स्पेनमा केही दिनभित्रै भएको दोस्रो घातक रेल दुर्घटनामा एक जना रेल चालकको मृत्यु भएको छ भने कम्तीमा ३७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बार्सिलोनानजिकै एक कम्युटर रेल पटरीबाट खस्दा यो दुर्घटना भएको हो ।
स्थानीय अधिकारीहरूका अनुसार रोडालिस रेल जेलिडा र सान्त सादुर्नीबीचको खण्डमा रहेको एक रिटेनिङ वालसँग ठोक्किएको थियो । उक्त पर्खाल रेलमार्गमा खसेपछि दुर्घटना भएको बताइएको छ ।
काटालोनिया क्षेत्रीय अग्नि निरीक्षक क्लाउदी गाल्यार्डोका अनुसार सबै यात्रुहरूलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको छ । यो दुर्घटना उत्तर–पूर्वी स्पेनमा भीषण आँधीबेहरीका बीच भएको हो । खराब मौसमका कारण स्पेनको पूर्वी तथा उत्तर–पश्चिमी तटीय क्षेत्रहरू उच्च सतर्कतामा राखिएको छ ।
रेल अधिकारीहरूका अनुसार मंगलबार साँझ करिब ९ बजे (स्थानीय समय) रेल गुडिरहेका बेला पर्खाल खसेको हो । पर्खाल चालकको क्याबिनमा ठोक्किएको र त्यसपछि पहिलो डब्बामा ठूलो क्षति पुगेको थियो, जहाँ अधिकांश घाइते यात्रुहरू सवार थिए ।
दुर्घटनाका बेला चालकसँग तीन जना प्रशिक्षार्थी पनि रहेका थिए । तीमध्ये दुई जना गम्भीर घाइते भएको दमकल विभागले जनाएको छ । चालकको पहिचान भने तत्काल खुल्न सकेको छैन ।
घटनास्थल जेलिडामा एक जना जीवित व्यक्तिलाई उद्धार गर्न करिब एक घण्टा लागेको बताइएको छ । जेलिडा बार्सिलोनाबाट करिब ३५ किलोमिटर पश्चिममा पर्दछ ।
आपतकालीन सेवाहरूले घाइतेहरूलाई मोइसेस ब्रोगी, बेलभित्गे र भिलाफ्रांका अस्पतालमा लगिएको जानकारी दिएका छन् ।
दुर्घटनापछि सुरक्षा जाँचका लागि काटालोनियाको मुख्य रोडालिस कम्युटर रेल सञ्जालका सबै सेवा पूर्ण रूपमा स्थगित गरिएको छ । अधिकारीहरूले रेलमार्ग सुरक्षित नठहरिएसम्म सेवा पुनः सञ्चालन नहुने बताएका छन् ।
प्रकाशित: ७ माघ २०८२ १६:४० बुधबार





