२ आश्विन २०७७ शुक्रबार
अन्य

मृत्युको समाचार

सम्पादकज्यू,
म मरेको समाचार पनि छापिएछ
तपाईंको अखबारमा।

मेरो नाम टाँसिएको काठको बाकस,
बाकस डो-याउने मेरा साथीहरू,
मेरो मृत्युले विह्वल भएर
एउटा कुनामा
कर्णाली बगाउँदै गरेकी श्रीमती,
सबै अटाएछौं समाचारको फोटोमा।

देशमै हुँदा मैले पढेको हुँ
श्रमशोषणका समाचारहरू
अलपत्र परेका कैयौंको कथा,
कथैकथाले बुनिएको समाचार।

विदेसिनु मेरो पनि रहर थिएन,
मसँग दुःखैदुःखका पहाड थिए
यिनै पहाडमा हुर्कदै गरेका
नव पालुवाहरू थिए,
पालुवालाई स्याहार्ने माली थिए।

मसँग थुप्रै सपना सिञ्चित थिए
धेरै पैसा कमाउने
आफ्नै देश फर्कने
नेपाली माटोमा सुन उमार्ने
तर
म जस्तै कैयौं नेपालीहरू
हरेक दिन अनहाकमै मर्छन्
अनि मजस्तै समाचार बन्छन्।

मलाई त तपाईँहरूकै अखबारमा
प्रेरणाको हेडिङ बन्न मन थियो,
अफसोस मेरो सपना
काठको बाकसमा,
अखबारका अक्षरहरूमा,
सीमित भए।

देवघाटको तटमा,
काठको बाकस मिल्केको छ,
देह खरानी बनेर बगिसक्यो
सपनाहरू खोई कता पुगे कता,
साँच्चै सम्पादकज्यू
यो लोक जहाँ म पुगें,
एयरपोर्टमा गमनपत्र भर्दै गरेका
हजारौं नेपाली देख्दै छु,
मन फुटेर आउँछ  
कतै उनीहरुरू पनि म जस्तै
आगमन पत्रै नभरी
स्वदेश फर्कने त होइनन् !

प्रकाशित: ३२ जेष्ठ २०७६ ०८:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App