२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
अन्य

सन्तान छान्ने अवसर

विश्वमा पहिलो पटक आइभीएफ प्रविधिबाट जन्मिएको शिशु प्रदर्शन गर्दै बेलायती चिकित्सक समूह

तपाईं सन्तान जन्माउन व्यग्र हुनुहुन्छ। तपाईंको वीर्य पहिल्यै चिकित्सककहाँ पुगिसकेको छ। उसले सन्तान जन्माउनका लागि वीर्य स्वस्थ रहेको जानकारी दिइसकेको छ। अब तपाईं चिकित्सककहाँ पुग्नु हुन्छ। उसले तपाईंलाई फारम भर्न दिन्छ। फारममा तपाईंले जन्माउन चाहेको सन्तानको अनुहार कस्तो हुने, उसका आँखाको रङ के हुने, उसको बुद्धिमता कुन तहको हुने लगायतका कुरा भर्नुपर्ने हुन्छ। जति–जति भावि सन्तानको गुणहरु थप्दै जानुहुन्छ, त्यति–त्यति तपाईंको गोजी रित्तिदै जान्छ।

पख्नुस्, मैले मेरो सपनाको कुरा सुनाइरहेको छैन। निकट भविष्यमा जन्मने सन्तानको अवस्था बताइरहेको हुँ। साइन्स फिक्सन फिल्ममा देखाइने जस्तो उडन्ते कथा यो होइन। यो त वास्तविकतामा परिणत हुँदै जान थालेको विज्ञानको प्रगति कथा हो।

सन् २०१५ मा जिन सम्पादनको नयाँ प्रविधि (क्रिस्पर)का बारेमा विज्ञानसम्बन्धी जर्नल ‘साइन्स’ले लामो आलेख छाप्यो। यो आलेखले वैज्ञानिक जगतमा राम्रै चर्चा बटुल्यो मात्र होइन, यसको केही समयभित्रै नयाँ–नयाँ कुरा पनि प्रकाशमा आए। खासगरी सन् २०१८ को नोभेम्बरमा चिनियाँ वैज्ञानिक हि जियानकुईले दुई जना जिन सम्पादन गरिएका बालिकाहरु जन्मिएको घोषणा गरेपछि त यसले नयाँ तरङ्ग नै ल्याइदिएको थियो। तरङ्ग मात्र होइन, यसले ल्याउने खराबी र असलपनाका बारेमा बहस गर्न वैज्ञानिकहरु दुई ध्रुवमा नै बाँडिए।

खासमा यी जुम्ल्याहा बालिकाहरु एचआइभी एड्सग्रस्त अभिभावकका सन्तान हुन्। उनीहरुको जिन सम्पादन गरेर भविष्यमा एचआइभी–एड्सबाट पीडित हुन नपर्ने बनाइएको छ। त्यसो त, अझै पनि यी जुम्ल्याहाहरु भविष्यमा एड्सपीडित हुन्छन् कि हुँदैनन् भनेर परख गर्न भने बाँकी नै छ। उनीहरु भविष्यमा एड्सपीडित भएनन् र स्वाभाविक मृत्यु वरण गरे भने क्रिस्पर नामक जिन सम्पादन गर्ने यो नयाँ प्रविधिको माग अझ बढ्नेछ। यसले मानव जीवनको भविष्यमा जस्तासुकै रोग लाग्ने भए पनि तिनलाई पहिल्यै पहिचान गरी रोगी बनाउने जिन पहिचान गरी त्यसको ठाउँमा स्वस्थ डिएनएका मोलिक्युल (अणु) आलेर शुद्ध बनाई सन्तान जन्माउने प्रक्रिया अघि बढाइन्छ।

मानौँ, तपाईंका अभिभावकलाई चिनी रोग लागेको छ। यस्तो अवस्थामा तपाईंलाई पनि चिनी रोग लाग्ने सम्भावना बढेर जान्छ। यस्तै कतिपय जेनेटिक रोगहरु सिकलसेल–एनेमिया (रक्तअल्पता) र होमियोफिलियाजस्ता रोगहरु, जसको कुनै उपचार अहिलेसम्म उपलब्ध छैन, तिनलाई सुरुमै क्रिस्पर उपचार पद्धतिबाट शुद्धीकरण गर्दै सन्तान जन्माउन सकिन्छ। यसरी जन्मदै लाग्ने असाध्य रोगबाट मानिस पूर्ण रुपमा निको हुनेछ। त्यसैले यो प्रविधिको महत्त्व ह्वात्तै बढेर गएको हो।

