अनलाइनमा ७० हजार भन्दा बढी नेपालीहरुलाई जोडेर करोडौ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले चिनियाँ नागरिकसहित ११ जना पक्राउ गरेको हो ।
चितवनको खैरहनीमा ‘एस.एम.सी.एन. एड्भरटाइजिङ सर्भिस सेन्टर’ नामक कार्यालय खोलेर एसएमसियू नामक मोबाइल एपमार्फत् उनीहरूले विभिन्न प्रलोभनमा पारी स्क्याम गर्ने आरोपमा प्रहरीले पक्राउ गरेको हो । साइबर व्यूरोका प्रवक्ता दीपकराज अवस्थीले एप्लिकेसनमार्फत ७० हजारभन्दा बढी नेपाली नागरिकलाई सञ्जालमा जोडेर ठगी गर्न शुरु गरेका हुन् ।
पक्राउ पर्नेहरूमा ३७ वर्षीय चिनियाँ नागरिक हे जियाङजियाङसहित मिलन श्रेष्ठ, सौगात थापा, वीरबहादुर तामाङ, सोनम खातुन, प्रिया के.सी, मोनिका गुरुङ, गीता गुरुङ, नासिर मिया अन्सारी, सायरा खातुन र राम निवास प्रसाद कलवार रहेका छन् । उनीहरूलाई काठमाडौंको ठमेल, टोखा, तारकेश्वर तथा रुपन्देही र पर्साका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । उनीहरूविरुद्ध हालसम्म २५५ जनाले सामूहिक उजुरी दिएको साईबर व्यूरोले जानएको छ । ती २५५ जनाबाट १२ करोड ८ लाख १६ हजार ३७२ रूपैयाँ बराबरको ठगी गरिएको छ ।
यो समूहले चितवनको विश्वप्रसिद्ध फिल्म कम्पनीहरू युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नीसँग सहकार्य रहेको दाबी गर्दै सर्वसाधारणलाई विश्वासमा लिने गरेका थिए । उनीहरूले पिरामिड शैलीको ‘पोन्जी स्किम’ अपनाएर नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन र दैनिक बोनस दिने प्रलोभन देखाएर ठगी गरेका हुन् । पक्राउ परेकाहरूमाथि संगठित अपराध निवारण ऐन र मुलुकी अपराध संहिता बमोजिम अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको छ ।
प्रकाशित: २१ पुस २०८२ २०:४१ सोमबार





