विगतमा कविता र निबन्धका कारण चर्चित भूपिनलाई ‘मैदारो’ले उपन्यासकारको चिनारी दिएको छ। कतै मैदारो, कतै मैझारो, जे भए पनि शब्दले दिने अर्थ एउटै छ– अन्तिम रोपाइँ। जसको रोपाइँ मैदारो प-यो उसको घरमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वास कायमै भएको देखाउँछ भूपिनको उपन्यास ‘मैदारो’ले।
भूपिनले अँधेरी गाउँको अन्धविश्वासपूर्ण कथा क्रान्तिकारी पात्र मानवीर सार्कीबाट रोचक ढंगले भन्न लगाएका छन्। समाजमा व्याप्त छुत र अछुत बीचको भेदभावको खाडल बिस्तारै सागुरिँदै गएर एकदिन पुरिने छ अर्थात् भेदभाव अन्त हुनेछ भन्ने संकेत गरेको छ उपन्यासले।
मध्य तथा सुदूरपश्चिमका अधिकांश जिल्लामा मैझारो भन्ने गरिन्छ। भूपिनले आफ्नो उपन्यासमा बागलुङको अँधेरी गाउँमा जसको रोपाइँ मैदारो प-यो उसको घरमा अनिष्ट हुने उल्लेख गरेका छन्। त्यस्तै प्रवृत्तिको कथा नभए तापनि सुदूरपश्चिममा जसको रोपाइँ मैदारो प-यो उसले कुखुरा वा बोका काट्ने चलन छँदै छ।
युद्ध नै सबै कुरा हैन। युद्धको अन्त हुनु पर्छ भन्ने भावनाको पुञ्ज पनि हो भूपिनको उपन्यास। समाजमा कायम बालीघरे प्रथाको अन्त हुने कुराको सूचक पनि हो। र समाजमा हैकम चलाउनेहरूको रवैया, कुसंस्कृति, कुप्रथा र धार्मिक अन्धविश्वास सबैलाई मैदारोमा पार्नु पर्छ भन्ने सन्देश पनि हो। कला सिर्जनाका माध्यमबाट समाज परिवर्तन गर्न सकिने दरिलो विश्वास पनि हो मैदारो।
युद्ध नै सबै कुरा हैन। युद्धको अन्त हुनु पर्छ भन्ने भावनाको पुञ्ज हो भूपिनको उपन्यास ‘मैदारो’। समाजमा कायम बालीघरे प्रथाको अन्त हुने कुराको सूचक पनि हो र समाजमा हैकम चलाउनेहरूको रवैया, कुसंस्कृति, कुप्रथा र धार्मिक अन्धविश्वास सबैलाई मैदारोमा पार्नु पर्छ भन्ने उद्घोष पनि हो। कला सिर्जनाका माध्यमबाट समाज परिवर्तन गर्न सकिने विश्वास पनि हो मैदारो।
मैदारोको कथा निकै सुन्दर र चाखलाग्दो ढंगले बुनिएको छ। उपन्यासमा बोलीचाली, रहनसहन, धर्म, संस्कारका सुन्दर र कुरुप दुवै थरीका टपरीहरू झल्किएका छन्। सदियौंदेखि समाजमा विद्यमान विसंगतिहरूलाई सूक्ष्म रूपले केलाएर प्रस्तुत गरिएको छ। भाषामा काव्यिकताले डेरा जमाएको देखिन्छ। भूपिन कुशल कवि भएकाले पनि काव्यिक पाटो हावी भएको हो जसले उपन्यासलाई अझ बढी पठनीय तुल्याएको छ।
अमृतसँग कुराकानी हुँदै गर्दा स्मरणले सल्लाका मसिना पात टोकिरहनु कुनै नौलो कुरा हैन। गाउँघरतिर यस्ता दृश्य नदेखिएका हैनन् तर केही कुरा यस्ता हुन्छन् जसले समय परिस्थिति अनुसार एक प्रकारको छुट्टै स्वाद दिन्छ। छुट्टै अर्थ बोक्छ र मनन् गर्न लगाउँछ जिन्दगीका गतिशील कुनाहरूलाई। डाँडामा बज्ने त्यही पिपिरीको आवाजले कतै जिन्दगीका उन्मक्त कित्ताहरूलाई झंकृत पार्छ भने कतै दासताको भुमरीमा डुबिरहेका जिन्दगीका पाटाहरूलाई दुखाउँछ।