वैज्ञानिकहरुले जिन सम्पादनको यो अवस्था हात पार्नु कुनै चानचुने विजयको कुरा होइन। ६० वर्षदेखि वैज्ञानिक जगतले यसका लागि संघर्ष गर्दै आइरहेको थियो। सन् १९९६ मा डली नामक भेडामाथि क्लोन गर्न सकिने सफल प्रयोगपछि यसको प्रयोग तीव्रतम् गतिमा अघि बढेको थियो।
हामीले चाहेजस्तो सन्तान उत्पादन गर्ने प्रक्रियाको इतिहास लामो छ। १९ औँ शताब्दीमा नै चिकित्सकीय जगत्ले एआइडी प्रविधि उपयोग गर्दै आइरहेकै थियो। एआइडी भनेको आर्टिफिसियल इन्सेमिनेसन बाई डोनर हो। यो प्रक्रिया विकसित हुँदै गएपछि गाई–भैँसीहरुमा कृत्रिम गर्भाधान गराउने प्रक्रिया सहज हुँदै जान थालेको हो। सन् १९६० को दसकसम्म आइपुग्दा त यो निकै लोकप्रिय भइसकेको थियो।

यसपछि टेस्ट ट्युब बेबी पनि निकै प्रचलित रह्यो। नेपालमै पनि टेस्ट ट्युब बेबी जन्मँदा चिकित्सकीय क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको चर्चा नभएको होइन। तर सधैँभरि यस्ता नयाँ प्रयोगका बारेमा भने सर्वसाधारणलाई गहिरो आशंका रहिरह्यो, कतै यसले हाम्रो मानव जातिलाई नै अप्ठेरो पार्ने त होइन ? कतै मनुष्यको प्राकृतिक जीवनलाई नै ध्वंश–नष्ट बनाइदिने त होइन ? हुँदा हुँदा कतिपय धार्मिक संगठनहरुले त टेस्ट ट्युब बेबीमा शरीर त हुने तर ‘आत्मा’ नहुनेजस्तो घोषणा गरेर सर्वसाधारणको आशंका बढाउन झनै ठूलो भूमिका खेलिदिएका थिए। यस्ता आशंकाले मानव जाति आफ्नै कारणले पृथ्वीमा विलुप्त हुने ‘डिस्टोपियन’ अवस्थाको कल्पना गर्दै आफैँ तर्सने स्थिति पनि सिर्जना भयो।

तर क्लोनिङ गरिएको भेडा डलीको प्राकृतिक हुर्काइका कारण चिकित्सकीय विज्ञानका नयाँ प्रविधिमाथि संसार अहिले नै त्यत्ति धेरै तर्सिहाल्नुपर्ने अवस्था नरहेको क्रमशः खुल्दै जान थालेको छ। र, पनि यसको व्यापक प्रयोगका लागि कयौँ देशका कानुनमा परिवर्तन गर्नुपर्ने आवश्यकता वैज्ञानिकहरुले देखिरहेका छन्।

खासगरी पछिल्लो समय जति स्त्री–पुरुषबीच मतभेद बढ्दै जाँदो छ, त्यसले भविष्यमा परिवार निर्माणको शैली नै फरक हुने सम्भावना पनि बढेर गएको छ। सन्तान जन्माउनका लागि पारम्परिक रुपमा जसरी लोग्ने–स्वास्नी चाहिन्थ्यो, अब चाहिन छाडेको छ। निःसन्तानका लागि बरदान साबित भएको आइभीएफ र एआइडी प्रविधि हिजोआज भने एक्लै अभिभावक बन्न चाहनेका लागि बरदान साबित भइरहेको छ। खासगरी जो पुरुष कुनै स्त्रीलाई आफ्नो जीवनसाथी बनाउन चाहँदैन तर सन्तान चाहन्छ, उसले समेत यस्ता प्रविधिमार्फत् पिता हुन सुख बटुल्न पाएको छ।

पछिल्लो समय बलिउड फिल्म निर्माता करण जौहरले यस्तै प्रविधिमार्फत् आफू बाबु हुने सोख अरुकै कोख प्रयोग गरेर पूरा गरेका थिए। यो त एउटा देखिएको र सार्वजनिक रुपमा नै घोषणा गरिएको बहुचर्चित व्यक्तिको घटना थियो। तर भित्रभित्रै यो क्रम तीव्रतम् गतिमा बढ्दै जान थालेको छ।

