाई कुन कार्यमा लगानी गर्नु मनासिव रहन्छ? मेरा कमजोरी के–के हुन्? यसलाई कसरी हटाउन सक्छु? कोबाट सुझाव लिन सक्छु? मलाई के–कस्ता अवसर उपलब्ध छन्? यसको कसरी सदुपयोग गर्न सक्छु? कार्य गर्दै जाने क्रममा के–कस्ता अवरोध खडा हुन सक्छन्? त्यसमाथि कसरी विजयी हुन सक्छु? यी यावत् प्रश्नहरूबारे मन्थन गर्नोस्। जब शक्ति, कमजोरी, अवसर र अवरोधको मिहिन विश्लेषण गरिन्छ, कार्यसम्पादनमा सहज हुन्छ। छनोट गरिएका क्षेत्रमा उचाइ लिन कुनै कठिनाइ झेल्नु पर्दैन।

रणनीतिक तयारी
तयारी गर्दैमा अपेक्षित परिणाम पाउने ग्यारेन्टी हुँदैन। अपेक्षित परिणामको लागि रणनीतिक तयारी हुनु जरुरी छ। रणनीतिक तयारीमा निरन्तर तालिम, कडा मिहिनेत, अनुशासन, सशक्त योजना र अद्वितीय क्षमताको सुनिश्चितता गरिन्छ। एउटा सादृश्य परिकल्पना गरौँ। मानौँ, एउटा सेना प्रमुख आफ्नो बटालियनसहित युद्ध मैदानमा छ। उसले युद्धको लागि कस्तो तयारी ग-यो? त्यही आधारमा हार र जीतको फैसला हुन्छ। जीतका लागि रणनीतिक तयारी पूरा गरेको हुनुपर्छ। यसको अर्थ हो, सैनिकलाई पर्याप्त हातहतियार, गोला बारुद, गाडी, खाना, पानी, लत्ताकपडा, ब्याकअप योजना, बस्न सुरक्षित ठाउँ सुनिश्चित गरिएको छ या छैन भन्ने बुझिन्छ। हरेक सैनिकको फरक–फरक क्षमता र कमजोरी हुन्छ। यसैअनुरुप सेना प्रमुखले सैनिक परिचालन गर्न सक्षम हुनुपर्छ अनि मात्र युद्ध जितिन्छ। यो सिद्धान्त व्यक्तिगत जीवनमा कसरी उपयोग गर्ने? यसका लागि आफ्नो अद्वितीय क्षमता पहिचान गर्नोस्। अनि आफ्नो क्षमतासँग मिलान हुने कार्यमा सक्रिय रहनुहोस्। प्रोफेसर स्ट्यानली भन्छन्, ‘भविष्यमा तपाईं के बन्नुहुन्छ, त्यो भविष्यवाणी गर्न सकिँदैन। त्यसैले आफूलाई आन्तरिक रुपमा विकास गर्दै जानोस्। यसले तपाईंलाई बाहिरी परिस्थिति सामना गर्न मद्दत गर्नेछ।’

शक्ति केन्द्रीकरण
जहाँतहीँ शक्ति लगाएर सफलता प्राप्त गर्न खोज्नु मुर्खता हो। प्रोफेसर स्ट्यानली भन्छन्, ‘कुनै एउटा निश्चित विन्दुमा शक्ति लगाउनुहोस्। सीमित स्रोत र साधन भए पनि उपयुक्त विन्दुमा शक्ति केन्द्रीकरण गरियो भने सफलता सुनिश्चित गर्न सकिन्छ। यो युद्ध, बिजनेसमा मात्र नभएर करिअर निर्माणमा पनि उत्तिकै लागू गर्न सकिन्छ।’ एक सेना प्रमुखले दुश्मनको कमजोर पक्ष पहिल्याएर त्यहीँ आफ्नो सम्पूर्ण शक्ति लगायो भने युद्ध सजिलै जित्न सक्छ। यही सिद्धान्त व्यक्तित्व विकासमा कसरी प्रयोग गर्ने? सबैको सीमित स्रोत हुन्छ। हरदम ऊर्जाशील हुन सकिँदैन। त्यसमाथि समय पनि सीमित ! त्यसैले आफ्नो समय र ऊर्जा जस्तो पायो त्यस्तै काममा खर्च नगर्नोस्। अनावश्यक रुपमा समय र ऊर्जा खेर फ्याँक्ने काम बन्द गर्नोस्। प्रतिस्पर्धी भन्दा पनि आफू बलियो रहेको क्षेत्रमा शक्ति केन्द्रीकरण गर्नोस्।