स्मरण गुरुङबाट सुरु भएको कथा ‘मेरा बा’ मा गएर टुंगिन्छ। एउटा डरलाग्दो भीरको रूपमा चित्रण गरिएको पाटेभीर जिन्दगीको भयावह क्षण दर्साउने बिम्बका रूपमा देखापरेको छ। त्यो भीरमा नदीन अड्किएको कथाले आङ सिरिङ हुन्छ। लामो समयसम्म भीरमा अड्किएर जीवित उद्धार गरिएको कल्पना यहाँनेर कस्तोकस्तो देखिन्छ। समाजमा देखा परेको विकृति, अन्याय, अत्याचार र शोषणका विरुद्ध पत्थर बन्न पुगेकी कलाले नाबालक छोरीलाई छोडे जानु सिद्धान्तमा अडिग भएपछि त्यो सिद्धान्तले मान्छेलाई कसरी डो¥याउँछ भन्ने सपाट उदाहरण हो।
उपन्यासमा आक्रोश छ, पीडा छ, चरम संवेदना छ र युद्ध छ। युद्धबिना पनि समाज बदल्न सकिन्छ भन्ने सन्देश छ। प्रेम छ, संघर्ष छ, बलिदान छ, निराशा छ र अचम्मको कल्पना छ। संकीर्णताले व्याप्त भौतिकवादमा जकडिरहेको समाजका हरेक गतिविधि उल्टा छन्। नदीनका उल्टा चित्रले समाजमा धेरै कुरा उल्टा छन् भन्ने सन्ेदश दिन्छन् र त्यसको विरोध गर्ने शैली पनि हो उनको उल्टो चित्रकारिता। उपन्यासभित्र लोककथाहरू छन्, मिथकहरु छन्, आञ्चलिकता झल्केको छ।
उपन्यासमा बालमनोविज्ञानलाई राम्ररी केलाइएको छ। ‘बा, काकीले त्यसरी जगको पानी किन छर्केकी नि कलाको जीउमा?’ ‘कला खाल्टाँ खस्नुको कारण म पो रहेछु? यो प्रश्नले मलाई लखेटिरहन थाल्यो।’ नदीनले व्यक्त गरेका यी र यस्तै कतिपय कुराहरूले स्पष्ट ढंगले दर्साएका छन् नदीनको बालसुलभ मनको जिज्ञासा, उनको बाल मनोविज्ञान र मनभित्र छाएको एक प्रकारको डर।
नदीनले बाँचेको जिन्दगी र उसले रोजेको आत्महत्याको बाटोलाई लिएर अनेक तर्कवितर्क उठ्ने छन् पाठकका मनमा। नदीनको जिन्दगीका केही विरोधाभासहरू पनि औल्याइएको छ। नदीनलाई जीवनको छुट्टै गोरेटो अपनाएर समाजका विकृति र विसंगतिका विरुद्ध पाइला चालिरहेको पात्रका रूपमा हेर्न सकिन्छ र डरपोक अनि कायर पात्रका रूपमा पनि हेर्न सकिन्छ। कसरी हेर्ने भन्ने कुरा हाम्रो जीवनदृष्टि र संवेदनाको गुण धर्ममाथि भर पर्दछ।
दिनानाथ पण्डित जस्ता मूढहरूको बाहुल्य रहेको समाजमा तिनै पात्रहरूले पारेका हुन् जातभात धनी गरिब, उचनीचको खाडल। दलितभित्रै पनि देखिन्छन् छुवाछुतका खाडलहरू। पोखरामा विश्वकर्माको घरमा बस्दा उनकी श्रीमतीले कोठा छोड्न लगाउनु दलितभित्रकै विभेदको उदाहरण हो। अंगुलीमालको कथा प्रसंगदेखि केही पौराणिक र लोककथाले पनि रोचक बनाएको छ उपन्यासलाई। विभेदका खाडलहरू पुर्न मारकाट नै गर्नु पर्छ भन्ने छैन। अरू पनि छन् बाटा। हिंसा जन्माउने प्रतिहिंसा मात्रै हो भन्ने मान्यता राख्ने नदीनको चित्रकारिता समाजको परिवर्तनको अभिन्न पाटाको हेरिएको छ। नदीनको आत्महत्यालाई पनि समाज परिवर्तनकै बाटोका रूपमा हेरेका छन् उपन्यासकारले।
कतै पढेको याद आउछ यतिखेर कि गेटेको प्रथम उपन्यास ‘द सरो अफ बर्दर’ को प्रेमीले आत्महत्या गरेको थियो। युरोपेली महाद्वीपमा आत्महत्या बढेको थियो रे केही समय। नेपोलियन बोनापार्ट त्यो कृतिबाट यति प्रभावित भएछन कि उनले द सरो अफ बर्दर सात पटक पढेछन्। समालोचकहरू भन्छन्–रुमानी उपन्यासबाट यसरी कठोर हृदयी सम्राट पग्लेको घटना इतिहासकै पहिलो हो।