भविष्यमा यस्तो दिन पनि आउनेछ, जब स्त्रीबिना नै सन्तान जन्मन सम्भव छ। त्यो बेला पारिवारिक संरचना कस्तो हुन्छ ? वैवाहिक सम्बन्धको अवस्था के हुन्छ ? यसले सामाजिक संरचनालाई कस्तो प्रभाव पार्ला ? यस्ता अनेकन् प्रश्नहरु यतिबेला अनुत्तरित छन् तर पनि विज्ञानले ल्याएको यो नयाँ चमत्कारमाथि धेरैको आँखा गढेको छ। यति मात्र होइन, कयौँ ठूला कम्पनीले यसमा अर्बौं खर्बौं डलरको व्यापार देखिरहेका छन् र यसको सर्वसुलभताका तयारीका लागि दबाब दिइरहेका छन्।

जिज्ञासु मस्तिष्क
यसो गर्दा कसो होला भन्ने जिज्ञासु मन भएका कयौँ वैज्ञानिकहरुका कारण अहिले मानव जातिका कयौँ समस्या समाधान भएका छन्। यस्तै जिज्ञासा स्वरुप सन् १९९६ मा भेडाको जिन सम्पादन गरेर क्लोन भेडी बनाइएको थियो।

यस कार्यमा संलग्नमध्येकी एक थिइन्, करेन मेकक। उनी एडिनबर्गको रोज्लिन इन्स्टिच्युटमा कार्यरत थिइन्। यही इन्स्टिच्युटले भेडाको क्लोन उत्पादनमा भूमिका खेलेको थियो। यो एउटा वृद्ध भेडाको वीर्यबाट ठीक ऊजस्तै अर्को सानो भेडी बनाउने कार्य गरिएको थियो। यस कार्यका लागि प्रयोगशालामा एउटा गहन परीक्षण पूरा गर्नु परेको थियो। यो कार्य सफल पार्नका लागि लगभग एक अर्ब डलरको खर्च भइसकेको थियो भने एक दशकभन्दा बढी समय व्यतीत भएको थियो। भेडाको क्लोनिङअघि जनावरमा क्लोनिङ गर्नु (दुरुस्तै नक्कल सन्तान उत्पादन गर्नु) असम्भव मानिदै आएको थियो। अक्सफोर्ड विश्वविद्यालयका जोन गुर्डनले सन् १९५८ मा नै यस किसिमको परीक्षण गरी हेरेका थिए। उनले भ्यागुताका चेपागाँडामाथि यो प्रयोग गर्न भने सफल भएका थिए। तर ठीक यही पद्धतिले अन्य जनावरको क्लोन बनाउन सकिन्छ कि सकिँदैन भन्नेमा उनी निश्चित हुन सकेका थिएनन्। यसलगत्तै उनको देहान्त पनि भयो।

खासमा सामान्य किसिमको जिन इन्फर्मेसन भएका प्राणीमा क्लोन सफल भए पनि अझ क्लिष्ट जिन इन्फर्मेसन भएका प्राणीमा सफल हुने कुरा सुनिश्चित थिएन। यसलाई अर्की वैज्ञानिक कीथ क्याम्पबेलले अघि बढाइन्।

जब करेन मेकक र उनको टोलीले भेडाको क्लोनिङ सफल तुल्यायो, त्यो बेला यसका बारेमा अनेकन नकारात्मक प्रचार भएका थिए। त्यो बेला स्टानफोर्ड विश्वविद्यालयका कानुनका प्राध्यापक हान ग्रिलीले टिप्पणी गरेका थिए, ‘मानिसहरु एकै किसिमको सन्तान जन्माउने तरिकामा यति अभ्यस्त छन् कि उनीहरुलाई अर्को तरिकाले पनि सन्तान जन्माउन सकिन्छ भन्यो भने पत्यारै मान्दैनन्।’

त्यो अपत्यारिलो भूमिका खेल्न अखबारहरुको पनि कम भूमिका रहेन। क्लोनिङ लगत्तै अखबारहरुले अर्को हिटलर जन्माउन सकिने शीर्षकमा यस्ता खबरहरु छापे, यसले पूरै समुदायलाई आतंकित बनाउन भूमिका मात्र खेलेन, यस किसिमका प्रयोगप्रति पूरै नकारात्मक भावना नै जन्माइदियो।

