८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मेरो पालामा सुरु भएका जनमुखी कार्यक्रम वर्तमान सरकारले पूर्वाग्रह राखेर रोक्यो: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले युवाहरूलाई उद्यमी बनाउने र तराई–मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्ग निर्माण गर्ने योजनालाई अलपत्र पारेको आरोप लगाएका छन्।

बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पालामा सुरु गरिएका जनमुखी कार्यक्रमहरू वर्तमान सरकारले पूर्वाग्रह राखेर रोकेको दाबी गरे।

अध्यक्ष ओलीले युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न आफ्नो सरकारले ल्याएको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रमलाई वर्तमान सरकारले निस्क्रिय बनाएकोमा आक्रोश व्यक्त गरे ।

‘हामीले युवाहरू विदेश पलायन नहुन भनेर शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतमा ऋण दिने व्यवस्था मिलाएका थियौं, जसले गर्दा युवाहरूले आफ्नै गाउँ–ठाउँमा केही गर्न सकून्,’ अध्यक्ष ओलीले भने, ‘तर यो सरकार आएपछि न युवाले ऋण पाए, न त रोजगारीका अवसर नै सिर्जना भए। उल्टै भएका कार्यक्रमहरू पनि खारेज गरेर युवाहरूको भविष्यमाथि खेलबाड गरिँदैछ।’

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पूर्वाधार विकासको गतिमा एमाले र वर्तमान सरकारबीच जमिन-आसमानको फरक रहेको जिकिर गरे। उनले तराईका जनताको वर्षौंदेखिको सपनाको रूपमा रहेको हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको काम एमाले सरकारबाट बाहिरिएपछि ठप्प भएको बताए।

‘पहिला वर्षमा १० किलोमिटर बाटो बन्न गाह्रो हुन्थ्यो, मेरो नेतृत्वको सरकार हुँदा हामीले दिनमै १० किलोमिटर बाटो कालोपत्रे गरेर देखायौं,’ ओलीले भने, ‘अहिले हुलाकी राजमार्गको अवस्था हेर्नुस्, मदन भण्डारी राजमार्ग हेर्नुस्, काम कछुवाको गतिमा पनि छैन। सरकारले बजेट रोकेर विकासका आयोजनाहरूलाई बन्धक बनाएको छ।’

प्रकाशित: ७ माघ २०८२ १६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App