विस्तृत निष्पादन
प्रमुख उद्देश्य निर्धारण, विश्लेषण, आवश्यक तयारी, कहाँ बढी केन्द्रित हुने त्यो पनि निक्र्याेल भएपछिको कदम भनेको विस्तृत निष्पादन गर्नु हो। जति नै ठूलो लक्ष्य तय गरे पनि, जति नै लामो विश्लेषण गरिए पनि, जति नै उत्कृष्ट तयारी गरे पनि र जति नै धेरै शक्ति लगाए पनि उचित निष्पादन हुन सक्दैन भने परिणाम आउँदैन। महान् योजना छ तर निष्पादन सही हुन सकेन भने त्यो विनाशकारी नै हुन्छ। सही निष्पादन गरियो तर योजना हल्काफुल्का खाले छ भने पनि त्यसबाट उल्लेख्य परिणाम प्राप्त हुँदैन। सही योजनासँगै सही निष्पादन हुन सके मात्र लोभलाग्दो परिणाम प्राप्त गर्न सकिन्छ।

अनुकूलनीयता
परिस्थिति परिवर्तन भइरहन्छ। सधैँ अनुकूल अवस्था रहँदैन। प्रतिकूल अवस्था सिर्जना नहोला भन्न सकिँदैन। सोहीअनुसार आफूलाई तयार राख्नुपर्ने हुन्छ। एउटा सेना प्रमुखले भोलिको दिनबारे आँकलन गर्न सकेन भने के होला? आज युद्ध मैदान जस्तो देखिन्छ, त्यो भोलि त्यस्तै नहुन सक्छ। उस्तै परे झरी पर्न सक्ला। सेनाले आत्मविश्वास गुमाउन सक्लान्। खाना र पानी सकिन सक्छ।  त्यस्तो परिस्थिति आए सेना प्रमुखले त्यहीअनुरुप निर्देशन दिन सक्नुपर्छ। भन्न खोजेको, परिस्थितिअनुसार चल्न सक्नुपर्छ। अन्यथा युद्धमा हार खानुपर्छ। यही कुरा व्यवसायमा पनि लागू हुन्छ। उदाहरणका लागि पेपाल कम्पनी। यो कम्पनीले मोबाइल पेमेन्ट सिस्टमलाई आफ्नो मूल बिजनेस आइडिया बनाएको थियो। यो आइडियाले अपेक्षित परिणाम दिएन। त्यसपछि कम्पनीले इमेलमार्फत् पैसा पेमेन्ट गर्न मिल्ने आइडिया लिएर आयो। यही आइडियाले पेपल अर्बाैं डलरको कम्पनी बन्न सफल भयो। त्यसैले अनुकूलन क्षमताको अभिवृद्धि गर्नोस्। लचकता कायम गर्नोस्। एउटा आइडियाले काम नगरे अर्को आइडियामा काम थालनी गर्नोस्।

सिद्धान्त अध्ययन
प्रोफेसर स्ट्यानली भन्छन्, ‘परिस्थिति जस्तोसुकै अस्थिर होस्, त्यहाँ सिद्धान्त लुकेको हुन्छ। त्यो सिद्धान्तमा डुब्न सके अन्तर्दृष्टि बुद्धि स्पष्ट हुनुको साथै परिस्थिति बुझ्न सहज हुन्छ।’

कुनै पनि कुरामा गति समाउनु पहिले त्यस बारेमा उपलब्ध सिद्धान्त अध्ययन गर्नु निकै आवश्यक छ। मानौँ, तपाईं साधारण व्यक्ति हुनुहुन्छ। तपाईं जीवनमा छलाङ मार्न तत्पर पनि हुनुहुन्छ। यसका लागि तपाईंले जीवन दर्शन, विज्ञान अध्ययन गर्नोस्। मस्तिष्कले कसरी काम गर्छ? महिला र पुरुष मनोविज्ञान कस्तो हुन्छ? सम्बन्ध कसरी चलायमान बनाउन सकिन्छ? जीवनको रहस्य के हो जस्ता विषयमा तल्लिन भएर अध्ययन गर्नोस्। एउटा मात्र सिद्धान्तमा भर पर्ने गल्ती नगर्नोस्। बढीभन्दा बढी सिद्धान्तलाई जोडेर हेर्नोस्। समग्र बुझाइमा जोड दिनुहोस्। कसरी प्रयोगमा ल्याउन सकिन्छ, त्यसमा सचेत रहनुहोस्। समय छैन वा रुचि छैन भन्ने छूट तपाईंलाई हुनै सक्दैन। बहानाबाजी गरेर जीवनमा बाजी मार्न सकिँदैन।

प्रकाशित: १४ असार २०७६ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App