त्यसैले त त्यो बेला क्लोनिङका बारेमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले अमेरिकी नेसनल बायोइथिक्स एडभाइजरी कमिसनलाई ९० दिनभित्र अध्ययन प्रतिवेदन तयार पार्न आदेश दिए। यही पंक्तिमा उभिए फ्रान्सेली राष्ट्रपति, युरोपेली परिषद्, युनेस्कोका निर्देशक। हुँदाहुँदा भ्याटिकनका प्रभावशाली धर्मगुरु पनि यसको विरोधमा वक्तव्यमा उत्रिए। उनले भनेका थिए, ‘मानव जाति जन्मनका लागि अधिकार प्राप्त छन्, ल्याबमा उत्पत्ति हुन होइन।’

यसले जिन, जिन सम्पादन, क्लोनिङ र अन्य जैविक शोधका बाटाहरु अन्त्य मात्र गरेन, खोजलाई पछि र झन् पछि धकेलिदियो। नेपालजस्ता साधनस्रोत नहुने र वैज्ञानिक पनि नजन्माउने मुलुकहरु समाचार सुन्दै बसिरहे। चीन पनि त्यो बेला त्यही अवस्थामा थियो।

अकस्मात सन् २००२ मा एक जना स्विस वैज्ञानिक र सन् २००८ मा इटालेली गाइनोकलजिस्ट सेभेरिनो एन्टिनारोले मानव क्लोन बनाउन सफल भएको दाबी गरे तर वैज्ञानिक समुदायले भने सो दाबीलाई मान्यता दिएन।

तर भ्रूणमाथि गरिने कतिपय प्रयोग गुपचुप रुपमा भई नै रह्यो। यही मेसोमा आइभिएफ प्रविधि अर्थात् कोख भाडामा लिने र अर्कैको भू्रण स्त्री कोखमा प्रत्यारोपण गर्ने प्रविधि विकास भयो। यसैगरी सन् २००४ मा कोरियाली वैज्ञानिक ह्वाङ वु–सुकले क्लोन गरिएको मानव भ्रूणमाथि सफलतापूर्वक परीक्षण गरेको दाबी गरे। उनले विकास गरेका ११ वटा मानव भ्रूणमाथि विस्तारपूर्वक आलेख छापिएपछि उनका कुरालाई वैज्ञानिक समुदायले चासो त दियो तर सन् २००६ मा भने उनको दाबी गलत भएको प्रमाणित भयो।

यी सबैको अर्थ के भने यो प्रविधि विकसित गर्नु त्यत्ति सजिलो त थिएन नै यसबारे जनमत पनि तयार भइसकेको थिएन। यी सबै काम गुपचुपमै भइरहेका थिए र बेलाबखतमा समाचार चुहिँदा तिनलाई विश्वास गर्ने आधार पनि पर्याप्त हुँदैनथे।

तर डली भेडोको खबरले यतिञ्जेल यति हल्लीखल्ली मच्चाइसकेको थियो र यसमा दाबी–प्रतिदाबीले यति जनमत सिर्जना गरिसकेको थियो कि यसबारे भएका नयाँ प्रगतिले वैज्ञानिकहरुलाई खासै नैतिक दबाब सिर्जना गरेको भने थिएन। भनाइको अर्थ, उनीहरु दबिएर यसबारे शोध गर्नुपर्ने बाध्यता वा भूमिगत रहनुपर्ने अवस्था थिएन। नीति पनि केही खुकुल्याइएको थियो र पृष्ठभूमिमा मानव हितका लागि क्लोन गर्नुलाई जायज ठह¥याउन थालिसकिएको थियो। खासगरी क्यान्सरजस्ता असाध्य रोगको उपचारका लागि आवश्यक पर्ने थेरापी र थेरापीजन्य औषधि निर्माणमा पनि जिन सम्पादनको भूमिका बढ्दै जान थालेको थियो। हिजोआज त व्यक्ति हेरीकन उसको जिन सुहाउँदिलो औषधि उत्पादन थालिएको छ र यसले निकै सकारात्मक प्रभावसमेत देखाइसकेको छ।

यसबीच जापानी वैज्ञानिक सिन्या यामानाकाले अर्को चमत्कार गरे। उनले कुनै वयस्क डिएनएमा अण्ड प्रवेश गराएर त्यसलाई कैशोर्य प्रदान गर्न सकिने पत्ता लगाए। यही कार्यका लागि उनले सन् २०१२ मा नोबेल पुरस्कार पनि थापे। यस प्रक्रियालाई आइपिएस प्रक्रिया भनियो। यो प्रक्रियाका कारणले नै माथि भनिएको क्यान्सरजन्य औषधिका लागि काम गर्न थाल्यो। आइपिएस कोषलाई मल्टिपल स्लेरोसिसजस्ता कठिन रोगको उपचारमा उपयोग गर्न पनि थालियो।