नदीन मूलतः चित्रकार हो। मैदारो त्यही चित्रकारको कथा हो जहाँ जोडिन्छन् कला, आकाश, स्मरण, यादा, उजेली, आइते, अमृत, पुतली, झंकर थापा, हिक्मत सिं लगायत अन्य कैयौ पात्रहरू। नदीनलाई आम दलित पात्रको भन्दा चित्रकारकै रूपमा बढी देखाउन खोजेका छन् भूपिनले। दसैंमा आफ्नै आँखा सामु काकाहरूले भैंसी मारेपछि नदीनले मासु नै खान छोडेको प्रसङ्गले प्राणीजगतप्रतिको उसको अगाध माया र प्रेम दर्सिन्छ। समाजमा देखिएका कैयौं विकृति र विसंगतिलाई चित्रमा उतार्दै कलाका माध्यमले पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने सोच बोकेको हुन्छ उसले। अँधेरी गाउँमा जन्मे पनि उजेली गाउँको सपना देखिरहेको हुन्छ। कला समाज सुधारको एक दरिलो आधार हो। आवाजविहीनहरूका अनगिन्ती आवाज हुन्छन् चित्रमा। त्यसैले त एउटा युवतीले–‘नदीनलाई भनेकी छन् तिमीले चित्रमा हाम्रो कथा लेखिदियौ। हामी मुक्त भयौं। अब तिमीलाई मुक्त गर्न कोही अर्को चित्रकार जन्मने छ।’
ठाउँठाउँमा प्रकृतिको सजीव चित्रणले विगततिर फर्काउँछ। गाउँले जिन्दगीको सुन्दर पाटो देखाउँछ। प्रकृतिको महिमा गान गाउँछ। जिन्दगी र प्रकृति बीचको तादात्म्यलाई उजागार गरिरहन्छ। अमृतले अन्तिम अध्यायबाट नदीनको कथा सुरु गर्नुबाट लाग्छ, कतै अन्याय र अत्याचार विरुद्ध अन्तिम युद्धको खोजी गरेको त हैन?
हिजोका हैकमवादी पञ्चहरू व्यवस्था बदलिनेबित्तिकै पार्टी बदल्छन् र समाजमा फेरि तिनकै हालीमुहाली बढ्छ। छेपारोलेझैं रंग बदल्नेहरूले नै चलाउन थाल्छन् देश र समाज। धर्मको सहारा लिन्छन् कसैले त कसैले सम्पत्तिको सहारा। जस्तोसुकै शासन सत्ता आए पनि जीवनभर उल्टो बाँच्न बाध्य बनाएकाहरूका जीवन उस्तै कहालीलाग्दा देखिन्छन् यहाँ। जुन तितो यथार्थलाई दर्साएको छ उपन्यासमा।
प्रायः पर्वत र बागलुङको सेरोफेरोमा बुनिएको मैदारो आवाजविहीनहरूको आवाज बन्न पुगेको छ। यस अर्थमा मैदारो मन छुने उपन्यास बनेको छ। यति हुँदाहुँदै पनि यसमा केही कमजोरी छन् अश्वेत विभेदकारी शब्द भएकोदेखि माओवादी युद्धको तिथिमिति नमिलेको कुरा विमोचनकै दिन सुन्नमा आएको थियो। अर्को कुरा प्रधानपञ्च हिक्मतसिं थापा र पुतलीका बीचमा सम्बन्धविच्छेद भैसकेको जनाइएको छ त्यसपछि केही वर्षपछि पुनः पुतली हिक्मतको घरमा आएको उल्लेख छ। सम्बन्धविच्छेद भैसकेको मान्छे कसरी घरमा भित्रिइन भन्ने देखाइएको छैन। दोस्रो संस्करमा सुधार्नु पर्ने ठाउँहरू छन्। प्रकाशन पछाडि कहीँ कतै सुधार गर्नु पर्ने ठाउँ प्रायः लेखकका कृतिमा देखिन्छन् नै।
कविता र निबन्धमार्फत् पाठकको मन जितिसकेका भूपिनको आख्यान मैदारो पनि साहित्यप्रेमीका लागि निकै नै रोचक र पठनीय कृति बनेको छ। सुन्दर कृतिका लागि मित्र भूपिनलाई बधाई!
प्रकाशित: ११ जेष्ठ २०७६ ०९:५१ शनिबार