यस्ता कठिनतम विकासका कारण मानव क्लोनको निर्माणमा भूमिका खेलिरह्यो तर जर्मनी, रुस, फ्रान्स लगायतले परीक्षण–प्रयोगजस्ता कुरामा प्रतिबन्ध लगाइरहे। कतिपयले यस्ता परीक्षणका लागि सरकारी धन प्रतिबन्ध लगाए।

तर जिन सम्पादन, आइपिएस सेल निर्माण तथा इएस जस्ता प्रविधिले चिनी रोग नियन्त्रण गर्नसमेत भूमिका खेल्न थालिसकेको छ। तर अझै यो प्रक्रिया कठिन र महँगो नै रहेकाले यसको विस्तृत उपयोग र उपचारमा प्रयोग हुन अझै समय लाग्ने देखिन्छ। फेरि यो प्रविधि कतिपयका लागि काम लाग्ने हुन्छ भने सोही अवस्थामा अर्कोलाई काम नलाग्ने उपचार पनि हुन्छ। यस्तो क्लिष्टताका कारण पनि यो अहिले नै उपचारका लागि उपयोग हुन समय लाग्ने भएको हो। यसबारे अझै विस्तृत अध्ययन र सुलभताका लागि वृहद् गृहकार्य आवश्यक देखिन्छ किनभने अहिले नै क्यान्सरका लागि गरिने स्टिम सेल थेरापीको मोल ६ करोड रुपैयाँभन्दा बढी पर्ने गरेको छ।

दुई वर्षअघि अर्थात् २०१८ ताका इकोनमिस्ट पत्रिकाले गरेको एक आँकलनअनुसार संसारभरि कम्तीमा २० वटा क्लोनिङमा आधारित अनुसन्धान भइरहेको देखाएको थियो। त्यहाँ विविध जनावर र प्रजातिमाथि क्लोनिङको प्रयास भइरहेको जनाइएको थियो। यदि ती प्रजातिमाथि भएका विविध प्रयोगको एउटा निश्चित म्यानुअल तयार भएको खण्डमा भने त्यसले भविष्यका दिनमा जुनसुकै प्राणीको क्लोनिङ सहज र छरितो हुने अपेक्षा गरिएको थियो।

क्लोनिङ गरिएका जुनसुकै प्राणीमाथि सर्वसाधारणको आकर्षण कति छ भने क्लोनिङ घोडालाई ८५ हजार डलरसम्म तिरेर किन्ने मान्छेहरु पनि फेला परे। पछिल्लो समय चीनमा चार सय कुकुरको क्लोनिङबाट जन्माइएको र बिक्री गर्दा त्यसबाट एक लाख डलर प्रति कुकुरको मोल हाल्नेहरु सहजै फेला परेका थिए। चीनमा त एक पटकमा एक लाख कुकुर र घोडाहरु क्लोन उत्पादन भइरहेको तथ्याङ्क हालै सार्वजनिक भएको छ।

यसरी सुस्तरी भए पनि क्लोनिङप्रतिको सकारात्मक धारणा, क्लोनिङ प्रजातिको आकर्षण र यसमाथि भइरहेको ठूलो लगानीका कारण पनि मानव क्लोनिङका लागि बाटो तयार पारेको थियो। जसै चिनियाँ वैज्ञानिकले क्लोनिङमार्फत् दुई जुम्ल्याहा जन्माएको घोषणा गरे, यसले हलचल त मच्चायो नै तर पहिलेजस्तो तीव्र विरोध भने भएन। यो बेग्लै कुरा हो, वैज्ञानिकले अस्पतालको जागिर खोसुवामा परे भने उनले थप अध्ययनको बाटो गुमाए।

उनको अन्तिम परीक्षण आउँदो अगस्त महिनामा जन्म लिने नयाँ शिशुले पूरा गर्नेछ, जसले क्लोनिङका सकारात्मक वा नकारात्मक पक्षलाई अझ सशक्त रुपमा प्रस्तुत गर्नेछ। यो त नयाँ युगको सुरुवात मात्र भएको छ, यसको सदुपयोग हुनसक्दा हामीले कल्पना गरेका कयौँ साइन्स फिक्सनका कुरालाई माथ गर्न सक्ने सम्भावना ज्यूँका त्यूँ नै छ।

के हो कोष, क्रोमोजोम, जिन र डिएनए
प्रायः अधिकांश सर्वसाधारण कोष, क्रोमोजोम, जिन र डिएनएमा कुन के हो भनेर झुक्किने गर्छन्। यसलाई सामान्य तरिकाले बुझौँ।

कुनै पनि प्राणी जनावर वा मानिस बन्न क्रोमोजोम चाहिन्छ। मानिस बन्न लागि २३ जोडा क्रोमोजोम चाहिन्छ। यो हाम्रो शरीरको कोशमा अंकित भएको हुन्छ। क्रोमोजोमिभित्र एक्स आकारको चिह्न भेटिन्छ। त्यसलाई जिन भनिन्छ। यही जिनभित्र पनि अनेकन अणु वा सूक्ष्म अणुहरु हुन्छन्। तिनै अणु वा सूक्ष्म अणुलाई डिएनए भनिन्छ। यो डिएनएमा पनि तीन वटा इकाई हुन्छ। यिनै इकाईमा हाम्रा सारा सूचनाहरु एकत्रित भएका हुन्छन्। यसैको परीक्षणबाट नै हाम्रो विगत पत्ता लाग्ने गरेको हो।

हाम्रो शरीरमा २० हजार जिन हुन्छन्। त्यस्तै तीन अर्ब डिएनएका अक्षर हुन्छन्।

मानव जिन सम्पादनको समय तालिका
सन् २०१५ मार्चः चिनियाँ शोधकर्ताले पहिलो पटक मानव भ्रूणको जिन सम्पादनमा पहिलो पटक सफलता हासिल।
२०१६ जुनः हि जियानकुईले मानव भ्रूणको जिन सम्पादन गर्ने परियोजना अघि बढाए। यस्तो जिन सम्पादन गरिएको शिशु जन्माउने उनको उद्देश्य थियो।
२०१७ मार्चः परीक्षणका लागि हि जियानकुईले जिन सम्पादन गरिने शिशुका लागि आवश्यक बाबुआमाको खोजी तीव्र रुपमा अघि बढाए। यसमा केही व्यक्ति पनि फेला परे, जसमध्ये केही एचआइभी पोजिटिभ अर्थात् एड्स लागेका पुरुष पनि थिए।
२०१८ नोभेम्बरः जिन सम्पादन गरिएका दुई बालिका जन्मिएको घोषणा। जिन सम्पादन गरिएको तेस्रो सन्तान जन्माउने प्रक्रियाका अघि बढेको घोषणा
२०१८ नोभेम्बर २५–२६ः चर्चित पत्रिका एमआइटी टेक्नोलजी रिभ्युले जिन सम्पादनको क्रियाकलाप प्रतिबन्धित अवस्थामै भए पनि सम्पन्न भएको खुलासा। एपी नामक चर्चित समाचार संस्थाद्वारा यस कार्यका बारेमा विस्तारमा समाचार प्रसारण। दुई बालिकाको सम्पादित जिनबाटै भएको जन्मले संसारमा हलचल।
२०१८ नोभेम्बर २८ः हिद्वारा हङकङमा आयोजित कार्यक्रममा उनको जिन सम्पादन कार्य र सन्तान जन्मिएको सार्वजनिक घोषणा। हिको चर्को आलोचना।
२०१८ नोभेम्बर–डिसेम्बरः चीनको नेसनल हेल्थ कमिसनले हिको प्रयोगमाथि गम्भीर छानविन गर्ने घोषणा।
२०१९ जनवरीः हिलाई सरकारी अस्पतालमा काम गर्न प्रतिबन्ध। स्थानीय अस्पताल र ग्वाङदोङ विश्वविद्यालयबाट निष्काशन।
२०१९ मार्च १८ः विश्व स्वास्थ्य संगठनद्वारा मानव जिन सम्पादनका बारेमा नीतिनियम तथा दिशानिर्देश तयार पार्नका लागि बैठक।
२०१९ अगस्तः तेस्रो पटक जिन सम्पादन गरिएको शिशु जन्मने अपेक्षा।

(न्यु साइन्टिस्ट, इकोनमिस्ट, द न्युयोर्क टाइम्स रिभ्यु अफ बुक्सका आधारमा)

प्रकाशित: ११ असार २०७६ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App